Skip to content


बाआमाको एक्लो छोरा अमित निकै खाइलाग्दो थियो पढाइमा अब्बल अमितले आई कम पास गर्नासाथ लोकसेवा पास गरी नायव सुब्बाको नोकरी हात पारेको थियो । उसले नोकरी सुरू गरेपछि बिहे गर्ने सोंच बनायो ।

त्यो दिन अमितको बिहे पन्चेबाजा घन्काएर गर्दा उसका बाआमाहरू कम्ता खुशी थिएनन् । बिहेपछि घरजम गरेर खान सक्ने खालको क्या गजबकी श्रीमती भेट्याएछ खाइलाग्दो सुन्दर अनि मिहेनेती केटी भनी गाउँको पधेरा, मेलापात गाउँकी नयाँ बेहुलीको चर्चै चर्चा हुन्थ्यो गाउँमा ।

सरकारी नोकरी । त्यो पनि घर पायक मिलेको, घरमा कलीलो भर्खर फक्रिएको गुलाबको फूल जस्तो रमिला, मख्ख थियो अमित ।

निरन्तर चल्ने समयसँगै अमित र रमिलालाई छोरा जन्मियो । पहिलो छोरा जन्मिएको उपलक्ष्यमा घरको आँगनमा पन्चे बाजा नै बजाए, अमित र उसको सबै परिवारका सदस्यहरूलाई पैसाको माला र अविर लगाएर उत्सव नै मनाए गाउँमा ।

गाउँघरमा खेतीवाली गर्नको लागि आपसमा छिमेकीहरू अर्म-पर्म गरेर खेती किसानी गर्ने चलन थियो । त्यस्तै बेशीबाट धान पराल घाँस दाउरा गर्दा गाउँलेहरू प्राय सँगै हुनेथ्यौ । चौतारीमा भारी बिसाएर गरिने गफ गाफमा पनि रमिलाको कामको मिहेनत, लगनशिलता र सुन्दरता नै आकर्षण हुने गर्थ्यो ।

रमिला साँच्चै मिहिनेती लगनशील र मर्यादित छन् भन्ने सुनिन्थ्यो समाजमा । बुहारी होस त रमिला जस्ती भन्ने गर्दथे गाउँका बुज्रूकहरू ।

बिहे गरेको करिव आठ वर्षपछि पुन दोश्रो छोरा जन्मियो । पहिलो छोराको पाली जस्तै पंचेबाजा नबजे पनि छैटीमा पैसाको माला र अविरजात्राले हर्षोल्लास थियो अमितको घर ।

दुई छोराहरू मुनाजस्तै हुर्किदै थिए । समयको गतिसँगै जीवन राम्रै चलिरहेको देखिदै थियो अमितको ।

एक दिन अमितले एकाविहानै गाउँका भद्र भलाद्मी, समाजसेवीहरूलाई आफ्नोमा डाकेको रहेछ। गाउँबाट अमितले आमन्त्रण गरेकाहरू एकाएक अमितको घरको आँगनमा जम्मा भैसकेका थिए । तर त्यहाँ उपस्थित कोही कसैलाई पनि जानकारी थिएन कि किन यसरी आमन्त्रण गरिएको छ ? सबैलाई कौतुहल थियो ।

घरको पेटीमा रहेको खाटमा अमितका बा र एकदुई गाउँका भद्र पेटी र आँगनमा सबै आगन्तुकहरू मुखामुख गरेर बसिरहेका थिए । यत्तिकैमा अमितले भन्यो, “माफ गर्नुहोला तपाईहरूलाई दुख दिन बाध्य भए ।”

एक बुज्रूकले सोधे, “भन्न त ए अमित किन बोला’को ? के हो कुरो ?”

अमितले आफ्नो फेहरीस्त यसरी खोल्यो, “मेरो श्रीमती रमिता अरू कसैसँगको प्रेममा छन् मलाई न्याय दिनु पर्यो !”

अमितको घरमा जम्मा भएका कसैले पनि सायद अनुमान गरेकै थिएनन् कि अमितले यस्तो कारण आमन्त्रित गरेको होला भनेर । किनकि रमिला समाजमा उदाहरण बनेकी थिइन । समाजमा उनको लगनशिलता, इमान्दारीता र मिहेनतको उनीलाई चिन्ने कसैले पनि खुलेर प्रशंसा गर्न पछि पर्दैनथे ।

एका एक सन्नाटा छायो, सबै सशंकित भए अमितले यो के भन्दैछ ? एकछिनपछि एक जनाले भने, “होइन के भन्दै छस् ए लक्ष्मी जस्ती बुहारीलाई ? तेरो कतै अन्त कसैसँग प्रेम भएर तँ बाहाना बनाएको होस कि ?”

हेर समाजमा कत्ति विश्वास कमाएर बसेकी रमिला ? उसकै लोग्नेले आफ्नै स्वास्नी माथि लगाएको नैतिकता माथिको प्रश्न माथि विश्वास नगरेर समाजले अमितलाई उल्टै प्रश्न गर्यो ! शंका गर्यो ! आपसमा कानेखुसी, पीडा बोध र कोही त रमाएर बसेको पनि आभास हुन्थ्यो ।

अमितले जवाफमा भन्यो मेरो विश्वास नलागे उही “विश्वासघाती” आइमाईलाई बोलाएर सोध्न सक्नुहुन्छ ।

रमिला आफ्नै कोठामा बसेकी रहिछन् । उनलाई तल आँगनमा बोलाईयो । साना अन्जान छोराहरू आँगनमा खेल्दै थिए । घरमा मान्छेको जमघटमा ती अबोधहरू झन् फुरूड्ग थिए । उता भने उनीहरूको भविष्यको लागि निकै ठूलो संकटको बाटो हिड्नु पर्ने अवस्था उनै जन्म दिनेहरूबाट खन्दै थिए ।

रमिला पेटीको एक छेँउमा आएर मलीन हुँदै निकै शालीन भएर बसिन् ।

उपस्थित एक जनाले प्रश्न गरे, “रमिला बुहारी यो अमितले त तिमी माथि चरित्र हत्याको आरोप लगायो नि के तिमी अरू कोहीसँग प्रेम गर्दछ्यौ ? वास्तविकता केहो ? तिम्रो नयाँ प्रेमी छ भने को हो त्यो ?”

रमिलाको आवाज फुटिरहेको थिएन, उपस्थित मानिसहरू ट्वाल्ल परेर रमिलाको मुहारमा हेरिरहेका थिए जवाफको प्रतिक्षामा ।

यत्तिकैमा रमिलाले मुख खोलिन्, “हो म अरू कसैसँग प्रेम गर्छु ”

रमिलाले समाजमा कमाएको विश्वास एकाएक गुमाइन् । सुन्नेहरू पात्र स्वयंले भनेको कुरामा पनि विश्वास गर्न नसकेर एक महिलाले प्रतिप्रश्न गरिन्, “रमिला तिमी के भन्दै छौ ? कतै तिमीले कोही कसैको दवावमा स्वीकार गरेको त होइन ?”

कसैको दवावमा होइन दिदी “हो म अरू कसैलाई प्रेम गर्छु ।”

रमिलाले पटकपटक हो भन्ने जवाफ दिएपछि उपस्थितहरू विचमा छिछि र दुरदुरका शब्दहरू गुन्जिन थाले रमिलाको विरूद्धमा !

फेरि एकजनाले प्रश्न गरे, “रमिला, त्यसो भए तिमी दुई विच प्रेम चलेको कति भयो अनि को हो तिम्रो नयाँ प्रेमी ?”

रमिलाले लाजै नमानी भनिन्, “म पारी गाउँको ललीतलाई प्रेम गर्छु र हाम्रो प्रेम करीव छ सात वर्ष देखी यता चलिरहेको छ ।”

रमिलाले अमितलाई गरेको विश्वासघातले समाजलाई चकित पारिन्, उपस्थित सबै अवाक् भए,चकित भए ।

रमिलाले बताएको ललित नामसँग त्यहाँ उपस्थित मध्ये धेरै जना परिचित थिए किनकि ललित एउटा मजदुरी गरेर छाक टार्नेु पर्ने एक श्रीमती र एक छोरीको बाउ थियो । वारि-पारिका गाउँहरूमा अली गाह्रो काम पर्दा प्राय ललीतलाई नै बोलाउने गर्थे गाउँलेहरू ।

त्यसपछि ललीतलाई बोलाई सोध्ने काम भयो । दुवै तर्फबाट प्रेम स्वीकार भए पछि रमिला आफ्ना ती दुई अबोध बच्चालाई छाडेर ललीतको साथ लागिन् ।

हिजोसम्म समाजमा सबैले सुखी देख्ने परिवार एकाएक तहस नहस भयो ।

(सूचना: प्रस्तुत कथाका सबै पात्रहरू काल्पनिक हुन् कोही कसैसँग मेल खान गएमा संयोग मात्र हुनेछ ।)

बाबुराम पन्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *