Skip to content


एउटा कवि-
वासन्ती नवकान्तिले सब धरा बन्दै छ नौली वधू,
लोभिन्छन् नवफूलमा भ्रमर यी, प्यारो छ साह्रै मधु ।
पाक्यो काफल, कोइली कुहु गरी क्यै सोध्न आएपछि,
यस्तो चाल सहन्छको भने सखे! वैशाख लागेपछि ।।
भालेले सिङले मृगी नजिक गै’ थाल्यो नि कोट्याउन,
उड्दै भुन्भुन गर्छ एक भमरो पाएर पोथी किन ?
जोडी घुर्छ कपोतको नजिकमै, यी दृश्य देखेपछि,
सक्लाको अब मान खोजिरहनै, वैशाख लागेपछि ।।

एउटी विवाहिता-
लोग्ने छन् परदेशमा, म छु यहाँ, बाचा छिटै फर्किने,
गर्थे खै तर फर्किने सुर कतै देखिन्न, के पर्खिने ?
धेरै वर्ष बिते, उतैतिर उनी अल्झी नआएपछि
बैंसै धान्न भयो बडा कठिन लौ वैशाख लागेपछि ।।

अर्की विवाहिता-
मेरा छन् पि्रय दूरदेश, म यता, बाचा छिटै फर्किने,
गर्थे तैपनि दर्शनै विरल भो’ बानी छ है पर्खिने ।
पक्कै फोन त आउला अब छिटै, यो पत्र पाएपछि,
भन्लान, ‘पर्ख, नबिर्स, आउँछु सखी वैशाख लागेपछि’ ।।

एउटी अविवाहिता-
को होला पि्रय, आउला र कहिले होला मिठो सङ्गम ?
चढ्दौ यौवन अङ्ग-अङ्ग भरियो, को गर्छ आलिङ्गन ?
आगो खै कसरी निभाउँ दिलको झन् बल्छ दन्केसरि
आˆनै शत्रु बनेछ बैंस किन हो, वैशाख लागेपछि ।।
लाग्यो जान उमेर तैपनि अझै आएन कोही युवा,
घुम्दै मण्डपमा म कोसित बसूँ, खेलेर आफैँ जुवा ।
आमा भै’ कन चैतमा सब सखी फर्केर आएपछि,
पर्ने भो? अब खोज्न लौन दुलहा वैशाख लागेपछि ।।

एउटा अविवाहिता-
ज्याद दुःख गरेर खूब पढियो, उत्तीर्ण भै’ स्नातक,
राम्रै आय हुने छ जागिर पनि स्थायित्वको द्योतक ।
भन्छन् ठिक्क विवाहको वय भयो पच्चीस लागेपछि,
साथी हो! अब खोज्नुपर्छ दुलही वैशाख लागेपछि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *