Skip to content
DevendraBashyal


दशैंमा रंगीन टीका थाप्ने
तिहारमा गलामा माला लगाउने
तिजमा लाखे बनेर हँसाउने
मिठो चोखो खाएर राम्रा लुगा लगाउने
मेरो पनि इच्छा थियो तर …!

दशैंमा ममीलाई ढोगेर आशीर्वाद लिने
दाजुलाई ढोगेर शिक्षा लिने
दिदीबहीनिलाई ढोगेर दक्षिणा दिने
मेरो पनि इच्छा थियो चाडबाडमा घर फर्किने तर …!

सके चौपारीको बर-पिपलमा पिङ हाल्ने
नसके चर्केपिङ र लूठो खेल्न
खोलापारी गैरी गाउँ जाने
बेलुकी देउसीभैलो नाच्दै नाच्दै घर फर्किने
मेरो पनि इच्छा थियो तर …!

वसन्त याममा कोईलीसँग मित लाउने
बिहानी पख हिमाललाई हेरेर मुसुक्क हाँस्ने
तारेभीरमा गीत गाउँदै घाँस काट्ने
कालीको बहावसँगै सुसेली हाल्ने
मेरो पनि इच्छा थियो तर …!

मैले राष्ट्रको लागि रेमिट्यान्स कमाउनु छ
परिवारको निम्ति रसामको जोहो गर्नु छ
खुकुरीको धारमा ज्यान राखी
ठूलो लाहुरे कहलिनु छ
मेरो पनि इच्छा थियो तर …!

मैले लगानी गर्ने धन नपाएर हो
सानो पनि देशमा काम नपाएर हो
स्वदेशमै म बेरोजगार बनेर हो
गाउँ घर छोड्न म बाध्य भको हो
मेरो पनि इच्छा थियो तर …!

एकदिन म राष्ट्रप्रमुख बन्नु छ
यो देशको काँचुली फेर्नु छ
बेसहाराको मनमा बस्नु छ
शोषकको राज्यमा आँधील्याउनु छ
मेरो पनि इच्छा थियो तर …!

फर्कौं भो साथी हो कति बस्नु प्रवासमा
एकमुठी पानी खाई बाँच्न सिकौ स्वदेशमा
एकता फूल रोपौं बारीमा
मुक्ति जुक्ति खोजौं स्वदेश मै
मेरो पनि इच्छा थियो तर …!

Leave a Reply

Your email address will not be published. Required fields are marked *