Skip to content

प्रक्षेपण नियाल्दा


परिचय
२०२४ साल वैशाख १६ गते हालको वेनी नगरपालिका –११, म्याग्दिमा जन्मनु भएका भक्तकार्की नेपाली साहित्यको फाँटमा कविता, बालगीत, हाइकु, ताङ्का, सङ्गित र मुक्तक क्षेत्रमा सशक्तरूपमा कलम चलाउने परिचित स्रष्टा हुन् । एउटै अञ्चलमा जन्म भएर हुर्के बढे पनि उहाँसँग साक्षत्कार भने, पर्वत साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रम २०७३ साल पुस ९गतेको भयो । प्रथम प्रकाशित कृति मनका कोसेलीहरू (कवितासङ्ग्रह, २०५७) लिएर कृतिकारको रूपमा उदाएका भक्त कार्कीका खोइ मेरा खेलाउनाहरू (बालगीतसङ्ग्रह, २०६१), चडकन हाइकुसङ्ग्रह, २०६४), चञ्चल (बालहाइकुसङ्ग्रह, २०६४), प्रतिविम्ब (ताङ्कासङ्ग्रह, २०६४), विचरी चरी (बालगीतसङ्ग्रह, २०७०) वीर नेपाली (शब्दरचना) सङ्गित –स्लोमन( २०७१) र प्रक्षेपण ( मुक्तकसङ्ग्रह (२०७२) गरी आठ ओटा कृतिले नेपाली साहित्यलाई सम्वर्धन गर्न सफल भएका छन् । एक दर्जन साहित्यिक, शैक्षिक, सामाजिक संघसंस्थामा आवद्ध रहेका कार्की करिव एक दर्जन जति पुरस्कार तथा सम्मान नेपाल सरकार तथा विभिन्न संघ संस्थाबाट प्राप्त गरिसकेका छन् । बहुआयमिक प्रतिभाका धनी कार्कीको सरल जीवन र उच्च विचारनै उहाँको परिचय हो ।

कृतिको संरचना – आवरण सहित २३८ पृष्ठमा संरचित यस कृतिको प्रकाशन प्रगतिशील लेखक संघ नेपाल म्याग्दी शाखाले गरेको छ । मूल्य २५० रु. राखिएको छ । सम्पूर्ण अपाङ्गता भएका बालबालिकाहरू प्रति समर्पण गरिएको यस कृतिमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंका सदस्य सचिव प्रा. डा. जीवेन्द्र देव गिरीको भूमिका, प्रगतिशील लेखकसंघ, नेपाल जिल्ला शाखा म्याग्दिको प्रकाशकीय र स्वय म भक्त कार्कीको लेखकीय मन्तव्यको साथै आवरणको पछिल्लो पन्नामा नवराज रिजाल, गोर्खे साइलो, र डा. घनश्याम न्यौपानेको शुभकामना मन्तव्यले सजिएको छ ।

कृतिप्रति साहित्यकारको धारणा–माथि उल्लेख गरिएका साहित्यकारले यसकृतिप्रति राखिएका धारणाहरूले यस कृतिको मर्मलाई समाउने काम गरेका छन् । प्रकाशकीयमा ‘मुक्तकहरू अत्यान्तै ओज पूर्ण छन् ’भनिएको छ । लेखक स्वयम्को मुक्त लेख्न थाल्नुको धारणा यस्तो छ – ‘मुक्तकहरू विभिन्न कालखण्ड, देश परिवेश, अवस्थामा घटेका र मनमा चस्स विझेका कुराहरूलाई मुक्तकमा अभिव्यक्त गर्न थालें ’। प्रा.डा. जीवेन्द्र देव गिरीले ३ पृष्ठको भूमिकामा लेख्नुहुन्छ –‘समग्रमा मुक्तककार भक्त कार्कीले प्रक्षेपणमा आफ्ना सुन्दर विचारहरूका अनेक पक्षलाई एकत्रित तुल्याई कलात्मक रूपमा प्रस्तुत गर्न विशेष प्रयत्न गर्नुभएको छ ’ । नवराज रिजालले कार्कीका मुक्तकको आधारलाई यसरी प्रष्ट्याउनु भएको छ – ‘…. समाज सुधार विकृतिप्रति प्रहार सकरात्मक सोचले समस्या समाधानमा भूमिका खेल्छ भन्ने चेत र माटोप्रतिको वर्तमान बोध उनका रचनाका आधार हुन् । प्रगतिवादी सोचका कार्कीका रचनात्मक जीवनका विभिन्न पाटा र परिधिहरू भेट्न सकिन्छ ं। गोर्खे साइलो भन्छन् –‘… समग्रमा भन्नुपर्दा मुक्तकहरू दमदार छन् उर्जावान शक्ति लिएर उभिएका छन् ’। डा. घनश्याम न्यौपाने लेख्नुहुन्छ– ‘….. पछिल्लो मुक्तक संरचनाको मान्यता अनुसार लेखिएका यी मुक्तकहरूमा सामाजिक विकृति विसङ्गतिको चित्रण छ ’ ।

प्रक्षेपण भित्र प्रवेश गर्दा – माथि उल्लेखित विभिन्न साहित्यकारका धारणालाई केलाउँदा भक्त कार्कीका मुक्तकहरूले पस्कन खाजेका धारणा र भावनालाई समग्रमा प्रष्ट्याएका छन् भन्न सकिन्छ । भक्तले प्रक्षेपण गरेका मुक्तकले विविधपक्षलाई समाएका, सजाएका, समाजमा देखिएका विकृति र विसङ्गपितलाई पछ्याउँदै व्यङ्ग कसेका, राजनीति भ्रष्टतालाई केलाएउँदै समान न्यायको खोजीमा दौडेका छन् भन्ने यथार्थता यस भित्रका मुक्तकहरूले प्रमाणित गरेका छन् । हेरौं उहाँले पस्केका विविध पक्षलाई ।

न्यायमा समनाको खोजी –न्याय सबैको लागि लागु हुनु पर्ने हो तर त्यो भने निमुखामा लादिएको छ र सामन्तिमा चैन प्रदान गरेको छ ।यस विषयमा भक्त कार्कीले समाजमा देखिने न्यायको विभेदलाई यसरी प्रस्तुत गरेका छन् –

निमुखालाई ऐन सधैं
सामन्तलाई चैन सधैं
मरिमरि पसिना बगायो
उनीहरूकै वैन सधैं
प्रक्षेपण –१३

हरिया सर्पले घाम देख्न, न्यायको गाम देख्न उज्यालेको नाम लेख्न चाहाँदै नन् अँध्यारोमै साम्राज्य चलाउन चाहने, जाली फटाहाहरूको जाल, खाल र ताल उस्तै उस्तै हुने, होचा अर्घेला हेपिनु, विना पहुँचका चेपिनु, फोहोरी रंगले छेपिनु, बल्ने आगो ताप्नु, चल्नेवाला हर्ताकर्ता हुनु, सधैं फूर्तिफार्ती उनैको हुनु, आदि थुप्रै धारणाहरू कार्कीले समाजमा देखिएका धनी गरिब, सक्षम र दुर्वल बीचका विभेदलाई आफ्ना मुक्तकमा दर्शाएका छन् –

सर्पहरू अँध्यारोमा सल्बलाउँछन्
रातको साम्रज्यमा खल्बलाउँछन्
ठाउँ अवस्था निम्छरिलो हेरी
फणा फिजाई डस्न चल्मलाउँछन्

जीवन दर्शन मुक्तक कृति –मुक्तककार जीवन दर्शनसँग निकै परिचित छन् यस मुक्तक कृतिभित्र जीवन भोगाइका थुप्रै उदाहरण पाइन्छन् –

जीवन भित्र जीवन लेख्नुपर्छ
युगभित्र युग लेख्नु पर्छ
जीवनको सार्थक यात्रामा सधैं
चुनौतीलाई पहाडमै छेक्नु पर्छ
प्रक्षेपण –५७

कार्कीले भन्छन् –जान्नेलाई जीवन खेल नजानेलाई जीवन नेल, जीवन जीवन्त बन्नु पर्छ किनकि जीवन सृजनाको रेल हो, जीवनलाई जीवन्त पार्न, सपनाहरू देख्नु पर्ने यदि जीवन सार्थक पार्नु छ भने सृजना लेख्नु पर्ने, सुकर्मका गोरेटा कोरेर अवरोधका आँधीवेहरी रोक्नु सके मात्र जीवन सार्थ बन्छ भन्ने धारणको साथै जिन्दगी जङ्घार भएकाले तर्न सिक्नु पर्ने, सगर भएकोले सर्न सिक्नु पर्ने जिन्दगीको साँचो अर्थ खोज्दै जिन्दगी टर्न नभै दर्न सिक्नु पर्छ भन्ने धारणा छ ।

त्यागको महानता – त्यागीप्रति मुक्तककारले सलाम चढाउँछन् –

आफू जलेर प्रकाश छर्नेलाई सलाम
आफू ढलेर प्रकाश छर्नेलाई सलाम
कालजयी बनेर बाँचिरहन्छ धरती जो
आफू गलेर प्रकाश छर्नेलाई सलाम
प्रक्षेपण –९४

राजनीति र समयप्रतिको धारणा – कार्कीको धारणामा समय बलवान भएकोले कहिले जुटाउने, कहिले फुटाउने, कहिले लुटाउने र जता हावा चल्यो उतै पात हल्लिन्छ । वास्तवमा यो यथार्थता हो । यो समयको चाला राजनीतिमा सम्लग्न राज नेताहरूमा धेरै लागु हुन्छ । यहाँ छद्म भेषीको राज छ, । यिनैले ताज पहिरन्छन् र केटाएर फुटाएर राज गर्ने र परेवा खाने(शान्तिलाई खाने) बाजको रूपमा देख्दा मुक्तककार चिन्तित छन् । शहीदको त्याग र बलिदानको उपहास भएको छ । शहीदको रगतले आज कुर्ची साट्ने काम भएको धारणा मुक्तककारले यसरी राखेका छन् –

तामधामसहित नयाँ खास्टो ओढेर नआऊ भो जङ्गे
फेरि सपनाको पर्चा बोकेर गाउँ नधाऊ भो जङ्गे
शहीदको रगतमा कुसी साट्यौ महाराजको
रगत पिउने अभिलाषा राख्दै दरबार नछाऊ भो जङ्गे

आजको राजनीतिक भाग बण्डामा कविको आक्रोस–

भागबन्डा लगाई बाँड्ने सपना दियौ
उसैका लागि रातदिन जपना दियौ
जिउ ज्यान रगत पसिना सर्वस्व सबै
साटो हालेर सत्ता हात लियौ
प्रक्षेपण–११३

लोकतन्त्रप्रतिको धारणा– देशमा लोक तन्त्रमात्र नभै गणतन्त्र समेत आयो तर जनताले राहत पाउनन्भन्दा उनका पसिना खेर गएको धारणा मुक्तककारले यसरी पस्केका छन् –

लोकतनत्र बलिया बाङ्गाको पेवा भयो
जसको सत्ता उसैको मेवा भयो
जनताका पसिनाहरू खेर गए
तीन पुस्तेलाई ढेवा भयो
प्रक्षेपण–१८१

नैतिकता र स्वाभीमानको उच्चाइको खोजीमा छन् मुक्तककार–

नैतिकता धितो राखी चुक्न नपरोस्
स्वाभिमान थाती राखी झुक्न नपरोस्
एक थोपा रगत एकमुठी प्राण भइन्जेल
स्वाभी मानको शिर झुकाई लुक्न नपरोस्
प्रक्षेपण–२०६

हाम्रो गौरव, पारैरख र सौरभप्रति मुक्तककारको उच्च धारणा–

सगरमाथाजस्तै अग्लो गौरव हाम्रो
मेची महाकालीजस्तै लामो पौरख हाम्रो
बहुभाषी, बहुजाति, बहुप्रकृतिको फूलबारी
विश्वमा सुन्दर सम्पदा सौरभ हाम्रो ।
प्रक्षेपण–२०८,

आजको बढ्दो कुसंस्कृति र प्रवृत्तिप्रति चिन्तित छन् मुक्तुककार–

क्यान्सरझैं सल्कँदैछन् कुसंस्कृतिहरू
ब्वाँसाहरू पल्कदैछन् प्रवृत्तिहरू
रगत पसिना पिएर किर्नाहरू
हात्ती भई ढल्कँदै छन् प्रवृत्तिहरू
प्रक्षेपण– २१३

मुक्तकमा विविधता– मुक्तककारका मुक्तकहरूले हरेक क्षेत्रलाई छोएका छन् । महगाइले आकाश छुनु, शहीदको रगतको मूल्याङ्कन नहुनु, समाजमा दुःख पीडा, उत्पीडन, विभेद शोषण, दमन, थिचो मिचो, कुरीति, विकृतिले स्थानलिनु, सीमा अतिक्रमण हुनु, राजनेताले भागबण्डाको राजनीति गर्नु, समाज परिवर्तनको बाटोमा लाग्नुभन्दा आफ्नै लागि महल खडा गर्नमा अग्रसर हुनु, समनताको न्यायको खोजीको धारणा, छुवाछुतको अन्त्यको चाहना, राष्ट्रियताको प्रवल भावना आदि विविध धारणाले सजिएको छ मुक्तकसङ्ग्रह । मुक्तकसङ्ग्रह मार्फत कार्कीले चेतनाको दियो जलाउन चाहन्छ्, विकृति र विसङ्गतिलाई हटाउन चहान्छन्, शान्तिको दीप प्रज्ज्वलन गर्दै देशलाई प्रकाशमय बनाउन चाहन्छन् ।

भाषशैली– मुक्तकमा प्रयोग गरिएको भाषा सरल छ । समाजमा प्रचलित उखानहरूले अग्रस्थान ओगटेका छन् । मुक्तकमा प्रयोग लयात्मकताका शब्द शब्दले मनमुटु छुन्छन् ।

शीर्षकीकरण –नेपाली वृहत् शब्दकोशमा प्रक्षेपणको अर्थ प्रक्षेप पनि भनिएको छ । प्रक्षेपको अर्थ ‘कुनै मूल रचनामा पछिबाट केही थप्ने, जोड्ने, घुसाउने क्रिया आदि लगाइएको छ । यस प्रक्षेपण मुक्तकसङ्ग्रहले पनि मुक्तक विधामा गहन कृति थपेको छ या प्रक्षेपण गरेको छ । विविध विचारलाई मुक्तक मार्फत समाजमा राखेको छ । मेरो विचारमा शीर्षक सार्थक छ ।

अन्त्यमा कार्कीले ओजपूर्ण मुक्तक लिएर हाम्रोसामु खडा हुनु भएको छ । पोखिएका धारणाले समाजमा ऊर्जा थप्छ । मुक्तक परम्परामा आफ्नो स्थानलाई सुदृढ बनाउन सफल हुनेछ भन्दै, उहाँको सिर्जना यात्रा गतिशील रहोस् भन्ने कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति –२०७३ माघ १३ गते,
शान्तिचोक कावासोती न.पा. वार्ड नं ७, नवलपरासी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *