Skip to content

अहँ! अब उनी बोल्दिनन् !


“ह्याप्पी बर्थ डे डियर!” … समय: विहान ३.४३ बजे।

“ह्याप्पी बर्थ डे!” … समय: विहान ३.५७ बजे ।

विहान-विहानै उनको जन्मदिनको शुभकामना आएको रहेछ इमो मा। बिहान उठ्न ढिला भएकोले हतार-हतारमा म्यासेज त पढें तर त्यसको रिप्लाई दिन सकिनँ। अफिस पुगेर रिप्लाई गरिहाल्छु भन्ने सोंचेर कोठाबाट निस्कें।

बाटोमा हुँदा नै कल आयो, पर्ल-कतारको एउटा अफिसमा नेटवर्कको समस्या भएर पुरै काम ठप्प छ। एक त ढिलो उठ्या, त्यही माथि कतारको ट्राफिक अनि अफिसको काम पुरै हल्ट भएको कन्डीशन! हतार-हतार अफिस पुगेर नेटवर्क ठिक गरें। तर, फेरि फेरी समस्या नआओस भनेर समस्याको अनुसन्धार र समाधान गर्दै झमक्कै रात पर्यो। न भोक न प्यास! त्यसका बाजे पाउरोटी र चियाको भरमा नै दिनभरि काम गरिएछ।

राती ९ बजेतिर लखतरान भएर कोठामा पुगें। खाना चिसो भैसकेको रहेछ। तताउन पनि जाँगर चलेन, चिसै खाना खाईयो अनि भुक्लुक्क सुतियो। रात त घ्वार-घ्वार गरेरै काटिएछ, भाइहरूले बिहान जिस्क्याउँदा पो थाहा पाएँ।

भोलिपल्ट बिहान उठेर सनैयाको अफिस गएँ। फेसबुक मेसेन्जरमा पनि आफन्त र मित्रहरूको जन्मदिनको शुभकामना आएको रहेछ। सबैलाई धन्यवाद दिएँ। फेरि पर्ल-कतारको अर्को अफिसमा समस्या भएर कल आएकोले उतै जानुपर्ने भयो। बाटोमा जाँदा-जाँदै इमोमा उनको ४-४ वटा “नमस्कार” को इमोजी आयो। ड्राईभिङ्ग गरिरहेको हुँदा तत्काल उनको म्यासेजको रिप्लाई दिन असमर्थ भएपनि केहीबेर पछि ट्राफिक सिग्नलमा रोकिएको बेला उनलाई रिप्लाई गरें, “तिम्रो आत्मीय तथा अद्भुत शुभकामना को लागि धेरै धेरै धन्यवाद!”

“ओके छ त। धेरै ठुलो मान्छे पो भएछौ! सधैं यस्तै हुनु!” उनको चित्त दुखाई सहितको रिप्लाई आयो।

“सरि!” गल्ती आफ्नै थियो, स्वीकार गरें।

“बाई! नबोल!!” उनको घुर्की आयो।

“ड्राईभिङ्ग!” उनको गलतफहमी हटाउन आवश्यक थियो तर ड्राईभ गरिरहेकोले म विवश थिएँ। थप कुरा गर्न असमर्थ जाहेर गरें।

“जाऊ! जे गरेपनि मलाई मतलब छैन!!” फेरि पनि उनको म्यासेज आएको रहेछ। अफिस पुगेर मोबाईल हेरेपछि थाहा भयो।

“आ’म सो सरी। हेर न, हिजो देखी नै अलिक सञ्चो पनि छैन। वर्क-प्रेसर बढेको त्यस्तै। हिजो बिहान कोठाबाट हिडेको राती अबेर पुगें। अहिले पनि भर्खर पर्ल-कतार आइपुगेको छु। सरी डियर, फेशबुकमा पनि तिमीलाई मेन्सन गर्न सकिनँ। तिमीलाई थाहा छ त!” मैले सक्दो प्रयास गरें उनलाई कन्भीन्स गराउन। त्यसपछि कुरा मोड्ने चेष्टा गरें “कस्तो छ त हजुरलाई?”

“किन भन्नु? जे भए’नी?” उनी अँझ कठोर भइन्।

“मैले तिम्रो मन दु:खाएको छु। मलाई माफ गर प्रिया!” उनलाई फकाउने मेरो प्रयास अँझै जारी थियो।

म उनलाई केटा-केटी देखी नै असाध्यै माया गर्छु। अरुको खटनमा हिड्नुपर्ने म जस्तो परदेशीको व्यथा यही त हो, आफ्नो र आफन्तको लागि चाहेर पनि समय दिन नसक्नु। अहिले सम्झन्छु, उनलाई मैले कसरी त्यति धेरै उपेक्षा गर्न सकेहुँला? तथापि मैले जानी जानी उपेक्षा गरेको होइन। मेरो जन्मदिनमा मसँग दुई-चार शब्द बोल्न उनलाई कति इच्छा थियो होला! म बोल्न त पर जाओस्, उनको शुभकामनाको रिप्लाई धरि दिन सकिनँ। फेसबुकमा धन्यवाद ज्ञापन टाईप गरुञ्जेल दुई शब्द पनि उनलाई लेख्न सकिनँ। मैले उपेक्षा गरेको सम्झेर बीचरी मेरो यादमा कति रोइनहोली?

“बाई! नबोल!! बोल्दीनँ!!!” यति भनेर कुरो को बिट मारेकी उनले, त्यसपछि मेरो कुनैपनि म्यासेजको रिप्लाई गर्न उचित सम्झिनन्। वास्तवमा म उनको लायक कहिल्यै पनि थिइनँ र पनि उनले मलाई स्पेश दिएकी थिइन् ताकी म कोशिस त गरुँ! तर अफसोस, म सफल हुन सकिनँ र हुन सक्दिनँ पनि किनकि “अहँ! अब उनी बोल्दिनन्!!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *