Skip to content


एकदिन म अमेरिकाबाट फर्किएकी एक आफन्तलाई लिन एयरपोर्ट गएको थिएँ । यो सन् १९८५ को कुरा हो । उहाँलाई घरमा ल्याइपुर्‍याएर आफ्नो मोटरसाइकलमा विभागतिर लागेँ । विभागमा मेरा एक जना गुरु मलाई कुरिरहेका रहेछन् । उनी कीर्तिपुरमा विभागीय प्रमुख भएर प्रवेश गरेका रहेछन् । डीनले आफ्नो पदावधि समाप्त हुनुअगाडि उहाँलाई कीर्तिपुरमा विभागीय प्रमुख बनाएर पठाइदिएका थिए । यो मेरा लागि एउटा ठूलो विस्मात् थियो । सन् १९७८ देखि केन्द्रीय विभागमा विभागीय प्रमुखका रूपमा पूर्ण समर्पण र इमानदारीसाथ काम गरेको थिएँ । मबाट कुनै गल्ती भएको थिएन । मसँग एक शब्द पनि नसोधी बिनाकारण मलाई विभागीय प्रमुखबाट हटाइएको थियो ।
अपमानबोध र दुःखको समवेत् आघातले मेरो हृदय उद्वेलित भइरह्यो । मैले नवनियुक्त विभागीय प्रमुखलाई स्वागत गर्नु थियो । भोलिपल्ट मैले उपकुलपति रामचन्द्रबहादुर सिंहकहाँ गएर सबै कुरा बताएँ ।
“अँ मलाई सोधिएको थियो । के भो त उहाँ तपाइर्ंको गुरु नै हो ।” उहाँले यस घटनालाई एकदमै हल्का रूपमा लिँदै भन्नुभयो । म झन् निराश भएँ । भोलिपल्ट मलाई डीनले कार्यालयमा बोलाएर भने, “दयानन्दजी तपाईं उपकुलपतिकहाँ जानुभएको रहेछ । तपाईंलाई त्यस्तै अप्ठ्यारो छ भने डीनको सल्लाहकार भएर आउन सक्नुहुन्छ ।” मैले उहाँलाई भनेँ, “टिचिङ् एवं रिसर्च गर्नुपर्ने मान्छे यहाँ सल्लाहकार भएर आएर के गर्ने ? बरु मलाई त्यहीँ ठीक छ ।”
कीर्तिपुरका विभागहरू केन्द्रीय विभागका रूपमा परिणत भएपछि म फेरि त्यहाँको विभागीय प्रमुख भएँ । मेरा ती गुरुको त्रिचन्द्र कलेजमै स्थानान्तरण भयो । त्यहाँ उनकै पूर्वविद्यार्थी प्रयागमान ख्वाँजु विभागीय प्रमुख थिए । इतिहास दुई वर्षपछि दोहोरिएको थियो । मेरा दुई गुरुहरू सायद मेरो निरन्तर प्रगतिबाट अप्रसन्न थिए । तैपनि उनीप्रतिको आदरभाव मेरो मनमा अद्यावधि छँदैछ । अवर ोध र षड्यन्त्रका बाँधहरू लगाएर मलाई रोक्न नखोजिएको होइन । तर, नदीको प्रवाहलाई रोक्न सकिन्न । तीव्र वेगमा बगिर हेको नदी बाँध भत्काएर पनि अगाडि बढिरहन्छ । त्यसैले कसैले कसैलाई रोक्न खोजेर छेक्न खोजेर ऊ रोकिँदैन, छेकिँदैन ।
एकपटक राजा वीरेन्दको जर्मनी यात्रा थियो । राजदरबारबाट उपकुलपति महेशकुमार उपाध्यायलाई त्रिविका लागि जर्मनीमा गर्न सकिने केही कुराहरूलाई प्रस्तावका रूपमा ल्याउन भनिएको हुँदो हो । जर्मनीमा लामो समय बिताएकाले र त्यहाँबाट पीएचडी गरेकाले मसँग सम्पर्क गरियो । त्यतिबेला त्रिविका इन्स्िटच्युट अफ मेडिसिन, फरेस्ट्री र एगि्रकल्चरमा विदेशी राष्ट्रहरूले पूर्वाधारका लागि ठूलो लगानी गरेका थिए । अरू इन्स्िटच्युटहरूलाई विभिन्न राष्ट्रले प्राविधिक र आर्थिक रूपमा सहयोग गरेजस्तै विज्ञान र प्रविधि अध्ययन संस्थानको पूर्वाधार र सुदृढीकरणका लागि जर्मनीको सहयोग प्राप्त हुनसके अत्युत्तम हुनेछ भन्ने मेरो धारणा थियो । महेशकुमार उपाध्यायले मेरो अवधारणालाई लिखित रूपमा ल्याउन आग्रह गरेपछि मैले तीन-चार पृष्ठको अवधारणापत्र बनाएर दिएँ । उनले मेरो अवधारणापत्र राजदरबार पठाइदिए । राजदरबारले मेरो अवधारणालाई विस् तृत रूपमै लेख्न आग्रह गर्‍यो । हामीले विस्तृत रूपमा लेखेर दिएको १५ वर्षको कार्यक्रमको प्रस् तावना राजा वीरेन्द्रले आफूसँग जर्मनी लगिबक्स्यो कि भन्ने मेरो अड्कल थियो  । यो घटनाले महेशकुमार उपाध्याय र मेरो सामीप्य बढाएको थियो । उनी मेरा शुभचिन्तक पनि हुन गए ।
केही समयपछि म विज्ञानको डीन भएँ । उपकुलपति महेशकुमार उपाध्यायले मसँग सोध्दै नसोधी मलाई डीन बनाएका थिए र कार्यकारी परिषद्मा डीनहरूमध्येबाट मलाई नै मनोनीत गरेका थिए । म डीन भएका बेला तत्कालीन रजिस्ट्रारले किरिया बिदामा बस्नुपरेको थियो । उनी बिदामा बसुन्जेल उपकुलपतिले मलाई निमित्त रजिस्ट्रार बसिदिनका लागि आग्रह गरे । निमित्त रजिस्ट्रार हुँदा धेरै फाइलहरू त्यत्तिकै थन्किएर रहेका देखेँ । विभिन्न क्याम्पस प्रमुख, त्रिवि केन्द्रीय पुस्तकालयकी शान्ति मिश्रलगायत कतिपय मानिसहरू वषौर्ंदेखि पेन्डिङ् रहेको फाइल सदर गराउनका निम्ति निमित्त रजिस्ट्रारकहाँ आउन थाले । मेरो व्यस्तता बढ्दो थियो । प्रशासनका कुराहरू आफूलाई धेरै थाहा नभएकाले र आफूले केही दिनका लागि मात्र जिम्मेवारी सम्हालेकाले म उनीहरूलाई केही दिन पर्खनका लागि अनुरोध गर्दथेँ । क्याम्पस प्रमुखहरू, विभागीय प्रमुखहरू र लाइब्रेरियनको दबाब आउन थालेपछि मैले उपकुलपतिसँग आफ्नो समस्या राखेँ । उपकुलपति आफैँ पनि कतिपय महत्त्वपूर्ण फाइलहरू त्यत्तिकै पेन्डिङ् रहेकामा अप्रसन्न रहेको पाएँ । उपकुलपतिले भने, “डीन साहेब तपाईं जति पनि पेन्डिङ् फाइलहरू छन्, ती सबै मगाएर काम गर्नूस् ।”
मैले रजिस्ट्रारको पीएसँग फाइलहरू मगाउँदा पीएले आफूलाई रजिस्ट्रारबाट आफू नआएसम्म फाइलहरू पेस नगर्नु भन्ने निर्देशन भएको कुरा बताए । मैले त्यही कुरा उपकुलपतिलाई बताइदिएँ । उपकुलपतिले पीएबाट त्यो कुरा लिखित रूपमा लिने मनसाय व्यक्त गरेपछि रजिस्ट्रारको पीएलाई अप्ठ्यारो पर्‍यो । अन्ततोगत्वा फाइलहरू मकहाँ आउन थाले । मैले फाइल सदर गर्न थालेपछि त्रिविका वषार्ंैदेखि रोकिएका कामहरू हुन थाले । किरिया सिध्याएर आएपछि रजिस्ट्रारले भने, “डाक्टर साहेब त्यति चाँडै गर्नुपर्ने थिएन, म आएपछि नै गर्दा हुने थियो ।”
म डीन भएको सात-आठ महिना मात्रै भएको थियो, एकदिन महेशकुमार उपाध्यायले मलाई बोलाएर अप्रत्यासित रूपमा सोधे, “डीन साहेब तपाईं रेक्टर हुने हो ?”
सोच्दै नसोचेको कुरा मेरासामु प्रश्न बनेर तेर्सिएको थियो । तत्कालीन रेक्टर चन्द्रप्रसाद गोर्खालीको पदावधि सकिने बेला भएको थियो  । उपकुलपतिलाई राजनीतिक पृष्ठभूमिभन्दा प्राज्ञिक पृष्ठभूमिको मानिस चाहिएको रहेछ  । मैले सोच्नका लागि केही समय मागेँ र आफ्ना नजिकका साथीभाइहरूसँग यो प्रस् तावका विषयमा सल्लाह गरेँ । कसैले यो प्रस् ताव नछोड्ने सल्लाह दिए भने कसैले ‘त्यहाँ गएपछि तँ बिग्रन्छस्’ पनि भने । अन्ततः मैले रेक्टर बन्ने प्रस्ताव स्वीकार गरेँ । रेक्टरका लागि मेरो नाम सिफारिस भयो । विज्ञानकै एक जना वरिष्ठ प्रोफेसर पनि यो दौडमा सामेल रहेछन् तर महेशकुमार उपाध्यायको पूर्ण समर्थन मप्रति नै थियो । दुई साता बितिसक्दा पनि रेक्टरको कुनै निर्णय प्रकाशमा आएन । “डाक्टर साहेब तपाईंले पनि दुई-चार ठाउँमा भनसुन गर्नुपर्‍यो,” उपकुलपतिले मलाई सल्लाह दिए ।
“मैले कोही पनि चिनेको छैन । म डीन छँदैछु र सरको मप्रति सदाशयता छँदैछ । यदि सरलाई त्यस्तै अप्ठ्यारो परेको छ भने मेरो नाम फिर्ता लिन सक्नुहुन्छ,” मैले उपकुलपतिलाई स्पष्टसँग भनेँ ।
“हेर्नूस्, कि तपाईं रेक्टर हुनुहुन्छ, कि म भाइस चान्सलर रहन्न,” उनले दृढतापूर्वक भने । त्यसको केही दिनपछि उनले मलाई फोन गरेर म रेक्टर भएकोमा बधाई दिए र त्यसको भोलिपल्टै मैले नियुक्तिपत्र पाएँ । मेरो जीवनको यो अर्को मोड थियो, जसमा महेशकुमार उपाध्याय एउटा प्रोत्साहकका रूपमा अवतरित भएका थिए ।

(नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति प्राबज्राचार्यको पुस्तक वैज्ञानिक गोरेटोमाबाट)

नेपाल साप्ताहिक ३४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *