Skip to content

स्मृतिका पानाबाट – १


२०२१ वा बाइस सालतिरको कुरा हो । हिंउदको बेलामा सेउले पाठशालामा गाउँका समकक्षीहरू पढ्न जान्थे, म भने घरमा पितामाताबाट यसअघि नै अक्षरहरू चिनी निकै माथिका कुराहरू पढलेख गर्ने भइसकेको थिएँ । रुद्री चण्डी र अरु अरु धार्मिक कुराहरू निकै पढिसकेको थिएँ ।

म यसरी घरमै पढेर अलिक माथिल्लो तहको भइसकेको भए पनि सबै साथीहरुले पढ्ने पाठशालामा जान नपाएकोमा दिक्क मान्दोरहेछु क्यारे । अरु अरु साथीहरुका हातमा चित्रसहितको ‘ठूलो वर्णमाला’ को किताब देखेर मलाई लोभ लाग्थ्यो । आमाले कसरी हो मलाई पनि सचित्र ठूलो वर्णमाला किनेर हो वा कसरी हो ल्याइदिनु भयो । अङ्ग्रेजीका धेरै कुराहरू गणित र साधारण जीवनका उपयोगी कुराहरू त्यस ठूलो वर्णमालामा थिए भन्ने लागेको छ अहिले । एक प्रकारको शिशु कक्षादेखि कक्षा आठ नौ दससम्मका लागि कामलाग्दा पाठ्य सामग्रीहरुसँग काम लाग्ने कुराहरू यसमा थिए । आज भोलि पनि बजारमा कताकता देखिन्छ त्यो किताब, आज त्यो कस्तो छ थाहा छैन ।

आमाले ल्याइदिए पछि मलाई यो किताब सक्न कुनै भद्रो हेर्नु परेन । कति बेला सबै पढिसकियो थाहा छैन । यसको सुरुवात अआइई देखि क्षत्रज्ञकै रुपमा थियो । वर्ण, मात्रा, नाम, सर्वनाम लगायतका कुराहरू यसमा क्रमिक रुपमा आएका थिए होला जस्तो लाग्छ । अनि गणितका कुराहरू पहाडा, नीतिका कुराहरू पनि थिए । रामरी पढेका खण्डमा अङ्ग्रेजी पनि यस पुस्तकले केही सिकाउँथ्यो । अहिले अरु सबै ता बिर्सिसकियो तर त्यस पुस्तकका हरेक पाताको तल पुछारमा लेखिएको वर्णपरिचयात्मक कविता भने अहिले पनि कण्ठ छ । त्यो कविताको लेखक को थियो होला, मलाई जान्न पनि उत्सुकता छ । म अदेखि ज्ञसम्मका अक्षरलाई आधार बनाएर लेखिएका ती कविता अब यहाँ प्रस्तुत गर्ने अनुमति माग्छु । अ अक्षरको चिनारीसँग अमलाको फलेको रुख देखिन्थ्यो । अचेका किताबमा ए फर एप्पल भनेको ठाउँमा स्याउ देखाएजस्तो ।

कसैसँग उक्त ठूलो वर्णमाला पुस्तक छ भने भीडाएर हेरे हुन्छ : अलिकति तलमाथि भयो भने मेरो नभई उक्त पुस्तककै मान्नु हुन पनि अनुरोध छ । अक्षर चिनाउने कविता यस्ता थिए :

अमला रुखमा हेर फलेको
आँप उडाऊ आज गलेको ।

इमली अमिलो हुन्छ नखाऊ
ईश्वरको महिमा गुण गाऊ ।

उल्लु हुँहुँ गर्छ कराई
ऊखु मिठो लाग्छ मलाई ।

ऋषिजी बस्छन् ध्यान लगाई
लृ कौवाले लग्यो उडाई ।

एक्कामा चढी जाऊ डिल्ली
ऐनामा मुख हेर्दछ बिल्ली ।

ओखलीमा सब कुट्छन् धान
औषधी वैद्य बनाउँछन् जान ।

अम्बा अमृत तुल्य छ मिठो
अ : यो केटो कस्तो ढिटो ।

कमलको फूल भ्रमराले खायो
खटिया माथि बस्यो खरायो ।

गदाहा माथि छ धोबी चढेको
घडी हेर लौ तीन बजेको ।

ङ्याङ ङ्याङ ङुङ ङुङ बच्चा गर्छन्
चरा बारीमा चारो चर्छन् ।

छडी गुरुजी हातमा लिन्छन्
जहाज जङ्गी जलमा चल्छन् ।

झन्डा फर फर गर्दछ हेर
ञ…ञ बालक रुन्छ कनेर ।

टपरीमा सब खान्छन् भात
ठगले ल्यायो थैली हात ।

डमडम डमरु बज्दछ हाम्रो
ढकनामाथि फूल छ राम्रो ।

ण ण विणा सुन्दर स्वर
तवल तन्हिक तन्हिक जोर ।

थलियामा सब राख्छन् मिठाई
दही ग्वालाले बेच्छन् आई ।

धनुषधारीले हान्दछ तीर
नगरा ढोक्तछ जोध्धा वीर ।

पहलमानहेरु कुस्ती खेल्छन्
फल पाकेपछि भैंमा झर्छन् ।

बखरी बनमा दुबो चर्छ
भन्टा खाए बैगुन गर्छ ।

मह मौरीले जम्मा गर्छन्
यम पापीको सातो हर्छन् ।

रथमा राज भएका राजा
लड्डू लड्काको हो खाजा ।

वकिल हिंडेका अड्डा जान
शरिफा पाक्यो जान्छु म खान ।

षडमुख चले चढी मुजुर
सधवाका शिरमा हेर सिंधुर ।

हरिणीका छन् ठूला आँखा
क्षत्रीय रणका बिघ्न चनाखा

त्रास देखाउँछ राक्षस हेर
ज्ञानी बस्छन् जङ्गल नेर ।।

यति भए पछि मैले सरस्वती स्तोत्र पनि रटेको रहेछु सायद त्यो स्तोत्र किताबको अन्तमा हुनु पर्ने हो । सरस्वती स्तोत्र यस्तो थियो :

सेता कमल्का फूलमा बसेकी
कमल् स्वरुपै पहिरन् भएकी

पुस्तक वीणा सोर असल गराई
सरस्वती वाणी दिनोस् मलाई ।।

धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *