Skip to content

सबभन्दा सजिलो काम


आजभोलि कसैले सबभन्दा सजिलो काम कुन हो भनेर सोध्यो भने म सजिलै भनिदिन्छु –अरुको आलोचना गर्नु, अरुको कुरा काट्नु । वास्तवमा हामी दिनदिनै आलोचनामुखी हुँदै गएका छौँ । त्यो पनि स्वआलोचना होइन पराईआलोचना । हर्दम अरुको कुरा गर्नमा हामीलाई रस आउँछ । अरुका दोष र दुर्वलता खोतल्नमा मजा लाग्छ । आफ्ना कमीकमजोरी ढाकछोप गरेर अरुका आन्द्राभुँडीको बिस्कुन सुकाउन आनन्द लाग्छ । हामी आजभोलि अरुका ससाना दोषलाई लेन्सले ठूलो बनाएर हेर्ने छिन्द्रान्वेषी भएका छौँ । आफूभित्रका औँला छिर्ने छिद्रहरू हेर्दैनौँ । अरुका रौँ छिर्ने छिद्र खोजी बस्छौँ । अर्काका प्वालमात्र हेर्ने बानीले आफ्ना प्वालहरू देख्तैनौँ । दिनदिनै छ्याँन्द्रा छ्याँन्द्रा भएर आफू कति ठाउँ चुहुने भएका छौँ त्यसको रत्तिभर हेक्का छैन । त्यसैले आफ्नो दोष लुकाएर अरुको दोष देखाउने काममा हामी सिपालु हुँदै गएका छौँ ।

अरुका खोटमात्र खुट्याउन सक्नेले आफ्ना खोट खुट्याउन सक्तैन । र ती खोटलाई खुर्किन पनि सक्तैन । अरुका दोष ठम्याउनेले आफूभित्रको त्यही दोषलाई मिल्काउन सक्तैन । अरुका दोष र दुर्वलता देखाउन जति सजिलो छ, आफूभित्रको त्यही दोष र दुर्वलता देख्न त्यति नै गाह्रो छ । यस्ताको पनि अरुलाई देख्ने अँझै आफूभित्रको त्यो दोषलाई परित्याग गर्न झन गाह्रो छ । यो गाह्रो कामदेखि हामी डराउँछौँ हामीलाई जुन काम सजिलो लाग्छ । त्यही काममात्र गरी बस्छौँ । यतिखेरका आम नेपालीको निम्ति सबभन्दा सजिलो काम त्यहीँ अरुको नाटीकुटी गर्नु, अरुको बारेमा कुरा काट्नुभएको छ ।

कुनै शहरमा एउटा चित्रकार थियो अरे । उसले एकदिन सुन्दर चित्र बनाएर दोबाटोमा टाँसेछ । अनि त्यही चित्रको छेउमा एउटा सूचना लेख्यो, कृपया यो चित्र हेर्न आउने दर्शक महानुभावले चित्रमा के कस्ता दोष र दुर्वलताहरू छन्, के कस्ता त्रुटि कमजोरीहरू छन्, तिनलाई औँल्याइदिनु होला । र भित्ताको सेतो कागजमा बुँदागतरुपमा लेखिदिनुहोला । यति लेखेर खाली कागज र कलम भित्तामा राखिदियो । चित्र टाँगेको हप्ता दिनमै सयौँ आलोचनाहरू दर्शकबाट भित्तामा लेखिए । कसैले रङ नमिलेको, कसेले रेखाको संयोजन नभएको, कसैले के, कसैले के भनेर उसको चित्रलाई व्यापक आलोचना गरे ।

त्यो हेरेपछि चित्रकारले फेरि त्यस ठाउँमा रङ, ब्रस र कुची राखिदिएर एउटा सूचना टाँस्यो, कृपया चित्रका पारखी महानुभावहरू चित्रमा कहाँ कहाँ गल्ती छ त्यसलाई यहाँको रङ, ब्रस, कुचीको प्रयोग गरेर सच्याइदिनुहोला ।

अर्को हप्ता चित्रकार चित्र हेर्न जाँदा उसले रङ, ब्रस र कुची जस्तो राखेको थियो; त्यही अवस्थामा ती चिज थिए । कसैले पनि तिनलाई प्रयोग गरेर चित्र सच्याउने कोसिस गरेको थिएन । त्यसबाट चित्रकारले एउटा गहन निष्कर्ष निकाल्छ, मानिस कसैको खोट देखाउन जति दक्ष हुन्छ । जति प्रवीण हुन्छ । त्यो खोटलाई सच्याउँन त्यतिनै अदक्ष र अकुशल हुने रहेछ । यसरी हामी आफूसँग भएको दोष र दुर्वलता मेट्ने र सच्याउने हैसियत नबनाई अरुका कमजोरीमाथि जाइलाग्छौँ । त्यतिखेर अरुको कमीकमजोरी खुट्याउँदा जाती हुन्छ, जतिखेर अरुमा भएको कमजोरी आफूमा अलिकति पनि नहोस् ।

अरुको अनैतिक चरित्रको नालीबेली केलाइरहँदा कतै आफूभित्रको अनैतिक मान्छेले नैतिकताको रङ्गिन आवरण नभिरोस् । कसैको भ्रष्ट मतिलाई चिरफार गरिँदै गर्दा आफूभित्रको भ्रष्टमति चाहिँ ओझेल नपरोस् । हामीले गर्ने अरुको आलोचनामा, नाटीकुटीमा त्यतिखेर दम हुन्छ जतिखेर हामी त्यो कमजोरीबाट मुक्त भैसकेका हऔँ ।र
अरुको आलोचना गर्नु र कुरा काट्नुभन्दा सजिलो काम जगत्मा अर्को छँदैछैन । यो सजिलो काम सम्पन्न गर्दा हामीलाई जति खुशी र आनन्द लाग्छ, आफ्नो आलोचना आफैँले गर्नुपर्दा त्यति नै सकस हुन्छ हामीलाई । अँझ अरुले आलोचना गरेपछि अब यति सजिलो काम छोडेर अप्ठ्यारो काम किन रोज्छ मान्छे ?सम्म बाटो हिँड्न पाउँदा अप्ठ्यारो र अनाकण्टर बाटो किन हिँड्छ मान्छे ? हामी आधिकाँश नेपाली यही सम्मबाटोको यात्री भएका छौँ ।

वाङ्मयका ठेलीहरुमा पढ्न पाएको छु । हाम्रै देशको इतिहासमा पनि अप्ठ्यारो काम रुचाउने मानिसहरू पनि थिए । मानिसको स्वभाव हो अरु बेला जे जस्तो भए पनि अलिकति फुर्सतको बेला पायो भने आनन्दको काम गरेर, सजिलो काम गरेर आफूलाई मनोरञ्जन दिने गर्छ । यही फुर्सतको र मनोरञ्जनको निम्ति हामी अरुको कुरा काटिरहेका छौँ । अरुको निन्दा बखानिरहेका छौँ । अरुको विरोध गर्नमा हाम्रो कुण्डलिनी जागरण हुन्छ । तर महाकवि देवकोटामा आनीबानी पढ्दा थाहा भयो । उनी फुर्सतको बेला पनि हामीले रोजेको सजिलो काम नगरी जटिलभन्दा जटिल काममा मनोरञ्जन खोज्थे अरे । अलिकति विश्राम मिली हाल्यो भनेपनि कठिनभन्दा कठिन काममा प्रवृत्त हुन्थे अरे । त्यसैले त फुर्सत्को बेलाको उपयोग गर्दै भोरलभाक्का नामको विश्वभाषाका शब्दहरू संयोजन गरेर पृथ्वीवासीको लागि एउटै शब्दकोश बनाउन जुटेका थिए अरे । प्राचीन वैदिक संस्कृत, नेपाली, हिन्दीदेखि अङ्ग्रेजी भाषीसम्मलाई हुनेगरी नयाँ नयाँ शब्दको शब्दकोश बनाउन थालेका थिए अरे । भलै त्यो शब्दकोश विविध कारणले पूरा हुन सकेन । तर पनि अलिकति फुर्सतलाई सजिलो काममा होइन अप्ठ्यारो काममा लगानी गरेर आत्मिक आनन्द उठाउने तपस्वी थिए उनी ।

गणीतज्ञ नयराज पन्तले विश्रामको क्षणमा पनि गणितको र ज्योतिषका कठिन समस्याहरुसँग खेलेको कुरा पढ्छु । दाँतमा ढुङ्गा लागेजस्तो सिरिङ्ग बन्छु । आइन्स्टाइन र कार्लमाक्र्सको, माइकल एन्जेलो र हकिङको जटिल, अप्ठ्यारो र दुरुह काममा लीन भएर आनन्दित हुने स्वभाव हेर्दा यिनीहरुबाट हामीले एक पित्को प्रेरणा लिन सकेनछौँ भन्ने लाग्छ ।

यिनीहरू जस्तैं अप्ठ्यारा कामलाई सजिलो मान्ने मान्छे हामी कहिले हऔँला । अरुको कुरा काट्न एकमिनेट फुर्सत ननिकाल्ने मानिस कहिले बनौँला । अरुका कुरा काट्नु अघि आफ्नै दोष र दुर्वलताका कुरा काट्ने मनुष्य कहिले बनौँला । अरुलाई मात्र किन भनूँ म, म आफैँ अरुको आङको जुम्रो देख्ने तर आफ्नै आङको भैँसी नदेख्ने रोगबाटबाट पीडित छु, यसबाट मुक्त कहिले हुनुहोला । मनभरि तनभरि चिन्ताहरू सल्बलाइरहेछन् ।

२०६७/०५/३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *