Skip to content


विमानस्थलमा ओर्लिएपछि एउटा संयुक्त फोटो लिन तम्सिराखेको बेला पुलिस आएर धपाइहाल्यो । हामीले आफ्नो इच्छा एयरपोर्ट बाहिर बाहिर नै पुरा गर्योँ । चिया खाने सल्लाह अनुसार किराति भावमा ‘लु यो पसलमा छिरुङ पो’ भन्दै शमालजी अगाडि लागिहाले । छिर्ने बाटो साँगुरो थियो, त्यसैले भित्रबाट निस्कदैँ गरेका एक युवासँग झण्डै ठोक्किन पुगेँ, त्योभन्दा बढी त उसले खाँदै गरेको चुरोटको धुँवाले आँखा पोल्यो । त्यसपछि भित्र छिरेपछि पो देखियो, घरभित्र त खुल्ला ठाउँ रहेछ त ।

चिया खान मागेको त हामीलाई काठमाण्डौमा खाइने खालको चिया दिइएन, मैले आपत्ति जनाएँ, ‘चिया भनेको किन यो कालो न कालो चिया?’

पसलकी एक प्रतिनिधी बोली, ‘यो खुम्बुको चियो हो, यसको नाम ब्ल्याक कफी हो । खुम्बु क्षेत्रमा कफी बाहेक अरु चियाको प्रचलन छैन ।’

यो बोलीसँगै उनले झिमिक्कै आँखा झिम्काइदिइन् विशेष गरी मैतिर फर्केर । मलाई चिया ब्ल्याक कफी अर्थात खुम्बुको चिया अत्यन्तै स्वादिलो भयो ।

हाम्रो भ्रमण टोलीका लिडर सविनाले आफ्नो काम सुरु गर्न खोजिन्, बीचैमा उठिन् र भनिन्, ‘साथीहरु, हामी खुम्बु भन्ने ठाउँमा छौं, हामी यो क्षेत्रमा तीन दिन बिताएर काठमाण्डौ फर्किनेछौं ।’ योजना पहिल्यै तय भैसकेको थियो ।

हाम्रो यो सल्लाह सुनेपछि त्यो युवतीले केही बोल्ने इच्छा राखिन्, ‘तपाईंहरू शैक्षिक भ्रमणमा आउनु भएको हो जस्तो छ, मेरो पनि अहिले क्याम्पस छुट्टी भएकोले म तपाईंहरुलाई सहयोग गर्न सक्छु, आमा आएपछि यो बजार घुमाउन सक्छु । हुन्न र दाइ?’

यसो भन्दै मतिर हेरेपछि सबै साथीहरुले कुरा वंग्याउन थाले । जस्तो भए नि हामीले नसोचेको यस्तो खुशीको कुरा सुनेर हामीले एक पटक ताली बजायौँ । थपिन् युवतीले, ‘अन्यथा नलिनु यो टुरिज्म एरिया हो, यस्तो गाइडिङ गर्न अभ्यस्त छौं यहाँ ।’

मलाई भने उनको बारे क्रमश जानकारी बढ्दै थियो ।

दुई समूहमा बाँडिएर जाने सल्लाह अनुसार समूहबाट आफूलाई अलग गराएर दुई घण्टा त्यहीँ बस्ने टोलीको नेतृत्व गरेँ । मलाई ती पसले युववतीले ‘बस म न एकछिन भए नि’ भनेजस्तो लाग्यो । समूह दुई भागमा विभाजन भएपछि मैले साथीहरुलाई बजार घुम्न पठाएर आफू पसलमै बसेँ । साथीहरू ‘कुरा बुझियो’ भनेजस्तो गर्दै निस्किए, हामी दुईमात्र भयौँ केही छिनको लागि । उनको बारे थुप्रै जानकारी प्राप्त भयो, मेरो बारे पनि थुप्रै जानकारी दिएँ । कुरै कुरामा उनको हामीले आफ्नो फोन नम्बर साटासाट गर्न भ्यायौँ, उनले यहाँ कक्षा १२ सकेर डेढ वर्षपपछि काठमाण्डौ आउने कुरा गरिन् । हाम्रो वातचित बीच केही ग्राहकहरू आएर, खाएर जान भ्याइसकेका थिए ।

यहाँका पुराना वासिन्दाहरू आफ्नो यथार्थ इतिहास हतपत कसैलाई सुनाउदैनन् भनेर मिङमाले एकजना उनका चिनजानका बुढा जो बजारको पहूँच बाहिर थिए उसैकहाँ लगे । मिङमा भर्खरै भेटिएकी युवतीको नाम थियो तर उनी शेर्पा थिइनन् । उनको नामबारे मैले शेर्पा गाउँमा भएर शेर्पा नाम राखेको होला भनेर सोद्धा भनेकी थिइन् कि उनीभन्दा अघिका एक दाइ र एक दिदीको बाल्यकालमै मृत्यु भएकोले किराती परम्परा अनुसार अरु जातको नाम राखिएको रे । संयोग हो कि यथार्थ हो, शेर्पा नाम राखेपछि उनी लगायत भाइ बहिनी बाँच्न थालेका रहेछन् । पुक्क परेका रातै गाला, औसत उचाई, एघार कक्षा पढ्दै गरेकी, बोल्नमा सिपालु र फ्य्राङक, हिमाली मुस्कान उनका विशेषता थिए । उनीसँग देखादेख हुने वित्तिकै मनमा लागेको करेन्ट र उसको मतिर हेरेर झिम्किने आँखा, ममाथिको विशेष र फरक हेराई उनका अतिरिक्त विषेशता थिए ।

चञ्चले मिङ्माले बजारको छेउसम्म पुर्याइन् । बजार काट्ने बेलामा एउटा बिदाइ र स्वागत गेट थियो, जसको नाम थियो, ‘पासाङल्हामु गेट’ ।

फाक्दिङ पुगियो साँझ पख पछाडिको टोली, अगाडिका टोली पनि केही वरसम्म लिन आइपुगेका थिए । आजको वास स्थान दुधकोशी खोलाको किनारमा, एउटा सानो उपत्यकाजस्तोमा रहेछ । वेलुका खाना खाने बेलासम्म आजको उपलब्धिहरुको लेखा जोखा भयो, अगाडिको टोलीले पछाडिको तुलनामा त्यति जानकारी प्राप्त गर्न नसकेको देखियो । सबै जानकारी पाउनमा मेरो भूमिका रहेको भन्ने सबैको भनाईपछि खाना खाँदै गर्दासम्म मलाई थरी थरीका कुराले घोच्ने क्रम जारिरह्यो । वेलुकीको खानापछि ओछ्यानतिर लागियो । मेरो मोवाइलमा म्यासेज आइसकेको रहेछ मिङमाको, ‘ल है राम्रोसँग जानु । कहिलेकाहीँ त छोटो बसाई पनि यति मिठो हुने रहेछ । सधैं मिस गरिराख्ने छु ती पल ।’

अर्को दिन हामीलाई वास बस्ने ठाउँ भेटाउन मूश्किल पर्यो । त्यहाँ दुई खालका होटलहरू थिए । एक प्रकारका होटल जो वजार बाहिर भेटिए तीहरू साना र कम व्यवस्थित थिए, जसलाई स्थानीय भाषामा भट्टी पसल भनिदो रैछ । त्यस्तो होटलमा बस्न सक्ने स्थिति थिएन, किनकि सुत्ने छु थुप्रै जना सुत्ने एउटै कोठा तर साह्रै गन्हाउने, सायद भरियाहरुको बस्ने ठाउँ होला । दोस्रो प्रकारको होटल थियो मुख्य बजारभित्र जहाँ अत्याधुनिक सुविधा सहितको विदेशीहरू नै अटी नअटी बस्ने रहेछन्, नेपालीलाई त वास नै नदिने, कोठा दिइहालेपनि तिर्न नसकिने, डलरको हिसावमा तिर्नुपर्ने ।

बस्ने ठाउँको व्यापक खोजी गर्दै गर्दा मिङमाले आजको चौथो पटक फोन गरिन् । सारा स्थिति र समस्या वताएँ । हाँस्दै यो यथार्थ उनलाई पहिल्यै थाहा भएको वताई र उचित सल्लाह माग्दा एउटा ठेगाना दिएर त्यहाँ गई आफ्नो वास्तविकता वताउन सुझाइन् । जसो सल्लाह पाइयो उसै गरियो, पुरै सम्मान साथ बास पनि पाइयो । पछि बुझ्दा पो थाहा भो ती साहुजी त त्यस ठाउँका पूर्व गाविस अध्यक्ष पो रहेछन् । हामीलाई सम्पूर्ण सूविधा दिएर राखियो त्यो दिन, त्यो होटलमा । टोइलेट पनि कोठासँगै रहेको जानकारी दिइयो, जानकारी दिने मान्छे भने त्यहाँको काम गर्ने मान्छे रे सोधेर थाहा पाइयो । निदाउनु अघि मैले एउटा म्यासेज पठाउन भ्याएँ, ‘तिम्रो व्वाईफ्रेण्ड छ कि छैन हौ? यदि छैन भने ……’

विहानको चिया खाने वेला मोवाइलमा आइराखेको म्यासेज देखेँ, ‘मेरो अहिले छैन, ठिकै छ, मलार्ई नि तपाईं मन परेको मान्छे हो । तर अलि कन्फ्युजमा भने छु ।’ दुइटा कुरा रमाइलो लाग्यो, एउटा त मैले केही स्पष्ट नपारी …… छोडेको थिएँ, त्यसको अर्थ एक स्टेप अगाडि गएर बुझिछे, दोस्रो कुरा, अहिले छैन भनेपछि पहिला थियो क्यारे…. । तैपनि मैले कुरा अनुकूल बनाउन खोजेँ, ‘कन्फ्युजनमा नपरे पनि हुन्छ’ भनेर ।

वेलुका सुत्नुअघिसम्म चार पाँच फोन आइसकेको थियो मिङमाको । मैले म्यासेज गरेँ, ‘होइन तिमीलाई के भो हौ, अचानक? भखरै भेटेको परदेशीलाई यति धेरै कसरी विश्वास गर्न सकेको?’

जवाफी म्यासेज तुरुन्त आयो, ‘तपाईं मलाई भर्खर भेटेजस्तो लाग्दैन, देख्ने वित्तिकै पुरानो चिनजानको मान्छे जस्तो लागेको थियो । सायद पूर्वजन्मको नाता पो छ कि?’ अन्तिम म्यासेज पठाएँ, ‘तिमीसँग कुरा गरेर नसकिने रैछ । गुड नाइट ।’

सुत्ने वेला मोबाइल अफ गरेर सुत्ने बानी थियो त्यै गरेँ ।

विहान उठ्ने वित्तिकै मोवाइल अन गरेँ, हिजोको म्यासेजको प्रतिक्रिया हेर्न आतुर थिएँ, उनकै म्यासेज थियो, ‘कुरा गरेर सकनु भएन भने प्रेम गरेर सक्नुस् न त…।’ हामी आज लुक्ला पुग्ने र भोलि काठमाण्डौ पुग्ने सुरमा थियौा नै । दिनभरि हिँडन सबै तयार भयौँ ।

एयरपोर्ट रहेको बजारमा दोस्रो र यो पालीको अन्तिम भेट हुँदा मिङमा अलि लजाएको भावमा थिई, छोडेर नजानुस् पनि भन्न खोज्दै थिई, मैले छोडेर हिडेँ ।

काठमाण्डौ आएपछि म आफ्नो काम र कलेजको परीक्षा तयारीमा जुटेँ । हाम्रो निरन्तर सम्पर्कले मलाई गाह्रो पार्दै लगेको थियो । म कसैसँग प्रेममा पर्नेवालामा थिइनँ, बजारमा चलेको फेसनेवल प्रेमलाई विश्वास पनि गर्दिन थेँ । मात्र थियो त पढाई सक्ने र आफूलाई समाजमा स्थापित गर्ने महत्वकांक्षा । तर मलाई ऊसँगको निकटता वडा आनन्दको लाग्थ्यो । समयसमयमा मेरो फोनमा ब्यालेन्स हालिदिने हुनाले पनि झन् रमाइलो लागेको हुँदो हो । भन्थिन् कि, ‘दुई चार रुपैयाँ जाबो के हो र? तर माया पो नपाउनु, आत्मीयता पो अनमोल छ ।’

मैले सम्बन्धलाई गहिरिनबाट जति जोगाउन खोज्थेँ, सम्बन्ध उति नै गहिरिएको महशुस गर्न थालेँ । एकदिन फोनमा रुँदै भने, ‘मिङमा, म तिमीसँग हारेँ, सकिनँ मैले तिम्रो मायासँग । मैले तिमीलाई पाउने चाहना राख्न राख्न थालेको छु, तर तत्काल म कतै स्थापित भइसकेको छुइनँ, सुख दिन त सक्तै सक्तिनँ ।’

मलाई सहज पार्दै भनिन् कि, ‘छोरा मान्छे भएर पनि रुन्छन् त कतै? किन आत्तिनुहुन्छ, म त आँट गर्छु, तपाईं पो अतालिनुहुन्छ । म त पढेर केही गर्न नसके पनि एउटा होटलै थापेर पनि परिवार पाल्न सक्छु ।’

कता कता मुटुमा नै पो राखिन् क्यारे र राखेँ क्यारे जस्तै लाग्यो । एकदिन उनलाई एउटा चिठी पठाएँ, साथमा एउटा अंग्रेजी नेपाली शब्दकोष पनि पठाइदिएँ । त्यो लगतै यति धेरै खुशी भएर फोन गरिन्, सायद म कहिल्यै भूल्दिनँ । पछि एउटा म्यासेज पठाइन्, ‘त्यो पत्र मेरो मुटु हो, फेरि पनि पढ्छु, यसलाई….’

डिप्लोमा अन्तिम वर्षको परीक्षा सकिएर रिजल्ट आउन बाँकी हुँदै मैले गर्दै गरेको जागिर पनि छोडेर अचानक गाउँ जानु पर्ने भयो । कारण थियो गाउँमा बुवा रुखबाट लडेर सख्त घाइते हुनुभएछ । तत्काल टाढाको अस्पताल लानुपर्ने तर यातायातको कुनै साधन नभएपछि हेली चार्टर गरेर काठमाण्डौ ल्याइयो । उपचार गरेर राम्रो ठिक नभई गाउँ लानुपर्ने भयो । गाउँ जाने कुरा सुनाउँदा मिङमाले भनेकी थिइन् कि ‘राम्रो हेरचाह गर्नु, वुवा आमाभन्दा ठूलो को छन् र?’ भनेर ।

साँचै दशा मादल वजाउँदै आउने होइन रहेछ । घर परिवारको सम्पूर्ण खर्चको भर भन्नु नै बुवा हुनुहुन्थ्यो । उहाँ नै ओछ्यान परेपछि हाम्रो परिवारको दोस्रो व्यक्ति म नै हुनाले जीवन अचानक पुरै मोडियो । मिङमाको सान्त्वना आइराखेकै थियो । गाउँकै एक विद्यालयमा सानोतिनो पढाउने काम पाएको हुनाले दैनिकी वितनेसम्म हुन थालेको थियो । एकदिन साह्रै निराश भएर बसीराखेको अवस्थामा सोँच्दै गएँ जिन्दगीलाई र सोचेँ कि मेरो जिन्दगी अब पुरै सिद्धियो । एमएसम्मको पढाई पुरा गर्ने र राम्रो जागिर खाने त अब सम्भव नहोला । मिङमा त बजारको मान्छे म पो उल्टो तल्लो स्तरमा झर्न पुगेछु । यस्तै सोच्ँदा सोँच्दै म्यासेज लेख्न पुगेछु, ‘मभन्दा असल, सक्षम मान्छे भेट्यो भने निशंकोच नाता जोड्नु ।’

सारा संसार बदलियो, उनको भाव बदलियो । सोँच बदलियो, तर सबै अचानक….. । हाम्रो सम्बन्ध अन्त्यको संघारमा पुगिसक्यो । बुवाको अवस्था ठिक हुँदै गएकोले काठमाण्डौ फर्किने निर्णयमा पुगेँ । मिङमासँग सम्पर्क विहीन भएको केही महिनापछि काठमाण्डौ फर्किएँ, फर्किदाँ मिङमा पनि कक्षा १२ पछि काठमाण्डौ आइसकेकी रैछ, बल्ल बल्ल सम्पर्कमा ल्याएँ । रमाइलो कुरा के भो भने मेरो क्याम्पसको क्लासमेट साथी थिइन्, उनको नजिकको परेछ । आवत जावत सजिलो भयो । फकाएर सम्बन्धलाई अगाडि बढाउनेसम्म बल्ल सहमत बनाएँ उनलाई ।

‘तपाईंको चिठी त च्यातेर फालिदिएँ ।’ यो सुनाउँदा सबैभन्दा नराम्रो लाग्यो ।

एक दिन कुरैकुरामा भनेकी थिइन्, ‘त्यो एउटा टीभीमा कार्यक्रम हुँदो रैछ नि फोन नम्बर दिने र त्यसबाट साथी बन्ने, त्यसमा नम्बर दिएको, केही साथीहरू ब्निसकेका छन् ।’

मनबाट दुखी हुँदै पनि भनेको थिएँ, ‘ठिकै छ, भएका मध्ये राम्रा आनीबानी भएकासँग साथी बनेर बस्दा राम्रै हुन्छ ।’

दैनदिन साथीहरुले उनको बारेमा एक न एक कुरा सुनाउन थाले । कहिले कोसँग मोटरसाइकलमा घुम्न गाको, कुन बेला कोसँग झगडा परेर छुटेको, फेरि अर्कैसँग हिँड्न थालेको आदि आदि…..। अर्कोतिर मेरो फोन पनि उठ्न छोडिसकेको थियो दुखी हुनुको कुनै सीमा रहेन, रिसको झोँकमा भन्नु नभन्नु लेखी पठाएँ म्यासेज । केही वेर रिप्लाई गरी र त्यसपछि फोन नै अफ, कहिल्यै खुलेन त्यो मोबाइल, कहिल्यै भेटिएन उनीसँग त्यो दिनदेखि…..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *