Skip to content

सप्तरीबाट मुखाले रेग्मीको राजनैतिक चड्कन


चुनाव जिताउँदा नि भएन
हराउँदा नि भएन
कस्तो ज्याद्रो जात होला यो
बन्द, हडताल रूचाउने
धर्ना, अनसन पचाउने
चड्कनलाई चिउरा मान्ने
चाप्लुसीलाई दही ठान्ने ।
(मुखाले रेग्मी : ‘चित्त दुखेको ओखती’)

माथिका कवितात्मक हरफका स्रष्टा यसो पनि भन्छन्– ‘जब विश्वविद्यालयमा ‘विद्या’ बौलाउँछ र बबाल मच्चाउँछ, जब अस्पताल आफैँ अस्वस्थ भएर बिरामीसँगै बसेर रूवाबासी गर्छ, जब चितुवा र ब्बाँसाहरू मिडियामा ‘कण्ठी’ बाँध्छन् र भित्रभित्रै सिकार खेल्छन्, जब नेताहरू अभिनय र अभिनेताहरू राजनीति गर्न थाल्छन्, जब वायुमण्डलमा अक्सिजनभन्दा बढी खुरापाती चल्छ, जब राजनीति कुहेर डुङ्डुङ्ती गन्हाउँछ, जब संसद्मा सनक र स्वाङहरू सुसेला पार्छन्, जब धर्म, कानून र प्रेममा हरिया झिँगा भन्किएर औँसा पार्छ, जब कर्तव्य र दायित्व ‘देखाउने दाँत’ हु्न्छ, जब कुनै परदेशी जादुगरले गोडामा ढोग्न लगाएर गालामा चाटीचाटी नाकमा ‘कालो’ र निधारमा ‘चुना’ लगाइदिएर जान्छ, जब सिंहदरबार बजेटको हुक्का तान्दै म्यारिज खेलेर समय बिताउँछ, जब सडकमा स्वार्थहरूको सलह कुद्छ, जब पुख्यौली संस्कृति सतीदेवीको अङ्गझैँ पतन हुँदै जान्छ, जब ‘दल’ बहादुरहरू दलाली गरेर सधैँ ‘दर’ खान्छन्, जब नागरिक समाज आँखा चिम्लिएर सुकेलुतो कन्याउँदै बस्छ, जब भगवान्हरू फूलपाती र भेटी ओडेर वर्षौं वर्षसम्म निदाउँछन्, जब जब खपिनसक्नु भएर चित्त दुख्छ र ओखती खोज्दै मेरा कविताको ज्वालामुखी निस्कन्छ ।’

उपर्युक्त हरफका सर्जक भोजराज रेग्मी अर्थात् मुखाले रेग्मी हुन् । उनले २०२२ असोज १७ गते खोटाङमा आँखा खोले । जीविकोपार्जनका क्रममा पिता केवलनाथ रेग्मी र माता टेककुमारी रेग्मी रूपनगर–७, सप्तरीमा बसाइँ सरेर आएपछि उनले पनि जन्मथलो छाड्नु पर्यो । जीवनका उकाली चढ्दै र ओराली झर्दै निजामती सेवामा प्रवेश गरे । जनसेवामा देशका कुनाकन्दरासम्म पुगे । अनुभवले खारिएको व्यक्तित्व विकास गर्दै गए । एक पटक राजधानीमा समेत छिरे । केही वर्षकै दौडानमा राजधानीभित्रका सूक्ष्म कुराहरूको जानिफकार बने । राजनीतिका नाममा देश र जनतालाई चपाएको देखे । समाजसेवाको नाममा समाजलाई नै ठगेर वैयक्तिक महल ठड्याएको भेटे । जनसेवकको नाममा कर्मचारीतन्त्रले नै देश बन्धकमा राखेको अनुभूत गरे । महङ्गीले उठिबास लगाएको दुर्दशा नजिकैबाट भोगे । रहँदाबस्दा अनेक थरी विकृत पाटाहरूको साक्षी भए । भित्री दिलैदेखि विकृति पाटाका विरुद्ध विषवमन गर्ने चाह पलाएर आयो । उनी अरू त के गर्न सक्थे, खुरुखुरु डायरीका पाना भरेर चित्त बुझाउन थाले ।

उनी भोरारे ‘मार्सेली’ नामले २०४५ सालमा ‘भूकम्प–२०४५’ शीर्षकको कविता लेखेर साहित्य संसार उक्लिन हिँडे । कहिले ‘म हराएको छु’ भनेर लेखे । कहिले ‘दलबहादुरको राशिफल’ लेख्तै हिँडे । एक पटक लेखेकै आधारमा उनले शासकीय पारितोषिकस्वरूप दुर्गम क्षेत्रतिर लखेटिनु पर्यो । यद्यपि उनी हच्किएनन् । काँधमा थोपरेको जिम्मेवारी पूरा गर्दै गए । अँझ नौला ठाउँका नौला अनुभूतिलाई साहित्यको रङ दिँदै गए । सुगममाभन्दा दुर्गममा साहित्यको खानी भेटे । अनगिन्ती नलेखिएका साहित्यिक कच्चा पदार्थ बटुलबाटुल पार्दा भए । प्रकाशनको वातावरण नपाउँदा भने कृष्णगर्तको एक्लो यात्री बनी एक्लैएक्लै भुत्भुताउँदा भए ।

उनी देखेका, भोगेका, चित्तमा छाप राखेका र अनुभूतिले भिजाएका कुराहरू लेख्तै गए । आफ्नै ओथारामा ओथारो बसेर पोथीले चल्ला कोरलेझैँ कोरल्दै गए । लोकजन जगाउने कुरा लेखे पनि लोकले थाहा नपाउने गरी लेखिरहँदा स्वयम्ले आफ्नो लेखनको साहित्यिक मूल्य कम देखे । शुभचिन्तक मित्रजन र आफन्तजनले उनमा विराट् साहित्यिक सम्भावना देखको कुरा बताइदिए । अँझ बेलामौकामा पनि नबास्ने भालेको काम हुन्न भनेपछि भने उनी झसँग भए । पर्दा बाहिर आउने उत्तिसाह्रो मन नहुँदा नहुँदै पनि शुभेच्छुकहरूको शुभेक्छालाई कदर गर्दै उनी पर्दा बाहिर निस्कन थाले । फलत: दृष्टि, जनआस्था, नेपाली–पत्र, युवामञ्च, ट्याम्के, बगर, स्रष्टा दर्पण जस्ता पत्रिकाका पाठकले उनको कवित्व र साहित्यिक व्यक्तित्व नजिकैबाट नियाल्ने मौका पाए ।

सर्वप्रथम उनले आफ्ना पुराना नामहरूलाई आर्यघाट पुर्याए र रुञ्चे मुहार लगाउँदै दाहसंस्कार गरे । आधा शताब्दी वसन्त फक्रेपछि आफ्नो न्वारान आफैँले गरे । र, नयाँ नाम जुराए– मुखाले रेग्मी । हो, त्यही नाममा उनले २०७१ सालमा प्रथम कृति प्रकाशनमा ल्याए– ‘चित्त दुखेको ओखती’ कविता सङ्ग्रह । त्यसमा उनले २०४६ सालदेखि २०७१ सालसम्मका आफूलाई उत्कृष्ट लागेका कविताहरू समेटेका छन् । धेरैजसो उनका कविताहरू राजनीतिले जन्माएका हुन् । केही कविताहरू मात्र प्रेम–अनुरागतिर झुकेका छन् । उनका कविता पढ्दा लेखकीय अभिष्ट नै समाज सुधार्नु हो भन्ने स्पष्ट झलक मिल्दछ । हाँस्यव्यङ्ग्यलाई मूल मेरुदण्ड बनाएर धेरैभन्दा धेरै झर्रा शब्दहरूलाई स्थान दिएका छन् । यस कृति मार्फत मुलत: उनी हाँस्यव्यङ्ग्य कविका रूपमा चिनिएका छन् । केही उदाहरण–

रावणसँग लडेरै राम भगवान् भए
चाकरी गरेरै बाँदर हनुमान भए ।
विश्वकपभन्दा नि ठूलो त
समयको खेल पो रै’छ
एक से एक बेइमान त
खोलो फर्किएर आज महान् भए ।
(‘चित्त दुखेको ओखती’, पृष्ठ–३८)

‘चित्त दुखेको ओखती’ कविता सङ्ग्रहभित्र ४० थान छोटा र मझौला प्रकृतिका कविताहरू सङ्ग्रहित छन् । यस आलेखमा तिनलाई नै चिन्ने प्रयास हुने छ–

राजनीतिक बेथितिलाई झापड बर्साउँदै आजका नेतानेतृको हिजोको हविगत सम्झाउने काम ‘पुतलीको कथा’ कविताले गरेको छ । छिमेकी राष्ट्रले नेपालको जलसम्पदा नेपाललाई नै बेचेर ब्रह्मलुट गरिरहेको परिप्रेक्ष्यमा नेपालीहरू बीच एकता भए विकासका बाधकहरूलाई परास्त गर्न सकिने उद्घोष ‘हुटिट्याउँको सवाई’ कवितामा गरिएको छ । हेर्दा राम्रो देखिने वस्तु घातक पनि हुन सक्ने चेष्टास्वरूप जन्मिएको हो– ‘प्रणय: दुई तरङ्ग’ कविता । काम गर्ने काम गर्दागर्दै मरिरहेछ, हसुर्ने जमात हसुर्नमै मस्त र व्यस्त छ भन्ने उद्घोष गर्न ‘अलच्छिन’ कविता सक्षम छ । न्याय दिन ढिलाई हुँदा अन्यायमा पर्नेहरूको सिरिखुरी उड्ने र अन्याय गर्नेहरूको मनमौजी चल्ने हुँदा छितोछरितो मुद्दामामिला टुङ्ग्याई न्याय दिनुपर्ने आवाज बुलन्द भएको कविता हो– ‘न्याय’ । भनसुन, नातावाद र कृपावादले साहित्यमा प्रश्रय पाएकाले मोफसलका सर्जकहरूले प्रकाशनको पीडा खेपेको वस्तुस्थिति औंल्याउने सुन्दर कविता हो– ‘नलेखिएको कविता’ । वैयक्तिक स्वार्थमा निर्लिप्त भई काम गर्दा हाम्रो व्यक्तित्व र कृतित्व धरापमा पर्दै गएको जनाउ दिन ‘घाम बिग्रिएछ’ कविता सफल छ । निर्माणको इतिहास बनाउन मेलमिलाप अपरिहार्य रहेको आभास ‘जुँघा’ कविताले गराउँछ ।

राजनीति सप्रे मुलुकले काँचुली फेर्छ, बिग्रेको राजनीतिले अनिष्ट मात्र निम्त्याउँछ भन्न ‘राजनीति : तीन प्रकरण’ कविता सक्षम छ । छिमेकी मुलुकले उन्नति गरेर गएको सिको गर्न सक्ने सामर्थ्य हामी नेपालीमा नहुनुको एक कारण अन्धविश्वासको पुजारी बन्नाले र अकर्मण्यताको दास हुनाले हो भन्ने कुरालाई साङ्केतिक रूपमा दर्शाउने कविता हो –‘हरिशरणम्’ । नागरिक, नागरिकता र समाजका बेथितिहरूको इतिवृति ‘केही मट्याङ्ग्राहरू’ कवितामा केलाइएको छ । ‘म हराएको छु’ कवितामा नेपालमा जनतामैत्री राजनीति नभएकोमा आक्रोश पोखिएको छ । जता लग्यो उतै जाने, जे भन्यो त्यही मान्ने, जसो गर्यो उसै हुने कुरो मन भएको उद्घोष गरी दार्शनिक दृष्टिकोण व्यक्त गर्ने काम ‘मन’ कविताले गरेको छ । अहिले मान्छे आ–आफ्नो हविगतको ख्यालै नगरी धनदौलत र ऐशआरामको पछि लागेको कुरालाई प्रष्ट्याउने जमर्को ‘रेमिट्यान्सकी स्वास्नी’ कविताले गरेको छ ।

‘सत्ता’ को भोकका कारणले बनेको रोगीलाई ओखती र डाक्टर नचाहिँने तर्क गर्दै रोगी (सत्ताभक्त) स्वय म नै राज्य बन्ने गरेको कटु सत्य समेट्ने काम ‘सत्ता’ कवितामा गरिएको छ । यत्रतत्र देखिने, भोगिने र सुनिने बम–बारुदको विष्फोटनले पारिवारिक जीवनमा प्रतिकूल असर पुगेको आभास दिलाउने काम ‘प्रेयसीसँग मनका कुरा’ कविताले गरेको छ । अधिकार प्राप्तिको महासङ्ग्रामहरूमा अग्रजहरू व्यस्त रहेको बखत बालबालिकाको संरक्षण र सुरक्षा पाउने हक कुण्ठित भएको आभास दिलाउने काम ‘साना नानीहरूसँग’ कविताले गरेको छ । कागजमा बलियो कानून भए पनि व्यवहारमा लागू हुन नसकेर जनजीवन त्राहीमाम भएको दण्डहिनताको समय पक्रेर जन्मिएको कविता हो– ‘कानून’ । निर्धाहरूको आश त्रासमा बदलिएको क्षणलाई टिपेर राजनीतिको कुरूप खेलले नेपाली संस्कार र भावना नालीमा फ्याकिएको अभिमत जाहेर गर्ने काम ‘राजधानीको चिठी’ कविताले गरेको छ ।

जनताको राहत कागजी मिलान गरी हाकिम र ठेकेदारहरूले हजम गरेर जनतालाई आहत दिएको बेलिबिस्तार लगाउने काम ‘भोक : दुई प्रकरण’ कविताले गरेको छ । शहीदको लासको खेती गरेर डलर–मालिक बनेका शासकहरूलाई व्यङ्ग्य प्रहार गर्ने काम ‘देश’ कविताले गरेको छ । समयानुसार कार्य फत्ते गर्नेले नै संसार मुठीमा राख्न सक्ने शाश्वत पक्षलाई समेट्ने काम ‘केही तुफानी मट्याङ्ग्रा’ कविताले गरेको छ । समय बलवान रहेकाले त्यसले जोकोहीलाई जहाँ पनि पुर्याउने सामर्थ्य बोकेको हुन्छ भन्ने दार्शनिक दृष्टिकोण व्यक्त भएको कविता हो– ‘समयको खेल’ ।

आइपरेको बेला ‘हनबेर्नो’ हो जनता
जाइलाग्ने बेला ‘हतियार’ हो जनता
चुनाव अघि ‘जनार्दन’ हो जनता
चुनाव पछि भने ‘रद्दीको टोकरी’ हो जनता ।
(‘चित्त दुखेको ओखती’, पृष्ठ–३९)

बिरालाले मुसा खेलाएझैँ जनतालाई खेलाएर ब्रह्मलुट मच्चाएको वर्तमान बोल्ने काम ‘जनता’ कविताले गरेको छ । आजका मान्छे थच्चिने, मच्चिने, उक्लने, मात्तिने र आत्तिने ठाउँ टुँडिखेल भएको आभास दिने काम ‘टुँडिखेल’ कविताले गरेको छ । प्रेम, जवानी र रूपको साँचो पहिचान दिने काम ‘केही रूमानी मट्याङ्ग्राहरू’ कविताले गरेको छ । धन नभए पनि षडयन्त्रकारी मन हुनेहरू चाहेका ठाउँमा पुगेको र चाहेका कामकुरा गर्न सकेको आशय व्यक्त गर्ने काम ‘सियो’ कविताले गरेको छ । मान्छेले चाहे अनुसार नहुने र परिस्थितिको दास बनेर मात्र आश गर्नुपर्ने वाध्यतालाई देखाउने काम ‘जिन्दगीमा रहर पनि..’ कविताले गरेको छ । नियतिले साथ दिए जीवन रमितामय हुने तर ठगेमा सन्त्रासमय हुने शाश्वत पक्षलाई समेट्ने काम ‘नियति’ कविताले गरेको छ । वैयक्तिक स्वार्थले प्रेरित नेतानेतृको चर्तिकलालाई देखाउने काम ‘हलीहरू’ कविताले गरेको छ ।

पौराणिक पात्रहरूको प्रयोग गरी मिथकीय रूपमा वर्तमानलाई सूक्ष्म पाराले केलाउने काम ‘आधुनिक रामायण’ कविताले गरेको छ । सैद्धान्तिक रूपले विपरित एजेण्डाधारीहरू समेत कुर्सी खेलका लागि दुई शरीर एक मनका भई जनतालाई मूर्ख बनाइरहेका कुरा सङ्केत गर्ने काम ‘नकचराहरू’ कविताले गरेको छ । प्रतीक्षाको घडी कष्टकर हुने जनाउ दिँदै प्रेम–प्रणयको प्रसँग कोट्याउने काम ‘गुनासो’ कविताले गरेको छ । जतिसुकै विश्वासको वातावरण भए पनि जन्मजात शत्रुपक्षहरू विश्वस्त हुन नसक्ने तर्क अघि सार्ने काम ‘खस्रा कुरा’ कविताले गरेको छ । अनेकन वेथितिहरूका बीच जीवनलाई सग्लो राख्न र पवित्र पार्न हम्मेहम्मे परेको आभास दिलाउँदै चित्त दुखेको ओखती पाइने ठाउँको खोजी गरिएको कविता हो– ‘चित्त दुखेको ओखती’ । मायापिरतीका गाथाले भरिएको कविता हो–‘चार आँखा जुध्दाखेरी…’ । शहीदहरूको बलिदानीले शून्यप्राय: फल प्राप्त गरेकोमा आक्रोश व्यक्त गर्दै राजनैतिक बोली र व्यवहार सुधार्न चेतावनी दिइएको कविता हो –‘यक्ष–प्रश्न’ । कर्मचारीतन्त्रको रवाफिलो र असान्दर्भिक जीवनशैलीले चिमटेको टिप्पणी ‘हाकिम’ कवितामा गरिएको छ । मान्छेका इच्छा थरीथरीका रहेका र संस्कृतिका आडमा विकृति मौलाएको दृश्य खिच्ने काम ‘इच्छाको आयतन’ कवितामा गरिएको छ । जनतालाई लोप्पा खुवाउनेहरूले जनताका कसिला थप्पड खाएको आभास दिलाउने काम ‘थप्पडको जुलुस’ कवितामा गरिएको छ ।

कवि मुखाले रेग्मीका कविता राजनीति र प्रेम–प्रणय सम्बन्धी विषयवस्तु समेटेर जन्मिएका हुन् । कवितामार्फत लोकतन्त्र र गणतन्त्रको खिल्ली उडाउनेहरूलाई उनले कसिलो थप्पड हानेका छन् । चित्त नबुझेका ठाउँमा व्यङ्ग्यवाण प्रहार गरेका छन् । उनको राजनैतिक निष्कर्ष छ–

बाँच्न चाहने हो भने
मार्नेको हतियार खोस्नुपर्छ
हाँस्न चाहने हो भने
रुवाउनेको सत्ता पल्टाउनुपर्छ ।
(‘चित्त दुखेको ओखती’, पृष्ठ–३७)

उनका कवितामा कसिलो अभिव्यक्ति सशक्तरूपमा पाइन्छ । हरेक कवितामा दमदार साङ्गीतिक लयात्मकता भेटिन्छ । एकाध कवितामा उनले शिष्ट शृङ्गारिक पक्षलाई स्थान दिन पनि भुलेका छैनन् । मुलत: उनी स्थिर राजनीतिका पक्षमा छन् । उज्ज्वल भविष्यको चाहना र कामनामै उनका कविताका हरेक हरफहरू निर्मित छन् । सप्तरीको माटोले उत्पादन गरेका मुखाले रेग्मीको कवितात्मक राजनैतिक चड्कनले हाम्रा बेहोसी राजनेता होसमा आई सम्पूर्ण नेपालीलाई अपनत्वको बोध हुने गरी लोकतन्त्र/गणतन्त्र कार्यान्वयन गर्ने छन् भन्ने अपेक्षा लिनु अतिशयोक्ति गरेको नठहर्ला ।
कृति : चित्त दुखेको ओखती/विधा : कविता/कवि : मुखाले रेग्मी/संस्करण : प्रथम, २०७१/प्रकाशक : नेपाल स्रष्टा समाज, काठमाडौँ/ प्रकाशन प्रति : ११०० प्रति/मूल्य व्यक्तिगत रु. १११/– संस्थागत रु.२०१/– मात्र

नन्दलाल आचार्य
श्री जनसेवा माध्यमिक विद्यालय, कर्जन्हा–४, सिरहा ।

3 thoughts on “सप्तरीबाट मुखाले रेग्मीको राजनैतिक चड्कन”

  1. पुस्तकको फोटो भेटिएन !
    लेख प्रकाशनका लागि धन्यवाद !
    सम्भव भए लेखमा

    कितावको फोटो पनि राख्ने व्यवस्था मिलाउन

    अनुरोध छ ।

    साथै भलाकुसारीलाई विउँताउन निवेदन छ ।

  2. निवेदन छ ।
    NAMASKAR SIR !
    PLZ KEEP COVER PHOTO OF THE BOOK.

    लेख प्रकाशनका लागि धन्यवाद !
    सम्भव भए लेखमा

    कितावको फोटो पनि राख्ने व्यवस्था मिलाउन

    अनुरोध छ ।

    साथै भलाकुसारीलाई विउँताउन निवेदन छ ।

  3. नव वर्ष २०७४ को हार्दिक मङ्गलमय शुभकामना !
    YO LEKH SARBAJANIK GARNE RA PADHNE DUBAILAI HARDIK DHANYABAD CHHA.
    AND SHUBHAKAMANA CHHA SIR.
    नव वर्ष २०७४ को हार्दिक मङ्गलमय शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *