Skip to content

नारीसम्बन्धी मेरो पुरानाे काव्यबाट धारणा


सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
नखाई अरुकै लागि कनिकै पनि साँच्तछ्यौ ।।

हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।

खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।

सिन्कैको भरमा तिम्रो कलाकारी उदाउँछ
चौकोमा होस् चुलैमा होस् त्यो कला मुस्कुराउँछ ।।

यो त झन् भन्न चाहन्छु को छ तिम्रो बरोबर ?
मायामा स्नेहमा लाग्छ्यौ प्रेमामृत सरोबर ।।

पुत्रीका रुपमा त्यस्तै आमाको रुपमा कतै
भार्या पत्नी र ओजश्वी नारीको रुपमा कतै ।।

शुष्क छाती यहाँ तिम्रो माया पाई सुसाउँछ
तिम्रो स्नेह सधैं पाए ढुङ्गैसम्म टुसाउँछ ।।

पुराना नारीको गाथा कहाँ गाउन सक्तछौं
मानौं हामी सबै आज नारीकै मात्र भक्त छौं ।।

(२०३८मा रचेको मेरा पुरानो ‘झुमा’ काव्यमा नारी सम्बन्धी मेरो धारणा यस्तो रहेछ । यसो हेर्नसम्म हुने लेख्तो रहेछु ऊ बेला पनि । किन हो किन अहिले मलाई यसमा चित्त बुझ्दैन । सायद पर्याप्त परिष्कार नभएको देखेर होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *