Skip to content

रहर र समानता


म सधैं रूखका हरिया पातहरू
हावाको तालसँगै यता उता फरफराएको देख्दा
रोमान्चित हुन्छु ।
तिमी सधैं त्यही पात हावाको बेगसँगै
धर्तीमा झर्दा रोमान्चित हुन्छ्यौ ।
अनि भन्छ्यौ
तिम्रो अनि मेरो रहर र समानता मिल्छ भनेर ।

म पानी भित्र पौडिदै गरेको माछा देख्दा
रोमान्चित र प्रफुल्लित हुन्छु ।
तिमी त्यही माछा बल्छीमा उनिंदा
ताली बजाई बजाई हर्षित हुन्छ्यौ ।
फेरि पनि गर्छ्यौ
रहर र समानताका कुरा ।

म आकाशमा उडिरहेको चङ्गा देख्दा
आफूलाई नै चङ्गामा विलय भएको देख्छु
अनि त्यसै त्यसै रोमान्चित हुन्छु ।
तिमी त्यही चङ्गा चुडिएर
हावामा कावा खादै बतिएको देख्दा
आन्नदको अनुभूति गर्छ्यौ ।
अनि उहिरहर र समानताकै कुरा गर्छ्यौ ।

तिमी समानताको कुरा गर्छ्यो
आरक्षणको पछि लाग्छ्यौ ।
म साधनामा विश्वास गर्छु
प्रतिश्पर्धामा रमाउछु । ।

त्यसैले नगर रहर र समानताका कुरा
ती सबै भन्ने कुरा हुन्॥

२०७३ ।८ ।१०
सन्तोष खड्का
धापाखेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *