Skip to content


मैले लेखिन आमाको सपना
सपना त हिजै चुँडिसकेको थियो
मैले लेखिन उनको
गन्तव्य, गन्तव्य त हिजै अपुरो भइसक्यो
मैले सोधिन आमा तिम्रो जीवन कहानी
कहानी त हिजै सुनेकी थिएँ
लेखेकी थिए र देखेकी पनि थिएँ
जहाँ तिमीले पीडा र वेदनाको भारी बोकेकी थियौ
मलाई जन्म दिंदा अस्पतालको
मृतुसैयामा प्रसब पीडा सहेकि थियौ
हो आमा मैले सोध्न सकिन आज
तिम्रो सपना तिमीलाई कस्तो छ ?
तिमी कुन अवस्थामा छ्यौ ?
तिमीले टेक्ने लौरो भाँचियो कि उस्तै छ ?
यात अगेनोमा बालेर खरानी बनाइसक्यौ
तिम्रो मैलिएको चोली पनि पसिनाले गन्हाउने भैसक्यो होला
कान्छो भाइ पनि परदेश लागि सक्यो होला
अनि भाउजू तिमीलाई त के नै भनौ र ?
तिम्रो सिंउदोको सिन्दुरको मूल्य फिर्ता नहुदै
देशमा अर्को घाउ बल्झिएको छ
अर्को राँको सल्किएको छ
अनि बाबा तिमीलाई के सुनाऊँ र ?
तिमीले सोचेको जस्तै छोरी बन्नै सकिन
अन्याय अत्याचार पनि सहनै सकिन
हो आमा
फेरि म यो मलिन अनुहार लिएर
तिम्रो काखमा छाउन्न म आउदै आउन्न
किनकि म तिम्रो काखमा आउन लाएक छैन आमा
मलाई थाँहा छ तिमीले मलाई क्षमा पनि दिने छैन्यौ दिदै दिन्यौ
त्यति बेला तिमीले भनेकि थियौ
छोरी सबैको आँखाको नानी बन्नु
घरदेखि बाहिर ननिस्क्नु, ज्ञानी बन्नु
घरको सबै, सबै काम सिक्नु
म जसरी पराई घरमा भित्रिए
तिमी नि त्यसै गरी भित्रिनु
छोरी हौ छोरी जस्तै भएर बाँच्नु
तर आमा म तिमी जस्तै
घरको आगनीमा मात्र बाँधिएर बस्न सकिन
तिमीले सिकाएका सबै कुरा पनि मान्न सकिन
हो आमा त्यतिवेला तिम्रो आशाको लौरो भाँचेर
तिम्रा उपदेशहरू निधारमा कैद बनाएर
म तिमीलाई छोडेर
मुटुमा पत्थर मिसाएर
तिम्रो काखबाट टाढिएकी थिए
त्यसैले विश्वास गर आमा
स्वतन्त्रताको झोला बोकर
संघर्षको रेखाभित्र आफ्नो अस्तित्व राखेर
दुखै दुःखको हस्ताक्षर गरेर
तिम्रा सपनाहरू चाङका चाङ बोकेर
सगरमाथा चढ्नेछु एकदिन जरुर ।

दिपा धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *