Skip to content

ठूला मान्छेसँग सानो प्रश्न


तपाई ठूलो मान्छे
बिहान बाथरुमुमा पस्दा मात्रै
पत्रपत्रिका पढ्न भ्याउने हुनुभो
स्लिप नपठाई
अब भेट्न नसकिने हुनुभो
हाई ! हाई !!
जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो
स्वागतमा
अब नमस्ते नपुग भएर
फुलगुच्छा पनि चाहिने हुनुभो
अब त-
दिनको दुईचार ठाउँबाट
बैठक-भत्ता पनि पाउन थाल्नुभो
उद्घाटनमा, अब तपाई नपुगिनहुने हुनुभो
विसर्जन, अब तपाईबाटै हुनुपर्ने भो
भाषण त तपाईको पर्याय भै नै सक्यो
अब के मात्रै सम्भव छैन तपाईको इच्छामा?
अब को मात्रै पछि लाग्दैन तपाईको इसारामा?
अब तपाईले व्यभिचार नै सोचे पनि आवश्यकता ठहर्याभइन्छ
अब तपाईले अपराध नै गरे पनि देशसेवा कहलाइन्छ
साँच्चै !
अब तपाई आकाश हुनुभो
अब तपाई आराध्य हुनुभो
रेडियोमा तपाईलाई नै सुन्छौं हामीहरू
टेलिभिजनमा तपाईलाई नै हेर्छौं हामीहरू
सत्ते धरोधर्म !
अब तपाई ठूलो मान्छे हुनुभो

तर महाशय !
सबै थोक जितेर पनि
सायद केही जित्नु भएन तपाईले
ठूलो मान्छे भएपछि
के एक रात पनि तपाई
रुपियाँले नटोकेको स्वाभाविक निद्रा निदाउनुभएको छ?
जालझेल नसोचेर
के एक छक्काल मात्रै पनि तपाई
परिवारसँग रमाउन सक्नुभएको छ?
छैन भने-
ठूलो मान्छेु हुनुको के अर्थ रह्यो त तपाईलाई?
कठै ! आफ्नै छोराको लागि पनि अब तपाई
कहिलेकाहीँ देखिने मीठो सपना हुनु भएको छ
र आफ्नै स्वास्नी-आँखामा त अब तपाई
फ्रेममा सजाएभन्दा अलि ठूलो साइजको फोटो मात्र बच्नुभएको छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *