Skip to content

राजनीतिमा लगानी बालुवामा पानी


‘राजनीतिमा लगानी बालुवामा पानी’ शीर्षक लिएर कृष्ण नेपाल (उदास)ले हामीलाई ८६ कविताको सङ्गालो प्रदान गरेका छन् । २००१साल श्रावण २६ गते पिता स्व. चिरञ्जीवी नेपाल माता गंगादेवी नेपालका सुपुत्रका रूपमा स्याङ्जा पुतली बजार नगरपालिका वार्ड नं. ४ चन्द्रसेडाँडा वरसोरमा जन्मेका भए पनि हाल उहाँ नवलपरासीमा बस्दै आउनु भएको छ । शिक्षाको हिसावले नेपालले राजनीति शास्त्रमा वि.ए. पास गर्नुको साथै एम.ए.सम्मको अध्ययन गर्नुभएको छ ।

उहाँ समाजसेवी, साहित्यकार, नाटककार (लेखन तथा निर्देशन समेत गर्नेवाला), २०२६सालमा सार्क राष्ट्रको हामी सक्छौं कार्यक्रममा, ५०,०००/- नगद र प्रमाणपत्र समेत प्राप्त गर्न सफल, राजनीतिमा वडा सदस्यदेखि लिएर प्रधानपञ्चसम्म र पार्टी गत राज नीतिमा पनि जिल्ला सदस्य, सभापति, केन्द्रीय सदस्य र पश्चिमाञ्चलको संयोजन भएर समाज सेवामा समर्पित भएको विवरण उहाँको लेखक परिचयबाट जानकारी लिन सकिन्छ । जागिरको हकमा नेपालले सरकारी र गैरसरकारी क्षेत्रमा विभिन्न पदमा रहेर राष्ट्रको सेवा पुर्याउँनु भएको थियो । उहाँ सफल कलाकार पनि हो । उनको साहस नामक जीवनी कृति २०७० सालमा प्रकाशन भएको छ ।

‘आग्रह’ शीर्षकमा नेपालले आफ्नो जीवनको यथार्थता घटनाक्रमलाई प्रष्ट्याउने प्रयास गर्नुभएको छ । नेपालको जीवन संघर्षमय रह्यो । उहाँ लेख्नुहुन्छ–‘जागिर पनि खाएँ देशमा र विदेशमा म जहिले पनि आन्दोलित रहे । धेरै पटक जेलको यातना पनि भोगे प्रहरी हिरासतमा अनेकौं पटक कष्टकर दिन बिताएँ,राजनीतिमा पनि राम्रै धोका खाएँ ’ । आफ्नो धारणा राख्दै नेपालले आफ्नो कामको मूल्याङ्कन नभएको धेरै गुनासो पोख्नुभएको छ । यो सबैको जीवनको यथार्थता पनि हो । भन्न त गीतामा कृष्णले अर्जुनलाई ‘काम गर फलको आशा नगर’ भनेका छन् । यो केवल दर्शनमात्र हो । काम गरिन्छ भने त्यसको नतिजा खोज्ने मानव स्वभावलाई अमिल्दो भन्न सकिदैन । कृष्णजीका गुनासा निश्चय नै स्वभविक र यथार्थ परक छन् भन्न सकिन्छ ।

कृतिले समेटेका भावनाहरू– शारदाको बन्दनाबाट थालनी गरिएको यस कृतिमा साठी साललाई शुभकामना दिंदै कविले मार्मिक धारण पस्केका छन् । उन्ले पृथ्वी साझा हो यसमा सबैको हक हुन्छ । सारालाई मारेर एक्ले खाने जमाना छैन त्यसो हुँदा जनताले नयाँ नीतिको खोजी गरिरहेका छन् धाराणा राख्दै कविले मानव मन पत्थर जस्तो भएको पाउँछन् ।मानवमा आफ्ना भन्नेहरूप्रति पनि अपनत्व छैन, अफ्नैबाट मानिस शोषित भएका छन् । यस्ता कर्मलाई त्याग्दै होहल्लामा नलागि शान्ति नै पूर्ण जीवन हो ठान्नु पर्छ भन्ने कविको धारणा छ ।

कविको साथीप्रतिको धारणामा पनि गहनता छ । अर्थमा रमाउने र खान पाए मात्रै साथी हुने मानिसलाई साथीको रूपमा लिन नसकिने अर्थात साथी साथीको धनमा रम्ने नभएर साथीत्वको भूमिका निभाउने मात्रै साथी बन्न सक्छ भन्ने कविको प्रष्ट धारणा आएको छ ।

कविले युवाहरूलाई आमाको चाहना सबै सन्तति बराबर भएको देख्न चाहन्छिन् तर धनी र गरिब बीचका खाडलको गहिराई बढ्दै भएकोले पञ्चहरूको ढाडे प्रवृतिले गर्दा आमाका अनुहार रन्चे देखिएको छ यस्को लागि राष्ट्रलाई तन चढाउन झट्टै आउनको लागि आव्हान गरेका छन् ।

जन्मेपछि केही गर्नु पर्छ,मदमा रमेर, जुवाडी बनेर, रम्य संसारको सुयोग्य कर्मलाई भुल्न हुँदैन । सुकीर्तिमा लागेर सत्पुत्र बन्नु पर्छ । यदि सुकर्म गरिदैन भने ‘ज्यूँदै मर्नु र मर्नु सम हो बाँचेर बाँचिन्न है कतै । जसले भर्छ सुकीर्ति यो जगतमा सत्पुत्र हुन्छन् ती नै’ पृष्ठ ४)।।

कविले बन्धुबान्धु माता पिता, मित्र,समस्त प्राणीलाई खुसीले हाँसेर बाँच्न सकेको देख्न चाहन्छन्, मृत्युमा पनि सबैका नयन झुकुन् चिता वरिपरि मीठो गन्ध चलोस्,शिर कहिल्यै नझुकोस्, आदर्श र बैेभव उच्च बनोस्, ग्रीष्ममा समिर हरर बगोस्, ज्ञानी विज्ञहरूले स्वराष्ट्र निमार्ण र शृङ्गारमा लागुन्,कृषिमा सबैको ध्यान जावस र उत्पादन बढोस्, दक्ष शिक्षकबाट विद्यार्थीले पठन पाठन गर्न पाउन्, छोरीले छोरा समान अध्ययन गर्न पाउन्, विधुत, शुद्ध खाने पानी सबैले खान पाउन्, बाली पानीको अभावमा नसुकुन् आदि धारणाको साथै सर्वत्र शान्तिरहोस् भन्ने मनकामना राखेका छन् कविले ।

कविले कतै बिरहका गीत गाएका छन्, कतै विश्वासमा विश्वास घात पाएका छन्, कतै दीपावलीको रौनकतामा खुसीयाली / विक्षूब्धदियो जलाएका छन्, कतै श्रद्धाञ्जली चढाएका छन्, खर्चिलो दशैको खर्चिलो प्रथालाई तोड्दै भगवतीको आराधना गरौं भनेका छन्,कतै चञ्चलेश्वरीलाई एक क्षणको लागि भने पनि बोलाएका छन्, कतै आश्वासनले अघाएका छन्, तर आश्वासन दिने भने भोकै भएर खाएको खाएकै पाएका छन्, कतै आन्दोलनमा सुतेकालाई चुनावमा उठेको देखेका छन्, जीवन भिन्न त्यसमा पनि चरित्र र आदर्श झन भिन्न पाउँछन्, नेताको शिरमा पिनास चढेको, हिजो र आजमा कविले अत्याचार बढेको, शासनभार कर्मचारीमा सरेको, नैतिकता हराएको, स्वाभिमान बन्धकीमा भएको, लुटपाट मच्चिएको, निमुखा थिच्चिएको, नेपालका काला राहुको विश्वास गर्न नहुने जस्ता फरक हिजो र आजमा पाएका छन् ।

हरियो वन नेपालको धन आज उजाड भएको, बाचालाई र माटोलाई बिर्सिएको, पाखण्डता बढेको, अनमोल जीवन लावारिस भएको,कीर्तिको दीप बाल्न आव्हान गरिएको, जिन्दगी छोटो भए पनि यात्रा भने लामो अथाह र अनिश्चित भएको, कविता कोर्न सविता मुस्कुराउन पर्ने, शुभ मिलनमा छटपटी चल्न नहुने, असली बस्तुलाई नक्कली आवरणले ढाक्न नहुने, धारणा राख्छन् कवि ।

कविले मायाको अर्थ फरक मान्छन् बुझ्न गाह्रो भएको ठान्छन् गरेर नहुने खोजेर नपाइने बजारमा किन्न नसकिने जस्ता धारणा राख्दै कविले माया के हो त भन्दै लेख्छन् –‘प्रकृति माया हो, यो दिव्य संसार मायामै अडिएको छ, … ‘गूरुत्वाकर्षण नै माया हो, पृथ्वी आकाश जल वायु, माया हो, स्वत संचालित शक्ति नै माया हो माया विनाको संसार हुनै सक्तैन ’ (पृष्ठ १९) । कविले कतै पीडा सहन नसकी रोएका छन्, कतै राम्रो बाटो हिडे ठेस नलाग्ने सुझाव, दिन्छन् । कतै कोपिला फक्रेमा ओइलिन्छ भने बरु नपक्रनु राम्रो भन्छन्, कवि शान्तिको खोजीमा पनि सरिक देखिन्छन् । अतितको साना साना राज्यलाई एकीकृत गरेर एउटा राज्य बनेको कुनै विदेशीले नेपाल प्रति हेर्ने कु नै सहास थिएन भन्दै राजाले यसमा बुझ्नको लागि अनुरोध । आज वनमासिएको छ, प्रजातन्त्र अलमलिएको छ, क्रान्ति लज्जित छ, शान्ति खसेको छ, देशको माया गर्नु पर्ने खबरदारी, भन्न सजिलो गर्न गाह्रो, गरिब,ी, एकल हुनाको पीडा, कान्ता विरहको पीडा, अधिकारको खोजी, नूतन जनवाद ल्याउने धारणा, आतङ्कको त्याग र शान्तिको् स्थापना, भानुको स्मरण, राजनीति धोका हो, राजनीतिमा शंका हुन्छ, पैसा सबै चिज हैन, सबैसँग मन खोल्न हुँदैन, उपनिवेसका कुरा, ३६ सालका जनमतका कुरा, चीतामा पुर्याउने कुरा, साथी उठ्ने आग्रह, पञ्चायती शासन जनताले नमान्ने धारणा, हामी नफुटौं भन्दै एकताको सन्देश, नारीको महत्वको गहन धारणा आदि अभिव्यक्ति कृष्ण नेपालले आफ्नो कविता सङ्ग्रहमा पस्केका छन् । कविले यस कृतिमा जनताले भोगेका यथार्थवादी घटनाक्रमलाई खोतलेका छन् ।आफ्नो जीवनको भोगाईलाई, कान्ता वियोगको घटनाक्रम राष्ट्रियता, राजनिितक भ्रष्टता, धर्ममा अटलता, आर्थिक विपन्नताले निम्त्याउने विविध घटनाक्रम आदि लगायत धेरै कुराहरू उठाएका छन् र सुझाव पनि दिएका छन् ।

भाषाशैली –सरल भाषामा कविले आफ्नो भावनालाई सहजसँग पोखेको देखिन्छ । कतिपय कविता लयात्मक र गाउन सकिने खालका छन् । सरल भाषाको कारण साधारण पढेलेखेका व्यक्तिले समेत यी कविता सहजै बुझन सकिने खालका छन् ।

कवितामा विविधता –भावनाको बगाइलाई अध्ययन गर्दा नेपालका कविताहरूलाई सवलरूपमा लिन सकिन्छ । कविताको सरलता, स्वच्छन्द र संवेदनशीलताले कृष्ण नेपालको कवितासङ्ग्रह विविधताले सजिएको छ । यस अर्थमा कृष्णका कवितामा समाज चेतना, राष्ट्रचेतना, युगचेतना परिवर्तन चेतना को साथै कवितामा विद्रोही भावका दर्शनले स्थान लिएका छन् । ५८ पृष्ठको कृतिमा ८६वटा कवितालाई सङ्ग्रहित गरिएका छन् । आयतनको हिसावले कविताहरू निकै छोटा छन् ।

शीर्षकीकरण – राजनीतिमा लगानी बालुवामा पानी शीर्षकमा कुनै कविता देखिदैन । धेरै कविताहरू राजनीतिको विविधपक्षलाई लिएर जन्मिएका छन् । कविले आफ्नो राजनीतिमा गरेको लगानीलाई, त्यसबाट उपलब्धी हाँसिल नभएको र त्यसबाट मूल्याङ्कन हुन नसकेकोमा कवि आक्रोशित देखिन्छन् र भन्छन् –‘म जस्तो राष्ट्रवादीलाई वास्ता नगरेर फ्याकिनु पर्दा निश्चय नै मेरो ‘‘ राजनीतिको लगानी बालुवजामा पानी बराबर भयो’’ भन्ने मैले महसुस गरेको छु ’ (आग्रह)। कविको अन्तरआत्माबाट निस्केको भावलाई लिएर य स कृतिको नामकरण गरेका छन् कविले । त्यसोहुँदा शीर्षकलाई सार्थककै रूपमा लिन सकिन्छ । कविको राजनीतिप्रतिको धारणा पनि प्रष्ट छ – ‘…. तर कसैले पनि राजनीति जोगी बन्नका लागि गर्दैनन् ’(आग्रह) ।

अत : कविका धारणा स्वत स्फूर्तरूपमा बगेका छन् । देखेका कुरा कविले प्रष्टरूपमा लेखेका छन् । कवि लेखनमा स्वच्छन्द छन् । काम गरेपछि कामको मूल्याङ्कन हुनु पर्छ भन्ने कविको धारणा छ । राष्ट्र र प्रजातन्त्रप्रति समर्पित कविको भावनालाई उच्चकदर कर्दै सुस्वास्थ र दीर्घायुको कामना गर्दै बिदा चाहन्छु ।

धन्यवाद
सदानन्द अभागी
मिति २०७३ साल माध २४ गते,
कावासोती न.पा. वडानं ७ शान्तिचोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *