Skip to content

अन्जान संघर्षको कथा

LaxmanGhamal


धेरै दिन भयो उनले मलाई भेट्न खोजेको । जहिले म अफलाइन हुँदा मेसेज पठाउदा रहेछन् फेसबुकमा । अफिस सकेर कोठामा पुग्दा पाँच बजेर एकतिस मिनेट बजाएको थियो एनसेल नेटवर्कको मेरो मोबाइलले । हत्तपत्त फेसबुक खोले मेसेज आएको रहेछ उनैले पठाएका रहेछन् मेरा बालापनका हितैसी मित्र अन्जान । आज मलाई कल गर्नुहोला भनेर फोन नम्बर पनि पठाएका रहेछन् । उनको घर ताराखोला, बागलुङको पश्चिमी भेग । मेरै घर छेउमा उनको मामा घर, मामा घरमै बसेर कक्षा सातसम्म पढेका अन्जानसँगको सात वर्षको फ्रेन्डसीप हरपल मस्तिष्कमा आइरहन्थ्यो । दशै बिदामा घर गएका उनी कहिल्यै फर्केर आएनन् । चौध वर्ष पछि फेसबुकमा साथी भएको आज चौध दिन भयो । Friend request पनि उनैले पठाएका ।

मोबाइलमा ब्यालेन्स थिएन लोन लिए कल गरे, काठमाडौ घट्टेकुलो बस्दा रहेछन् । ड्रेस पनि चेन्ज नगरी कोठाबाट निस्किए । मङ्सिर महिना झमक्क साझ परिसकेको थियो । सरकारले लोडसेडिङ मुक्त काठमाडौ बनाएकाले हिड्न त्यति मुस्किल थिएन । खल्तीमा गाडी भाडासम्म नभएकाले पैदल हिडे चण्डोलबाट घट्टेकुलो । झन्डै साढे सात बजेको थियो नेसनल मेडिकल कलेजको अगाडि लिन आए । अँझै पनि सजिलै चिन्न सकिने रहेछन् मित्र चिउडोमा झुस्स दाह्री मात्रै पलाएका । डेरामा बस्दा रहेछन् एक्लै । कोठामा पुगियो चिया बनाए, मकै भट्ट डब्बामा राखेका रहेछन् स्टिलको थालमा खन्याए, चिया र मकै भट्ट खादै गफिन थाल्यौ । सानो कोठा एउटा बेड, बेड छेउमै सानो टन्न किताब राखिएको दराज, ग्याँस, किचन टेबलको तल भाडा मिलाएर राखेका । भित्तामा सुइ चल्ने घडी निदाइरहेको अवस्थामा । घडी त साढे सात बजे नै निदाएछ नि मैले हाँस्दै भने । प्रतिउत्तरमा उनले पनि हाँस्दै भने मेरो जिन्दगीमा नै साढे सात बजेको छ । स्कुल पढ्दा निकै रमाइला कथा सुनाउने उनलाई मैले भने तपाईंले एकदमै धेरै सुनाउने स्नोव्हाइटको कथा सुनाउनुस न बालापन फेरि एकपटक महसुस गर्न मन छ । उनले भने आज राजकुमार, दैत्य, तोरिलाहुरे, स्नोव्हाइटका कथा होइन मेरो जीवनको कथा सुनाउछु । उनले सरसर्ती भन्न थाले उनको जीवनको कथा…….

स्कुल बिदा भएपछिका केही दिनहरू मामाघरमा नै बिताए गहिरागाउमा । त्यसपछि घर गए दशैको फुलपातीको दिन थियो त्यो । मनमा एउटा छुट्टै हर्ष उल्लास थियो घर जान पाउँदा । बिहान हिडेको साझ मात्र घर पुगे । आमाले खाना तयार गरिसक्नुभएको रहेछ । कक्षा पाँचमा पढ्ने भाइ अतित अनि कक्षा दशमा पढ्ने दिदी सम्झना दशै बिदाको गृहकार्य गर्दै थिए । बुबा रेडियोमा सात बजेको समाचार सुन्दै हुनुहुन्थ्यो । आमासँग बोलेजस्तो गरेर बुबाले भन्नू भयो आज पनि चार जना सर्वसाधारणको गोलि हानी हत्या भएछ । भोकले आत्तिएको म बुबाको कुरालाई बेवास्ता गरेर आमालाई हत्तपत्त खाना पस्किन भने । आमा खाना पस्किदै हुनुहुन्थ्यो एक्कासि चार जना झोला बोकेका अपरिचित मान्छेहरू आए एउटि महिला तीन जना पुरुष । बाबा सग केहीबेर कुरा गरे । आमा पनि खाना पस्कन छोडेर उनीहरूको कुरा सुन्न लाग्नुभयो । मैले पनि उनीहरूको कुरा सुन्न लागे, उनीहरू त क्रान्तिकारिरहेछन् । एक घर एक शक्तिको अभियान चलिरहेको रहेछ । मलाई लिएर गए गरिब निमुखाहरूको लागि लड्न भन्दै । घरमा फुलपाती भित्र्याउदाको दिन म बाहिरिदै थिए ।

बि स २०५९ साल असोज महिनाको २६ गते साझ साढे सात बजेको समय थियो त्यो । हामी नेपाल मा.वि.मा पुग्यौ सास्कृतिक कार्यक्रम रहेछ । उनिहरूले मलाई सबैसँग परिचय गराइदिए र भने उहाँ नयाँ कमरेड हुनुहुन्छ उहाँलाई अब हामीले संघर्ष भनेर बोलाउनु पर्छ । मनमा घरको याद मात्रै आइरहेको थियो अनि गहभरी आँसुका ढिका हरू । एकैछिनमा कार्यक्रम सुरु भयो लाल्टिनको उज्यालो मा । मलाई लिन गएका चार जना पनि नृत्यको पोसाकमा सजिएर आए । एकैछिनमा स्कुलको प्राङ्गण घन्किन थल्यो “हामी युद्ध लड्दै छौ अन्तिमसम्म लडिरहन्छौ, जित हाम्रो हुने छ पूरा विश्वास छ, एक्दिन सफल हुने छौ” बोलको गीत मा । गीतको गुन्जयामानले थप उर्जा दिएजस्तो भयो । मेश तयार गरेका रहेछन् खाना खयौ त्यसपछिको पैदल यात्रा एक हप्ताको रह्यो अन्तत ढोरपाटन पुगियो ।

केही नजानेको म अन्जानलाई संघर्ष बनाएर जनवादी कलाकार बनाए । पूर्व मेची देखि पश्चि म महाकालीसम्म हिडियो । घर छोडेको छब्बीस महिना भैसकेको थियो रोल्पाको कार्यक्रममा थिए म । कार्यक्रम सकेर केही माथि जङ्गलमा सुतेका थियौ सपनीमा आमा आउनुभयो र भन्नू भयो बाबु देशको लागि लड, गरिब मुक्तिको लागि लड म मरेकी छैन । झल्यास्स ब्यूँझे घडी हेर्दा बिहानको छ बजिसकेको रहेछ । पूर्व दिशा पुरै बादलले ढाकेको थियो । साथीहरू सबैलाई उठाए । सात बजेको रेडियो नेपालको समाचार सुन्न लाग्यौ । मेरो बाबा आमा, दिदी र भाइलाई राज्य पक्षले आतंककारीको संज्ञा दिएर हत्या गरेछ ।

म त्यही बेहोस भएछु होसमा आउँदा एउटा गोठमा साथीहरूको निगरानीमा थिए म । साथीहरूले भन्दै थिए चौबीस घन्टा भयो बेहोस भएको । देशको घाउमा मलम लगाउन हिडेको म मनमा आलो घाउ लिएर हिडिरहे । घर छोड्ने बेला देख्न पनि नपाएका भाइ अतित र दिदी सम्झना साच्चिकै नै अतित भए सम्झनामा रहे । परिवार गुमाएको दश महिना पछि रुकुममा मेरै गाउँका एकजना याम दाइलाई भेटे । उहाले भन्नू भयो आमा जिउँदै हुनुहुन्छ । मनमा एक किसिमको खुसी पलाएर आयो । अनि दाइ मैले भने त्यसपछि उहाँले भन्नू भयो हो भाइ तपाईंको बाबा भाइलाई सारा गाउलेको अगाडि गोलि हानेर हत्या गरे । दिदीलाई सामुहिक बलात्कार पछि हत्या गरे यो सबै देख्न नसकेर आमा कोमामा जानुभयो । तपाईंकी ठुलिआमाको सहायताले नाकमा पाइप राखेर बाचिरहनु भएको छ तर होस छैन ।

केही महिना पछि जनाअन्दोलन भयो राज्य पक्ष र क्रान्तिकारी बीच शान्ति सम्झौता भयो । बागलुङ बजारमा विशाल जनसभा थियो । आमालाई देख्ने इक्षा अनि देशमा आएको शान्तिले पीडा बिस्तारै भूलाउदै थियो । महेन्द्र बहुमुखी क्याम्पस अहिलेको धौलागिरी क्याम्पसको प्राङ्गणमा नृत्य देखायौ “आयो हाम्रो विजयको दिन, बिद्रोहको लाल झन्डा बोकेर ” बोलको गीत मा । साच्चिकै नै सफलताको सिखर चुमेजस्तो भएको थियो । आमालाई भेटे आँखा रसाए होस गुमाएकी आमालाई भने मनमनै एउटा सफलता चुमेर आएको छु हजुरलाई देखाउने छु आमा । कलाकारबाट जनमुक्ति सेनामा लगियो मलाई । क्रान्ति गर्न हिडेको म अयोग्य लडाकु भए । आमाको उपचारको लागि भएको जायजेथा बेचे, मलेसिया गएर चार वर्ष बिताएर आए तर आमा मलाई छोडेर सदाको लागि बिदा हुनुभयो ।

उनको कथा सुन्दा मेरा आँखाबाट आँसुको वर्षा नै भएको रहेछ उनका आँखाबाट पनि । बिस्ताराको छेउमै रहेको सानो किताब राखिएको दराजबाट एउटा किताब झिके र भने जनयुद्धको उपज यही हो मेरो । किताबमा लेखिएको थियो जनयुद्धमा बिरगति प्राप्त गरेका महान शहिदहरूको विवरण । बाबा, दिदी र भाइको तस्वीर देखाउदै भने मलाई जन्म दिने मेरी आमा यो किताबमा पनि अटाइनन् ।

(नोट: यस कथाका पात्र तथा घटना काल्पनिक हुन । यदि कसैको वास्तविक जीवनमा मेल खान गएमा केवल संयोग मात्र हुनेछ ।)

लक्ष्मण घमाल
बा.न.पा-७, गहिरागाउ, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *