Skip to content

पातालको मेट्रोरेल


नोभेम्बर २०१४ । दिनको दूई जति बजेको हुँदो हो मैले मियामी एयरपोर्टदेखि त्यहाको रेलस्टेसनसम्म जानका लागी मियामी मुबर चढेको । मियामी मुबर एक स्वचालित दुई डब्बा जतिको विद्युतिय ट्रेन हो जसले नियमित रुपमा मियामी एयरपोर्ट र त्यहाको रेलस्टेसन र रेण्ट अ कार प्वाईन्टलाई जोड्दो रहेछ । मेट्रोरेलको अरेन्ज लाईनले एयरपोर्ट र मियामी डाउनटाउनलाई जोड्ने रहेछ ।

करिब ४ डलर जतिको रिटर्न ट्र्ेन टिकेट लिएर म रेलस्टेसनतिर लागे । मेट्रोरेल अझै आईपुगेको थिएन । त्यहा केवल प्रतिक्षारत यात्रुहरु मात्रै थिए । दश पन्ध्र मिनेटमा एउटा रेल आयो । एउटी मोटी काली यात्रु कराउँदै आई “ल यो रेल अर्को चालिस मिनेट पछि मात्रै जान्छ ।”

मसंग कम्तीमा पनि अर्को ३ घण्टा त बाँकी नै थियो त्यसमाथी मेट्रेरेलभित्र नै फ्रि वाई फाई छोडिएको थियो । मैले पनि अरु यात्रुहरु जस्तै आफ्नो स्मार्ट फोनमा नेट सर्फिंग शुरु गरे । तर त्यो मेट्रेरेल अर्को ५ मिनेटमा नै मियामी शहरतिरको यात्राका लागी रवाना भयो । कालीले भनेको कुरा गलत साबित भयो ।

यात्राका अनुभवहरु रोचक हुँनु कुनै नौलो कुरा होईन त्यसैले त मान्छेहरु यात्रा गर्न मन पराउँछन । कोही यात्रा मन बहलाउनका लागी गर्छन त कोही रमाईलाका लागी । कोही केही खोज्ने बहानामा, कोही नयाँ अनुभवको आशामा, कोही व्यापारका लागी त कोही औषधी उपचारका लागी र धेरै जसो मान्छेहरु विदा मनाउने बहानामा यात्रा गर्ने गर्छन । जो जे उद्धेश्य लिएर यात्रामा निक्लिए पनि मेरा हिसाबमा यात्रा अवसर हो, केही देख्ने, केही सुन्ने, र केही भेट्ने । हरेक गनतव्यमा केही न केही नयाँ त भेटिन्छ नै । अनि यात्राका क्रममा भोगिने कतिपय घट्ना दुर्घटनाले मान्छेको जीवनमा अविस्मरणिय छाप छोडेको हुँन्छ ।
चाहे त्यो स्विजरल्याण्डमा जेनेभादेखि बर्न हुँदै जुरिचसम्मको रेलयात्राको होस वा संध्याकालमा सान फ्रानसिस्को शहरदेखि गोल्डेन गेट ब्रिज हुँदै त्यहीको नापा भ्यालीसम्मको वाईन टुर बसयात्रा होस, वा नियाग्रा अन लेकदेखि नियाग्रा फल्ससम्मको बस यात्रा होस, या त दक्षिण अफ्रिकामा जोहानेसवर्गदेखि केपटाउनसम्मको हवाई यात्रामा देखिएका चटृानी पहाडहरु वा फिलिपिन्सको क्लार्कदेखी सिंगापुरसम्मको हवाई उडानमा देखिएका ती सून्दर पहाडीहरु । अरु त बिर्सिएला तर ती यात्रामा देखिएका पहाडीहरु अनि तिनका कोखमा छेडिएका ती सून्दर बाटोहरु भलै बिर्सियला । कहिले पनि बिर्सन सक्दिन भालुवांगदेखि रोल्पा जाँदै गरेको बसमा अगाडी सिटमा यात्रा गर्ने अरु यात्रुहरुले बड डाँडामा बस उकालो चढ्दै गर्दा र ओरालो झर्दै गर्दा आँखा चिम्म गरेको द्धष्यहरु । आफुलाई भने ती सून्दर डाँडाहरुले अनि तल बहिरहेकी राप्तीका नीला पटुकीहरुले निर्वाध लोभ्याई रहेका ती रमाईला क्षणहरु अझै सम्म पनि अविस्मरणिय बनेर रहि रहेको छ । हेरेर ल्याँउदा तीनै डाँडाकाँडा र पहाडहरु पृथ्वीको विभिन्न भागमा एक र अनेक रुपमा देखिन्छन र यात्रुका मनहरु लोभ्याई रहन्छन । तर मलाई भने जहाँ पुग्दा पनि त्यहा देखिने डाँडाकाँडाहरुले आफ्नै देशको झझल्को दिईरहन्छ । मानौ म आफ्नै भूमिमा छुँ ।

नितान्त फरक थियो अनुभव यसपटकको पाताल देशको रेलयात्राको । अमेरिकाको फ्लोरिडाको यो मेरो दोश्रो यात्रा अनुभवका हिसाबले पहिलेको यात्रा भन्दा निकै फरक थियो । म स्काईट्र्ेनमा एयरपोर्टदेखि शहरसम्मको यात्रामा थिए । यात्रा लामो थिएन केवल बीस पच्चिस मिनेटको मात्रै । माथी माथी ट््र्याकमा दौडिरहेको मेट्रोरेलबाट तलको बस्ती र सडकहरुको द्धष्य देखिनथ्यो । यो साउथ एसियाको कुनै सामान्य बस्ती जस्तो मात्रै देखिनथ्यो । सफा थिएन । उल्लेखनिय केही थिएन । तर पर परसम्मको क्षितिजमा भने गगनचुम्बी भवनहरु देखिई रहेको थियो । त्यस अर्थमा त्यो डाउनटाउन वा शहरको अन्य भाग हो भनेर भन्न सकिनथ्यो । पक्कै पनि यहाँ मैले कुनै पहाडहरु देखिन । बरु पाल्म ट्र् िहरु र समथर भूभागहरु मात्रै देखे ।

बिस पच्चिस मिनेटमा डाउन टाउनबाट एयरपोर्ट पुग्न सक्ने भएकाले मेरो अनुमानमा मसंग प्रशस्त समय थियो । मेट्रोरेलबाट उत्रने बित्तिकै म ती ठूला टावरहरुको तलतल पैदल यात्रामा जुँटे । नजरहरु वरिपरिका पसलहरुमा केन्द्रित थिए । लेटिना फुड खाए । उही भात उही माछा उही चिकेन । दक्षिण अमेरिकी तरिकामा बनेको भएर सायद त्यसको न्वारन लेटिना फुड भनेर गरिएको होला । त्यही खाना दक्षिण पूर्वी एसियातिर आईपुग्दा पिरो बन्छ तर त्यतातिर पिरो भने थिएन ।

मैले हिडि रहेको स्ट््िर्टको पल्लो छेउमा पुग्दा मेरो ध्यान अचानक यहाँको समयतिर गयो । अपरान्ह्को साँढे चार बजि सकेको रहेछ । ओहो, पाँच बजे त एयरपोर्ट पुग्ने योजना थियो । एयरपोर्ट मेनेजरले साँढे ६ बजेसम्ममा चेक ईन गरिसक्नु पर्छ भनेर अझै अलिकति समय बढाईदिएका थिए । म फरक्क फर्किए । सडक पार गरेर मियामी साउथ बिचतिर लम्कने रहर बोकेका मेरा पाईलाहरुलाई ठ्याक्कै रोके र मेट्रेरेल स्टेसनतिर सोझिए । मेट्रोरेल स्टेसन पुग्दा निष्ठुरी घडीले पाँच बजाई दियो । यतिखेर रेलस्टेसनमा भीडभाड जमिसकेको थियो ।

एयरपोर्टतिर जाने रेल आउन अझै १३ मिनेट बाँकी रहेछ । त्यसपछि आउने रेल अर्को ४८ मिनेटमा आई पुग्ने रहेछ । मैले त सोचेको थिए रेलहरु फटाफट आउनेछन । तर त्यसो होईन रहेछ । टेक्सी नै लिए पनि सडकमा ट्रफिक जामको हिसाब गर्दा एयरपोर्ट पुग्नका लागी एक घण्टा जति समय लागथ्यो । त्यसैले मसंग रेलको अर्को विकल्प थिएन । अघि आउँदा साउथबाउण्ड रेलमा आएकाले अब फर्कदा नर्थबाउण्ड रेल समात्नु पर्ने भएकाले विपरित ट््रयाकमा गएर उभिए । तर मोनिटरमा देखाए अनुसार अब आउने नर्थबाउण्ड रेल त्यही ट््रयाकमा आउँदै थियो जुन ट््रयाकमा म अघि केही घण्टा अगाडी साउथबाउण्ड रेलबाट उत्रिएर शहर पसेको थिए । सामान्यतया जुन ट््रयाकबाट रेल नर्थबाउण्ड जान्छ त्यही ट््रयाकबाट साउथबाउण्ड जाँदैन भन्ने मेरो सोचाई थियो तर यो स्टेसनमा त एउटै ट््रयाकबाट साउथबाउण्ड र नर्थबाउण्ड दुबै दिशा देखाएकाले अर्को समस्या खडा भयो । कसलाई सोध्नु ।

सही सूचनाका लागी सहयोग माग्नु पर्ने भयो । एकजनालाई सोधे, उसले भन्यो उ यो ठाँउका लागी नयाँ मान्छे हो रे उसलाई थाहा छैन रे । अर्कोले म अंग्रेजी बोल्न सक्दिन भन्यो । पर एउटी केटी कानमा लगाएको हेडसेटमा गीत सुन्दै हल्लिरहेकी थिई । उसलाई गएर सोधे । उसले भनि दुबै ट्रयाकबाट नर्थबाउण्ड रेल आउन सक्छ तर अहिले आउने पहिलो रेल भने त्यही ट््रयाकबाट आउँदै छ रे जुन ट््रयाकबाट म झरेको थिए । म उतैतिर लागे । एक जोडी पर्यटकहरु पनि एयरपोर्टतिर जाने तर्खरमा रहेछन । उनीहरु पनि म जस्तै अलमलमा परेका रहेछन । अलिपर पुगे अर्का एक हुल यात्रीहरु पनि मेरै जस्तो समस्या भोगिरहेका रहेछन । तर कसैले पनि मैले भनेको कुरालाई स्विकार्न सकेनन । नर्थबाउण्ड रेल आयो । तिनीहरुले रेल चालक महिलासंग सोधेर मात्र रेलभित्र प्रवेस गरे । वास्तवमा मेरो लागी यो एउटा नौलो अनुभव थियो ।

हतारहतार गर्दै एयरपोर्टमा चेक ईन गर्न पुग्दासम्म सवा ६ बजिसकेको थियो । मैले स्थानिय एकजना सहकर्मी साथीलाई मैले जुन रेलमा आए यदि त्यो रेल समाउन नसकेको भए अर्को रेल ४८ मिनेट पछिमात्र आँउने वाला थियो भन्दा उसले लामो जिब्रो बाहिर निकाली । यदि मैले शहरमा १५ मिनेटपछि मात्र घडी हेरेको भए मेरो उडान छुट्थ्यो र त्यसको कस्तो परिणाम भोग्नु पथ्र्यो मैले अझै पनि कल्पना गर्न चाहेको छैन । यात्रामा हिड्नेले सधै प्रष्ट सूचना संकलन गर्नु पर्छ भनेर अरुलाई सिकाउने म आफै सम्भावित समस्याको पहाडहरुबाट मुश्किलले बचेको थिए । कहिलेकाही हामीले जे देख्छौ र सोच्छौ त्यो सही नहुँन सक्छ । पातालको मेट्रोरेल यात्राले सिकाएको यो पाठ मैले कहिले भुल्नु हुँदैन भन्ने मलाई लागेको छ । तपाई पनि बिचार गर्नुस है ।

१३ डिसेम्बर २०१४, दोहा कतार ।
[email protected]

अंक ४८, कान्तिपुर गल्फ साप्ताहिक, बर्ष ७, बिहिबार प्रकाशित ।, १० पुस २०७१, २५ डिसेम्बर २०१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *