Skip to content

छरिएका भावनाहरुः पर्देशमा बसेकी चेलीका


हाम्रै पौरखी हात पाउहरुको खाँचो छ त्यो देशमा
हाम्रा सोच विवेक वर्गतहरू खाँचो छ त्यो देशमा
हाम्रा बुद्धि विवेक शक्तिहरुको पर्खाइमा देश छ
नेपालीहरुबाट उच्च तहमा आत्मीय आदेश छ ।

वर्षाको अब याम आउन गयो पानी पर्यो झम्झम
उब्जन्छन् मनभित्र पानी सरीकै इच्छाहरू रंरम
माटोबाट सुवास केही बटुली हावा चल्यो सर्सर
आफ्नो जन्मथलो पसेर स्मृतिमा ऐले भयो हर्हर ।

इच्छा भो अहिल्यै उडेर घरमा पुग्दैछु पुग्दैछु म
अर्काको घरभित्र दुर्नियति यो रुँग्दैछु रुँग्दैछु म ।
के गर्नु अरुका बसेर घरमा अस्तित्व मेटिन्छ कि
टाढै छु छन् ता तथापि मुटुमा त्यो देश भेटिन्छ कि ।

सोचै मात्र छ राष्ट्रभक्ति कसरी यो ठाउमा पाउनु
अर्काको बँधुवा भएर कहिले फर्केर हो आउनु
इच्छा छन् मनभित्र यो पृथिवीका फोहोर मैला धुन
हे वर्षा तिमी झैं सधैं पृथिवीमा पाएँ भने वर्षन ।।

आशा लाग्छ मलाई आज किन हो त्यो ठाउँमै पुग्दछु
आफ्नो जन्मथलो पवित्र छ जहाँ त्यो गाउँमै पुग्दछु
रोपाहार भएर खेतहरुमा रोप्ने छ मेरो मन
सेवा गर्न सकूँ त्यही मुलुकको भन्ने छ आजीवन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *