Skip to content


लगभग पाँच महिना पुगेछ । आमाको पाउमा निहुरेर आशिष माग्दा “सदैव हाँसी खुसी रहनु, सहरको रम्झम देखेर जन्मगाउँ र आमालाई नबिर्सनु” आशिष लिएर बताससँगै उडेका जहाज सङ्गै नयाँ ठाउँमा आइपुगेको । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ परिबेश । जसरी आमाको गर्भबाट जन्मेको बालक नयाँ सँसारमा सिँगौरी खेल्दै हुर्कन्छ । त्यसै गरी सिँगौरी खेल्दा खेल्दै बिताएछु पाँच महिना । भौतिक, आर्थिक र प्राबिधिक विकासले धेरै अघि बढिसकेको ठाउँ । त्यै ठाउँको प्रवेशबाट नै बन्द कोठा भित्र भित्ता र हातेफोनमा चल्ने चित्रहरू हेरेरै पुर्याएछु पाँच महिना ।

सनिबार, हरेक सनिबार पालोले बिदा बस्छौँ । यो पटकको सनिबार म बसेँ । यो बिदा भने अलिका पृथक रुपमा बिताउन चाहेँ ताकि अरु बिदा जस्तै कोठाको भिता र हातेफोनको चल्ने चित्रमा सीमित नहोस । त्यसैले एक्लै कम्पनी माथिको डाँडा चढ्ने निर्णय लिएँ ।

जाडो महिनाको आगमन सङ्गै सल्ला र बोटहरूले आफ्ना कपडाहरू उतार्दै थिए । बिस्तारै कोरियाको चारैतिर चिसो तथा हिँउले हाम्फाल्दै बल्छिजम खेल्न सुरु गरिसकेको थियो । तातो घाममा सेकिदा पनि जाडो महुस गर्दै हातेफोनमा GPS को आधारमा अलि माथिको सल्लाघारीतिर हुतिदै गएँ । सल्लाका बोटहरू लगभग लगभग नाङ्गै देखिन्थे । आफ्ना मोटिला र पोटिला सरीरमा उभिएका, सोह्र र सत्रकी युवती आफ्ना झरणारुपी केश फैलाएर उभिए जस्तै । हावाले आफ्नो बैँसाका उतेजनामा मातिदै ती सल्लाका बोटहरूको नाङगा शरीरमा स्पर्ष गर्दै मेरा सुकोमल मुहारभरी चुम्बनका छापहरू छोड्दै बहदै थियो । सायद, नयाँ मुहारको आगमनलाई स्वागत गर्दै थियो । पबनको स्पर्षमा उतेजित हुँदै हो वा नयाँ मान्छेको रुपसङ्ग अनबिज्ञ भएर हो, सल्लाका बोटहरू एक अर्कामा कानेखुसी गर्दै गरेको प्रष्टै देखिन्थ्यो । तिनै सल्लाका प्रेमलिलाहरूलाई पछ्याँउदै सल्लाको बोटै मुनि सुस्ताएँ । सम्झनाको एक झोक्का हावा तिनै चिसो हावासँगै मिसिएर आई म भित्र प्रवेश गरी पुराना दिनहरूमा डोर्यायो ।

मेरो पनि आफ्नै जीवन थियो । पैसाको अभाव थियो तर पनि तिनै अभावमाझ सम्पूर्णप्राप्तिको जीवन थियो । आमा हुनुहुन्थ्यो- जस्ले जिउनुको अर्थ दिनुहुन्थ्यो । बाबा हुनुहुन्थ्यो- जस्ले सँघर्षको पाठ सिकाउनु हुन्थ्यो । श्रीमती थिई- जस्ले अभावमा पनि जिउन सिकाँउथी । छोरी थिई- जस्ले प्रेमको सर्वोतमलाई चिनाउथी । जागिर थियो- जस्ले जिउने आधार सुम्पन्थ्यो ।

चाँगुका साल्लाघारी भित्र प्रेमका बिरुवाहरू रोप्थ्यौँ । यामडाँडाका पाखाहरूमा प्रेमका गुराँसहरू फुलाँउथ्यौँ । ती जाडो महिनाहरूका रापिलो घामहरूमा आँगानभरी प्रेमका बिस्कुनहरू सुकाँउथ्यौँ । र तिनै क्षणहरूमा रमाँउथ्यौँ । गैरीका पाटाभरी पसिनाका थोपाहरू रोप्थ्यौँ र धानका बालाहरू भित्र्याँथ्यौँ । रिसिङका पाटाभरी प्रेमका बिजुवाहरू रोप्थ्यौँ र कोदोका झुप्पाहरू भित्र्याँउथ्यौँ । डबलेका आलीभरि बैसाका बिउहरू छर्थ्यौँ र भटमासका कोसाहरू भित्र्याँउथ्यौँ । भदौका दिनहरूमा धर्ती चिर्थ्यौँ र असोजमा सयपत्रीहरू फुलाँउथ्यौँ । यही जीवननै वास्तविक जीवन हो भनेर सिकाउनु हुन्थ्यो आमा ।

पत्त्तै नदिएर एक ढिक्का सम्झना आँखाको बाटो गरी बिरानो माटोमा खस्यो । तिनै खसेको एक ढिक्का सम्झनाले बिगतबाट तानेर तिनै सल्लाको बोटमुनी ल्याएर छोड्यो ।

परबाट कुनै शरीर बाक्ला लुगामा बेरेर मै तिरै आउदै थियो । लुगाको माथि अढिएको मुहार पुरानै चिन्जानको जस्तो देखिन्थ्यो । निकै नजिकै आइपुग्दासम्म पनि आँखाले ठम्माएर यो नै हो भन्न सकेन । मस्तिष्कले भने धेरैबेर घोरिएर ठम्याउन खोज्यो । तर मस्तिष्कले ठम्याउन नसक्दै त्यो मानिस मसम्म आइपुगे र मुख खोली हाले-‘ भाइ पनि नेपाली हो?’

यही सब्दले नै मैले ऊ पनि नेपालीरहेको पत्त्त लगाएँ । हाम्रोतिर पाईलै पिच्छे नेपाली भेटिने हुदा त्यति चासोको विषय रहेन । तर मेरो एक जना साथी ‘नेपाली नै नरहेको क्षेत्रमा छु, नेपाली भेट्नु त भगवान भेट्नु सरह हो । ‘ भन्थ्यो तर हाम्रोतिर नेपाली धेरै रहेकोले त्यति ठूलो खुसी चाहिँ भैहाल्दैन मन । तर पनि आफ्ना देशका दाजु भाइ भेटिदा मनमा खुसी लाग्ने त कुरा नै भए । तर पनि ती मुहारलाई आँखाले पुरानै चित्र सङ्ग दाँज्न खोज्दै थियो । आँखाले सुनिश्चित नगरेपछि ओठैबाट सुनिश्चित गर्न चाहेँ । यतिबेला सम्ममा हामीबीच धेरै सबालजाबफ भैइसकेको थियो ।

त्यतिबेला देशमा वर्गिया, जातिया र लैङ्गिया असमान्त र दरबार बाहिराका आग्ला पर्खाल ढाल्ने युद्धको डडेलोले सबै गाउँ सहर डढिसकेको थियो । जत्त्ताततै बन्दुकधारीहरू छ्यापछ्याप्ति देखिन थालेका थिए । तिनै डडेलोमा युवायुबतिहरू बतिमा पुतली होमिए झैँ होमिदै थिए । गाउँबस्तीका झुपडीहरू तिनै छापामारहरूले भरिएका हुन्थे । घरघरबाट उमेर पुगेका तथा पढ्दै गरेका किसोरकिसोरीहरू पनि कलम फालेर बन्दुक च्याप्न थालेका थिए । विद्यार्थीहरू मात्र हैनन् विद्यालय नै बन्द गरी शिक्षकहरू नै चक डस्टर छोडी बन्दुक समाउन लागेका थिए । हिजोका पुस्तकको ज्ञान सिकाउने शिक्षकहरू क्रान्ती र पर्खाल भत्काउने ज्ञान सिकाउदै थिए । हो तिनै पुस्तकको ज्ञान सिकाउदा सिकाउदै क्रान्ति र पर्खाल भत्काउने ज्ञान सिकाउन लागेका माहान योद्धा क. हतियार रहेछ्न् उनी । मैले बल्ल ठम्याउन सकेँ । उहाँ हाम्रो विद्यालयमा बारम्बार क्रान्ती र पर्खाल भतकाउने ज्ञान दिन आईराख्नु हुन्थ्यो । कतिले त उहाँको कुरामा समर्थन दिदै कलम छोडी बन्दुक समाएका थिए । हामलाई भने सानैछस् अलि पछि बोक्नु पर्छ बन्दुक भन्नुहुन्थ्यो ।

देशमा भएको सान्तिसम्झौता पछि धेरैका सर्टिफिकेट, शैक्षिक प्रमानपत्र, छाती र खुट्टा देखि टाउकासम्म नापियो रे । प्रमाणपत्र, छाती र तन्काई पुगेकाहरू सरकारी सेना भए रे । कति नपुगेकाहरू पनि भनसुनका आधारमा सरकारका भए रे । जुन व्यक्तिहरू सान्तिसम्झौता पछि लाडाकु बनेका थिए रे । जति सरकारी भए रे तिनीहरूको आधि त पछि प्रवेश गरेकाहरू भए रे । तर तिनै जनयुद्धकालमा कलम छोडेर आफ्ना शैक्षिक योग्यतालाई गोलीमा दाँज्नेहरू र बन्दुकका गोलीखाएर बाँचेकाहरू चाहिँ तिनै सरकारको आयोग्य भएर कोरिया, खाडी मुलुक, तथा विभिन्न देशमा आफूलाई बेच्दै छन रे ।

उहाँ पनि तिनै आयोग्य मध्यको एक रहेछन् । चार साल पहिला आउनु भएको रहेछ कोरिया । बन्दुक बिसाए पछि गाउँ फर्कदा गाउँलेले नराम्रो व्यवहार गर्ने तथा आफूलाई पनि ग्लानि भैइ कयौँ पटकमा सहरमा भौतारी अन्त्यमा कोरिया छिर्नुभएको रहेछ । अबको दस महिना पछि नेपाल फर्कदै हुनुहुदो रहेछ ।

घामले डाँडाको थुम्कोलाई रातो पारेसँगै चिसो हावाले पनि अलिका तिब्रता लियो । अलिका जोड्ले हावा चल्नथालेपछि हामीले पनि बाँकी दिनमा भेट्दै गर्ने प्रतिज्ञाको साथ आफ्ना मोबाईल नम्बर साटासाट गरेर फर्कियौँ । फर्कदै गर्दा मेरो मनले भन्दै थियो । ‘कोरियाका सागबारी, प्लास्टिक घर, फलाम कारखाना, प्लास्टिक कारखाना तथा विभिन्न उधोगहरूमा यस्ता योद्धा, कवि, शिक्षक, राष्ट्रसेवक तथा विभिन्न तहका नेपालीहरू आफ्ना अमूल्य समय र जीवन बेचिरहेका रहेछन् । र तिनै भित्र म र उनै क. हतियार पनि छन् ।’

fonijkorea.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *