Skip to content
BikramPawan


आज फेरि पनि प्रत्येक वर्ष झैँ
पृथ्वीले एक फन्को मारिसकेको संकेत पाएलगत्तै
जन्मिएको छ अर्को नयाँ क्यालेन्डर
र क्यालेन्डरसँगै अनेकौं सपनाहरू बोकेर
निस्किएको छ अर्को समय विश्व यात्रामा ।

कति सपनाहरू महिना पुगेर पनि तुहियो
यो त्यही कालो महिना हो जस्ले निलेको थियो
जम्ल्याह सपनाहरूको रङ्ग

त्यही दिनदेखि
रोइरहेका छन् श्रीमान गुमाएकाहरू
आमा खोजिरहेकाछन् आमा गुमाउनेहरू
खै कसरी र कहिले बिर्सलान् पुराना घटनाहरू
यो नयाँ वर्षको आगमनसँगै
फेरि बल्झिएको छ पुराना घाउहरू ।

कविहरूले लेख्नु लेखे कविता
आकाशबाट एकएक टुक्रा ताराहरू टिपेर
जोडेर बनाएका हुन् शब्दहरूको भन्डार
लेखकहरूले लेखिदिएपछि त
गायकहरूले गाएका हुन् संवेदनाका गीतहरू ।

कविहरू सोचिरहन्छन्
भित्तामा नयाँ क्यालेन्डर झुन्डियसँगै
फेरियोस कविता लेख्ने शैली
जसरी फेरिन्छ प्रत्येक वर्ष क्यालेन्डर ।

पाठकहरूले सुन्न नपरोस पिडैपीडाको गीत
आमाहरूले सुन्न नपरोस् सन्तान हराएको सूचना
देश छोडेर नभागुन् चराहरू
साँघुरिँदै नजाओस् मेरो देश जसरी खुम्चिँदै गएको थियो हिजो
पत्रकारहरूले मान्छे मरेको समाचार लेख्नु पर्ने दिन नआओस
कुनै पनि लेखकले लेख्न नपरोस टुहुरी आमाको कथा
सुन्न नपरोस बस दुर्घटना भएको
फर्केर नआओस पापी भूकम्प
फेरि पनि उर्लेर नआओस बाढी
आजैबाट एकादेशको कथा बनोस् ।

सफेद विधवाहरूलाई मात्र देख्नको लागि
पक्कै बनेन होला आँखा
हजारौं लासको मलामी जानको लागि
पक्कै बनेको हैन मान्छेको उत्पत्ति
नयाँ क्यालेन्डरको जन्मसँगै
हुरीले पश्चिम नरुवाओस
पहिरोले पहाड नथर्काओस
तराईमा लु नहोस
शित लहरले ज्यान नलुटोस
बाँच्छुभन्दा भन्दै नमरुन मान्छेहरू ।
आर्यघाटहरूमा संवेदनाको भाव उत्पत्ति होस् ।

गरिबी कै कारणले कुमारी आमाहरू मर्नु नपरोस
फेरि पनि यो आँखामा आँसुको ताल नबनोस
किनकि
दुःखलाई सामना गर्नु मात्र जिन्दगी हैन
काल बनेर नआओस समय
बाँच्ने अधिकार किरा फट्याङ्ग्राको पनि छ
जसरी तिमी बाँचिरहेका छौ ।।

सम्झनू तिमी सुधृयौ भने यी कलमहरू
तिम्रो बिद्रोहको हतियार बन्ने छैनन्
पत्रिकामा छापिने कविका कविताहरू
तिम्रो विद्रोहका ज्वारभाटा हुने छैनन्
आजैबाट देश बनाउने अभियानमा लाग
तिम्रो यसैमा कल्याण हुनेछ ।

कामना मेरो पनि छ
तिम्रो विद्रोहमा कहिल्यै उठ्न नपरोस
यदि बिन्ती दर्साउँदा दर्साउँदै पनि
देश टुक्राटुक्रा बनायौ भने !
सम्झनू यो नयाँ क्यालेन्डरले
मात्र तिम्रै मृत्युको दिन गन्ने छ
जुनदिन तिम्रो लास जलाउन घाटको अभाव हुनेछ
त्यसै दिनदेखि समाप्त हुनेछ
तिम्रो नामको कालो इतिहास ।

विक्रम पवन
रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *