Skip to content


उस्ले
आफ्नो हातको बाउलामा
सिगान पुछ्न छाडेको दिनदेखि
खोज्न थालेको हो
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम
आज उस्को तालुबाट
जम्मै कपाल चिप्ली सक्यो
र पनि खोजिरहेकै छ
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम

उस्ले दुखी
उस्को त्यो अनुहारमा
कालो (मसिनो) जुँगारेखी नबस्दै
खोज्न थालेको हो
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम
आज उस्को दुखी गालाभरी
जम्मै दारी फुली सक्यो
र पनि खोजिरहेकै छ
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम

हराउन त कुनै दिन
उस्को तालुबाट
अचानक घाम हराएको थियो

हराउन त कुनै दिन
उस्को चुलोबाट
अचानक आगो हराएको थियो

तर कहिल्यै खोजी गरेन

हराउन त कुनै दिन
उस्को हातबाट
अचानक भाग्य हराएको थियो

हराउन त कुनै दिन
उस्को आँखाबाट
अचानक सपना हराएको थियो

तर कहिल्यै खोजी गरेन

हराउन त कुनै दिन
उस्को खल्तीबाट
अचानक खुसी हराएको थियो

हराउन त कुनै दिन
उस्को सिरानीबाट
अचानक निद्रा हराएको थियो

तर कहिल्यै खोजी गरेन

सायद यी सब कुरा खोज्ने
उस्लाई
कहिल्यै फुर्सद भएन
किनभने हरेकदिन
यहाँ
उस्ले खोज्नै पर्छ
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम
किनभने हरेकदिन
यहाँ
उस्ले बाँच्नै पर्छ

कुनै दिन यदि
उस्ले
पायो भने भनेजति
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम
सन्तोकले ऊ साँझमा
एक गिलास रक्सी खान्छ
र ढल्छ सारो ओक्ष्यानमा
मस्त
पुरै आकाश ओडी
भर्खर
खाएको रक्सी डकार्दै

तर कुनै दिन यदि
उस्ले
पाएन भने भनेजति
कागज, बोतल, पत्रिका
र पुरानो टुटाफुटा फलाम
ऊ हुन्छ रित्तो पेट
ढल्छ ओक्ष्यानमा निराश-निराश
र बरबराउँ छ सपनामा
रातभर
जोर जोरले
“कागज, बोतल, पत्रिका
ऐ हजुर कतै छ ! पुरानो टुटाफुटा फलाम ।”

सुशील शाह

1 thought on “भैया”

  1. निकै राम्राे रचनाका लागि
    निकै राम्राे रचनाका लागि भाइलाइ बधाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *