Skip to content


पिता जयश्वर र माता फुलमतिको सहवासबाट पाँचौ सन्तानको रुपमा जन्म लिएकी कुन्दिनीमाथि चार दिदी र मुनि एउटा भाइ छ । कुन्दिनी तीन वर्षकी लाग्दा उसकी आमाको कोखबाट उसको भाइको जन्म भएको थियो । चार दिदीले भोग्नु परेको दुख उसले भोगिन कारण भाइ जन्मिएको श्रेय उसको भाग्यलाई गएको छ । आमा फुलमति पनि छोरो जन्मिएपछि सुख पाएकी छिन् । चार दिदीको विवाह भैसकेको छ । जेठी र माइलीलाई चोरेर लगेका रे, साइली र काइलीलाई पिता जयश्वरले नै पराईको हातमा थमाइदिए । भाइ जन्मिएपछिको दश वर्ष भाइसँगै रमाउँदै बिताएकी कुन्दिनीलाई वरिपरिका छिमेकीले भन्छन् – निकै भाग्यमानी रैछे यो कुन्दिनी । भाइले पाउने माया यसले पनि पाएकी छे ।

भर्खर तेह्र वर्षमा लागेकी कुन्दिनीलाई पहिलो रजस्वला हुन्छ । उसले देखेकी छे – रजस्वला भएपछि उसका दिदीहरू गोठमा गएर पहिलो पटक बाइस दिन, दोश्रो पटक एघार दिन र तेस्रो पटकमा सात दिन बिताएको । छोरालाई ज्वोरो आएकाले पिता जयश्वर छोरालाई झारफुक गर्न लामाकोमा गएका छन् । घरमा आमा र कुन्दिनी मात्रै छन् । कुन्दिनीले वास्तविकता आमालाई बताउँछे । आमाले हतार हतार कुन्दिनीलाई अरु छोरीहरूले रजस्वलामा बिताएको त्यही गोठमा लैजान्छिन् । जङ्गलको छेउ, राम्रो ओतसम्म नभएको गोठमा पशु-चौपायासम्म छैनन् अहिले । आमा फुलमति सम्झाउँछिन् यस्तो बेलामा दाजुभाइ, काका, भतिजहरूलाई देख्न हुँदैन । बिहानको सूर्य पनि नहेर्नु भन्दै गोठमा भएका त्यही थोत्रा लुगाफाटोहरू दिन्छिन् जुन उसका दिदीहरूले पनि प्रयोग गरे । रुमालमा पोको पारेको जौँको सातु अलक्क कुन्दिनीको हातमा दिँदै भोलि आउने आश्वासनसँगै आमा फुलमति जान्छिन् ।

उसलाई थाहा थिएन गोठमा गएपछि यतिका सास्ती भोग्नुपर्छ भन्ने । कहिल्यै एक्लै नभएकी ऊ अब एक्ली भएकी छे । बनमा बाघ भालुको आवाज सुनेर डराइरहेकी उसलाई गोठका गाह्रामा मुसाहरू ओहोरदोहोर गर्दा पनि आत्माहरूले तर्साएजस्तो भएको छ । आँखाबाट आसुका ढिकाहरू खसाल्दै, आँखालाई रातभरि जिउँदै राखेर कटाई पहिलो रात । घरको काम सकेर मध्यान्हमा आमा आउँछिन् भोलिपल्ट । खाने कुरा ल्याएको पोको अलक्क दिन्छिन् । कुन्दिनी भन्छे म यहाँ बस्न सक्दिन आमा । आमा भन्छिन् के गर्छेस छोरी पुर्खौदेखि चलिआएको चलन गाउँका मुखियाका छोरीहरू लेसम्म भोगेको चलन मैले पनि भोगे अनि तेरा दिदीहरूले पनि भोगेकै हुन् । कुन्दिनी मौन बस्छे, बिचरा ऊ प्रतिवाद गर्न सक्ने नै काँहा भएकी छे र ?

सधैं झै आमा आउँछिन् खाने कुरा छोड्छिन अनि जान्छिन । कति रात ऊ निदाएकी छैन अब त बानी परिसक्यो उसलाई । बाइसौ दिन भएको छ उसले गोठमा बिताएको, अब घर जानलाई आतुर भएकी छे । आमा लिन आउँछिन अनि जान्छे घर । सुनपानीले चोख्याएर उसलाई घर भित्र्याइन्छ । मनमा अनेक कुरा सोच्दै छे, आफूले आफैसँग प्रश्न गर्दै छे आखिर किन हामी नारीहरूले यस्तो नियति भोग्नु परेको होला ? एक दिन, दुई दिन गन्दै छे ऊ फेरि जानु पर्ने । ऊ फेरि जान्छे अनि उस्तै परिस्थितिसँग सामना गर्दै फेरि घर फर्किन्छे । आज ऊ निक्कै खुसी छे अब कहिल्यै गोठ जानु नपर्ने भएर किनकि उसले तेस्रो पटकको सात दिन पनि बिताएर आएकी छे । फेरि सुनपानीले चोख्याइन्छ अनि भित्र्याइन्छ उसलाई घर भित्र सधैंझै ।

पश्चिम्मा सूर्य डुब्न लागेको छ अनि सूर्यका रश्मिहरू आगनमा ठोकिएका छन् । भाइसँग त्यही किरणमा खेल्दै छे कुन्दिनी छाँयामा तँ अग्लो कि म अग्लो भनेर । एकैछिनमा सूर्य डुब्छ अनि थान्किन्छन दुवैजना । जयश्वर आइपुग्छन् कामबाट, फुलमाया बेलुकाको खानाको तयारी गर्दै छिन् । तीन जना लोग्ने मान्छे आउँछन् साँझमा, दुइजना अलिक बुढा अनि एकजना सत्ताइस आट्ठाइस जस्ता देखिने । उनीहरू त कुन्दिनीको हात माग्न आएका रहेछन् । अनेक लान्छना लगाउँछन् जयश्वोरलाई अनि उनी छोरी दिन तयार हुन्छन् । गोठमा बस्दाको पीडा मनमा ताजै हुँदाहुँदै फेरि उस्ले घर छोड्नु पर्ने भएको छ सदाको लागि जस्तै गरी । आफूभन्दा दोब्बर उमेरकासँग जानुपर्ने भएकाले कत्ति खुसी छैने कुन्दिनी । मनमनै भगवानलाई सोध्छे मेरो जीवनको निर्णय गर्न मलाई एक वचन पनि नसोधी किन मेरा निष्ठुर पिताश्रीलाई दिँदै छौ ? अघि लाग्छे कुन्दिनी त्यही बेलुकी रुँदै, आमा पनि गहभरी आँसु लिन्छिन् तर जयश्वोरका आँखासम्म रसाउँदैन् ।

यौवनवस्थाको यौवनता नबुझ्दै गर्भवती हुन्छे कुन्दिनी अनि पहिलो सन्तानको जन्म दिन्छे । कलिलो उमेर पन्ध्र वर्षमै छोरी की आमा भएकी छे ऊ । छोरिलाई गोठमा नै जन्माइ अनि गोठमा नै बस्दै छे । सासू, ससुरा अनि लोग्ने कत्ति खुसी छैनन् छोरी जन्माएकोमा । उसलाई फेरि पनि रजस्वला हुदा भोगेको कष्टको झल्को आइरहेको छ मस्तिष्कमा । फरक यत्ति हो रजस्वलामा एक्लै गोठमा बिताएकी ऊसँग अहिले छोरी छे अनि गोठ पनि घर नजिकै छ । सासू खाना लिएर जान्छिन् मकैको ढिडो अनि गुन्द्रुकको झोल । आमा मायाले अलक्क दिन्थिन् सासूले रिसले झर्किदै अलक्क दिन्छिन् । मेरी आमाले झन पाँच छोरीको जन्ममा कति पीडा भोगेकी होलिन्, सहेकी होलिन् सम्झँदै आफ्नो मनलाई सम्हाल्छे कुन्दिनी । फेरि पनि त्यो दिन आएको छ सुनपानी छर्केर भित्र हुल्ने । काखमा छोरी मनमा पीडाको भारी बोक्दै पस्छे मुल ढोकाबाट कुन्दिनी रजस्वलापश्चात् फर्केझैँ ।

पतिको शारीरिक यातना अनि सासूको क्रूर मानसिक यातनाबाट शोषित भएकी छे कुन्दिनी । ससुरा मौन छन्, मौनता भित्रको कठोरता उम्लने पो हो कि सोच्छे कुन्दिनी । फेरि गर्भवती भएकी छे दोस्रो पटक, भगवानसँग मङगलकामना गरेकी छे यसपाली पुत्र लाभ होस भनेर । भगवानले पुकार सुनेनन् क्यारे यसपाली फेरि पनि छोरी नै जन्माएकी छे कुन्दिनीले । तेस्रो, चौथो र पाँचौ गर्भधारणबाट पनि छोरी नै जन्माई उसले । अब फेरि छैटौं सन्तान जन्माउनको लागि उसको कोख तयार भएको छ । भगवानसँग बिन्ती बिसाएकी छे फेरि पनि कुन्दिनी । मनमनै सोच्दै छे मेरी आमाले पनि छैटौं पटकमा मेरो भाइलाई जन्म दिएकी थिइन् । यसपाली पनि भगवान प्रतिको त्याग तपस्या हलुवामा बालुवा भएको छ छोरी नै जन्माइ उसले ।

तेइस वर्षमा छ सन्तानकी आमा बनेकी कुन्दिनी जिन्दगीदेखि नै थाकिसकेकी छे । आफ्नै मनलाई धम्काउदै भन्छे सक्दिन अब यातना सहेर बाँच्न । स्वास्नी मान्छे भएर पनि किन अबुझ छिन् सासू, नाति नै खेलाउनु पर्ने उनलाई ? आफैसँग प्रश्न गर्छे अनि नाजवाफ हुन्छे । यो संसारमा लोग्ने मान्छे मात्रै निष्ठुर हुन्छन् यस मामिलामा सोचेकी उसले अब स्वास्नी मान्छेहरू झन बुझेर बुझ पचाउने रैछन् भन्ने बुझेकी छे आफ्नी सासूको अनैतिक क्रियाकलापबाट । मेरी आमा पनि भोलिकी निष्ठुर सासू बन्छिन् होला सोच्दै छे कुन्दिनी । म त अरुभन्दा फरक सासू बन्नेछु ता कि बुहारीको मनोविज्ञानिक बुझ्न सकुँ, मौनता भङ्ग गर्दै फेरि भन्छे मेरो भाग्यमा सासू बन्न नै काँहा लेखेको छ र !

मनोबल साह्रै कमजोर बनाएकी छे कुन्दिनीले यतिसम्म कि अब पुत्र लाभ नभए आत्महत्या गर्नेसम्म । पटक पटक भगवानले पुकार नसुने पनि आस्था अँझै हराएको छैन उसको । भगवानलाई भन्छे अब मलाई आत्महत्या गर्नबाट बचाउ । म मरे भने मेरा बालिकाहरू टुहुरा हुने छन् । रजस्वलामा खाना पुर्याउने आमा नभएर भोक भोकै मर्ने छन् । फेरि पनि छोरी नै जान्माएँ भने म बाँच्नुको कुनै अर्थ हुने छैन, मलाई जिउँदै मार्ने छन् यिनिहरूले ।

भगवानले बचाउन नै खोजेका रहेछन् उसलाई । मनबाट आत्महत्याको सोचलाई बहिर निकालेकी छे । ऊ नमर्ने भई अब, मनमा थोरै खुसी पलाएको छ उसको । यस अर्थमा कि पटकौको सहवासबाट पनि अर्को सन्तान हुने आश रहेन, कुन्दिनी बाँझी भएकी छे । तेइस वर्षमा नै बाँझी हुँदा खुसी हुने संसारका महिलामध्ये एक होली कुन्दिनी किनकि अब गोठ जानु अनि अछुत हुन पर्दैनै उसलाई पटक पटक ।

(नोट: यस कथाका पात्र तथा घटना काल्पनिक हुन । यदि कसैको वास्तविक जीवनमा मेल खान गएमा केवल संयोग मात्र हुनेछ । )

लक्ष्मण घमाल
बागलुङ, नेपाल

1 thought on “कुन्दिनी”

  1. सारै मार्मिक र यथार्थ परक कथा
    सारै मार्मिक र यथार्थ परक कथा रहेछ । लछ्मनजी कथा मन पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *