तर्नु फेवाताल थियो ।
पहिलो डुंगा सुनको आयो, भाउ मिलेन
दोस्रो फलामको, रूट र ठाउँ मिलेन
अरू डुँगासँग कहिले के र कहिले के मिलेन ।
उसले अन्तत
काठकै डुंगा चढ्ने निर्णय गर्यो ।
सुनको डुंगा
ढलपल ढलपल तालको बीचमा पुगेपछि
ट्याबे र डनको हुलले
हेर्दाहेर्दै कब्जामा लिए र बेपत्ता बनाए ।
फलामको डुंगा
खिया लागेको, मक्किएको र भ्वाङ परेको रहेछ
पानीले भरियो
र आँखैअगाडि टाइटानिकझैं बिलाइगयो ।
तालपारि डुंगाबाट उत्रेर
बौद्ध-गुम्बातिर लम्किंदै गर्दा
उसलाई महाज्ञान हासिल भयो,
डुंगा त काठकै ठिक रहेछ;
तर्नु फेवाताल न थियो ।