Skip to content

ऐना कथासङ्ग्रहप्रति साहित्यकारहरूको धारणा केलाउँदा


परिचय

‘ऐना’ मदन पुरस्कारबाट पुरस्कृत कृति पढ्दा अति आनन्द लाग्यो,एउटा युवा साहित्यकारले एउटा साहित्यिक कार्यक्रममा चर्चा चलाइरहेको थियो । ऐनाले मदनपुरस्कार प्राप्त गर्यो भन्ने जानकारी त पाएको थिएँ तर पढ्नको लागि कृति हातमा परेको थिएन चितवन गएको समयमा पुस्तक पसलबाट प्राप्त गर्न सकें । ३५० रुपियाँ तिरेर किने र यसको अध्ययन गर्न थालें ।

यो कथासङ्ग्रह २०ओटा कथाहरूले सुसज्जित छ । यस कृतिका लेखक हुनुहुन्छ रामलाल जोशी । रामलाल जोशीको छोटो परिचयमा रामलाल जोशी डोटीमा जन्मनु भएको, तर हाल धनगढीमा बस्दै शिक्षा पेशामा आवद्ध रहेर नेपाली साहित्यका विविध विधामा कलम चलाउनुहुन्छ । नेपाली साहित्यमा स्नातकोत्तर डिग्री हाँसिल गरेका जोशीका हत्केलामा आकाश (गजलसङ्ग्रह, २०५७) र ऐना कथासङ्ग्रह प्रकाशनमा आएको जानकारी यसै कृतिबाट पाइन्छ । वहाँले सुदूर पश्चिमाञ्चल साहित्य समाजको अध्यक्ष र लेखक संघको उपाध्यक्षको पदमा रहेर साहित्य सेवा पुर्याउँदै आउनु भएको छ ।

रामलालले पहल सिंह स्वाँर प्रतिभा सम्मान–२०६८ र राष्ट्रिय प्रतिभा पुरस्कार –२०७३ आदि पुरस्कारहरू प्राप्त गरी सक्नुभएको छ । यस कृतिमा २० ओटा कथाहरू समावेश गरिएका छन् । मैले गर्ने विवेचनामा कृतिमा पस्केका धारणालाई भावसारको रूपमा पस्कने गर्दथे तर आज यो कृतिको बारेमा भने भावसारलाई नपोखी केवल विभिन्न साहित्यकारका धारणालाई मात्र उतार्ने कोसिस गरेको छु किनकि ऐनालाई सबैले खोजी खोजी पढुन् र यस भित्रका घटनाक्रममा आफैले आत्मसात् गर्न सकुन् भन्ने मेरो धारणा रह्यो ।

यस कृतिप्रति केही बरिष्ठ साहित्यकारको धारणालाई समावेश गरेको पढ्न पाइन्छ । ती अभिव्यक्तिलाई मैले साभार उतार गरेको छु ।

राष्ट्र कवि माधवप्रसाद घिमिरे –‘कथाकार रामलाल जोशीको ऐनामा सुदूर पश्चिमेली माटाको सुगन्ध छ । त्यहाँको भाषा, संस्कृति र सामाजिक जनजीवन टल्किएको छ’ ।

डा. तुलसीप्रसाद भट्टराई –‘ पश्चिम नेपालको जनजीवनलाई सशक्त ढङ्गले चित्रण गरिएको ऐना ग्रामिण जीवनको सशक्त वृत्तचित्र हो’ ।

प्रा.डा. महादेव अवस्थी– ‘सेती, काली र कर्णलीका तिरैतीर तथा पश्चिम तराइका फाँटहरूको जनजीवनलाई सशक्त र घतलाग्दो किसिमले चित्रण गरिएको ऐनामा देखिएका स्थानान्तरण, चरित्रान्तरण, विचारान्तरण र अघिआख्यानको शिल्पगत प्रवृत्तिले, रामलाल जोशीलाई आधुनिक नेपाली कथाको मूलप्रवाहमा उभ्याइदिएको छ ।’

प्रा.डा. हेमचन्द्र नेपाल–‘मेरो दिमागलाई रन्थन्याउने २०७२ सालका कृतिहरूमा रामलाल जोशीको ऐना नै हो । ऐना नेपाली कथाको मूलप्रवाहमा जोडदाररूपमा टल्किएको छ ’।

कान्तिपुर सप्ताहिकका अश्विनी कोइराला– ‘समीक्षकहरूको विचारमा ऐनालाई मदन पुरस्कारका निम्ति सूचिकृत गरेर मदन पुरस्कार गुठी नै पुरस्कृत भएको छ’ ।

प्रा. राम लोहनी– ‘२०७२ सालको साहित्य पढ्नेले ऐना पढेको छैन भने ठूलै कुरा छुटाएको छ भन्ने मेरो ठहर छ’ ।

पूर्वमन्त्री रमेश लेखक– ‘ऐना पूरै पढिसकेपछि पनि आँसु नचुहाउने पाठक या त ढुङ्गाको मुटु भएको हुनुपर्छ या त मुटु नै नभएको हुनुपर्छ भनेर ठोकुवा गर्नसक्छु’ ।

धनराज गिरी–‘अपरिचित जोशी अचम्मका कथाशिल्पी । पढ्दा मनमा कस्तो कस्तो भाव उत्पन्न हुने । वेजोड यस अर्थमा कि धेरै कथाले मभित्रैबाट हल्लिएँ ’ ।

डा. बद्री शर्मा विनाडी –’ ऐना सुदूर पश्चिमेली जनजीवनको भूत र वर्तमानको सुन्दर प्रतिविम्ब हो अनि सुन्दर भविष्याको सुन्दर आमन्त्रण हो’ ।

कान्तिपुर दैनिक–‘ऐना पाठकको लागि भर्जिन कथाको खुराक हो । यसको नयाँपनले नै पाठकको मन जितेको छ’ ।

राजकुमार बानियाँ, नेपाली साप्ताहिक –ऐनामा सुदूरका सुस्केरा र सुसेली छन् । एक्लिँदै गएका मानिसका सन्ताप, सशस्त्र द्वन्द्वका बाछिटा स्खलित हुँदै गएका मानवीय मूल्य अनि कहिल्य नरित्तिने मातृत्वका माहासागर छन् ।

गजलकार ज्ञानुवाकर पौडेल –सुदूर पश्चिमको माटोमा बसेर लेखिएको ऐनाले एकपटक नेपाली कथाको मूलप्रवाहलाई तरङ्गित गर्ने छ ।

सुभाषचन्द्र भण्डारी –ऐना विश्वव्यापी बहसका लागि पश्चिम नेपालबाट जोडदार रूपमा आएको उत्तरआधुनिक समाचार हो ।

शिवराज योगी अन्नपूर्ण पोष्ट दैनिक –भोक शोक र वियोगको कथा, अवहेलना, उपेक्षा अनि मेरै समाज र लोकको कथा । ऐना हेरेझैं ऐनाका अक्षरमा ठिङ्ग उभिएको छु ।

बच्चु वि.क. हिमाल खबर पत्रिका–लामो खडेरी पछिको वर्षाको पानीका थोपाले माटो स्पर्श गर्दा फुक्कफुक्क धुँवा निस्कन्छ ठिक यही बेला हिँडिरहनु भएको छ भने तपाईंको आँत रसाउँछ । ऐनाभित्र जोशीका कथामा सुदूर पश्मिको माटोमा मिसिएको संघर्षको सुगन्ध उसैगरी रसाएको छ ।

यज्ञराज प्रलय, नागरिक दैनिक, पश्चिमेली– ऐनाले सेती–कालीको चित्रलाई नेपाली कथा साहित्यमा विस्मयकारी ढङ्गले उभ्याइदिएको छ ।

सनत रेग्मी, नेपाली–पत्र, मुम्बई–ऐनाले नेपाली कथाको मूलधारलाई सुदूर पश्चिमतिर फर्काइदिएको छ ।

निशान्त खनाल, बाह्रखरी अनलाइन –ऐना सङ्घर्षशील सुदूर पश्मिेली समाज, पात्र, घटना र जनजीवनको वास्तविक ऐना हो ।

ठाकुरप्रसाद ढुङ्गेल, धनगढी पोष्ट –सुदूरको धर्तीमा उभिएर केन्द्रमा मार हान्ने क्षेप्यास्त्र हो ऐना । ऐनाले केन्द्रको विनिर्माण त गर्छ नै मोफसलमा पनि नयाँ केन्द्र निर्माण गर्ने क्षमता राख्दछ ।

सिद्धराज जोशी –धन्य भएँ दाजु ! हजार पटक चुमेँ, हजुरको हातलाई । लाखौँपटक सलाम गरें हजुरको भावनालाई । सयौं पटक हेर्ने छु, ऐनामा आफ्नो अनुहार ।

गणेश नेपाली – नेपाली साहित्यलाई सुदूर पश्चिमेली माटोको सुगन्धित उपहार हो ऐना ।

कथामा पात्र चयन –यस कथासङ्ग्रहमा यथास्थान अनुरूपका पात्रहरूको चयन परिवेश अनुसारको भाषाको प्रयोग गरिएको छ । ती पात्रहरूले कथाबस्तुलाई सरल र सहजमा प्रदर्शन गरेको पाइन्छ ।
भाषाशैली –भाषा सरलर सहज छ । स्थानीय मातृभाषाहरूलाई महत्त्वका साथ समावेश गरिएको छ । सलल पानी बग्दाझै बगेको छ । पढदा आनन्द लाग्दछ ।

घटनाक्रमहरू– यस कथाले ओगटेका घटनाक्रमहरू पनि सत्यतामा आधारित रहेर कथाको सिर्जना गरेको अनुभूति हुन्छ । मातृत्वप्रतिको गहनता, त्याग, मायाममता, जीवन र जगतका अनुभूतिहरू, कमैयाबाट मुक्ति भए पछिका कमैयाको उन्नती र अवोन्नती,(प्रगतिको मार्ग अवलम्वन र दुर्गतिको मार्गले स्थान लिनु), पर्दापछि गरिने अनैतिक जैविक आवश्यक्ताका पूर्तिका घटनाहरू र त्यसबाट प्राप्त सन्तानका वंशानुरूपहरू, प्रेममा पाइने धोकाहरू, प्रेमबाट सिर्जित विवशता र बाध्यताहरू, स्वावलम्वनका पाठहरू, स्वदेशको रोजगारीको कमीले निम्त्याएका समस्याहरू र विदेश पलायन हुँदा घरमा परेका असह्य पीडाहरू, सहरी र गाउँले वातावरणीय भोगाइहरू, बालक्रिडाका आनन्ददायी भोगाईहरू, कमैया भएर बस्दा मालिकले कमैया र कमैयाकी पत्नीप्रति गरिने शोषण, यौवनले बोलाउने यौन आकर्षणहरू, जातीय विभेदहरू, मृत्युवरणका घटनाहरू, माओवादी युद्धमा जनताले भोग्न परेका दोहोरा यातनाहरू, जातीय विभेदको (छुवाछुतबाट) मुक्तिको चाहना, साइवरले निम्त्याएको बिक्रीतिहरू, गरिबीले निम्त्याएको कुपोषण र बालबालिका शिक्षाबाट बञ्चित अवस्था र गिट्टी कुटेर जीवन धान्नुपर्ने अवस्था, थारु र पहाडीया बीचमा जातीय द्वन्द्व र नरसंहारको अवस्थामा अन्तरजातीय विवाहमा बाँधिएका नारीहरूले–ल्याएको जातीय एकताको नारा –

‘थारु पहाडी भाइभाइ – भाइभाइ भाइभाइ ।
हिमाल पहाड तराई कोही छैन पराई ।
एकै भूमि एकै देश– नेपालीको एकै भेष ।
सम्पूर्ण नेपाली एक हौं– एक हौं एक हौं’ ।
(दियो जलिरहेछ, पृष्ठ १७४)

आदि घटनाक्रमहरूले यो कथासङ्ग्रहको सिर्जना भएको छ ।

शीर्षकीकरण –यस कथाको शीर्षक ऐना सार्थक छ भन्न सकिन्छ । साहित्य समाजको दर्पण हो । ऐनामा समाजका यथार्थ घटनाक्रमलाई समाएको छ जसरी ऐनामा आफ्नो अनुहार देख्न सकिन्छ त्यसरी नै ऐनामा सामाजिक यथार्थतालाई प्रष्ट्याउने प्रयास गरिएको छ ।

अन्त्यमा, यस कथासङ्ग्रहमा पोखिएका कथाका घटना क्रममा समाजमा घट्न सक्ने तथा घटेका घटनालाई कथाकार रामलाल जोशीको जुनप्रकारले प्रस्तुत गर्नुभएको छ, अध्ययन गर्दा अनुहार ऐनाले जसरी देखाउँछ त्यसरी नै यो कथासङ्ग्रहले दर्शाउन सक्छ । यस कृतिको बारेमा मेरो सानो धारणा यष्स प्रकार छ – मेरो परिभाषामा साहित्य समाजको दर्पण हो । दर्पण भनेको ऐना हो । रामलाल जोशीको यो ऐना भनेको पनि साहित्यिक दर्पण हो । जसरी ऐनामा आफ्नो अनुहारलाई हेर्न चाहेमा आफ्नो स्वरूप जस्ताको तस्त्यै देख्न सकिन्छ यस ऐनामा पनि सुदूर पश्चिमेली समाज, त्यहाँको प्राकृतिक सम्पदा, भाषा, संस्कृति, आर्थिक स्थिति, राजनैतिक स्थिति, भोक, रोग, शोक, वियोग, विकृति, विसङ्गति, आदि घटनाक्रमका यार्थथतालाई जस्ताको तस्त्यै पस्कने कोसिस गरिएको देख्न सकिन्छ र यो सुदूर पश्चिमको समाजिक यथार्थता हो भन्ने धारणा राख्दै यस भित्रका कथाबस्तुलाई पाठक वर्गले नै मूल्याङ्कन गरुन् भन्दै म बिदा चाहन्छु । कथाकार रामलाल जोशीको भावी साहित्यिक यात्रा अँझै सक्रिय र सफल रहोस् भन्ने कामना गर्दछु ।

धन्यवाद
मिति २०७३ साल मुंसिर २१ गते,
कावासोती नगरपालिका वडा नं ७ शान्तिचोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *