Skip to content

मैले तिमीलाई जुनसँग दाँजेर हेरें


मैले तिमीलाई जुनसँग दाँजेर हेरें
बहुमूल्य लाग्यो, सुनसँग दाँजेर हेरें

कतै कालो मिश्रण देखिन्छ कि भनी
साह्रै सेतो लाग्ने, चुनसँग दाँजेर हेरें

चिन्नलाई गाह्रो भए झैं लाग्यो मलाई
केही नपाउँदा कहिलेकाहीँ बैगुनसँग दाँजेर हेरें

कहीं कतै त श्वेत चिजमा धब्बा हुन्छ
त्यसैले तो कालो घुनसँग दाँजेर हेरें

सबैसामु फैलिएर हिंड्ने आदत हो कि
आँगनभरि फिंजाएको बिस्कुनसँग दाँजेर हेरें

ठेगान नभएको प्रकृति झैं लाग्यो किन
क्षणभरमा बदलिने मनसुनसँग दाँजेर हेरें

खिन्न मन भरि ठुलो बोझ थियो ममा
तैपनि आनन्द पाउन धुनसँग दाँजेर हेरें

अस्वस्थ भै म शैय्यामा छट्पटाउँदा खेरी
मेरो जीवन बचाउने खुनसँग दाँजेर हेरें

लालु क्षेत्री “कोकिल”
भरतपुर महानगरपालिका-२५,
नारायणी, शुक्रनगर,चितवन
हाल:काठमाडौं-६, बाग्मतीनगर, सुबिधाबस्ती

1 thought on “मैले तिमीलाई जुनसँग दाँजेर हेरें”

  1. Maile bujhna nasakeko tyo
    Maile bujhna nasakeko tyo mastiska kahile nnathakos!! Yastai dherai rachana haru aru pani rachiuna!! Best of luck!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *