Skip to content

‘राजेश’ – २ः सिन्दुर


लोकमार्गमै लेपासिएको कल्याणपुर चौकलाई एघार बजे रातको अन्धकारले खर्लप्पै निलेको छ । दुई प्राणी हर्दम पश्चिमतिर हेरिरहेका छन् । मोटर साइकल आयो कि आँखा च्यातेर नियाल्छन् । ठूला गाडी आउँदा भने उत्ति साह्रो हेक्का राख्दैनन् ।

दुई घण्टे प्रतिक्षा मालतीलाई सकस भएछ । उनी भुइँमै थ्याच्च बस्छिन् । राजेश पनि उनैलाई साथ दिन्छ । दुवैले पहिलो पटक एक अर्कालाई स्पर्श गर्छन् । अपूर्व आनन्दानुभूतिले दुवै पग्लन्छन् ।

डर भाग्छ । उमङ्ग छाउँछ । मालती अँझ मुलायम बन्छिन् । राजेश भने कठोर बन्न पुग्छ । ऊ मुख खोल्छ– “तीतो सकिएपछि मीठो अवश्य आउँछ मालती ! म वरपरका काँडा पन्छाएरै छाड्छु । सिर्फ तिमी मभित्र प्राण भरिराख ।” ऊ दह्रो मुठ्ठी बनाउँछ ।

“प्रिय ! अनर्थ नसोच । दुःख दिन्छन् । मेरा बाबुको अधर्मी मन तिमीले देखेका छैनौ । तिमीले आवेगमा आएर सत्य देखाइदियौ भने मेरा करङ बाँकिरहने छैनन् । खोक्रो इज्जतको बचावटमा भन्दै तिम्रा हातगोडा पनि सोझा राख्ने छैनन् । कालो मन भएकाहरूलाई सिद्धान्तले जित्न सकिन्न । हार मानेरै बरू जित हात पार्न सकिन्छ ।”

मालतीको सैद्धान्तिक मार्गलाई अनुसरण गर्न तयार भएको भावमा राजेश मनोद्गार प्रकट गर्छ– “ठिक छ प्रिय ! प्रकाशले जहाँ लुकाउँछ, लुक्नू । उसमाथि मलाई पूरा विश्वास छ । दुई/चार दिनमा परिस्थिति साम्य भएपछि लुक्दैछिप्दै म आउँछु अनि भूमिगत भएरै पनि हामी दुई आनन्दले गुजारा गरौँला ।”

त्यत्तिकैमा प्रकाश मोटरबाइकमा आइपुग्छ । ‘ढिलो भएकामा सरी’ भन्दै दश हात परै उभिन्छ । राजेश एक चिम्टी माटो उठाउँछ । मालतीको सिउँदोमा लगाउँदै ठूलै स्वरमा भन्छ– “यस धर्ती र सुनसान रातलाई साक्षी राखी आजैका मितिदेखि मालतीलाई आफ्नी जीवनसंगिनीका रूपमा वरण गर्दछु । र, मित्र प्रकाशका जिम्मामा केही दिनका लागि सुम्पँदै छु ।”

प्रकाश ताली बजाउँछ । मालती बाइकको पछिल्तिर बस्छिन् । प्रकाश तीव्र वेगका साथ बाइक पूर्व दिशातिर हुइँक्याउँछ । राजेश हेरेको हेर्यै रहन्छ ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६
हाल– शिक्षक, श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।

मिति–२०७३–०४–२६
(‘राजेश’ लघुकथोपन्यास–२)

2 thoughts on “‘राजेश’ – २ः सिन्दुर”

  1. नन्दलालजी बधाइ कथाका लागि र
    नन्दलालजी बधाइ कथाका लागि र तपाइँकाे रचनाकर्मका लागि । कथामा उत्सुकता रहे यतिकै ।

  2. HARDIK AAVAR HOM SIR
    sir ! NAMASKAR

    SIKDAI CHHU.
    YASLAI PURA GARNA AT LEAST 100 STORY LEKHNU CHHA.
    SUJHABKO ABHILASI CHHU.

Leave a Reply

Your email address will not be published. Required fields are marked *