Skip to content

विश्वको प्रथम प्रेमपत्र-रुक्मिणीको प्रेमपत्र


सुन्दा सबै हजुरको गुणको प्रताप
आएर कानतक हर्दछ अङ्गताप
सम्पूर्णता नयन सुन्दरमा बसेछ
छोडेर लाज दिल अच्युतमै पसेछ ।
लावण्यले चहकिलो कुलशील मान
विद्या, उमेर, धन-धाम स्वयं समान
संसारमा परम सुन्दर कृष्णलाई
कन्या तयार नहुनन् पति भज्नलाई ?
हे प्राणवल्लभ! समर्पित भई कहन्छु
पत्नी बनाउन यहाँतक पाल्नु भन्छु
यो भाग हो हजुरको, शिशुको त हैन
त्यो स्यालले छुन कसै पनि योग्य छैन ।
मेरो कुनै जनमको व्रत-दानबाट
सेवा भयो र हरि तुष्ट भए मबाट
पाणि स्वयं ग्रहण होस् प्रभु कृष्णआई
त्यो चैद्य वा कुनै नछुऊन् मलाई ।
वैदर्भले अजित नै हुनुहुन्छ नाथ!
आएर पूर्व दिन सैनिक गुप्तसाथ
मथ्दै ससैन्य शिशुपाल-जरा हटाई
गर्नुस् विवाह दनुजी-विधिले मलाई ।
छौ भित्र अन्तपरमा, स्वजनै नमारी
भन्छौ म लानु कसरी ? सुन हे मुरारि
पूर्वाङ्गका दिन म मन्दिर जानु पर्छ
मौका त्यही शहर बाहिरबाट पर्छ ।
शुद्ध्ध्यर्थ श्रीचरणको रजमा नुहाई
हुन्छन् प्रसन्न शिव, त्यै हक होस् मलाई
हे अम्बुजाक्ष! यदि त्यो नमिले प्रसाद
मर्छू, सयौँ जनम छाडि्दन त्यै प्रयास ।

अनुः राधेश्याम भट्टराई

1 thought on “विश्वको प्रथम प्रेमपत्र-रुक्मिणीको प्रेमपत्र”

  1. प्रेमपत्र पढेर …
    प्रेमपत्र पढेर

    पीएर प्रेम जल प्यास अझै बढेछ!
    लठ्ठै परी मनत ब्याकुल नै भएछ!
    लागेन भोक नत खान हुँदै भएन !
    आकाश मार्ग पनि जान रथै भएन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *