Skip to content

बर्मेलीबाको बेपारी धन्दा


“हैन सर, तपाईं पढेको मान्छे, के यो लिखा टिपाइ गरेको ? लु बेपार गरौं, बेकारमा यसरी लिखा टिपेर के उन्नति हुन्छ ?” बर्मेलीबाले मसँग यसै भनेका थिए आजभन्दा पैंतिस वर्ष अघि । त्यो बेला उनी भर्खरका थिए ।

“होइन, सर तपाईं ता पढेलेखेका मान्छे, अब केही कारोबार नगरी भएन, तपार्इँ नगर्ने भए पनि म ता बसेर हुन्न । म यो जागिरसागिरको कुरा सोचिरहन्न । के गरुँ ? लु केही सल्लाह दिनुपर्यो ।” त्यो बेला उनले अर्को एक दिन मसँग सल्लाह मागेका थिए ।

कुरा यिनै हुन् । जुँगे बा मेरा घरको छिमेकी हुन् । उनलाई अँझ पनि बर्मेली बा भनिन्छ । उनको दूरदर्शिता देखेर मलाई अचम्म लागेको छ । उनले ४० वर्षदेखि बेपार गर्दै आएका छन् । तर कुनै बेपारमा पनि उनको सफलता देखिएको छैन । म बेपारमा लद्दुले उनलाई के सुझाव दिन जान्दथें र ? कसरी हो उनले आफैं बेपालमा हात हाले । बर्माबाट निकै नै सम्पत्ति लिएर आएकाले झापाको सस्तो जमिन निकै किनेका रहेछन् ।

यसै जमिनमा उनको भएभरको घरको सम्पत्ति लगानी गर्छन् विचरा । त्यसरी लगानी गरेर केही वर्ष कुनै बेपार गर्छन् अनि त्यसबाट घाटा खाएपछि अर्को कुनै बेपार गर्न थाल्छन् । म पर परबाट नियालिरहन्छु । नयाा बेपारमा पनि उनले सफलता नपाएपछि अर्कोतिर लाग्छन् । उनी वर्माबाट नेपालको झापामा आएर झापाका निवासी भएका छन् । यसैले उनलाई झापाका बर्मेली बा पनि भन्ने गरिन्छ । धेरैले चिन्छन् ।

हल्लाका भरमा बेपारमा हात हाल्ने बानी उनको छ । देखासेखी गर्नमा नेपालीको जतिको चाँडो दृष्टि अरु कसैको पनि जाँदैन । नेपालका अरु भागको कुरा मलाई उति हेक्का नभए पनि पूर्वतिरकाहरूको देखासेखी गर्नेहरूको कैरनको हेक्का भने मलाई मनग्गे छ । २०४० सालतिरको कुरा हो, पूर्वी तराईमा सिसौ रोप्ने र १० वर्षमा नै लखपति हुनेहरूको सपना सगरमाथाको उचाइ जत्तिकै अग्लिएको थियो । अनि झापा, सुनसरी, मोरङ, सप्तरी र सिरहातिर राम्रो गरी उब्जाऊ हुने अथवा धानखेती गरिने राम्रा राम्रा जग्गामा सिसौका बोट निकै बाक्लै गरी रोपेर तराई नै हराभरा पारिएको थियो । यसैको देखासेखीका भरमा सबैभन्दा पहिले जुँगेबाले पनि सिसौ खेती गरेका थिए । तर त्यो खेती कुनै अध्ययनविना गरिएको थियो, काम लागेन । सिसौ खेतीमा किरा लागेर समाप्त भएपछि उनले त्यही ठाउँमा सिसौका लाथ्राहरू काटकुट गरे अनि तिनलाई दाउराको रुपमा कौडोका भाउमा बेचेर त्यस ठाउँमा कदम खेती गरे । त्यसले पनि काम दिएन । अनि त्यसपछि केरा खेती गरिहेरे । त्यो ता उनलाई मात्र होइन अरुलाई पनि फापेन । अनि लहर आयो कुरिलो खेती गर्ने । त्यो पनि उनले गरिहेरे, तर बजार नपाएर त्यत्तिकै छाडिदिए । त्यसपछि नेपालको पूर्वीतिर भएका कारणले चिया खेतीमा हात हाले । चिया खेती सुरु गर्दा नगर्दा मजदूरहरूका युनियनहरू गठन भए । उत्पादन नै नभइकन चन्दा, तलब, निवृत्तिभरण, बिमारी खर्च, क्याजुयल बिदा, बिरामी बिदा आदिका अनेकौं मागहरू ओइरिए । अनि चिया खेती गर्न तयार पारिएका सुक्सुकाउँदा प्लटहरूलाई उनले अहिले प्लटिङ गरेका छन् घडेरीका लागि । घडेरी नहुने ठाउँलाई उनले घाँस खेतीमा परिणत गरिदिएका छन् । घाँस ता बिक्री हुने भए पो काम लागोस्, त्यो ता यसै गोठालाहरूले काट्तै लाँदै गर्न थालेका छन् । धन्न बर्माबाट आउँदा सम्पत्ति पर्याप्त लिएर आएका थिए र उनलाई खानैका लागि अनिकाल भने लागेको छैन । यो एउटा उदाहरण मात्र हो । यस्ता उदाहरण देशैभरि पाइन्छन् ।

हिजो फोन गरेर मलाई बोलाए उनले र म पुगें एकाबिहानै । सुर ता अँझ पनि उनको बेपारकै रहेछ । तर मैले अहिले पनि उनलाई केही सल्लाह दिन सकिनँ ।

अहिले बर्मेली बा निकै पाका भइसके । छोराहरू विदेश गइसकेका हुनाले उनी पत्नीका साथ बसेका छ्न् । भएको जमिनमा अहिले बालुवा र गिटी ओच्छ्याएका छन् । अँझ पनि उनको बेपारको सपना मेटिएको छैन । अब उनी देशमा चामल बेपार गर्ने सुरमा छन् । यसैले उनी बर्माबाट नेपाल चामल ल्याउन सकिन्छ कि भनेर सोचिरहेका छन् । यसैले उनले मलाई बोलाएका रहेछन् । यो आयात निर्यातको मेलोबारे मलाई थाहा नभएको बालाई कही सल्लाह दिन सकिन । अलिक पछुतो पनि लाग्यो । बाको यो अदम्य साहस देखेर मलाई आफू केही न कामको ठान्दै घरतिर फर्किएँ ।

तर बा भने यो सत्तरी वर्षको उमेरमा पनि कृषिप्रधान देश नेपालमा बर्माबाट अन्न ल्याएर बेपार गर्न सकिन्छ कि भन्ने ध्यानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *