Skip to content


आऊ माया, आऊ लोकतन्त्रको झण्डा बोकी आऊ
बुद्धको शान्ति क्षेत्रमा रामराज्य बनाउन आऊ ।

लेक–बेँसी तराईका चौतारीमा आऊ
ढकमक गुराँस फुल्ने पाखामा आऊ ।

कुहुकुहु कोइलीको भाका बोकी आऊ
टहटह जुनेलीका रश्मि बोकी आऊ ।

आऊ माया, आऊ हृदयको पाना खोली आऊ
वसन्तको हाँगाबिँगा चहार्न तिमी आऊ ।

लुइँचे–कालिज, जुरेली र फिष्टोसँगै आऊ
डाँफे–मुनाल, मुरली र मयुरसँगै आऊ ।

जरायो, मृग–सावक, कस्तुरीसँगै तिमी आऊ
चौँरीगाई, याक–नाक, रामगाइसँगै आऊ ।

कोशी–मेची, सेती–भेरी गण्डकीमा आऊ
रूपा, फेवा, रारा, बेगनास तालमा आऊ ।

हिमशिखर सगरमाथा भई तिमी आऊ
लेक–वेँसी तराईमा वसन्त छर्न आऊ ।

आऊ माया, आऊ भूकम्पको झड्का रोक्न आऊ
महाभूकम्प पीडितलाई राहत दिन आऊ ।

तेजनारायण शेर्पा ‘रञ्जन’
शेर्पा आयुर्वेदिक औषधी उद्योग
रौता–९, मुर्कुची, उदयपुर
फोन नं. ०३५४१०००२ मो. नं. ९८०७७३९२०७

सङ्क्षिप्त परिचय
–नाम– तेजनारायण शेर्पा ‘रञ्जन’
–जन्म मिति– २००२ साल बैशाख ११ गते ।
–अध्ययन– शास्त्री
–साहित्य साधना– २०२२ सालदेखि हालसम्म निरन्तर
–साहित्य साधनाको माध्यम– नेपाली, मैथिली, हिन्दी, शेर्पा
–लेखन विधा– कविता, काव्य, संस्मरण, निबन्ध, विविध
–आयुर्वेद विज्ञानको समेत औपचारिक÷अनौपचारिक अध्ययन, खोज, अनुसन्धानमा सक्रिय र आफ्नै वैद्यखाना सञ्चालनमा समेत क्रियाशील ।

प्रकाशित कृति–
१. नेपाली, मैथिली, हिन्दी भाषामा कविता सङ्ग्रह ‘पूर्णिमा’, सन् १९७० ।
२. ‘रौता महारानी भगवतीको चिनारी’ चम्पुकाव्य वि.सं. २०५३ ।
३. ‘अधुरो’ कविता सङ्ग्रह, वि.सं. २०५६ ।
४. ‘कविको कविता मनभित्र’ कविता सङ्ग्रह, वि.सं. २०६९ ।
५. ‘अक्षर’ विविध सङ्ग्रह, वि.सं. २०७३ प्रेसमा ।

प्रकाशोन्मुख कृतिहरू–
१. जडीबुटी विज्ञान
२. शरीर विज्ञान
३. आरोग्य विज्ञान
४. मुक्तिमार्ग
५. ‘घामछायाँ’ कविता सङ्ग्रह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *