Skip to content

‘राजेश’ – ४ः प्रेम


मालती र राजेश छुट्टिएको पनि हप्ता दिन नाघेको हुन्छ । दुवै पूर्व र पश्चिम दुई किनारामा रहेर एक अर्कालाई सम्झिरहन्छन् । आठौँ दिन मालती विराटनगरको कुनै साइबर छिर्छिन् र हत्त न पत्त कम्प्युटरको किबोर्डमा औँला खेलाउन थाल्छिन् ।

प्रिय राजेश !

तिमीले लगाइदिएको कल्याणपुरे माटाको सिन्दुरले म सौभाग्यवती भएँ । त्यस भावनात्मक बन्धनले मलाई अर्को सौभाग्य दिलायो । मैले आफूभन्दा उमेरमा जेठो छोरो पाएँ । अहिले तिम्रो प्रिय साथी प्रकाश मेरो छोरो बनेको छ । हरतरहले मेरो हेरचाह गरिरहेको छ । म त त्यसकै ऋणले थिचिने भइयो भन्दै अत्तालिँदै छु ।

राजेश ! म त भन्छु– कसैसँग जुध्न नजाऊ । जुधेर प्रेम सफल हुँदैन । झुकेर प्रेमको बिरुवा टुसाउँछ र झ्याङ्गिन्छ । प्रेम आगो हैन, पानी हो । सिर्जनाको बीज हो । विनासको प्रतिक होइन । प्रेम अङ्कुराउन खोज्छ, चाम्रन चाहँदैन । प्रेम दुःखको छहारीमा बसी सुखको साम्राज्य स्थापना गर्ने हतियार हो । हुन त प्रेममा थोरै स्वार्थ हुन्छ, यसले अवसरको पनि खोजी गर्छ । प्रेम प्राप्ति मात्रै होइन, समाप्ति पनि हो । होस्सहित थोरै पाउनु र धेरै गुमाउनुको अर्को नाम नै प्रेम हो ।

तसर्थ राजेश ! हाम्रो प्रेमको विजयको लागि मशाल बोक्ने काम बन्दै नगर । तिमी त्यहाँ एक्लै छौ, म यहाँ एक्लै छु । हामीलाई जोड्ने प्रकाश छँदै छ । उसलाई काम गर्न देऊ । भनेको मान्छौ भने तिमी छट्टै मकहाँ आइदेऊ ।

उता राजेश भने प्रेम प्राप्तिका लागि विद्रोही बन्ने ध्याउन्नमा हुन्छ । इमेल–पत्र पढेपछि भने भावविभोर बन्छ । प्रकाशको निस्वार्थ प्रेम र सहयोगका लागि शिर झुकाउँछ । मनको आगो शान्त बनाउँछ । र, मुखबाट आवाज निकाल्छ– ‘प्रिय मालती ! म संसारसँग झुक्दै र लुक्दै तिमीकहाँ अवश्य आउँछु ।’

–नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६
हाल– शिक्षक, श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।
मिति–२०७३–०४–२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *