Skip to content


आज म चालीस वर्ष पुगेँ । आजबाट मेरो मान्छेको आयु सकियो । अब गोरु या गधाको आयुतिर लाग्दैछु । गोरुको आयु यसर्थ भनिरहेको छु, उहिल्यै पाँच छ कक्षातिर पढ्दा एउटा काल्पनिक कथा पढ्नुपर्थ्यो । जसअनुसार उहिल्यै व्रह्माजीले पृथ्वीको सृष्टि गरे । पृथ्वीलाई बस्न बाँच्न लायकको बनाउन जीवजन्तु चरा, चुरुङ्गी, किटपतङ्गदेखि मानवसम्मका प्राणीहरुको रचना गरे । सबै जीवहरुलाई एकएकओटा आयु दिए । आयु बाँड्ने क्रममा जीवजन्तुहरुलाई भेदभाव नगरीकन सबैलाई चालीस चालीस वर्षको उमेर व्यवस्था गरे । चालीस वर्षको आयुप्रति घोर आपत्ति जनाउँदै केही प्राणीहरुले सभा बोलाए ।

सभाका सभाध्यक्ष व्रह्माजी प्रति रोष प्रकट गर्दै गोरुले भन्यो, “हे सृष्टिनायक ! हामी गोरुमाथि अन्याय भयो । यो चालीस चालीस वर्षको लम्वेतान आयु हामी बाँच्न सक्तैनौँ । हाम्रो आयु वीसवर्षमात्र बनाइयोस् । वीसवर्ष आयु फिर्ता लिइदिनोस् ।” व्रह्माले गोरुले फिर्ता गरेको आयु कोही लिने छ ? सोधे ।

लोभी मान्छे हतारहतार उठेर करायो, प्रभु ! हामी मान्छेलाई अरुको दाँजोमा आयु कम भएको छ । म लिन तयार छु । अब गोरुबाट झिकिएको वीस वर्ष मानिसको आयुमा खप्टियो । फेरि गधाले आपत्ति जनाउँदै भन्यो, हामी गधामाथि पनि घोर अन्याय भयो, प्रभु ! हामीलाई पनि यो लम्वेतान आयु बाँच्ने रहर छैन । हाम्रो आयुवाट पनि बीस वर्ष झिकियोस् । पुनः व्रह्माजीले गधाबाट झिकिएको आयु लिन कोही तयार छौ ? भनेर सोद्धा मानिस नै उठेर त्यो आयुपनि आफूमा थप्यो । फेरि लाटोकोसेरो (उल्लू)ले उठेर आफूहरुलाई चालीस वर्षे आयू ज्यादै बोझपूर्ण भएको र त्यसबाट वीसवर्ष आयु कट्टी गरियोस् भनेर माग राख्यो ।

व्रह्माजीले फेरि सकल प्राणी जगत्लाई सोधनी गरे, लाटोकोसेराको आयु लिन को तयार छ ? फेरि उही मान्छे उभिएर आफूलाई थपिदिन भन्यो । यसरी मानिसले पाएको चालीसवर्षको आयु बाहेक गोरुको, गधाको, र लाटोकोसेराको वीसवीस वर्ष आफूमा खप्टिन्छ । त्यसैले त चालीस वर्षको आफ्नो आयु सकिएपछि साठीसम्म गोरुको आयु लिएर गोरुको नियतिमा जोतिएर मान्छे बाँच्छ, त्यसपछिको वीसवर्ष गदाको नियतिमा जीवन बाँच्छ र अन्तिम वीसवर्ष लाटोकोसेराको नियतिमा मानिस बाँच्छ भन्ने शिक्षा थियो । कथा काल्पनिक नै होस् तर यसबाट प्रवाहित शिक्षा अत्यन्त सांकेतिक छन् । अत्यन्त प्रतीकात्मक छन् । मानिसको लालची स्वभाव र अतृप्त कामनाको बारेमा कथाले राम्रो प्रकाश पारेको छ ।

चालीस पछिको आयु गोरु नियतितिर अभिमुख छ । जीवनका बोझहरू अरु गह्रुङ्गा बनेकाछन् । जिम्मेवारीका अनगिन्ती जुइनाले मेरो दिनचर्यालाई कस्तो छ । खालखालका जुवामुनि म दिनदिनै नारिँदो छु । अँझ एकाँधे लगाएर हलोको बोझ ममाथि परेको छ । मालिकाका सिर्कनाका डामहरू चाकमा, पिठ्यूँमा कोरिँदा छन् । नाकमा नाथेडोरीले मलाई बँधेरिएको छ । उमेरसितै समस्याका पहाडहरुले थिच्तै मिच्तै लगेको छ । कवि दिनेश अधिकारीको सानो छोरो पिठ्यूँमा चढेर हट् घोडा हट भनेपछि उनले आफू मान्छे कम घोडा बढी हुँदै गएको नियति पोखे जस्तैं म चालीस पुगेपछि आफू मान्छे कम गोरु बढी हुँदे गएको छु ।

चालीस पुग्दा समयले अलिकति कपालमा तुसारो खसाएको छ । शरीरका जोर्नीहरू कमजोर बनेका छन् । नसापासाका बन्धनहरू खुकुलिएका छन् । बिस्तारै बिस्तारै आँखाको ज्योति मधुरो बन्दै गएको अनुभूति भएको छ । आँखालाई चालीसा लाग्छ भन्थे । चालीस नपुगुन्जेल अरुका यी कुरा म मनमनै पत्याउदिनथेँ । तर चालीस पुगेपछि मेरा आँखाको अक्षर हेर्ने क्षमता एकैचोटि कमजोर भएको छ । आँखामात्र होइन स्मृति चेतनापनि न्यून बन्दो छ । दाँतले कडावस्तु चपाउन अस्वीकार गरुँला जस्तो गरेकाछन्, यसरी चालीस पुग्दा शारीरिक दुर्वलता र कमजोरीको नकार पाटोभाव मसित छैनन् अनुभूतिका अत्यन्त सशक्त भावहरुपनि टनाटन खाँदिएका छन् । यी सवलतम अनुभूतिलाई जीवनपथको सातुसामल ठानेको छु । यी विचार, चिन्तन र भावहरुलाई चालीस वर्षमा कमाएको अमूल्य नीधि सम्झेको छु । यी सम्पदाहरुलाई पनि तपाईंसामु फिँजाउन चाहन्छु । तपाईलाई छाती उधारेर ती भावना देखाउन चाहन्छु ।

चालीस पुगेपछि शरीर बूढ्यौलीको बाटोतिर ओरालो लागे पनि मन कलिलो र कोमल बन्दो छ । संवेदनाका भावासिक्त लहरहरुले अरु अभिभूत पार्दाछन् । कोमल नौनी जस्तो मनले कठोर विचारलाई हैन सुकोमल भावलाई आमन्त्रण गर्दो छ । सानो सानो कुरामा पनि पिल्ल रुने भएको छु म । आफ्नै स्वास्नी छोराछोरीले वचन लाउँदा कुना पसेर रोएको छु । तरल भावको दास हुँदे गएको छु ।

जीवनका रङ्गिन भूलभुलैयाहरुलाई स्पष्ट देख्ने भएको छु; कामनाका विषाद छाँयालाई मजासित पर्गेल्ने भएको छु । भ्रम विभ्रमका दोछायाँहरुलाई चस्मा नलगाई ठम्याउने भएको छु । जीवनका सच्चाइहरू अलिअलि थाहा पाउने भएको छु । छातीमा दिन प्रतिदिन सत्यको प्यास जाग्दो छ । अविदितको रमरम मिठासले लोभ्याउँदो छ । तर अन्तरआकाशको गहन अन्धकारले ठूलठूला गजबार ठोकेको पनि देखेको छु । छातीभित्रको शुष्क मरुभूमिमा पाइला गाडीएको पींडा पनि त्यत्तिकै जीवन्त रुपमा बोध गरिरहेको छु ।

जीवनको गहनता र महानताका लम्वाइहरू कति लामा छन,् थोरै अनुमान लाउन सक्ने भएको छु । अनुभवको थुप्रो निकै अग्लो छ । अनि अनुभूतिको गहिराइ तलसम्म झरेको छ । जीवनजगत्को हेराइमा सूक्ष्मता छ । जीवनका स्वादहरुमा तीक्ष्णता छ । फोस्रा अहम्हरू धुलिसात बन्दै गएका छन् । आकाँक्षाका अलंघ्य पर्खाल कति सारहीन, कति भारहीन रहेछन् । त्यसको रानारुनी झलक थाहा पाएको छु । चालीस पुग्दा सारहीन रमझम रङरमिता देख्ने वित्तिकै हाँसो पैदा हुने भएको छ । सस्तो मनोरञ्जनको पग्लिने ललिपप निस्सार लाग्न थालेको छ । अब त बोक्रोको टलकभन्दा गुदीको झलकतिर मन आकर्षित बन्दो छ । विगतका यात्राका त्रुटिपूर्ण डोबहरू स्पष्ट केलाउने भएको छु ।

हिन्दू वर्णाश्रम व्यवस्थाको उमेर विभाजन अनुसार व्रह्माचर्याश्रम पछिको गृहस्थाश्रमको अन्तिम दिनतिर मेरा आयुरेखाहरू अभिमुख हुँदाछन् । अब सन्यासाश्रमतिर लाग्दो छु । दुईओटा जीवनव्यवस्थाको सन्धिस्थलमा भएकोले मेरो मनोभावमा एउटा स्पष्ट द्वन्द्व छ । कामी बनूँ कि निष्कामी बनूँ; लोभी बनूँ कि निर्लोभी बनूँ, रागी बनुँ कि विरागी बनूँ, मोहीबनूँ कि निर्मोही बनूँ, संसारमा रहूँकी सन्यासमा पौडूँ, स्वार्थी बनूँ कि निस्वार्थी बनूँ; विराधाभास बल्किरहेछ छातीमा । चालीस पुग्दाको यो विरोधाभास मेरो मात्र हो कि अरुको पनि हो, जान्न चाहन्छु । जीवनको सच्चा बाटो छान्न चाहन्छु ।

चालीस टेक्ता जवानीको क्षणभङगुरतालाई हेरिसकें । किशोरवयको उत्ताउलो उमेरलाई पनि भोगिसकें । मस्तिष्क र हृदयमा शैशवका सूक्ष्म झलकहरू नभएपनि बालवय पछिका अनगिन्ती झलकहरू गिदीमा संचिति छन् । सानोमा डोरी बाट्ता, हतेउरी बाट्ता डोरी राम्रो बनेन घोर्यहा भयो भने त्यसलाई फुकाएर फेरि दोहोर्याई दोहोर्याई राम्रो पारेर बाटिन्थ्यो । मेरी दिदीले सुइटर बुन्दा राम्रो भएन भने फेरि ऊन फुकाएर दोहोर्याएर बुन्थिन् । कठै ! डोरी र सुईटर बुनेजस्तो होइन रहेछ जीवन, जसलाई फुकाएर फेरि दोहोर्याएर बाँच्न सकियोस् । यदि बितेको आयु र जीवनलाई दोहोर्याएर बाँच्न मिल्थ्यो भने यो जीवन कति लयवद्ध, कति संगतिपूर्ण र सारपूर्ण पारेर मिलाई मिलाई बाँच्थेँ होला, भोग्थेँ होला । यसरी ख्यालख्यालमै थाहै नपाई बेहोशीमा चिप्लिँदो रहेछ मानिसको छोटो आयुरेखा । राजा ययातिलाई मिलेको हजार वर्षको आयु त्यो पनि छोराको आयु खप्टेर बाँच्तापनि अनन्तपश्चात्तापको भाव उठेजस्तो मभित्रभित्रपश्चात्तापका ज्वाला दन्किरहेछन् । चालीसको वीचमा जीवनका नानाविधि उफानहरू हेरेँ । तुफानहरू झेलेँ । जीवनका रङहरू हेरेँ । स्वादहरू चाखेँ । गन्धहरू सुघेँ । तिनै गन्धमा थाहा नपाइ उघेँ । र काटेँ चालीस वर्ष ।

२०६७/०५/३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *