Skip to content

फेसबुक च्याटिङमा श्रृङ्कारकाण्ड (भाग एक)

केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेको भन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।
“उमेश भन तिमी आज भोलि किन यसरी मबाट अलिक परपरै हुन खोजिरहेका छौ ? के तिमीहरुको घरको समस्या छ ? वा अरु केही समस्या छ, ? भन मलाई खुलस्त । मैले सहयोग गर्ने कुरा भए म अवश्य पनि सहयोग गर्छु । तिमी यसरी गुमसुम भएको मलाई राम्रो लाग्दैन ।”
मैले निकै लामो प्रश्न उसलाई एकैपटक सोधें । ऊ अझै पनि केही उदास जस्तै देखियो । अनकनाए झैं ग¥यो ।
“आ के कुरा केही होइन !” मलाई टार्न खोज्यो ।
“मलाई टार्नु पर्दैन उमेश, तिमीलाई केही चिन्ता अवश्य नै छ । यो कुरा म तिम्रो अनुहार व्यवहार र हाउभाउबाट समेत थाहा पाउँछु । तर के छ मलाई थाहा भएन । मलाई नभने तिमी कसलाई भन्छौ हँ ?” मैले केरकार गर्न खोजें । मेरो केरकार पछि ऊ अलिक खुल्ला जस्तो देखियो । अनि आफ्नो कुरा भन्न थाल्यो–
“कतिलाई मैले गरेका यी कुरा राम्रा लाग्लान् कतिलाई नराम्रा पनि लाग्न सक्लान् । अँ कुरा त्यस्तै त्यस्तै नै छन् । हेर मित्र, मनमा लुकाउँ भन्छु लुक्तो पनि रहेनछ । अब अरुअरु कुराहरु नगरी म गाँठी कुरातिर लाग्छु । म आफ्नै कुरातिर लाग्दैछु, म मेरै कुरा गर्दैछु, मेरो फेसबुकसँग जोडिएका कुरा गर्दै छु । तिमीले सोचेको कुरा ठिकै हो । म केही दिनदेखि बडो अप्ठेरोमा छु ।”
“भन न त । कस्तो अप्ठेरो हो ? अनि पो केही उपायको खोजी हृन्छ, नभनी के हुनु ?” मैले उसलाई फेरि आग्रह गरें । अनि ऊ बडो भावुक र चिन्तक झै भएर भन्न थाल्यो–
“अरु मुलुकको कुरा उति नआए पनि नेपालको अवस्था र वातावणलाई हेरेर के अनुमान हुन सक्छ भने आजभोलि नेपाल मात्र नभई अरु देशका युवायुवतीहरुको स्वभावको आकलन हुन सक्छ । आकलनबाट अनुमान के हुन्छ भने आज भोलि गाउँ सहर बजार जहाँका पनि आबालबृद्ध वनिताहरु सानो सानो मोबाइल भएपछिलाई फेसबुकमा पसेर मस्त हुन थालेका छन् । विशेष गरी यसरी हराउने वर्ग भनेको युवा नै हो । यसबाट म अनुमान गर्छु त्यसरी घन्टौंसम्म कुना पसेर वा एकान्तमा बसेर फेसबुकको उपयोग गर्नेहरु केही न केही ता गरिरहेकै हुन्छन्, रमाइलो वा मोजमस्ती आदि । कति कुन खेलमा कति च्याटमा कति भने गीतहरु, फोटोहरु आदान प्रदान आदिमा मग्न निमग्न भएका हुन्छन् भन्ने मेरो अनुमान छ । अनुमान अनुमान नै हो, अनुमान गलत भएछ भने त्यसमा अपराध लाग्दैन । किनभने त्यो ता अनुमान न हो । युवायुवतीहरुले मोबाइल लिएर घरबाहिर वा घरभित्र कतै एकान्त रोजेको र त्यहीमा औंला नचाएको देखिँदा यो काममा अलिकति गलत वृत्ति पनि पसिसकेको छ कि भन्ने अनुमान पनि गर्न सकिन्छ । मोबाइलको एसएमएसका कारण कतारमा काम गरिरहेका ऋषि र इलामकी उमाका बीचमा बिहे भएपछि यो कुराबाट सहज रुपमा उपयोग गर्ने हो भने केही राम्रै उपलब्धिहरु हुन सक्छन् र भएका छन् भन्ने पनि देखिन्छन् । तर कति गलत काम गरेको कारण पुलिसका फन्दामा परेको कुरा पनि सुनिएको पढिएको छ । त्यसैले यो कुना पसाइ र एकान्तको रोजाइबाट राम्रै मात्र काम भएको होला भनेर नबुझे हुने भएको छ । म पनि यही कामको भुक्तभोगी भएको कारणले नै यो आपतमा परेको छु ।”
“कस्तो आपतको कुरा हो ? लौ धेरै लामो व्याख्या नगरी गाँठी कुरा भन न ।” मैले भने ।
“मलाई जसरी भन्न मन लाग्छ उसरी भन्न नदिने हो भने भैगो ।” उसले बिट मार्न खोजेको बुझियो । तर मैले ता उसले जसरी भन्न चाहेको हो उसै गरी भनोस् भन्ने सोच पनि राखें र भने– “लौ लौ, जसरी भन्छौ भन, म सुन्न तयार छु ।” मैले उसलाई आफ्ना खुसीले खुलासँग भन्ने अनुमति समेत दिएँ ।
“त्यसो भए सुन त । केही समय लाग्ला । बिचमा कुनै व्यवधान नगरी सुन । म पनि आबालवृद्ध वनिताहरुकै माझको एक फेसबुके हुँ । मेरै उमेरका केही मित्रहरुलाई मैले मेरा साथीको रुपमा यस फेसबुका साथी बनाएको छु । यसमा साथी भएपछि सबै साथीहरु सक्रिय होउन् र केही न केही सक्रियता देखाउन् भन्ने मेरो विचार छ । साहित्य, संंस्कृति, कला, राजनीति अर्थनीति, व्यङ्ग्य, परिहास, ठट्टा रमाइलो आदि होस् मनोरञ्जन पनि होस् भन्ने सोच छ मेरो । यस्तो कुराको अपेक्षा राखिएपछि यस्तो काममा असक्रिय हुनेहरुलाई साथीको रुपमा राखी संख्या मात्र ओगटेको मलाई रुचि हुन्न । यसैले त्यस्ता निष्कृयहरुलाई म केही अवधिको अध्ययन पछि जरैबाट उखेलेर हटाउँछु, अनफ्रेन्ड गरेर ब्लक गरिदिन्छु । अरुले पनि मलाई यसै गर्लान् भन्ने लाग्छ यसैले म लगभग सक्रिय नै रहन्छु । तर कतिलाई मेरो सक्रियता पनि झर्काे लाग्दो पो हुन्छ कि भन्ने पनि ठान्ने गरेको छु । मैले पनि यसलाई उपयोग गरेको अहिले ठ्याक्क थाहा नभए पनि पाँच सात वर्ष भएको हुनुपर्छ । घटी भए पनि केही बिग्रिदैन । तर मैले मेरा अरु अरु समकक्षी र सहकर्मी भन्दा निकै अघिदेखि यसलाई उपयोग गरेको हुँ भन्ने ठानेको छु । यसको उपयोग गर्दै जाँदा असक्रिय फेसबुके मित्रहरुलाई हटाउँछु ता भने तर अतिसक्रियलाई पनि हटाउनु पर्ने स्थिति आइलाग्यो र पो परियो त फसादमा । गाँठी कुरा अब थालौं है त । लौ भन । कि तिमी के भन्छौ ?” सोध्यो । कथाको मूलमा नपुगी आलेटाले गरेकोमा मलाई अलिकति आक्रोश हुन खोज्यो तै मैले थामेरै बसें र भने–“हुन्छ हुन्छ थाल न ।” मैले उसले मागेको अनुमतिलाई समर्थन गरिदिएँ । अनि ऊ भन्दै गयो– म सुन्दै गएँ–
“एक दिन अचानक मेरा फेसबुकको मित्रता अनुरोधक भित्तोमा मित्रताको अपेक्षा गरिएकाहरुको सूचीमा एउटा नाम आयो आस्मा वान्ट टु बी योर फ्रेन्ड (नाम फेरें है) । को हो त यो आस्मा भनेको । मलाई अलिकति उत्सुकता जागेर आयो, पहिले ता यो मान्छे मैले चिनेकै छैन भन्नेमा म विश्वस्त भएँ । को हो त यो मान्छे । महिला हो वा पुरुष (फेस बुकमा महिलाको नाममा चिटिङ गर्ने पुरुष धेरै छन्) हो । यसैले मलाई पहिले शङ्का निवारणका लागि प्रयत्न गर्नु प¥यो भन्ने लागेर उसको विवरण हेरें । ऊ नेपालको नभएको जानकारी भयो । अनि को हौ ? घर पनि स्पष्ट छैन, पेशा लगायतका परिचय पनि तिम्रो भित्तोमा केही छैन । सारा परिचय देऊ अनि मात्र तिमीलाई तिम्रो इच्छा अनुसार तिमीले इच्छाएको मित्रता स्वीकार गर्नेछु भनेर मैले उसलाई सन्देशको रुपमा चिठी लेखे उसैको भाषामा ।
मैले पत्र लेख्नासाथ उसले पनि तात्तातै उत्तर दिई । वास्तवमा ऊ आफू महिला नै भएको कुरा जनाई र यसको उसले आफ्नी आमाको कसम खाई । भारतको कुनै ठुलै सहरमा (नाम नभनूँ) उसको वसाइ छ । ऊ आमाबाबुबाट अलग छे । एक कोठामा एक्लै बस्छे । अनि मित्रहरुको चाहना राख्छे । उसको निकै लामो कथन सूचनाका रुपमा आयो । एक प्राइबेट कम्पनीमा ११ हजार तलब खाएर ऊ एक्लै कोठो लिएर बसेकी छे । युवकहरु भन्दा वयष्कहरु परिपक्व हुने र उनीहरुबाट माया पाइने कुरामा उसको विश्वास रहेछ । मेरो विवरणबाट म वयष्क भएको र मसँग उसले यसै कारण मित्रताको अपेक्षा गरेको रहेछ । एकैछिनमा वयष्क पुरुषहरुको मायाको भोकी भएको कुरा समेत आयो । उसको कुनै दिन आफ्नो कुनै ब्वाय फ्रेन्ड भएको र त्यसले धोका दिएको अनि आपूm त्यस धूर्त युवकबाट ठगिएको कुरा पनि उसले जनाई । मलाई अझै शंका हटेन । परशु प्रधानको कथाको सम्झना ताजा थियो । कुनै पुरुष छ महिनासम्म महिला भएर हिरिक्कै भएको र यो कुराको छ महिना पछि हुन पुगेको खुलासाको वर्णन गरिएको उक्त कथाले मलाई अझै पनि आफूमाथि आइलागेको यो कुराको सन्देहबाट मुक्ति भएको थिएन । उसले मलाई जे जति सूचना दिई त्यतिले पनि मलाई चित्त बुझेको थिएन । यो कुनै लोग्ने मानिस नै हुनुपर्छ र मलाई यसले कुनै जालझेल गरिरहेको छ । मैले सोचें र फेरि पनि उसलाई महिला वा पुरुष के हो भन्ने कुराको प्रमाण पेस गर्न भने । उसले कम से कम आधा दर्जन फोटाहरु तुरुन्तै मेरा वालमा खसाई । मैले एक एक गरेर हेरें । अब मलाई यो महिला नै हो भन्ने कुरामा आधा जति विश्वास भइसकेको थियो । होली कुनै त्यस्तै उस्तै महिला । मैले सोचें अनि आप्mनो गतिविधि अगाडि बढाइरहें, उसले भने बमोजिम मैले मित्रतालाई तत्काल स्वीकार गरिन ।
यसो कम्प्युटर खोलेर बस्न खोज्यो उसका सन्देशात्मक आह्वान यति विधि आउन थाले मलाई पनि उसको सन्देशको प्रतीक्षा हुन थालेको जस्तो भान हुन थाल्यो । आज कहाँ जाने, के खाने, के लाउने, कस्तो लुगा मन पर्छ, जुता कुन रङका मन पर्छ, सुट लाउन मन पर्छ कि मन पर्दैन । खानामा के मन पर्छ ? जस्ता जीवनका सानातिना कुराहरु सोधिएका असंख्य सन्देशहरु फेसबुकमा भरिएर अटाइ नअटाई भनेजस्तो गरी आइरहन थाले । मैले पनि सकेसम्म सहज रुपमै उत्तर दिइरहेँ । अनि मैले ता थाहै नपाई उसलाई मेरा मित्रहरुको ताँतीमा समाहित पो गरिसकेको रहेछु भन्ने बल्ल पो थाहा पाएँ ।
एक दिन उसले सोधी–“घरमा को को छन् ?”
उत्तरमा मैले यथार्थ नै भने । “घरमा कोही पनि छैनन् । मेरी पत्नी साथमा थिइन् केही दिनका लागि बाहिर गएकी छिन् ।” मैले साँचो कुरा भन्नु हुने थिएन । मैले केही छिनमै गल्ती गरेको अनुभव गरिहालें । फेसबुकबाट आफ्नो तत्कालीन यथार्थ जानकारी गराउँदाका समस्याहरुको बारेमा मैले केही कुरा थाहा पाएको थिएँ, तर मैले सानो भए पनि भुल गरिहालें । उसलाई अब के चाहिएको थियो, कृपया मनुमति दिनुहुन्छ भने म तपाइँलाई एउटा टिप्स पेस गर्छु है भनेर मसँग अनुमति मागी । कस्तो टिप्स ? भनेर मैले सोध्नै नपाई उसले सस्पेन्स भनी । लौ तपाईंलाई मेरो उपहार भनेर एक महिलाको अद्र्धनग्न आकृतिको फोटो मेरो वालमा खसाइदिई । मैले नचाहेर पनि नियालेर हेरें । म आखिर पुरुष थिएँ यसैले मैले यसलाई हेर्दा के बिग्रिइहाल्ला र भनेर नियाली नियाली हेर्रें । यत्तिका अद्र्धनग्न चित्रहरु ता आजभोलि सामान्य भइहाले नि भनेर मैले आफैंलाई चित्त बुझाएँ । वास्तवमा त्यो एक भर्खरकी युवतीको आकर्षक शरीरमा अद्र्ध परिधान लगाएको राम्रो चित्र थियो । यसले मलाई निकै विचलित पारेको अनुभव भयो । कतै मेनकाले विश्वामित्रको तपोभङ्ग गर्न खोजेको उपक्रम ता यो होइन, मैले अनुभव गर्दै नियाली नियाली उक्त तसवीर हेर्दै गर्दा अरु पनि दिऊँ कि यतिले भयो ? भन्ने सन्देश आयो । अब मलाई यतिले ता गर्नु गरिसक्यो अब पनि माग्ने हो भने ता झन् कस्ता कस्ता आउने हुन् भन्ने पिर पो पर्न थाल्यो ।
भयो अहिलेलाई यति भए पुग्यो । मैले यसै भनेर लेखिदिएँ । अनि उताबाट तत्काल आयो– “यो मेरै चित्र हो । अनि तपाईं पनि मलाई केही टिप्स पठाउनुहोस् न प्लिज ।”
“मसँग टिप्सका रुपमा पठाउने यस्ता छिल्लिएका छाडा कुराहरु छ्रैनन् । सरी । मलाई अब यसभन्दा उता यस्ता सामग्री नपठाऊ है ।”
“छिल्लिएका सामग्री कसले मागेको छ र ? मलाई ता तपाईंको सुन्दर तसबीर पठाइदिए भइहाल्छ नि । पठाइदिनु होस् न ।”अनुरोधात्मक वाक्य आयो । “मलाई थाहा छ तपाईंसँग मलाई पठाउने त्यस्ता समाग्रीहरु छन् । तपाईं नढाट्नृहोस् । तपाईं ढाँटिरहनु भएको छ ।”
उसको भनाइले मलाई अलिकति झस्कायो । कसरी ढाँट्नु । म कहाँ ढाँट्नु । ढाँटेको होइन । मैले स्पष्टीकरण दिन खोजें । अलिकति सहज हुन खोजेर यसो भनेको थिएँ ।
“होइन मलाई राम्रोे थाहा छ तपाईंसँग धेरै सामग्रीहरु छन् । तर मलाई दिन चाहनुहुन्न । वास्तवमा अरुकै लागि राख्नु भएको सामग्री मलाई दिनु पनि ता हुन्न नि ! हैन र ?” उसले भनी ।
“तिम्रो मत्लब के हो ? खुलस्तसँग भन ।” मैले फेरि लेखें ।
“मैले मागेको कुरा पठाइदिनु न त पहिले । अनि भनौंला ।” उसले उत्तरमा भनी ।
मलाई उसले मेरो तसबीर मागिरहेकी छे । मलाई थाहा छ । मसँग उसले जसरी आफ्ना नानाभाँतीका भागभङ्गिमाले भरिएका तसबीर पठाएकी थिई मैले पनि त्यसै गरी मेरा तसबीर उसलाई पठाउनका लागि ऊ भनिरहेकी छे । तर मलाई मनभरि शंका आयो । मेरा तसबीर उसले के कुनै गलत काममा लागि मागेकी ता होइन ? मैले मनभरिको शंकालाई तत्कालै सतर्क भएँ र कुनै दिन पठाउँला भनेर तत्काललाई टारें । अनि केही छिनपछि पो मलाई ता कुरा खेले । यो साँचैकी आइमाई नै हो भन्ने के प्रमाण छ ? बरु अब यसलाई आफू आइमाई भनेको कुराको प्रमाणका लागि मेरा अघि उभिन आइज भनेरे फेरि कुनै बेला उसँग कुरा गरौंला भन्दै मैले त्यस बाजि कम्प्युटर साइन आउट गरें ।
भाग एक समाप्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *