Skip to content


कला कालजयी हुन्छ भनिन्छ । यसको अर्थ कलामा काललाई जित्न सक्ने शक्ति हुन्छ भनेको होला । कला कालजयी हुन्छ भन्ने कुरासित एउटा मूर्तिकारको मिथक कथा गाँसिएको छ । एकचोटि एउटा नामुद मूर्तिकारलाई कालदेखि साह्रै रीस उठ्यो । ऊ ज्यादै सिपालु मूर्तिकार थियो र ऊ लामो आयु बाँच्न चाहन्थ्यो, र कलासाधनाबाट अरु बेजोड सिर्जनाहरू समाजलाई सुम्पिन चाहन्थ्यो । तर कालले उसलाई खबर पठाइसकेको थियो । म फलानो मितिमा लिन आइपुग्छु । तिमीले जति काम गर्न बाँकी छ गरिसक्नू । मृत्युको यो खबर उसलाई नमीठो लाग्यो, अब उसले काललाई टार्ने विषयमा अनेकौँ पटक सोच्यो । कालसित प्रत्यक्ष मुकाविला गर्ने ऊसित कुनै शक्ति पनि थिएन, उपाय पनि थिएन ।

आखिरमा धेरै सोचेपछि उसको दिमागमा एउटा विचार आयो –नाथे म जस्तो मूर्ति कुँद्ने मानिसले अन्य तरिकाबाट कालदेखि छुटकारा पाउने कुरा सोच्नु मृगमरिचिका मात्र हुन्छ । बरु काललाई एकचोटि भने आफ्नै प्रतिभाले झुक्याउँछु । यति सोचेर ऊ आफ्नै मूर्ति कुद्न थाल्यो । आफ्नो मूर्ति यति जीवन्तरुपमा कुँद्यो कि कसैले पनि यो मूर्ति हो भन्न सकेनन् । मूर्तिमा आफ्नै सजीव स्वरुपलाई जस्ताको तस्तै उतार्यो । जुन दिन काल उसलाई लिन आउनेवाला थियो । आफ्नो ओछ्यानमा त्यो मूतिलाई सुताइदिएर मूर्तिकार लापत्ता भाग्यो । नभन्दै तोकिएको समयमा काल आएर मूर्तिकारलाई लिएर गयो । तर त्यो साँच्चैको मूर्तिकार थिएन । मूर्तिकारको प्रतिकृति मात्र थियो । मतलब कालले पनि मूर्ति हो भनेर छुट्याउन सकेन । कलाकार भित्र त्यो प्रतिभा हुन्छ जसले काललाई पनि एकचोटि झुक्याउन सक्छ । एकचोटि नै सही काललाई टार्ने बेजोड क्षमता कलाकारसित हुन्छ । त्यसैले कला कालजयी हुन्छ भनिएको होला ।

अरु सबका सब चिज मृत छन् तर कलामा अमृत तत्व सन्निहित छ । त्यसैले कलाको मृत्यु सोच्न पनि सकिँदैन । साँचो कलाले यमराज मात्र होइन विवेकशील मान्छेपनि झुक्किएको छ । एकठाउँमा बडेबडे चित्रकारहरुको चित्रकला प्रतियोगिता चलिरहेको थियो । त्यहाँ तीनजना बेजोड चित्रकारहरू चित्र कोरिरहेका थिए । कसले सबभन्दा उत्कृष्ट चित्र कोरेर प्रथम पुरस्कार जित्ने कुराको ध्याउन्नमा थिए उनीहरू । ती मध्ये एउटाले फूलको चित्र बनाइरहेको थियो । अर्कोले लहलह हरियो घाँसको चित्र कोरिरहेको थियो, तेस्रो चित्रकारले चाहिँ टोकरीमा पाकेका आँपको चित्र बनाइरहेको थियो । चौथो चित्रकारले चाहिँ ढोकामा झुन्ड्याएको पर्दाको चित्र कोरिरहेको थियो ।

चित्रकलाको मूल्यांकन गर्न बसेको निर्णायक मण्डल नितान्त नवीन तरिकाबाट चित्रकलाको छनौटमा जुटिरहेको थियो । चौरमा आयोजित चित्रकला प्रदर्शनीमा यस्तो दृश्य देखियो । जुन कलाकारले फूलको चित्र बनाएको थियो । त्यहाँ मौरी र भँवराहरू भुन्भुँनाउदै आए । तर त्यो कागजमा कोरिएको चित्रमात्र थियो । मौरीहरू फूलमा बसेर रस चुस्न खोजे । तर साँच्चैको फूल नभएको थाहा पाएपछि मौरी र भँवरा त्यहाँबाट फर्किए । जुन कलाकारले हरियो घाँसको चित्र बनाएको थियो । त्यसलाई देखेर निकैपर चरिरहेको गोरु कुद्दै आयो । घाँस खान खोज्यो । तर त्यो घाँस चित्रको घाँस थियो । गोरुपनि त्यहाँबाट झुक्केर हिँड्यो । त्यसपछि जुन कलाकारले पाकेका आँपको चित्र बनाएको थियो । त्यस ठाउँमा केही चराहरू आएर आँपलाई ठुङ्न खोजे । यसरी क्यानभासमा कोरिएको चित्रको आँपमा चराहरू पनि झुक्किएर हिँडे । अन्तिममा जुन कलाकारले पर्दाको चित्र बनाएको थियो, त्यस ठाउँमा एउटा मानिस साँच्चै मजाले झुक्कियो । साँच्चैको पर्दा ठानेर पर्दा उघारेर कोठाभित्र चियाउन खोज्यो । तर त्यो क्यानभासमा कोरिएको पर्दा मात्र थियो । रङ र रेखाको पर्दा रहेछ भन्ने थाहा पाए पछि ऊ जिल्ल परेर फर्कियो ।

मौरी, चरा, गोरु जस्ता पशुपंक्षी किराफट्याङ्ग्रा झुक्किनु स्वभाविक भए पनि मान्छे त चेतनशील प्राणी ऊ त नझुक्किनुपर्ने हो तर यहाँ मानिसपनी झुक्कियो । त्यसैले कलामा यस्तो अद्भुत जादू हुन्छ । जसले यथार्थको प्रतिविम्बन गरी मानवचेतनालाई पनि भ्रमित गर्न सक्छ । मानिसलाई पनि भ्रमित गर्ने सामर्थ्य भएकोले त्यही पर्दालाई उत्कृष्ट चित्र घोषणा गरियो रे ।

फेरि कला कहिल्यै मर्दैन । कला त जति बूढो हुँदै जान्छ, जति पुरानो हुँदै जान्छ, त्यति नै त्यसले तारुण्यताको आभा फैल्याउँदै जान्छ । कला जति प्राचीन हुन्छ त्यति नै नूतनताको ज्योति फिँजाउँदै जान्छ । त्यसैले ताजमहलको कला कहिल्यै मर्दैन । खजुराहो र कोणार्कका कलाविम्बहरू जति दिन बित्तै जाँदा छन्, त्यति निखार, जीवन्त र शक्तिशाली बन्दाछन् ।

सभ्यताको इतिहासबाट न त अरनिको कलाको अन्त्य भएर जान्छ । न इलियड ओडेसीका पानाहरू मक्किएर जान्छन्, न देवकोटाको मुनामदन, शाकुन्तला र पागलका पन्नाहरू मृत बन्न सक्छन् । असीम, अद्भुत र अद्वितीय कला चेतले, अजम्वरी विचारविम्बले लवालव भरिएका विश्व कलाकृतिमा मृत्युलाई जित्ने पारवार क्षमता सन्निहित छ । पहाडहरू गल्न सक्लान, नदीहरू बल्न सक्लान् । अजम्बरी कलाहरुलाई न जलाउन सकिन्छ, न गलाउन सकिन्छ ।

के मोनालिसाको मुस्कानको मृत्यु कहिल्यै हुन सक्छ ? के माइकल एन्जेलोको पाषाण कलाको मृत्यु हुन सक्छ ? के बिथोविन र मोजार्टका स्वर संगीतको मृत्यु कहिल्यै हुनसक्छ ? के नारायण गोपालका स्वरहरुको मृत्यु कहिल्यै हुनसक्छ ? के शेक्सपियरदेखि सोफोक्लिजसम्मका नाट्यकारिताको मृत्यु हुनसक्छ ? के पिकासो र भ्यानगगका चित्रहरुको कहिल्यै मृत्यु हुनसक्छ ? के सत्यजित रेका सिनेआख्यानहरुको कहिल्यै मृत्यु हुनसक्छ ?

सक्तैन कदापि मृत्यु हुनसक्तैन । किनकि कलामा कालजयी तत्व आवेष्टित हुन्छ ।

पुण्य कार्की

२०६७ कार्तिक २५

Leave a Reply

Your email address will not be published. Required fields are marked *