Skip to content

शूपर्णखा खण्डकाव्यको शैल्यक्रिया


परिचय
गोविन्दराज विनोदी, हेर्दा साधरणजस्ता लाग्ने व्यक्तित्व विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् जस्तो लाग्छ मलाई । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको ‘शूर्पणखा’ खण्डकाव्यमा ‘एउटा दृष्टि जावस’ भन्दै आदरणीय प्राध्यापक डा. नारायणप्रसाद खनालज्यूबाट २०७३, कार्तिक १४ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औं जन्मजयन्ती साहित्यिक कार्यक्रममा शूर्पणखा खण्डकाव्य प्राप्त गरें ।

गोविन्दराज विजनोदीजीको ‘हिमस्पर्श’(२०६६) पनि मैले अध्ययन गरेको छु । जुनसुकै कृति पढे पनि आजकल केही न केही लेख्ने कामको थालनी भए पनि गहन साहित्यकार विनोदीजीको ‘हिमस्पर्श’मा मैले लेख्ने आँट गरिन तर आज ‘शूर्पणखा’मा भने केही शब्द पस्कने विचार गरेको छु । विनोदीजीले नेपाली साहित्यमा पूर्याएको योगदानको उच्च मूल्याङ्कन हुनु पर्ने थियो तर आजसम्म हुन सकेको छैन । २०१० साल श्रावण २८ गते कास्की रूपाकोटमा जन्मनु भएका विनोदीजी हाल गैडाकोट–८, नवलपरासीमा बसेर शैक्षिक क्षेत्रमा सेवा दिंदै साहित्य सिर्जना गर्दै हामीलाई ‘मरो वर्तमान(२०४७), ‘निर्मम निर्ममम घडीहरू (२०५६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६), अनुपमा धर्ती (२०६६), सृष्टिमाथिका दृष्टि (२०६६) नानीका गीत (२०७०), शूर्पणखा खण्डकाव्य (२०७१)को साथै अनगिन्ती भूकिा लेखन, उनको सम्पादनमा पत्रिकाहरू र विभिन्न पत्रपत्रिकामा अनगिन्ती फुटकर रचनाहरू प्रदान गर्नुभएको छ । उहाँको शालीनता मन्द मुस्कान आकर्षक अनुहार, साधारण व्यक्तित्व र उच्च विचार नै गोविन्दराज विनोदको परिचय हो जस्तो लाग्छ मलाई ।

कृतिपरिचय –शूर्पणखा खण्डकाव्य २०+६७ = ८७ पृष्ठमा सिर्जित छ । यो कृति त्रिवेणी साहित्य परिषद नवलपरासीबाट प्रकाशन गरिएको र मूल्य रु.१६१/– राखिएको छ । यस कृतिमा आत्मप्रबोधन, पूर्वस्मृति– १, २, ३, देश दर्शन, पञ्चवटी–१, २, चित्ताकर्षण, प्रणयनिवेदन, आत्म–विचलन, चुनौती, प्रत्यागमन र उपसंहार गरी १३ खण्डमा काव्यको निर्माण गरिएको छ । यस काव्यमा २५४ वटा श्लोक छन् । यस काव्यमा विनोदीजीले मन्दाक्रान्त छन्दको प्रयोग गर्नुभएको र सर्गान्तमा वियोगिनी छन्दका एक एक श्लोक प्रयोगमा ल्याउनु भएको छ । यस काव्यमा शूर्पणखाको मनोलापमा सिर्जना भए पनि अन्तिम सर्ग (उपसंहार)मा काव्यकारको धाराणाले स्थान लिएको छ ।

काव्य र कृतिकारप्रति साहित्यकारको धारणा –यस काव्यमा प्रकाशकीय र । भूमिका लेखनमा लेखिएका सारगर्भित धारणाले यस काव्यका सारभावलाई निसारण गरेको देखिन्छ त्यसोहुँदा ती सारगर्भित भावनाका केही पंक्तिहरू यहाँ प्रस्तुत गर्न चाहन्छु–

प्राध्यापक डाक्टर नारायणप्रसाद खनालको धारणा– प्राध्यापक डाक्टर नारायणप्रसाद खनालले यस कृतिको प्रकाशकीयमा लेख्नुहुन्छ – ‘सानो आकारमा रचिए पनि यसले उठाएको नारी वेदना, नारी अधिकार र नारी चेतनाको विषय वर्तमानमा प्रत्येक मानवअधिकारकर्मी र यसका उपभोक्ताले चाहकैमध्ये पर्दछ ’

निर्मोही व्यासको धारणा – ‘उत्कृष्ट काव्य कृतिका बारेमा…’ शीर्षकमा निर्मोही व्यासले यस कृतिको बारेमा लेख्नुहुन्छ–‘… यस काव्यमा एकातिर प्राकृतआवश्यक्ताको परिपूर्तिबाट बञ्चित भई जैविक दृष्टिले नितान्त दमित–कुण्ठित हुनका कारणले त्यसको शमनको लागि सामाजिक मर्यादाको उल्लङ्घनतर्फ अदम्य साहसका साथ अग्रसर हुन खोज्दा दुरूत्साहित र अपमानित तुल्याइएकी काव्यनायिका शूर्पणखाप्रति सहानुभूतिशील भई उनको मनो विज्ञानलाई सशक्त रूपमा कलात्मकताका साथ अभिव्क्ति गरेर मानवीय संवेदनालाई अँझ नारी–संवेदनालाई सम्मानित तुल्याएको छ भने अर्कातिर सर्वथा निष्पाप र निर्दोष सतीसाध्वी सीता उपर श्रद्धा व्यक्त गर्दै नारीको उदात्त चरित्रका पक्षमा काव्यिक निष्कर्ष प्रसतुत गरी परम्परित आदर्शको पालना गरिएको छ ।

डा.लक्ष्मणप्रसाद गौतमको धारणा –शूर्पणखा काव्यमा आएका उपर्युक्त सन्दर्भहरू यस काव्यका अन्तर्बस्तु पनि हुन्, कथ्यसन्दर्भ पनि हुन् र र काव्यको समाख्यान पनि हो । यसकाव्यमा पूर्वीय मिथक अनुसार नकरात्मक ठानिएकी शूर्पणखाभित्र पनि प्रेम संवेदना, हार्दिकता, आत्मीयता, राग–अनुराग आदि अनेकौं संवेदित पक्षहरू छन् भन्दै शूर्पणखाका बहुविध चरित्रहरूको प्रत्यङ्कनका दृष्टिले यो काव्य शक्तिशाली छ । यहाँ शूर्पणखाका रागात्मक प्रेममयी, संवेदनात्मक, आत्मिक, भौतिक, अभिमानी, विद्रोही, क्रोधी, आक्रोशपूर्ण प्रतिशोधी र पराजयी चरित्र देखाइएको छ र उसका मनमा आएका अन्तद्र्वन्द्व तथा विचलनहरूले यस काव्यमा व्याप्ति प्राप्त गरेका छन् । सुरुदेखि प्रत्यागमन शीर्षकको बाह्रौ सर्गसम्म उपर्युक्त अन्तर्वस्तुकै सेरोफेरोमा काव्यले परिक्रमा गरेको छ ।

स्वय म काव्यकार गोविन्दराज विनोदीको धारणा– शूर्पणखा खण्डकाव्यको सिर्जना गर्ने चाहना बीसौं वर्षदेखि भएको, यसको लागि तुल्सीकृत रामचरित मानस, वाल्मीकीय रामायण, अध्यात्म रामायण लगायतका पुस्तकहरूको अध्ययन गरी यो काव्यको सिर्जना गरिएको धारणा राख्दै लेख्नुहुन्छ –‘यद्यपि उसलाई मैले रामायणादि ग्रन्थमा उल्लेख गरिएको दानवी/मायावी पात्रका रूपमा नभई मानवी पात्रका रूपमा चित्रण गर्ने प्रयास गरेको छु’ । काव्यकारले राम र लक्ष्मणसँग विवाह प्रस्ताव राख्नुलाई अनौठो नठान्नु तर सीतालाई देखेपछि शूर्पणखाले ईष्र्याभाव(सौताभाव) जाग्नु नै उसको गल्ती भएको ठम्याउनु भएको छ ।

काव्यको कथासार – यस कृतिका प्रथम सर्ग आत्मप्रबोधन शीर्षकबाट थालनी गरिएको छ । यस सर्गमा शूर्पणखाका मनमा रतिका सयौं थरी चञ्चलताले भरिएका भावनालाई कविले प्रष्ट्याउने प्रयास गरेका छन् । शूर्पणखाका मनमा मिठो आह भरेर आउनु, आफूभित्रै गहिरो चाहनाले स्थान लिनु, आफूले आफै आफ्नो तन हेरेर लजाउनु, ऋतुसँग रूप फेरेर जाउँ जाउँ लाग्नु, पिकसँग गाउन मन लाग्नु, मयुरसँग नाच्न मन लाग्नु, संसार हसाउनेगरी हाँसौ जस्तै लाग्नु, सिङ्गै भूवन खाने जस्तो भो्क लाग्नु, समुद्रै पीउने जस्तो प्यास लाग्नु, दिनकर शशीलाई हातमा राख्ने चाहना, मदन मदिराको स्वाद चाख्नको लागि आतुरता, देखे जतिका बस्तुको हृदयतालमा छाया बसेको, छाया भित्रै माया खसेको, गन्ध मिठो लाग्नु, मनको लहडको छन्द राम्रो लाग्नु, मुटुको स्पन्दन प्यारो लाग्ने, जवानीको विज्ञापन गर्दै हिड्नु कि या प्रेमको राजधानी कति टाढा होला ? ताराहरूलाई माला उन्नको लागि झर्ने आग्रह, गीत सुन्न इन्द्रेनीलाई पर्खने आग्रह गर्दै यौन भोकलाई मेटाउनको लागि यस भुवनमान कुनै जोडा छैन कि, प्रश्न गर्दै शुर्पणखाले बैंसको वदनजलको पोखरी भित्र कमलसरि शीर्ष ताजको खोजी गर्दछिन् । पथ–विपथमा अस्त्र फेरेर हिड्न, दिन दिनै बस्त्र फेरेर हिड्न, इच्छा लाग्नु, उनका लालीपूर्ण ओठलाई देखेर वनका फूलले ईष्र्या गर्नु, ऐनाहेरी प्रतिपल एक्लै मुस्कुराउँ जस्तो लाग्नु, मनमनै गुनगुनाउन मन जाग्नु, वायुले वदन चुम्दै हिड्नु, आफैमा भएको सुगन्धलाई कस्तुरीले खोज्दा झै खोज्दै हिड्ने कि आदि भावनाका लहरहरू शुर्पणखामा बग्दै जान्छन् । कृष्ण कादबिनीको घुम्टो ओढ्न, चहकिली ज्योति सौदामिनीको चोली पहिरन, तारकाका सितारा लाउन, र कल्पनाका पियारालाई भेटनको लागि आतुर छन् शूर्पणखा । उनको कल्पना आफूमा मात्र सीमित छैनन् भन्दै कल्पना गर्दछिन् –

होलान् मेरै सरह युवती बैंसको उष्णतामा
फक्रेजस्तै कुसुम सहसा फक्रिएका धरामा
होलान् नानातरह तिनका भावना उर्लिएका
जोडी खोज्ने प्रिय ढुकुरझै प्रेममा कुर्लिएका
पृष्ठ ४

बैंसको आतुर चित्तचङ्गा जस्तै उड्न, पाङ्ग्राजस्तै प्रणय–पथमा गुड्न मन लाग्नु बैंस आँधी या जलधिको छाल हो पहिचान गर्न कठिन, समयले मित्रको रूपमा आएर सृष्टि रच्नको लागि गरेको आग्रहको् कल्पनामा बग्दै, आस्था, आशा, इच्छा, चेतना अर्चना, हुनुको साथै ‘क्यै संसारी विषय सुखका वासना प्रार्थना छन्’ भन्ने धारणा शूर्पणखाले पोख्दै हावालाई उनको लागि पर्खि राखेको कुनै युवकसँग उनको मनको रागलाई लैजान भन्छिन् –

यौटा मीठो ध्वनि समयको गुन्जियोस् कानभित्र
ठानोस् उल्ले पनि सृजनको यो सुसेली विचित्र

पूर्वस्मृति –१ को भावसार– पूर्वस्मृति–१ यस काव्यको दोस्रो सर्ग हो । यस सर्गमा काव्यकारले शूर्पणखाकी आमा(कैकसी)ले शूर्पणखाका बाल्यकालका घटनाहरूलाई भनेका यर्थाथ र परिवारको बारेमा शूर्पणखाले स्मरण गरेको प्रस्तुत गरिएको छ । बालककालमा चकचके, हात्तीसँग खेल्ने, बाधलाई पक्रेर हाँस्ने, काली सरह खड्कलिएर वनमा नाच्ने भएकी, लामा ठूला नङ, बाक्लो र काला केश भएकी, स्वर्णाभाझै उज्यालो मुख, अलि अलि पढेकी, वनमा एक्लै गएर शिकार ल्याउने, तीक्ष्ण दृष्टि प्रहार भएकी बाबा(विश्वा)बाट अध्यात्मवाद सिकेको, ज्ञान विज्ञानमा आमा बाबामा बहस चल्ने, भाउजू (मन्दरी रावणकी पत्नी)बाट सङ्गित सुन्ने र सिक्नेकाम भएको, ठुल्दाज्यै (रावण)बाट शिव प्रार्थना सुनेर जोश उत्साह भर्ने, माइला दाजु (कुम्भकर्ण) सुत्ने दूध केरा खाने मुरलीको आवाज सुन्दा भाग्ने, कान्छा दाजु (विभीषण) ध्यान मग्न रहने आफ्नो भलाइ आफै गर्नु पर्छ भन्ने, आफै(शूर्पणखा)को हृदयको दाउ स्वाधिन बन्ने, नारीले पुरुष सरह काम गर्न, लोकमा नाम राख्न, प्रगति पथको बाटो रोज्न सक्छन्, पवन, वन, वा नीर, आकाश र माटो सबैका साझा हुन् र पुरुषका दासी नारी हैनन् भन्ने जस्ता विद्रोह मनमा जाग्ने, रातमा सिन्धुमा इन्दुलाई हेर्दा इन्दुमा सिन्धु हेर्ने चाहना राख्ने, आफू पनि सिन्धुमा विन्दु ठान्ने, बालापनको विभिन्न चीज हेर्ने जिज्ञासा जो आज पनि बाँकिरहेको, कहिले गृहनरको मेला र भोज देख्ने, कहिले अरुमाथि गरिने व्यङ्ग र कडा युद्धका प्रसङ्ग सुन्ने, अस्त्राभ्यासी दिन दिनै बाण वर्षा गर्ने खाली समयमा सुरा र सुन्दरीका चर्चा गर्ने, यस्तो देख्दा दिक्क भएर जलधितटमा बेग्लै संसार हेर्न जाने, बाल्यकालका यिरहरिलो वानी, लिप्सा, धन, पद, द्वेष विनाको सरल, सौम्य आनी र बानीलाई छाड्दै यति कडा दर्दिलो जवानी किन आएको होला भन्ने प्रश्न राख्दै यो पूर्वस्मृति– १ समाप्त हुन्छ ।

पूर्वस्मृति– २ – यो यस काव्यको तेस्रो सर्ग हो । मनसागरभित्र पौडी खेल्दा शूर्पणखाका स्मृतिहरूको चित्राङ्कन झन हुँदै गयो । राजाकी भगिनी भएको नाताले उन्ले चाहेको सबै चीज विना सर्त प्राप्त हुँदै गयो, गुरुकुलमा पढ्दै, बाल्यकालबाटै युद्धका कला सिक्दै, ऋषिहरूको यज्ञ तोड्दै, ठूला ठूला समर जित्दै, समरको प्यास जगाएर हिडदै गर्दा ग्रहणले हेरेको तारागणले घेरेको, हृदयतलको गीत सुन्दै, युग युगका सभ्यताबाट जित ल्याउने भावना धर्दै अनेक थरिका गहनाहरू भए पनि नलगाई जलधी तटका चीजहरू ल्याउने, कहिले नरिवलका बोटमा हल्लिएर, ताड पानी पिएर, डरनमानी सिन्धुमा पौडिएर, बगरमा दौडिएर खेल्ने, जलधीका तरङ्ग हेर्नु जलचरका किंवदन्ती सुन्नु, उच्च चट्टानमा चढ्नु, गोता पसेर मोती खोज्नु, राती अवेर गरेर घर पुग्दा आमाको गाली पनि खानु पर्ने, असुरगणको रिसको विध्वंसकारी चाला देख्नु पर्ने, साथीहरू पनि उनीसँग डराएको पाइने, कहिले पछ्यौरी हावामा उड्ने, पानीमा रुझ्न आनन्द लाग्ने, कसैसँग माथा नझुकाइ हिड्ने, जिन्दगीका हरेक परीक्षामा प्रथमहुने प्रतीक्षा राख्ने, रुखमा शीघ्र चढ्ने, ठाडाखोला सहसा वीरताका साथ तर्ने, मनमा कत्ति कुण्ठा, निराशा नलिने, नयाँ लक्ष, विश्वास, आशा बोकेर हिड्ने, आशाभित्र पनि नयाँ युग देख्ने, आफै आफ्नो प्रगति–कविता लेख्ने, गुप्त कुरा देखिँदैनन् लुप्त कुरा लेखिदैनन्, आदि बाल्यकालीन घटनालाई प्रष्ट्याउँदै शूर्पणखाको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।

स्मृति –३ –यस सर्गमा काव्यकारले यस काव्यकी नाइकाको विवाह ‘विद्युज्जिह्वा’ दनुज राजाकै वंशकोसँग हुने भएकोले छिटो तयार हुने संदेश लङ्कापतिले दिए पछि उनी सिङ्गार गरेर तर्खर भइन् ।मधुमिलनको स्निग्ध –सौभाग्य रातको कल्पना गर्दै परिणय हुने ठाउँमा गई ‘जिह्वज्यू’को गलामा माला पहिराएर जिह्वज्यूको मृदुल बाहुको स्पर्श पाउँदै करकमलबाट माला पहृदै साह्रै सुखद पलको आुभूति गर्दै गर्दा समरतिर जानु परेको र समरमा गए पछि आफ्नै दाजुबाट आफ्ना पति मारिएको खबर दूतबाट प्राप्त भएपछि असह्य विलौना गर्दै मार्नूनै भए ‘मलाई किन उन्लाई सुम्पिएको’भन्दा दाजुले भ्रम भएको महाभूल भएको जुवाइँ मारिएको थाहै नभएकोले अब सुर्ता नगरी दाज्यू खरसँग राजदूत भएर दण्डकारण्य जान भनिए पछि ढुङ्गाजस्तो मन बनाएर धैर्य केही जगाएको धारणा सहित यो सर्ग समाप्त हुन्छ ।

देश दर्शन–यस सर्गमा सिन्धुतरेर नौला जनपद हेर्नको लागि शूर्पणखा, सागर नदीनाला तर्दै विभिन्न प्राकृतिक सौन्दर्यलाई नियाल्दै, दण्डकारण्यमा, पुग्दछिन् । यो धर्तीको अनुपम स्निग्ध काख पाउँदा लाखौंलाख भावनाहरूउठ्दै गएको, कृषकका बस्ती टम्म मिलेका, खेतमा धानझुलेका, सहरका धनहिरूले विलास गर्दै गरिबहरूलाई दास बनाएको, भोगी, कामी, सुरा सुन्दरीमा लिप्त कतिपय राजा राजनीतिमा लिप्त कतिपय राजा राजनीतिमा प्रवृत्तरहेका, साना साना अनेक जनपद वारि र पारि बनेका, चेतना र विवेकमा जिउनको लागि साह्रै कठिन, दीनहरूले प्रगति, समता, न्यायको जित भएको नवयुग कहिले आउला भनी पर्खिरहेका, शूरा योद्धाहरू नृपसँग डर्नु पर्ने, वर्षैपिच्छे हलचल भै नै रहने, युद्धमा फस्न पर्ने, अवध राज्य बलिष्ठ भएको राजा दशरथ कर्तव्यनिष्ठ दानवी प्रबृत्तिलाई दमन गर्ने राजा थिए र उनका चारभाइ छोराहरूमा जेठा छोराकी साह्रै राम्री कुसुम–युवती जानकी नवबधु रहेकी, भरत गद्दीमा बसेका, राम र सीता वनमा आएको, नृपतनयलाई हेर्न चित्त अधीर भएको धारणा, शूर्पणले राख्दै उनले सानिमाका पुत्र खर, त्रिशिर, दूषण पनि यतै छलकपट बलले अधिनमा राख्दै राज्य गर्दछन् । विमात्रीतिरका दाजु कुवेर अलका धाम नेपालमा बस्दछन् । उनको विमान खोसेकोले सम्बन्ध सफा नरहेको, यहाँ पनि साना साना राज्यहरू रावणको अधिनमा रहेका, यहाका जनताले विष्णुको पूजा गर्दा रहेछन् तर रावणले आफै रचित शिवको ताण्डवस्तोत्र पाठ गर्छन् । हिड्दा नयाँ नयाँ दृश्य देखिनाले मुग्ध हुँदै हिडिरहु जस्तोलाग्ने, मगजको पत्रमा यात्रामा देखिएका विचित्र शब्दचित्र कोरिरहुँजस्तो लाग्ने, हिड्दा प्रकृतिका अनेक रूप र मानिसका अनेक कर्महरू देख्न पाइन्छन् साथै त्यसै प्राप्त गर्न नसकिने अनुभवहरू लिन सकिन्छ । ‘ज्ञाता यायावरसरि कुनै जिन्दगीमा हुँदैनन्’ भन्दै देश देशको दर्शन थरी थरीका संस्कृति र भेषको ज्ञान हुँदै भरियो उनमा सुन्दर भाव माधुरी भन्दै यो सर्ग समाप्त हुन्छ ।

पञ्चवटी–१–यस सर्गमा पञ्चवटीको प्राकृतिक सौन्दर्यलाई प्रस्तुत गरिएको छ ।पञ्चवटीमा मन्दवायु चल्छ, कुसुमले वनमा मीठो सुवास छर्छ, वासन्ती समय छ, नयाँ पालुवाका लुगाले तरुलाई सिङ्गार्छ, डाली डालीमा सुगा झुम्मिएका छन्, व्याधा छैनन्, चरा स्वतन्त्र छन्, ऋषि कुलको शान्तिको मूलमन्त्र फैलिएको छ, कुनै वैरभाव छैन, आ–आफ्नै स्वभावमा रमाएका छन् । शंख घण्ट बज्दै छन्, वेदध्वनि गुञ्जिदै छन्, धूपको मन्दमन्द बास्ना नासिकाले पाउँदै छ, शूर्पणखाको नजर पर्ण(स्याउला)को झोपडीमा अल्झिन्छ हेर्दा हेर्दै पयर बल्लरीमा बल्झिन्छ, जादूले तानेसरि तानिदा कसो लडिएन भन्न सङ्कोच लाग्छ ।राम्रा साना सफा कुटीमा को बस्छ पत्ता लगाएर यदि ऋषि भए पाउमा नै्र समाएर श्रद्धा अर्पण गर्ने मनका कल्पनाझै विचित्र फक्री फुरुक्क भएर बाँच्न चाहाने कोपिला, हरिणका शिशु मस्त मस्त उफ्रेका, । सारौँ. पवनमा सुस्त सुस्त तैरदैं गरेका रवि किरणले विहानमा आई हेर्ने, धर्तीका अनुपम कला अनि सिर्जनाका विधानहरू वरपिपलले छाँयाँ दिने, आदि विविध प्राकृतिक सौन्दर्यले गर्दा प्रीतिको फूलबारी सिर्जना गर्ने रहर जस्ता प्राकृतिक सौन्दर्यमा प्रभावित भएर शूर्पणखाले भन्छिन् –

मेरो त्यस्तो महल सुनको गर्विलो ठाँट–बाँट
चाहेजस्तो विभव–सुखको राजसी छाँटकाँट
मीठा नाना तरह मदिरा मांस आहारलाई
त्यागी आऊँ कि त वनतिरै लाग्न थाल्यो मलाई

उनले उनाका पछि पछि अङ्गरक्षक हिड्थे, गुरुहरू वैज्ञानिक शिक्षा दिन्थे, कोलहालमा हुर्किएकोले ‘सिर्जना’ नछानिएको र राम्रो प्रकृति कहिल्ये पढ्न नजानिएको, यहाँ भने धन र सुनको कालो छाया नदेखिएको, ‘फोस्रो आडम्बर पनि कतै दृष्टिमा लेखिएन’ अन्न वा कन्दमूल जे जे पाइयो खाइयो भूल–शूल केही छैन आदिको साथै –‘देखेँ साँच्चै प्रकृति रचना आज अत्यान्त खासा’ शूर्पणखाले यहाँको प्रकृतिक सौन्दर्यले यति गहिरो छाप पार्यो कि नयाँ नयाँ पढ्न पर्ने कुरा पढ्दै जाने, नयाँ सिर्जना हेर्दै जाने, ‘सारा सृष्टि–स्थिति– प्रलयको भूतहोस् वा भविष्य, बुझ्दै जाउँ जति–जति अँझै बुझ्न, बाँकिरहस्य’ भन्दै उनको चाहना अनुसार घुम्न थालिन्, यहीं बसेर सृष्टि र ‘नित्यानन्दीपरम सुखको यो नयाँ वृष्टि हेर्छु’ भन्दै यस सर्ग समाप्त हुन्छ ।

पञ्चवटी–२ –यस सर्गमा शूर्पणखाका दबिएका मनभित्रका कुरा धेरै आँकुरा भएर छरिएर उम्रेर धेरै भावहरू सपना भै पोखिएको धारणा पस्केका छन् काव्यकारले । शूर्पणखाले अजब सपना देख्छिन् ।सपनाको कारणले छाती फुल्छ । कस्तो खाले परिणति दिने सङ्केत हो या आफ्नै अर्ध–सञ्चेत हो भन्ने ठान्छिन् । यौटा सेतो चहकिलो घोडा अगाडि आउनु, साथै यौटा तेज–राशि हँसिलो युवक घोडामा सवार भएको जादू हो वा मदनको अनौठो उभार हो छुट्ट्याउन नसकिने जस्तो देखिनु, कुनै सूत्रले तान्दाझै तथा हावा चल्दा तृणदल त्यसै साथ आफै लाग्दाझै तानिएर उसको पछि पछि लाग्नु, ऊ उड्दै हिमशिखर माथि गएर मेघभित्र हेर्दा हेर्दै विचित्रसँग अलप हुनु, शूर्पणखा पनि फुर्तिली र शक्तिशाली भएकोले प्रीतिको पंख हालेर उड्नु, शूर्पणखाको आत्मा विचलित हुन्छ । उनी प्रीतमा पग्लिन्छिन् खोला बन्दै तलतल बग्दै शीतमा सङ्लिदै जान्छिन् । आँखा खुल्दा शरीर पसिनाले भिजेको र युवक मुटुको माझमा बिझेको अनुभूति हुनु, विगतले फेरि झल्का दिएको वा, अभ्यागत समयले दर्द सिएको वा अकथित कथा सपनामा पोखिएको वा उनको नियति युगका साथमा जोखिएको के होला ठान्दै उनी प्रश्नबाची हुन्छिन् । उन्ले के गर्ने के नगर्ने कसरी चिन्ता हटाउने भनेर सोच्न सक्दिनन् र मनमनै राम्रै होला भनेर धैर्य धारण गरी हाँस्छिन् र तिर्खा लागेकोले पानी पिउनु, नदीमा गएर नुहाउनु, आफ्नै तनमा अँझै नयाँ भाव–सौन्दर्य पाएको अनुभूति गर्दागर्दै क्वैलीले कुहुकुहु गर्नु गौथली चिर्बिराउनु, पवन नाच्दै आउनु, रुखका पालुवा फर्फराउनु, पूर्वि क्षितिजतिर ज्वाला वा अनलको रातो फिलिङ्गो आधा होवा वा मृदु मधुरिमा सृष्टिसौन्दर्य सिङ्गो साह्रै अपूर्व दृश्य देख्छिन् र हेर्दाहेदै बाल–सूर्यले जन्म लिन्छन् र। कागले केही सन्देश दिन्छ तर उन्ले बुझ्दिनन् काग धपाउँछिन् काग उडेपछि उनमा विचार पलाउँछ –

मेरा आफ्ना सकल मनका कल्पनाका तरङ्ग
निस्की आफ्नो लय र सुरमा छोइँदै अङ्ग–अङ्ग
दौडेका हुन् क्षितिजतिर वा स्वप्नको रूपधारी
मेरो नौलो तरुण वयको प्रीति ढोका उघारी
पृष्ठ ३३

आफ्नै वासनाका सुसेली हुन् वा आफै सम्बोधित विम्बजस्तै जुनेली हुन् या नौलो कुसुमवयको रङ्गमा रङ्गिएका तृष्णहरू बाँचेका हुन्, चारैतिर स्वर्णपङ्खी प्रभातहरू देखिएका छन्, गिरि, नदनदी, सृष्टिका श्रम्य हातहरू व्यूझेका छन्, ऋषिजनहरू ज्ञानले सङ्लिएका छन्, मीठा प्रकृतिका कविता पढिएका छन् । यस्ता विविध सपनाहरू देख्दा देख्दै स्वप्नजस्तै भएर आफ्ना बाटाहरू भूलेर आज टाढा भएँछु र फर्की हेर्दा आफू आँर्फैसँग टाढा हुने कस्तो मनोरोग हो भन्दै दङ्ग पर्दै शूर्पणखा प्रश्नवाची हुन्छिन् । मानिसका हृदयका स्वप्निल चाह चूर्ण भएर जान्छन् सुख–सयलकाका कामना अपूर्ण रहन्छन् ।सपना देखेपछि भाग्छ, स्मृति पनि पर हुन्छ सपनालाई कसैले खोज्दैन तर मानिसले किन स्वप्नकै गीत गाउँदै हिड्छन् भन्दै शूर्पणखालाई, अमृत जसले पिलायो, र आफै विलाएको त केवल भ्रम रहेछ भन्ने थाहा लाग्छ । यो भ्रमले गर्दा उनी शोकमा भएको र विपना–दुखको रोगमा भएको भन्दै उन्ले कामना गर्छिन् –

देखूँ यस्तै मधुर सपना चाह मेरा फुलेका
मेरा सारा मन–नयनका बन्द ढोका खुलेका
खोजू मेरा अपहृत कुरा स्वप्नले छापिंदा म
यौटा साँचो सुखद विपना साथ होस् ब्यूझिदा म
पृष्ठ ३५

आजको विहानी शुभ अशुभ कस्तो होला, आजको कस्तो कहानी लेखिएला, आदि सोचनाको साथमा मनमा विविध तर्कना खेलाउँदै, वन्याश्रम घुम्ने नयाँ सोचको साथमा शूर्पण उठ्छिन र यो सर्ग समाप्त हुन्छ ।

चित्ताकर्षण – यस सर्गमा शूर्पणखा पर्णशालातिर लाग्नु, सुखको लक्ष लिएर पुगे जस्तो भान हुनु, राम्रो वातावरणले गर्दा मुग्ध पर्नु र रमाउँदै आगनीमा पुग्नु, त्यहाँ पुग्दा साँवलो रूप, सुगठित देहका अङ्ग–अङ्ग, रविझै वान्किलो तेजोराशिले प्रखर मुहार, हिमशिखरझैं, उच्च चौडा निधारभएको यउटा तरुणलाई देख्नु, असल कुलको वीर्यको प्रभावले गर्दा नयन–युगमा शौर्य वीरत्व भाव झल्केको, सहजै शत्रुक्षय गर्न सक्ने लामा पुष्ट बाहु भएको, दुवै पाउले छुँदा ढुङ्गा द्रवित हुने(पग्लिने), यस्तो युवक देख्दा शूर्पणखाको मनमा राग उर्लेर आउनु, चोखो तरुण तनमा कुन्नि के सलबलाउनु, समिपम गएर अडिनु, मानो नौलो प्रणयपथको भासमा नै गडेको भान हुनु, रामलाई को हौ भनी सोधनी गर्नु, कुसुमवयमा मोज गर्न छाडेर पर्णको झोपडीमा कष्ट सहेर किन बसेको भनी सोधनी गर्नु, रामले पनि म राम, मेरी प्रिय पत्नी जानकी, बली भाइ लछुमन सन्ध्या प्रभात वनमा नै सुख छ, । हाम्रा पिता ‘दशरथ’ निकै वीर, योद्धा प्रतापी, निसाफी अवधपुरका राजा हुन् त्यहाँ भरतले राज्य गरेका छन् र हामी यहँ छौ । रामले पनि शूर्पणखालाई सुन्दरीमा सम्बोधन गर्दै तिमी को हौ, तिम्रो नाम केहो, गृहनगरको नाम के हो बास कहाँ हो यो घना जङ्गलभित्र किन आयौं, नयनयुगमा व्याप्त विचित्र तृष्णामा देखिन्छ्यौ । रामका यी बचन सुन्दा, जानकी झट्ट निस्कनु, वैरी वन्दै शूर्पणखासँग जिस्किएको प्रश्नवाची बन्दै सीताको रूपको वर्णन शूपर्णखाले यसरी गरे कि छन् –

साह्रै राम्रो सुतन विधिले हो कि आफै कुँदेको
मान्छे होवा मनुज रजमा फूल राम्रो फुलेको ?
पृष्ठ

शूर्पणखालाई ईष्र्या लाग्छ रिस पनि उठ्छ, तापनि धैर्य धारण गर्दै प्रेममा अन्धि भएर रामलाई प्रतापिरहेछौ यस्ता योद्धासँग अति लुरी जानकी देख्दा छक्क पर्छु भन्दै रामलाई पतिको रूपमा वरण गर्नेको लागि रामसँग आज्ञा माग्छिन् । ऋषिकुलका विश्रवा बाबा, असुर कुलकी सुन्दरी कैकसा आमा अमुक जनले जे सोचे पनि अक्षता यौवना, नारीमा नव्य सञ्चेतना, वीर लङ्केशकी यौटी तरुण भगिनी, रानी बन्ने सकल कला भएकी, युद्धमा एक्लै लड्न सक्ने, कठिनभन्दा कठिन काम गर्न सक्ने, विद्युतगति भएकी, बोल्न सक्ने कला, गाउन सक्ने गला, गोरी सीता सरी नभए पनि राम्री, गुणहरू शौर्य, लावण्य रूप भएकी, आज्ञा अनुरूप काम गर्न सक्ने, साधारण नारीभन्दा भिन्नता भएकी र पूर्णानन्द तन र मनले प्राप्त गर्नको लागि मलाई रोज भन्दै सीता र आफू बीचको तुलना शूर्पणखाले रामलाई सुनाउँछिन्–

सीता सोझी अति, कमलको फूलर्झै कोमलाङ्गी
के गर्ली खै यदि समरमा लड्नु पर्दा कृशाङ्गी ?
चण्डीजस्ती समरविजयी पात्र वीराङ्गना म
के दाँजूँ त्यो शशिमुख कहाँ सूर्यतेजी कहाँ म ?

योद्धा रहेछौ युद्ध लड्न, शत्रुक्षय गर्दै सन्तुष्टि लिनको लागि म जस्ती योद्धा भुवन भरमा पाउने छैनो, हाम्रो जोडी देख्दा सबै दङ्ग पर्ने छन् प्रीतिको प्रसङ्गको भुवनभरमा चर्चा चल्ने छ, यस्तो राम्रो मिलनमा प्रिय नियतिको लागि कोटी कोटी धन्यवाद अर्पण अर्पू क्यारे भन्दै –

बुझ्छौ आफै पनि सव तिमी, विज्ञ नै छौ म ठान्छु
साक्षात् कामेश्वर सदृश यो रूप तिम्रो म मान्छु
सुम्पे आजै ग्रहण गर यो दिव्य मेरो जवानी
लेखौं हामी नव सृजनाको श्रेष्ठ यौटा कहानी
पृष्ठ ४०

यो सर्ग यहीं समाप्त हुन्छ ।

प्रणयनिवेदन– यस सर्गमा शूर्पणखाले आफ्नो पाणीग्रहणको लागि कहिले रामसँग र कहिले लक्ष्मणसँग प्रणयनिवेदन गर्दछिन् तर उनको प्रणयनिवेदन दुवैले स्वीकार्य दैनन् । राम लक्ष्मण र शूर्पणखा बीच भएको बार्ताको भावसार यस प्रकार छ– शूर्पणखाको इच्छालाई बुझेर राम्रो युवकले तिम्रो भावना उनको भाइलाई भन्ने र राम भने एक पत्नी–व्रती भएकोले शूर्पणखालाई ग्रहण गर्न नसक्ने भएकोले तिम्रो प्रणयसुखको प्यासलाई पूर्ण गर्न सक्दिन भन्दै मेरा भाइ लक्ष्मण ज्ञानी गुणी छन् एक्लै भएकोले उनीसँग तिम्रो इच्छा जाहेर गर भन्ने रामको बोली पाएपछि यी बाणी मुटुभित्र विझी घाउ लागेर अपरिमित पीडा हुँदा हुँदै भाइलाई हेर्दा भाइ अनलझै (अग्निझै) मुस्कुरायो । ऊसँग मैले मेरा मन–सदनका भावनालाई खोले । लछुमन तिमी ज्ञानिरहेछौ मलाई, थाहा लाग्यो मलाई रानी बनाएमा मेरो प्रणयको कारणले जिन्दगी सुखसँग बित्छ, तिमी अति गोरा र मेरो रगत वर्ण भएकोले हाम्रो तन–युगलबाट सृष्टि सुवर्ण बन्छ, तिम्रो सघन े सुखद सितलो मनको छाहारीमा बस्न देऊ, तिम्रो प्रीति छायामा यौटा नवयुग, नयाँ सभ्यता विश्वमा सिर्जन गर्न सकुँ, हामी नौलो युग सँगसँगै अग्रगामी बनौंला, मनका राग खोलौंला, दीप बल्नलाई जसरी तेलको आवश्यक्ता छ, जिन्दगानी चल्नलाई नारीको आवश्यक्ता हुन्छ, तिम्रो सेवा म गरुँला भौतिक चाह पुरा गरौंला, यस्तो राम्रो अवसर थोरैले मात्र प्राप्त गर्दछन्, जल्ले अवसर भोग्छ त्यो नै कालजेता ठहर्छ, पाएको मधु–मिलनको शौभाग्यलाई भोगौं आदि विभिन्न गुनय–विनय शूर्पणखाले लक्ष्मणसँग राख्दछिन् ।

शूर्पणखाका यी धारणामा लक्ष्मणले भन्छन् –हामी वनतिर राज्य उतातिर, समयले हाम्रो भाग्य कता छ त्यसो हुँदा तिम्रो रतिको चाह मबाट पुरा हुन सक्दैन, तिमी राम्री रैछ्यौ योग्य पात्र पाउन सक्छ्यौ, हामीसँग दुख धेरै छन्, पथ सुमनमय छैनन्, पथभरी काँडा छन्, तिम्रो जवानी प्रमुदित देखें, यो वेला मन चञ्चल हुन्छ, प्रणयपथका निम्ति सत्पात्र–साथीको खोजी गरी सोची सम्झीनिधो लिन राम्रो हुन्छ, बरु एउटा रामसँग जाने राय दिन्छु, रामले नै कुनै उपाय देलान्, दाज्यै कुल–नियमका मालिक हुन् म उनको दास हुँ, सुखका उनी घडा हुन् र प्यास हुँ –

सेवीलाई सुख छ र कहाँ बस्छ पीडा सहेर
माग्नेलाई पनि छ र कहाँ मान–सम्मान हेर
सेवी, त्यागी पुरष म कहाँ फस्दथें वासनामा
देऊ एक्लै रहन युवती ! ब्रह्मको साधनामा
पृष्ठ ४५

आत्म–विचलन– यस सर्गमा रामबाट लक्ष्मण अनि लक्ष्मणबाट रामसँग प्रणयानन्दको लागि राखिएका प्रणयनिवेदन अस्वीकृत भएपछि शूपर्णखाको आत्म विचलनतिर लाग्छ । सौमित्रे(लक्ष्मण)को वचन मनमा तीरझै गड्छ र उनको आफ्नै हृदय दुई भागमा लड्न थाल्छ । एक मनले भन्थ्यो –‘दमन गर भित्रको चेतना तँ’ अर्को मन भन्थ्यो –‘प्रकट गर कामको वासना तँ’ । शूर्पणखा पुनः प्रणय पथमा साथ पाउँछु कि भनेर भन्न थाल्छिन् –कति पुरुष स्त्री भनी मर्न खोज्छन् प्रखर तरुनी भनेपछि लठ्ठ पर्छन तर तिम्रो मन कस्तो म स्वय म अर्पिदा पनि प्रेमको फूलबारीतिर नजर नलगाई आँखा तर्छौ । आफ्नै नजर अघि षोडसी देख्दा मदनको वेग टाढा धकेलेर भाग्छौ, तिमी कस्ता पुरुष हौ भनी शंका लाग्न थाल्यो, क्षेत्री भन्छौ तर आँट छैन, जोश छैन, स्त्री वैभवलाई कसैले भोग गर्दैन भने आफ्नै इच्छाप्रति सृजनको न्याय गर्दैन, एक्ले बस्दा के नियास्रो लाग्दैन, के तिर्सना जाग्दैन, एक्लै कसरी जिन्दगी गुज्रला, त्यसोहुँदा युगल भै लेखौं कहानी, यस्तो बचन सुनेपछि ऊ चुप लागेर झोपडी भित्र पस्यो । यस पछि मायाको भिखारी भएर सीताको पतितिर गएँ र तिम्रा भाइ तिम्रा भक्त रहेछन्, लज्जालुसँग कुनै कर गर्न बेकार ठाने, तिमीसँगै आएँ, प्रतिज्ञा तोड र मलाई कान्छी रानी बनाऊ, सीता सोह्र शृङ्गार गरेर बस्ली म तिमीसँग शत्रुका साथ लड्न हिंडुला, यस्तोृ मौका पर्दा पनि अमर्द जस्तो पछि पछि किन हट्छौ, के सोच्छो तिमी हातमेरा समाऊर गला मिल्न आऊ भन्दै शूर्पणखाले आतुरता देखाउँदै सीतालाई भन्छिन् –

हुन्छौं हामी प्रणययुगको सूत्रमा बद्ध अहिले
जा जा सीते पर ! मिलन यो सक्तिनस् हेर्न तैले
पृष्ठ ४८

शूर्पणखाका सबै कुरा रामले सुनेर हाँसी हाँसी टारिदिनु, रामको व्यवहारबाट शूर्पणखाको चित्त विग्रनु, आशा कुँडिनु, क्रोधले देह काँप्नु, पीडा बज्रसरि नै खनिनु, दर्दले मुक्ति माग्नु, शूर्पणखालाई जब हृदयको स्पन्दनले हान्न थाल्छ तब सीतालाई शत्रु ठान्न थाल्नु, गोल सल्काएझै आँखा हुनु, चारैतिर अस्त्र मिल्काए जस्तो देखीनु, उता सीताले अति क्षुब्ध दृष्टिले प्रहार गर्नु, सारा सपना तोड्न तयार भए जस्तो लाग्नु, र सीताको कपाल लुछ्न जाउँ कि जस्तो लाग्नुजस्ता रिसका क्रियाकलाप शूर्पणखाका देखेर लक्ष्मण उठेर गर्जँदै– हे दुष्ट, दम्भी, क्रोधी, रिपुदलकी पात्र, तन–वदनमा आगो झोसेर भाँती भाँती बोल्ने, स्नेह–सम्मानहीन, कलुषित डाह गर्ने स्वभाव, खुसखुसे कुरा गर्ने वाली, बुद्धि अर्ती नसुन्ने खालकी, दुमुर्खा, नीच स्वार्थी, तेरा कुटिल इच्छ्या कहिल्यै पुरा हुँदैनन्, वासनाकी भकारी, सृजनाहीन, विश्वविध्वंसकारी, नारी तँ गैहाल धेरै बक बक गरे, नाक–कान काटुला, हाम्रा घरतिर आए परान फुस्किएला, दानवीवृति बोकी सेखी नगर ठूलो बेइज्जत होला नाक जोगाएर भाग भन्ने जस्ता अपमानिस शब्द सुन्नु पर्दा शूर्पणखाले आफूलाइृ ग्लानि भएको, पवित्र स्वत्वमा धब्बा लागेसरि भयो–

आँखा मेरा शिखर –सरिता भै त्यसै भूल्भुलाए
मेरो नारी दिल अति दुख्यो वेदना सल्बलाए
पृष्ठ ५०

उपरोक्त घटनाक्रमसँगै यो सर्ग समाप्त हुन्छ ।

चुनौती –राम लक्ष्मणबाट शूर्पणखाले अपमान घृणा धेरै सहनु पर्यो र उनका नयनबाट आँसु झर्न थाले र उनले राम–लक्ष्मणसँग यसको बदला लिने धारणालाई यस सर्गमा पोखेकी छन् । उन्ले भन्छिन्– ‘म एकेलीलाई साह्रै वेइज्जत गर्यौ, नाकै काटेसरि भयो, नाम हरायो नारी आस्था प्रति पुरुषको क्रुरता बरबरायो, नारीले पुरुषसँग प्यार माग्न हुन्न, के नारीमा प्रणयको भाव जाग्नै हुन्न, के पुरुषले प्रेमको भाव पोखे सरह नारीले प्रेमको भाव पोख्नै हुँदैन, तिर्खाएको यात्रीले पानी मागेझै मैले पनि प्रीतिको जिन्दगानी मागेकोमा के भूल या शूल ठान्यौ, के सृष्टि प्रणय विना नै चल्छ भन्ने ठान्यौ, तरुले छायामा नबस कैल्यै भन्दैन यो माटोमा कहिल्यै नहिड पथले भन्दैन तिम्रो हृदय छहरा तुल्य होला भनेर तृष्णा विसाएँ तर साह्रै कृपण रहेछौ आशा जगाउन व्यर्थ हुनगयो, पुरषका धेरै पत्नी भएको पनि देखे, राजाले धेरै रानी राखेको पनि देखें, म रानी बन्छुभन्दा मेरो के गल्ती भयो, मैले बुझ्न सकिन, एउटी नारीले पुरुषसँग सिर्जना माग्छे, विगतका बोझिला कटु सम्झनालाई बिर्सु भन्छे त्यस्तीलाई सकरुणसँग कृपा गर्नु पर्दथ्यो किन यति घृण वर्षायौ, राम दयावान, अकलुष र महा–सन्त, भन्ने सुन्थे, तर आज सबै मिथ्या किंवदन्ती जस्तो लाग्यो, हे जोगी हो सुन, म अहिले एक्ली भएर हारिएकी छु, एक्लै पारिएकी छु, आँखाभरि रातो जलधिझै तातो आँसु रहेको र रगत रातो बगेको देखेका छौ, यस्तो बेइज्जत भुवनमा कैल्यै परेन, यो धर्तीले पनि यति घृणा सहेन’ भन्दै शूर्पणखाले पुनः भन्छिन् –

जिस्काएथ्यौ जब प्रकृतिको आत्म–सम्मानलाई
निम्त्यायौ है अब जलधिको छाल तूफानलाई
पृष्ठ ५३

नारी राम्री हुन पनि लोकमा भूल हुन्छ, रूपमा शूल हुन्छ, सितालाई शूर्पणखाले राम्री छु भनेर नठान तेरो रूप नै तेरै लागि बैरी छ । ‘हे मुर्ख हो मेरो सोझो दिल अति दुख्यो, यो पीडाको फलशीघ्र नै जहरसरह चाख्न पाउला, गहका आँसुको मोल तिर्न गाह्रो पर्ला, मैले चाहेजति सब कुरा प्राप्त हुन्थे, निहुँ खोज्नेलाई घमण्डलाई तोडी दिन्थें तर आज मेरो दिल हार्यो मेरै अहङ्कारलाई जलाएर र मेरै निष्ठा टाढा टाढा गयो, भ्यागुतो भन्दै छकाई, आशा पोखी निरासा बनाएको, मन सुमनलाई तौलेको, कुटिल खेल खेलेको, भुवनमा नाम राम्रो फैलिए पनि काम राम्रो देखाएनौ, समरको बिउ रोप्यौ, कालो युगसँग लड्न तयार होऊ, मलाई तुच्छ अन्याय गर्यौ, यो थाहा पाएपछि लङ्काधिराज कति क्रोध होलान्, मेरो मनको कोपिलामा शत्रुताको निशानी छाड्यौ, थाल्यो अबुझ हो दुःखको जिन्दगानी भन्दै शूर्पणखाले चुनौती दिंदै भनिन् –

तोड्यौ मेरा सकल सपना प्रेमका तिर्सनाका
नौलो आस्था, अभिनव कलायोगका सिर्जनाका
लागें अहिले घरतिर रुँदै यो चुनौती म दिन्छु
पक्कै मैले पनि बदला पर्ख है लिन्छु लिन्छु
पृष्ठ ५५

प्रतिशोधको भारी बोकेर घरतिर लागेपछि यस सर्ग समाप्त हुन्छ ।

प्रत्यागमन –यस सर्गमा शूर्पणखा जब फर्केर घरतिर आउन लागिन् तव उन्का मनका धारणलाई यसरी खोल्दै गइन् – जे सोचेथेँ हृदय तलमा राग ओइलिए, शशीवदनमा दाग लाग्न गयो, आशा आस्था सबै चुडिए, चेतना अपाङ्ग भयो, आफैसित यी अङ्गअङ्ग क्षुब्ध हुन गए, जसरी धर्तीले सृजनाका निम्तिमा जल माग्छिन् त्यरी नै पुरुषका जीवनाधारको हात मागेकी थिएँ, मेरा इच्छा पनि फत्रिएको सृजनाकै लागि थिए तर आज नियतिले धोका दियो, एउटा पुरुषलाई पतिको रूपमा पाउँदा हर्ष लागेको थियो, आशाबत्ती हृदयागारमा झलल झल्मलाएको थियो, चाँडैनै आँधी आएर प्रीतिको चिराग निभ्यो र विधवाको दाग लाग्यो, नौलो पुरुषसँग प्रेममा नै फुल्ने स्नेहाश्रय पाप्त गरी सबै दुख भूलाउने सोच पलायो र अघि बढें तर आज फेरि प्रणय सपना भङ्ग भयो र आफ्नै बाङ्गो नियतिसँग लाज लाग्न थाल्यो । उनी मनमा तर्कना खेलाउँछिन् – ‘मैलै कुनै युवकसँग बोल्न, सोझै मन र मुटु खोतल्न, नारीसित मनमनै ईष्र्या गर्न र यसरी तृष्णाको जलधि तर्न हुन्नथ्यो कि’ ! उनले प्रश्न राख्छिन् –के नारीले जहिल्यै हृदय खुम्च्याइराख्न र पीडा बाधालाई गुम्स्याइराख्नु पर्छ ? नरको बोलवाला सधैं छ तर नारीलाई दमन र घृणा यस धरामा अँझैछ, आँखाको अघि नयाँ फूल फक्रिँदा को लोभिन्न ? तृषाएको मानिसले भूल्भुले मूल देख्दा को लोभिन्न ? बैंसको राप पाउँदा कुन युवा युवती लोभिदैनन्, आज दिल खोल्नु नै पाप भयो ? ‘ढुङ्गा जस्तो दिलसित वृथा आज मागेछु भिक्षा’, यो कटु तर जिन्दगीको निम्ति शिक्षा भयो, आँखा भरि नै वेदनाको सिन्धु उर्लिया, े चेतनाको एउटा हाँगो समय नपुग्दै भाँचियो, यो व्यथित मनको अर्चना, ननिको वञ्चना कस्लाई सुनाउने, उच्चाकाङ्क्षा विगलित भए, भ्रान्तिले आज छोप्यो, सानो कुसुम टिपूँभन्दा शूलले कोप्यो, शत्रुका साथमा सङ्घर्ष गर्न, जादुका मन्त्र छर्न म एक्लै पनि सक्थे तर आत्मा विमुख भयो किन हो किन द्वन्द्व गर्न आँट गर्न सकिन, एक्लै रोएँ ग्लानिले चित्त ढाक्यो, पाउमा ठेस लाग्यो यात्रा पथ कठिन भयो, क्रुरता बर्सिएर नारी मन धमिलियो, वेदना चर्किएर आधा–आधा मुटु पुग्यो, म दोधारमा छु घर जाउँ या त्रिशिर–खरका बङ्गलामा जाऊँ तर बदलाको भाव भने बढ्दै गएको छ, आत्म अभिमान उच्च भएर रोगी भएकी छु यसको निदान खोज्दैछु, सीताको मुख झलझली सम्झिदा चोट लाएर आउँछ र ‘हरण’को बाटो रोज्ने गर्दै अठोट, उनी विचलित हुँदै यस समयमा प्रकृतिवश भूल क्यै हुन्छ कि, ‘दनुज मति’मा गइन्छ कि जस्तो हुनु यो मनको क्रुर आवेगलाई कसरी थाम्नु, बुधजनले केही अर्ती दिनुहुन्छ कि ? त्यसै त्यसै दाँत कटकट हुनु आँखा राता भएर गोल जस्तो देखिनु, क्रोध फैलिएर अग्निज्वाला दमन नहुनु, प्यास आफ्नै पिएर त्रिभुवन नै भष्म पारूँ कि यत्रो हार भिरेर लङ्कातिर कसरी जानु, छाती चिरेर यो पीर कसरी देखाउनु, कडा घाउमा कस्ले मलम देला, वेदनाको कुनै औषधी भए हे सुश्रुत(आयुर्वेदका सुविख्यात महर्षि) देऊ, अविरल आँसु, गहिरो चोट, तीतो अनुभव र मनोरोगले सिकिस्त भएर घरतिर पर्केर शूर्पणखाले दाजुसँग राय माग्छिन् –

मेरो बेइज्जत हुन गयो जे कुराले, म भन्छु,
यो नारीको हृदय कुँडियो के कुराले, म भन्छु
“यो धोकाको अब त बदला नै छ यौटा उपाय
दाज्यै ! आएँ अब हजुरकै साथमा माग्न राय ।”
पृष्ठ ६०

यो सर्गको अवधारणाको समाप्तिमा काव्यकार गोविन्दराज विनोदीले राम र रावण बीच युद्ध हुनको कारणलाई यसरी प्रस्तुत गरेका छन् –

अपमानित ती जसै भइन्
बदलाको कटु भावना लिइन्
हरियिन् अनि जानकी अहो !
र यही कारण युद्धको भयो ।
पृष्ठ ६०

उपसंहार– यस सर्गमा काव्यकारले नारीका विविध पक्षलाई अति गहन रूपामा अध्ययन र विश्लेषण गर्दै नारीवादी चिन्तनमा घोत्लिन पुगेका छन् । हेर्यौं उन्को काव्यको यो सर्गको प्रथम श्लोकमा गुन्जिएका भावनाहरू–

नारी आफै सृजन–सरिता–मूलकी स्वच्छ पानी
नारी आफै प्रणय–सुषमा सभ्यताकी बिहानी
नारी आफै मनुज गरिमा स्नेहकी शैलमाला
नारी आफै भुवनतलकी कष्ट–सङ्घर्ष ज्वाला
पृष्ठ ६१

यी भावपूर्ण उदगारको साथै नारीबाटै अमित–सुखको हुन्छ वर्षा धरामा, नारीका हातले छुँदा पृथ्वी द्रवित हुन्छिन्, शिशुले वात्सल्य राग पाउँछन्, घरघरमा ज्योति छर्ने चिराग हुन् नारी । नारीलाई जति पढे पनि पढ्न बाँकी र जति बुझे पनि बुफ्न बाँकी हुन्छ । नारीका प्रति जति काव्य, आख्यान, शास्त्र लेखिन्छन् ती नारकिा अमर महिमा–सिन्धुका छालमात्र हुन््, नारी सरल र हिउँझै पग्लिएर बग्छन्, नारी जमेर कठिन पहरा बन्छन्, समयले आफै सुवास छर्दा नारी फुल्छन्, समयले प्रकाश छर्दा नारी खुल्छन् । नारी आफै मनुज मनका कल्पना हुन् कला हुन्, घृति–हिमचुली–शृङ्खला–मेखला हुन्, युग युग नयाँ चेतनाका मुहान हुन, प्रगति–सरिता सिर्जनाका प्रयाण, आकाश, अविरल प्रेमका निर्झरी, आस्थाका विजुली, स्नेहका मञ्जरी, दया त्यागका समुद्र, स्वय म पूर्ण चन्द्र हुन् ।नारीले सिर्जना भर्नु पर्छ, प्रेरणा छर्नुपर्छ । प्रेम सद्भाव, शान्ति, टाढा हुन गए धर्तीभरि जहरिलो द्वेष, कालो अशान्ति फैलिन्छ, नारी बहुगुणा, अगम्य विराट भावना भएका नारीमानै अदम्य सुखका चाहना, युग सँगसँगै र्लिएका दिलासा छन् यसमा ‘बुझ्नै पर्ने पुरुषजनले नारी मुक्तिका छन् पिपासा’ । प्रकृतिवश नै नारीहरू रूप सौन्दर्ययुक्त र स्नेह–औदार्यसिक्त हुन्छन् । काव्यकारले प्रश्न राख्नुहुन्छ –‘ती नारीले जब प्रकृतिका त्याग्दछन् सौम्य–भाव, होला कस्तो तब मनुजको सृष्टिमाथि प्रभाव ?’ जब नारीबाट घृति, दया, प्रेम भागेर जान्छन्, त्यसबेला आस्था, आशाले पनि हृदयको बास छाडेर जान्छन् ।त्यो बेलामा अपशकुन भै ठूलो अनिष्ट हुन्छ, धर्ती फाट्छिन र सबैका काम अशिष्ट हुन्छन् । नारीले सृष्टिको भारलाई थाम्दछन्, प्रणय रथलाई नित्य आफै गुडाएर तान्छन्, ती नारी यदि आत्म कर्तव्यबाट च्युत भए भने यो धर्तीमा दिउसै पर्न जाने छ रात, नारी जबजब दोषयुक्त र स्नेहमुक्त आफै भए भने यो धर्तीको अनि सिर्जनाको शृङ्खला टुट्न थाल्छ र प्यारो मायामय सुख–फुट्न थाल्छ, नारीले नारीप्रति घृणाभाव र द्वेषभाव राख्छन्, भने स्नेहिला हातबाट विष बाड्छन् भने नारी लोकबाट कसरी आदृता होलान् ? नारीले सकल नरका भूललाई सुधार्छन् र जनका शूललाई बढार्छन्, जबजब नारीले स्वय म दर्दिला भूल–शूल बोक्न बाध्य हुन्छन् भने जनको नित्य–संसृष्ट मूल कसरी सङ्लो हुन्छ ? नारीमा जुँगा उम्रेको शोभा दिंदैन, नारीमा कति कति वासना दवेका हुनन्, वेदना बहेका हुनन्, नारीले ती वेदना र वासनालाई सोचीसम्झी पोख्नुपर्छ पोख्न उचित नभए चित्तमै छोप्नुपर्छ, नारी कलुषित भए सृष्टि खल्बलिन्छ, नारी विचलित भए सृष्टि नै अल्मलिन्छ, लोक देखेर क्रुध भए लोकमा क्रुर युद्ध मच्चिन्छ, नारी युगयुग सृष्टि रक्षा गरेर हिड्छन्, यिनका स्नेहसिक्त स्पर्शले आशा फुल्छन्, यिनी जाग्दा सृजनाका सबै भाव जाग्छन्, नारीलाई मर्दले घृण गर्न हुँदैन घृणा गरे समाज नै गिर्छ, नारीलाई स्नेह सम्मान गर्दा राष्ट्र र विश्व अग्लो र सङ्लो बन्छ । काव्यकार भन्छन् –नारी तन–वदन देखिने रूप–रङ्ग, गुण अवगुण, रीति बानी ढङ्गमा जे जस्ता भए पनि ‘एउटै मीठो, तर छ सबमा सृष्टिको मूल तत्त्व, सौन्दर्यश्री, शिवमय, सुधा, नित्य, सम्बुद्ध–सत्त्व ।’ नारी भुवन–वनका दिव्य भोक्ता समानका स्रष्टा हुन्, सारा धर्ती, नभ, जल उनैभित्र विद्यमान छन्, सकल नरका आधा अङ्ग पनि हैनन् ती पूर्ण अङ्ग हुन् ‘माली हुन् यी अनि सृजन हो प्रेमको फूलबारी’ ।नारी खोलाजस्तै अविरल सृजना भावमा बग्न सक्ने, धर्तीजस्तै दमित मनका वेदना खप्न सक्ने, महाकाशजस्तै हृदय भरिको माया पोख्न सक्ने, कहिले काहीँ ग्रीष्मको प्यासजस्तै बन्न सक्ने, जस्ले प्रकृति रचनालाई चिन्न सक्छन् ‘फूल’ ठान्छन्, जस्ले चिन्न सक्दैनन् ‘शूल’ ठान्छन् ।कसैले प्रणयरसको एउटै मूल ठान्छन्, नारी विविध रङ्ले सृष्टिलाई सिङ्गारेर बस्छन् । नारीसँग घृति, क्षमा, शौर्य आशा–पराग, रिस, घृणा, द्वेष, ईष्र्या, राग आदि छन्, यिनमा भएका गुणबाट उर्जा लिएर यो धर्तीलाई मधुमय पारौं र मीठो स्नेहधरा पिऊँ आदि धारणालाई राख्दै काव्यकारले तलको अन्तिम श्लोकको साथमा यो काव्यको इतिश्री गरेका छन् –

नारी छैनन् जुन सदनमा त्यो छ आलोकहीन
नारी छैनन् जुन सहरमा त्यो छ शोभाविहीन
सोचौँ नारिरहित जगको कल्पना हुन्छ कस्तो ?
बन्ध्या धर्ती, ग्रहणविना शून्य आकाशजस्तो ।
पृष्ठ ६७

पात्रविधान –काव्यलाई उच्चाइमा पुर्याउनका लागि पात्रको चयन अति महत्त्वपूर्ण हुन्छ । यहाँ काव्यकारले पौराणिक मिथकअनुसार प्रतिकूल चरित्रकी पात्र शूर्पणखालाई यस काव्यकी प्रमुख्य पात्रको रूपमा लिएका छन् । पूर्वीय मिथक अनुसार नकरात्मकरूपमा ठानिएकी शूर्पणखालाई मूल नायिकामा चित्रण गर्दा सीताको आदर्श र उच्चाईलाई आँच आउन दिएका छैनन् र काव्य नायिकाको काव्यिक चरित्रमा उच्चाइ दिन पनि पछि परेका छैनन् । यो नै काव्यकारको कुशल काव्यकारिता र महानता हो साथै यस काव्यको गहनता पनि हो । शूर्पणखा बाल्य कालदेखि नै निडर, वीर, अभिमानी, विद्रोही, क्रोधी, आक्रोशपूर्ण र प्रतिशोधी चरित्रको रूपमा देखा परे पनि राम लक्ष्मणको अघि भने पराजीत रूपमा देखिन्छे । राम र लक्ष्मणको केही भूमिका देखिन्छ । दशरथ, भरत, विश्रवा, कैकसा, त्रिशिर–खर, रावण, कुम्भकर्ण, विभिषण, धनपति (कुवेर) विद्युज्जिह्व, मन्दोदरी आदि सन्दर्भिक पात्रको रूपमा देखा परेकाछन् ।

परिवेश – यो काव्य, लङ्का, दण्डकारण्य, पञ्चवटीको सुन्दर प्राकृतिक चित्रण सहितको परिवेशमा लेखिएको काव्य हो ।

भाषाशैली र सर्गसंयोजन– यसकाव्यमा प्रयोग भाषा अति क्लिष्ट, शिष्ट र लयात्मक छ । सर्गसंयोजन, शब्दसंयोजन, भावसंयोजन, भाषाव्याकरणसंयोजन पनि मानक छ । भाषा अति क्लिष्ट भएकोले भाषामा दखल व्यक्तिले यस काव्यको भावरसपान सहजमा गर्न सक्छन् ।

काव्य विशेषता– बलेको आगो सबै ताप्छन् भनेजस्तै सबल सक्षम व्यक्तिको गुणगान त सबैले गर्दछन् । उसका अवगुणहरू पनि गुणको रसमापरि सबै नै दबिन्छन् तर दुर्वलका दुर्गुणमा सगुण हुन्छन् भन्ने दिव्यदृष्टि दिने व्यक्ति विरलै भेटिन्छन् । रामायणमा दानवी/मायावी पात्रको रूपमा लिइएकी शूर्पणखाका मानवीय पक्षमा वकालत गर्ने व्यक्तिको रूपमा प्रस्तुत हुने काव्यकार हुन् गोविन्दराज विनोदी । उनमा गजवको काव्यकलाकारिता देखिएको छ ।पौराणिक मिथकअनुसार प्रतिकुल चरित्रकी शूर्पणखालाई काव्यकार गोविन्दराज विनोदीले मानवीयरूपमा नारी मनोविश्लेषणलाई समाउँदै उस्का यथार्थतालाई एकालापको माध्यमबाट पस्किदै पूर्वीय मिथकलाई खण्डन नगरीकनै शूर्पणखा खण्डकाव्यको सिर्जना गरेका छन् ।यो विनोदीजीको कुशल एव म सक्षम काव्यकारिताको प्रदर्शन हो । यो काव्यको अर्को गहन पक्ष भनेको रामायणकालीन समाजको यथार्थपरक कथाबस्तुलाई समाउँदै आजका समाज तथा नारीले भोग्न परेका यावत घटना क्रम, उठाउने गरेका नारी अधिकार, नारीमा गरिने शोषण, दमन, शूर्पणखाको बालकपन, यौवनता, प्रेम, संवेदना, राग, विवाह, वैध्यव्य, र वैधव्यताले निम्त्याएको पीडा, यौनउन्मुक्तता, राम लक्ष्मणमा राखिएको वैवाहिक प्रस्तावको असफलता, गाली–बेइज्जतीले आत्मप्रतिष्ठामा परेको असर र प्रतिशोधको भावनाको साथै नारीवादी चिन्तनले भरिएको यो काव्य अति शिष्ट र विशिष्टरूपको प्रस्तुति नै यस काव्यको विशेषता हो । नारीवादी र मानवतावादी सम्बोधन नै यस काव्यको केन्द्र विन्दु हो ।

अतः यस काव्यमा सीता हरण, राम रावणको युद्धको कारण शूर्पणखा लक्ष्मणद्वारा अपमानित भएर घटेको भन्ने धारणा पस्कदै एउटा उच्च श्रेणीको काव्य प्रदान गर्नुभएकोमा काव्यकार गोविन्दराज विनोदीको दीर्घायु, सुस्वास्थको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
२०७३ कार्तिक २५,
कासोती न.पा.–७, शान्तिचोक, नवलपरासी

1 thought on “शूपर्णखा खण्डकाव्यको शैल्यक्रिया”

  1. ऊर्जावान । हार्दिक वधाईको
    ऊर्जावान । हार्दिक वधाईको साथै लाखौ लाख शुभकामना ! हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *