Skip to content

कसरी भनुँ नारीमुक्तिको जमाना छ?


विश्वभरि मनाइन्छ,
अन्तर्राष्ट्रिय नारी दिवस
अनि,
उठाइन्छ अनेकौ बहस
नारी अधिकारहरूको चर्चा
स्वतन्त्रताको नारा
र,
नारीमुक्तिको युद्ध
सबै एकातिर ।

अर्कोतिर,
विहानदेखि साँझसम्म
काममा रत
जोतिन्छ्न दिनरात
त्यस्तै मर्म छ
कमला, विमला र शान्ति
जो क्रान्तिको अर्थ जान्दैनन ।

उसका निम्ति
जीवनको मजबुरी
चुल्हो, भान्छा, मजदुरी
साना साना बालखको पेट भर्नु
र राति,
जँड्याहा लोग्नेको शिकार हुनु ।

विरोध के हो ?
स्वतन्त्रता के हुन्छ ?
केटा केटी ठूला होउन,
धेरै पढून र,
डाक्टर, इन्जिनियर
वा राम्रो नोकरी होस्,
यस्तै धेरै सपनाभित्र
मात्र यो आश ।

एक दिन मैले कमलालाई सोधें,
“किन अत्याचार सहन्छेस् त ??
सारा दिन चुल्होमा
दाउरा जस्तो बल्छेस् नि ?
किन क्रान्ति गर्दिनस् ?
किन मौन भएर सधैं यस्तै पीडामा त ?”

उसले अचम्मले मलाई हेरी,
बोली, “भन् न
यो क्रान्ति के हो ?
यसले हामीलाई खान, लाउँन दिन्छ ?
प्यास मेट्न कि पानी दिन्छ ?
समाजमा आनन्द, शान्त ?
के दिन्छ यसले ?
साना केटा कोटीको पेट भर्छ ?
यदि यी सब हैन भने,
क्रान्तिको के अर्थ ?”

गरिबी जोतिरहन्छ,
आसय मोहरा बनेर नाचिरहन्छन्
लाचार रिक्सा र ठेलाको आस
धनी उसैको रगतका थोपामा
नुहाउँछ्न र रमाउँछ
भ्रष्टाचार र पापको कमाइले
पिजडा र कारमा हुइकिन्छ
अनि नारीमुक्तिका
वा,
गरिबी निवारणका
जस्तो सुकै प्रगतिका कुरा हुन्
हाम्रा लागि सबै व्यर्थ ।

यी दुई अति सीमाहरू
विरोधाभासमा घेरिएका मन
खोज्छ हल कहाँ छ ?
के त भन्न सक्छस् ?
अहिलेलाई यो अध्याय खेल्ने पूर्व
केही हेर,
अन्य,
समस्याहरू समाधान गर्नुछ ।
अनि म,
कसरी भनु तलाई
नारीमुक्तिको जमाना छ ।

निशा अर्याल
इजरायल

1 thought on “कसरी भनुँ नारीमुक्तिको जमाना छ?”

  1. निशाजी ! मुक्ति त आर्यघाटमा मात्रै रे !
    कवयित्रीज्यू !
    यो कविता पढेर नारी पिडित/बुहारी पीडित बाजेले भने- “मुक्ति जुनीमा पाइँदैन । बितेपछि अवश्य भेटिन्छ । मेरो आशीर्वचन ती नानीलाई सुनाइदिनू ।”
    ल मैले मेरो ड्युटी निभाएँ है

    ।।

    आगे जीवित प्रभुको इच्छा !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *