Skip to content

कालीगण्डकी महाकाव्यको शैल्यक्रिया



परिचय

नवराज पान्डेय ‘चातक’को जन्म २०२१ सालमा पिता पंण्डित सिद्धिनाथ पाण्डे र माता जानकी पाण्डेका पुत्ररत्नको रूपमा सुवर्ण खाल (१ अर्घाखाँचीमा भएको थियो । हाल उहाँको ठ्गाना बुटवल – ९, रुपन्देही हो । नवराजका नित्यकर्मपद्धि (२०५८),वेद स्तुति नेपाली व्याख्य (२०६४ ), परमानन्दचरितामृत म संस्कृत काव्यम्(२०६८), नित्यकर्मविधि (२०६९), परमलघुमञ्जूषातत्त्वविचार (व्याकरण २०७३), र कालीगण्डकी (महाकाव्य) कृतिहरू बजारमा आइसकेका छन् । नवराजको शिक्षा क्षेत्रका विविधपदमा रहेर आजसम्म माध्यमिक शिक्षण सेवा (२०४४–२०४७) र नेपाल संस्कृत विश्वविद्यालय सेवा (२०५० देखि हालसम्म)मा लामो अनुभव छ साथै शिक्षा क्षेत्रमा उहाँले पुर्याएको योगदान अनुकरणीय छ । शिक्षा क्षेत्रमा पुर्याएको लामो योगदानलाई कदर गर्दै शिक्षा पुरस्कार (२०६४ले विभुषित हुनु भएको छ । त्रिवेणी साहित्य परिषद, नवलपरासीको आजीवन सदस्य हुनुहुन्छ ।

कृतिको संरचना– विविध छन्दलाई अङ्गाल्दै काव्यकारले पन्ध्र सर्ग र १०५३ श्लोकबाट यस महाकाव्यको सिर्जना गरेका छन् । यस महाकाव्यलाई त्रिवेणी साहित्य परिषद्ले प्रकाशन गरेको छ र मूल्य ५०५/– रुपियाँ राखिएको छ । राष्ट्रकवि माधव घिमिरे, डा. स्वामी रामानन्द गिरि, स्वामी ज्ञानानन्द सरस्वती, आचार्य खेमराज केशवशरणको शुभकामना, प्रा.डा.नारायणप्रसाद खनालको प्रकाशकीयको साथै प्रा.डा. वेणीमाधव ढकाल र वरिष्ठ कवि गोविन्दराज विनोदीले भूमिका मार्फत यस महाकाव्यको गहनतामा प्रकाश पारिएको छ ।

महाकाव्यभित्र प्रवेश गर्दा – नेपाली साहित्यमा महाकाव्यको संख्या त्यति धेरै छैनन् । आदिकवि भानुभक्त आचार्य(१८७१–१९२५)को रामायण (१९४४) नै पहिलो अनुदित महाकाव्य मानिएको छ । रामायण नै नेपाली साहित्यको पहिलो अनुदित महाकाव्य हो भन्ने कुरा प्रमाणित पनि भैसकेको छ तापनि सोध अनुसन्धानका क्रममा उदयानन्द अर्याल (१८१३–१८९३) को पृथ्वीन्द्रोदय (१८३०–१८४०)तिर रचित तथा २०६८मा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएको देखिन्छ । देवीदत्त पराजुली (१९३०–२०१०) को कविता गुच्छाहार(२००५) यस पछि रेवतीरमण पराजुली (१९३३–१९९८) को विश्वजित लीला (१९६६), बैजनाथ जगन्नाथ सेढाई (१९४६–२००९)को चन्द्रमयूख भूचन्द्रचन्द्रिका (१९७०) । यसपछि २००१सम्म महाकाव्यको लेखनी भएको पाइँदैन । महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६)ले शाकुन्तल (२००२), सुलोचना (२००३), महाराणा प्रताप २००३), प्रमिथस (२०२८) र पृथ्वीराज चौहान (२०४९) गरी पाँचवटा महाकाव्य लेख्नुभयो । सोमनाथ सिग्द्याल (१९४१–२०२९)को आदर्शराघव (२००५), हरि अरविन्द (२००८)को वैवश्वरा विजय, आर.डी. प्रभास चटौत (१९९६)को प्रभास गीता, लेखनाथ पौड्याल (१९४१–२०२२)को तरुणतपसी (२०१०), गङ्गा गौरीको (अपूर्ण) (२०६३) बालकृष्ण सम (१९५८–२०६८)को चिसोचुलो (२०१५), देशनरेश (२०१७), राष्ट्रिय चरित्र (२०१७), कादम्बरी (२०४३) गोविन्दप्रसाद भट्टराई (१९६७–२०४३)को पृथ्वीमहेन्द्र (२०१९) भावना (२०२०), हरिहर शास्त्री (१९८०–२०३४) को उषा विनोद (२०२४), रम्भा (२०२५), धरणी (?),भरतराज मन्थलीय (१९८२–२०५८)को देवयानी (२०३९) र श्रुतिरौरभ (२०५८), पीताम्बर भोला (१९८९)( मङ्गल सुषमा (२०२२) शिवासन्तति (२०४२) र सारस्वतेय (२०४२), मोदनाथ प्रश्रित (१९९९)को मानव (२०२३) देवासुर सङ्ग्राम (२०३०) मोदनाथ शास्त्री (२००२)को भानु (२०२४), गुरुदक्षिणा (२०६२), ज्वलन्त नक्षत्र (२०६०), गणेशमान (०५८), आधुनिक ब्रह्माण्ड पूराण (२०६२) र तिलाञ्जली (२०६८), निरविक्रम प्यासी (१९९९)को दवला (२०२४), गुणराज उपाध्याय खनाल (१९७२–२०३१)को श्रीकृष्ण सन्देश (२०२९), भरत मिलन (२०२९) र शाह वंश (२०२०), जयदेव पौडेल (१९७४–२०४४)को गोरखा ख्यायिका (२०३३), उमानाथ शास्त्री सिन्धुलीय (१९७८–२०३५)को मकवानीवाला( २०३५), जगदीश सम्शेर राणा (१९८६) को नरसिंह अवतार (२०३७), लक्ष्मण शास्त्री (१९७४–२०४९)को धर्मराज युधिष्ठिर(?) दुर्गादत्त पौडेल(?)को श्रीस्वर्गद्वारी महाप्रभु चरित्र (?), गणेशबत्रहादुरखत्री (१९९२)को चमेली चन्द्र (२०३७) श्रीहरि फुयाल(२०१५)को आँसुको सङ्ग्रह (२०३६) र कर्मयोगी देवकोटा (२०६४), रामचन्द्र गिरी (सन् १९०५)को समाजदर्पण (२०३९), भरतराज पन्त (१९८६–२०६२)को दोभान २०४१), मोहन दुखुन (सन्१९४९)को मन्दाकिनी (२०४१ दार्जिलिङ), तुलसीराम कश्यप (१९९५(२०५४)को जन्मभूमि (२०४३,सिक्किम), आमा २०४५, सिक्किम) र मन्थन (२०५०, सिक्किम), भोग्यप्रसाद भण्डारी (१९८६–२०५३)को षडानन्द चरित्र (२०४३), पूर्णप्रसाद शर्मा (१९८०–२०४३)को त्रिवेणी (२०४३), वसन्तकुमार शर्मा नेपाल (१९८४)को विप्रलम्भ (२०४४), गौरीशङ्कर उपाध्याय (सन् १९५१)को शङ्कर (२०४४, भुटान), पवनकुमार खनाल (२०१६)को रामदास (२०४५) रमा (२०४५), विश्वप्रतिविम्ब (२०४५), र स्वदेशी सुमन (२०४८), भानुभक्त पोख्रेल (१९९३)को मृत्युञ्जय (२०४७), जागृतिराग (२०५६) र हिमवत्खण्ड (२०६४), चन्द्रप्रसाद ढुङ्गाना (१९७७–२०४९)को भीमयात्रा (२०४७), शैलेन्द्रुप्रकाश नेपालको जुनु (२०४८), अनामिका (२०५६)र डायना (२०६१), रामनाथ शर्मा खनाल (१९६६–२०६३)को पाण्डु (२०४९) र प्रजातन्त्रोदय (२०४९), रमेश खकुरेल (१९९९)को सरिता नानी (२०४९) र स्रग्धरा ( २०५९), लक्ष्मीप्रसाद पोखरेल (१९७२)को वेनवैन्यवर्णन (२०४९) डा. रामप्रसाद ज्ञावली (२०२४)को औंसीका फूलहरू (२०५३), ऋषिप्रसाद खनाल (२०२०)को आर्यावर्त (२०५१), गोपीकृष्ण अधिकारी को गङ्गा (२०५५) र भावना (२०५७), मदनदेव भट्टराई (१९९५)को जीवनस्मृति (२०५२), पूर्णानन्द भट्ट (१९९०)को शान्ति विज्ञान (२०९५३), चन्द्रप्रसाद न्यौपाने (२०२४)को सोल्मू (२०५३), प्रत्याघात (२०५५), सीमाना (२०५८), गौतमबुद्ध (२०५९), सिपाही (२०६१), मान्छेको यात्रा (२०६१), म (२०६२), आकास्मिक (२०६५) र चन्द्रयुग (२०६५), प्रा. ठाकुरप्रसाद आचार्य (२००५)को यात्रा (२०६२), इन्दुपन्त (२०१४)को यातना (सचित्र), ओमवीरसिंह बस्न्यात (१९९५) को पासाङ ल्हामु (२०५४), सेवासैनिक झपट (२०५६), पृथ्वी (२०५८) भानुभक्त (२०६१) र चक्रपाणी (२०६३), कृष्णप्रसाद आचार्य (१९९१) को निजानन्द दिग्दर्शन (२०५५), भूवनहरि सिग्देल (२०१०)को धरणीधर (२०५५), मेनुका (२०५७) र विभूधरा (२०६१), सावित्री सङगम थापाको जीवनधारा २०५५), पूर्णप्रकाश नेपाल ‘यात्री’ १९९१( कोव सन्तपल्लव (२०५५), सिंजापतिवाला (२०५७), सिद्धिचरण सञ्चरण (२०६०), र उलूपी (२०६५), तारणीप्रसाद कोइराला (१९७९–२०३१)को नैनी (२०५६), नारायणप्रसाद उपाध्याय अर्यालको त्रिजन्मा (२०५६), दुर्गाप्रसाद अधिकारी (२०००) को बालागुरु (२०५६), ऋषिराम न्यौपाने (१९९५)को पुष्पाञ्जली (२०५७), पोषराज पौडेल (२००१)को शहीदगाथा (२०५७), प्रा शिवगोपाल रिसाल(२००१)को पद्मकन्या (२०५७), नरेन्द्र पराशर (२०५७)को गौरीशङ्कर (२०५८) जीवराज पोख्रेलको शिक्षक शिष्य संवाद (२०५८) र बुद्धचरित्र (२०५९) नारायणप्रसाद पौडेल (?)को गौरीश्वर (२०५८),, कुलचन्द्र कोइराला (१९७४–२०५८)को भीमसेन थापा (२०५९) गोविन्दप्रसाद घिमिरे (२००७)को प्रेरणा २०५७), युगनायक (२०५९) मृत्युचक्र (२०६०) र परिचय (सन् १९९८), डिल्लीजङ्ग गुरुङ (१९६१–२०२१, नेपाली तुलसी रामायण( २०५७), प्रा.डा. रमेशचन्द्र अधिकारी (२०११)को पद्म दुर्गा (२०५३) र सीतायन खण्ड, (१–११) (२०५५–२०६७), भीम बिराग (१९९१–२०६८)को मोहभङ्ग (२०५९), डा. कृष्णप्रसाद आचार्यको केवलमान (२०६०) र अन्त्यारम्भ (२०६१), बुनु लामिछाने (२०३१) को याचना (२०६०) र विद्रोही इन्द्रकुमारी (२०६४), माधव वियोगी (२०१८)को छन्दशिरोमणि (२०६०), धर्मराज (२०६१) जगदम्बा (२०६२), जुरेली (२०६३), पुष्पलता (२०६४) र नाट्यसम्राट (२०६७), सोमराज अभय कट्टेल (१९९८)को विद्रोही काले (२०६५) र महार्चन, खेमनाथ दाहाल (२००९)को योद्धा (२०६०), श्वेतपत्र (२०६७), सदानन्द अभागी (२००३)को तीन युग एक कथा (२०६०), अग्निज्वाला (२०६१) र सिंहवाहिनी (२०७३,) भूषण हुमागाइको तथागत (२०६१), काशीनाथ न्यौपाने (२००८)को विरजा (२०६२), नारायणप्रसाद गौतम (२०१७)को कुमारगौरब (२०६२),गौरीवल्लभ (२०६३), रमेशचन्द्र (२०६४) र भवानीवैभव (प्रकाशोन्मुख), गुन्जमान विश्वकर्मा (२०१९)को विष्णु भगवानको महावाँणी (२०६२), होमनाथ पौडेल (हिमांशु,२००६)को विभूति दर्पण (२०६२) होमनाथ सुवेदी (२००४)को यो समाज, डा.गणेश कुमार पौडेल (२०१०)को सुङ्गुरको महिमा (२०६७), निलकण्ठ भट्टराई (२०१४)को महामानव (२०६३), रामनाथ अधिकारी सँगी( २००६)को श्रीस्वस्थानी (२०६४), मनिराज (२०६५), र बलराम (२०६६), छन्दिका घिमिरे (२०४२)को आदर्श पूष्पा (२०६४) जनार्दनशरण त्रिपाठी (२००४)को नेपालश्री (२०६४), हरिहर सविता (२०१०)को पुष्पपत्र (२०६५) कलानिधि दाहालको विभाजित विश्व (२०६५), छन्दमणि त्रिपाठी (२०४४)को नयाँ नेपाल (२०६७), नारायणप्रसाद पोखरेल (२०२०)को अमर गाथा (२०६७), भूपेन्द्र सुवेदी (१९९५) को मङ्गला (२०६७), विष्णु भण्डारीको (उत्सर्ग (गद्य–२०६७), ईश्वरी ओझा (१९९६)को अभिभारा (२०६८), नवराज लम्साल (२०२६)को कर्ण (२०६६), वसन्त बराकोटी (२००४) को मुक्तिसङ्ग्रह (२०६८) प्रा.डा. वासुदेव त्रिपाठी(१९९०)को लोकलज्जा (२०६८) र तनहूँ (२०६९), भीमकुमार श्रेष्ठ को बन्दीपुर (२०६९), रचनाकार ?, परलोकतन्त्र (२०६९), डा. वेणीमाधव ढकाल (२००५)को रश्मिप्रभास (२०६९), मनिराज जोशीको शैलेश्वरी (२०६७), मोहनप्रसाद खनालको यात्रा (२०६७), गोपाल अस्क (२०१८)को प्रेमान्तर (गजल महाकाव्य, २०६२), कृष्णादेवी शर्मा श्रेष्ठ (२००९)को क्रान्तिकारी विश्वेश्वर (२०६९) प्रह्लाद प्रधानको खोटाङको डायरी (२०६१) लकास पौडेलको शौर्यगाथा (२०७०) श्रमजीवी यात्री (२०२५)को हिमालपारी (२०७१),माधवप्रसाद चालिसे(२०१४)को जीवनयात्रा (२०७३) र नवराज पाण्डेय ‘चातक’(२०२१)को कालीगण्डकी(२०७४), आदि महाकाव्यहरू प्रकाशमा आएका छन् । महाकाव्यको संख्या धेरै नभए पनि उपरोक्त संख्याका मात्र महाकाव्य हुन् भनेर किटानी साथ भन्न सकिदैन ।

अब जाउँ नवराज पाण्डेजीको कालगण्डकी महाकाव्यभित्रका सर्गगत भावसारतिर । कालीगण्डकी एउटा पावन नदी हुन्, जस्लाई हाम्र वेद पूराण उपनिषद आदिले यस नदीको ठूलो महत्त्व दिएका छन् । भनिन्छ कालीगण्डकीमा स्नान गर्दामात्र मानिसले मोक्ष प्राप्ति गर्दछ । यिनै पावन नदीलाई नायक बनाएर नवराजजीले यस महाकाव्यको सिर्जना गर्नुभएको छ । नवराजजीको सर्गगत भावनाको पोखााई मैले केलाउने कोसिस गर्छु।

पहिलो सर्ग– यस सर्गमा महाकविले ५वटा उपशीर्षक समावेश गरका छन् प्रथम उपशीर्षकमा जगत सिर्जनाकर्तालाई स्मरण गर्दै मङ्गलाचरणबाट काव्यको थालनी गरेका छन् ।
दोस्रो उपशीर्षकमा क्षमायाचना गरिएको छ । यो संसारमा आएर विषय रसमा मनको रमण, सतपन्थतिर पनि नलागेको, कालीमा ननुहाएको, गुरुवचनका स्मरणमा नराखेको, नतपस्याको नै चर्चा गरिएको, जनक जननीको सेवा पनि नगरेको, सन्न्यासी योगीको सङ्गत नगरेको,न ब्रत नै बसेको आदि भावनालाई समरण गर्दै काव्यकार जननीको चरणतलमा गएर क्षमायाचना गरेको धारणालाई पस्कनु भएको छ ।

तेस्रो उपशीर्षकमा काव्यकारले गण्डकीको पूर्वबृत्तमा प्रकाश पार्दै गण्डकी दिव्यवालाले विष्णुको तप गरेर हरिको दर्शन पाई हरिले वरमाग्ने धारणा राख्दा उरमा पुत्रभै आउने वरमाग्दा यो कल्प बितेर तिमी गण्डकीको रूप लिनु र म वृन्दाको शपथलाई पुरागर्दै शालग्रामी सुत बनेर नित्य तिम्रो उरमा रहौंला भन्ने वरदान विष्णाुबाट प्रदान भएको र सो कल्प बिताएको वर्णन यस उपशीर्षकमा आएको छ ।

चौथो उपशीर्षकमा गण्डकीको वृत्तको बारेमा वर्णन गरिएको छ । काव्यकारले गण्डकीको स्वरूप कसरी बन्यो भन्ने यथार्थता कविकै शब्दमा अध्ययन गरौं–

गर्दा धेरै समय हरिले दिव्य शैवी तपस्या
बढ्दै योगानल भूवनमा दन्कियो ज्योति लप्का
ताती गण्डस्थल चिटचिटी स्वेदका बिन्दुरूप
टप्के धारा सलल बहने गण्डकीका स्वरूप
(श्लोक १३, पृष्ठ ३)

पाँचौं उपशीर्षकमा मुक्तिनाथको वर्णन गरिएको छ । अमृततूल्य वहने ती १०८ धाराहरू नै मुक्तिनाथको अमूल्यता हो । यही नदीलाई गण्डकी भनिने र यो अघि बढेर कागवेनीमा पुगेर कालीसँग मिलेको वर्णको साथै जहाँ नारायणले आफ्नो कवोल बमोजिम आएको भन्ने धारणाको साथमा पा्रकृतिक सौन्दर्यता (गण्डकीको सौन्दर्यता)लाई सुन्दर रूपमा वर्णन गरिएको छ । कालीको वृत प्रथम सर्गको छैटौं उपसर्ग हो । यसमा कालीको मुहान दामोदर कुण्ड भएको र त्यहाँबाट बग्दै निस्केको जल कागवेनीमा आएर काली र गण्डकीको मिलन भएकोले यस गङ्गाको नाम कालीगण्डकिरहन गएको धाारणा आएको छ र यस सर्गमा दामोदरले गोता लाएको र आफ्नो नाम दिएर जल पिएको आदि बर्णन साथै प्रकृतिक सौन्दर्यताले यस उपशीर्षकलाई रमणिय र अनुकरणीय बनाएको छ ।

दोस्रो सर्ग – यस सर्गमा काली गण्डकीको वहाव टुकुचे,तिर हुँदै पानी खोज्दै बसेकाको तिर्खा मेट्दै, कन्दरा खोच तर्दै र कृषका अन्नका भकारी भर्दै, राखु थलामा आउँदा रघुनदी मिल्न आएको, यिही पाखामा पुलहमुनिले कठोर तपस्या गरेको, इन्द्राशन नै हल्लिएको र पुलहमुनिको तप भङ्ग गर्नको लागि परिहरूको आगमन र विविध नाचगानले पनि तप नतोडिए पछि इन्द्र आएर पाउ छोइ इन्द्रले माफी मागेको र सुरेन्द्रलाई अभयवर दिई मुनि कृष्णा गण्डकीमा समाधिस्थ भएको बर्णन पाइन्छ । यस सर्गमा काव्यकारले अति मीठो तरिकाले अप्सराको कामुक क्रियाकलापको र प्राकृतिक सौन्दर्यको मीठो वर्णन गरेका छन् ।

तेस्रो सर्ग –यस सर्गमा काव्यकारले काली गण्डकीले शरण परेकालाई पार गर्ने, यहाँ तपसीले तपस्या गरेको वर्णन गर्दै भरत चरित्र नामक एउटा उपशीर्षकमा भरतले राज्य ऐश्वर्य छाडेर तटमा पर्णशाला बनाई परम सुखको ध्यान गर्दै बस्दा बाघले एउटा गर्भिणी हरिणी माथि आक्रमण गर्दा हरिणी बाँचनको लागि काली गण्डकीमा हामफाल्दा उदर फाटी हरिणी पल्लातिरमा गई प्राण गएको, बच्चा वारि तिरमा भरतका पासमा आएको,भरतले बच्चालाई राम्रोसँग पालन पोषण गरेको,पाल्दै पोष्दै जाँदा ठूलो भई हरिण गणमा गएका, मुनिले हरिणको खोजीमा तल्लिन भएर सन्ध्या –भजन समेत विर्सेको शिशु विरहले बलिन्द्रधारा बगेका र भरतमुनिका विविध भवनाहरू मनमा खेल्न थालेको धारणा यस सर्गमा आएका छन् ।

चौथो सर्ग – यस सर्गमा भरतको स्वप्न वर्णन नामक एकउपशीर्षक छ । यस उपशीर्षमा मृग शावक हराएको, भरत मुनिले स्वप्न देखेको, यसैको शोकमा भरत मुनिको मृत्युवरण भएको, कालीतटमा नै भरतले मृगको रूपमा अर्को जन्म लिएको, मृग शावकलाई पनि हरिणहरूले नयाँ भनी लखेटेपछि भरतको कुटी र भरत खोज्दै आउँदा भरतलाई भेट्न नपाई मृगशावक पनि भरतको चिन्तामा मरेको र सिन्धुराजा भै जन्म लिएको । भरत मुनि पनि वासनाको कारणले गर्दा मृग भएर जन्म लिएका, यस जुनिमा पनि वैराग्य आई कालीगङ्गाको जलमा आधा देह डुबाएर प्राण त्याग गरी तेस्रो जुनीमा जडभरत भएर जन्मेको र जडभरतले कालीमै स्नान सन्ध्या गरेर मुक्ति पाएको विवरण काव्यकारले पस्केका छन् । काव्यकारले यस सर्गमा भरतको कारुणिक अवस्थाको वर्णनले सबैको मन छुन्छ र प्रकृतिक सौन्दर्यको वर्णन पनि उत्तिकै उच्च देखिन्छ जस्ले गर्दा यस काव्यलाई उच्चाइमा पुर्याएको छ ।

पाँचौं सर्ग – यसमा सन्तहरूको वृत्त उप शीर्षकमा सन्तहरूले कालीगण्डकीको तटमा बसी तपस्या गरेको वर्णन, म्याग्दी गलेश्वरमा ईश्वरानन्दले पाटी पौवा, मठ र पीठहरू बनाएको वर्णन को साथै सिद्धिनाथको, पुलह मुनिको, प्रसँग पनि जोडिएको छ । यस सर्गमा प्रकृतिको सौन्दर्यता, कालीको पवित्रता यहाँ अनेकोको उदय र यही काली गण्डकीमा देहलीला विसाएर दिव्य ऐश्वर्यको साथमा पार लाएको वर्णनको साथै कालीगण्डकीको शरणमा पर्नेको जो कोही पनि अनाथ हुन्न भन्ने धारणा आएको छ ।

छैटौं सर्ग– यस सर्गमा वेनीको वरिपरि उपशीर्षकमा विनीमा म्यग्दी आएर मिल्ने, निरये घाटको वर्णन, काठे खोला, बाग्लुङ् कालीमाई, काली निकटमा परमानन्द तपसी उदाए र कालीमै बिसाएको, गुरुकुलु म्न्दिरहरू नभएका, कलियुगमा अशिक्षको कारणले हिंसा अतिशय बढेको, बुद्ध मुनिले अहिंसा, शम्भुमुनि, कुश्ममा आएर मोदिको मिलन भएको र यहाँ विभिन्न सुरका मन्दिर बनेका, र यहाँ व्याधले चरीलाई मारेको चरो व्याकुल भएको मार्णिक बर्णन पनि समावेश गरिएको छ ।

सर्ग सातौं – यस सर्गमा उपशीर्षक छैन । यसमा पूर्तिघाटको, सेती खोलो मिसिएको स्थान सेतीबेनी तीर्थ, आँधी खोलो, कार्कीनेटा, नाउडाडाँ हुँदै आएको र कालीमा मिसिएको, मिर्मीमा कालीलाई थुनेर बिजुली निकालेको, रुद्रवतीको रुद्रवेणीमा भार्से बर्खे, डहरे उल्लि खोला लुम्दी, रुद्रवेणी धाम, रुद्र गङ्गा, देवपाटन, दण्डी स्वामी र गुरुपरमानन्दको योगदान, कालीपारे युवतीको सौन्दर्यको बर्णन, शिव–सती–वृत्तको शक्तिपीठ, भृगुमुनी, भृगुतुङ्गेश्वरआदिको बारेमा महाकविले सुललित रूपमा वर्णन गरेका छन् ।

आठौं सर्ग– यस सर्गमा काव्यकारले रिडीको प्रसँग उपशीर्षकमा रुरुको महान महिमा, कलिकल्मषहारी हरि स्वयं यस धाममा कृष्ण शिला बनेको रुरुनदी (रिडी नामवाली) काल्मिा मिसिनु र यस सङ्गममा स्नान गर्दा त्रिऋणहरू नाशहुने र यसमा काव्यकार नुहाउन डराएको धारणा पस्किएको छ । यसै सर्गमा देवदत्त वृत पनि समावेश गरिएको छ । वेदभ्यासी भृगुकुलसुधी,देवदत्त तापसीले गोल्फुलेमा तप गरेको उनको तपले विश्व नै थरथराएकोले स्वर्गबाट प्रम्लोचना अति सुन्दरी अप्सरालाई देवदत्तको तप भङ्ग गर्नको लागि पठाइएको, अप्साको सौन्दर्यमा देवदत्तको मन पग्लिएको र प्रम्लोचासँग आनन्द भोग गरेको, अप्सराले दिव्य कन्याको जन्म दिएर स्वर्गतिर लागेको वर्ण यस सर्गमा काव्यकारले बडो आकर्षक रूपमा बर्णन गरेका छन् । प्रम्लोचाको शारिरिक सौन्दर्यको बर्णनले यस सर्गलाई निकै रोचक बनाएको छ । साथै पाणिनि लगायतका मुनिहरूले समाधी लगाएको, वर्णन पनि यसमा अध्ययन गर्न पाइन्छ ।

नवौ सर्ग–यस सर्गमा रुरुकन्या एक उपशीर्षक दिएर तिनै प्रम्लोचाले बच्चा जन्म दिएर छाडी स्वर्गमा गएको र उक्त बच्चा रोएको सुनेपछि प्रसूति अवस्थामा बच्चा मारिएकी हरिणी आएर बच्चालाई दूध खुवाएको गर्गले यी कन्याको नाम रुरु कन्या भनेर नामाकरण गरिएको । रुरु भनेको मृग हो र यसबाट मृगले नै दूध खुवाएर हुर्काएको वर्णन, रुरुले सयौं वर्ष तपस्या गरेको र चतुर्बाहु हृषीकेश वर मागभन्दा अविनाश हृषिकेश नै पाउँ भनी वरमागेको, हृषिकेशले स्व वर दिएको साथै रुरु क्षेत्र भनी यस क्षेत्र नाम प्रसिद्ध हुने वर दान दिनु र शिलामा हृषिकेश प्रवेश गरेर रहने र त्यही शिलालाई रुरुले पूजा गरेर अन्त्यमा शिलालिई गण्डकीमा पसेको र हृषिकेश गण्डकीको गर्भमा रहेको बर्णन गरिएको छ ।

दशौं सर्ग –यस सर्गलाई हृषिकेश र रिडीको सेरोफेरो गरी दुई उपशीर्षकमा वर्णन गरिएको छ । शालग्राम शिलारूपी हृषिकेश चतुर्भुज त्रेता द्वापरमा कालीको गर्भमा रहेको पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनले सपनामा नदीमा विष्णुको दर्शन पाएको र गण्डकीमा आई स्नान गर्दा राजाका शिरले विष्णुको शिलामय मूर्तिलाई छोएको, र निकालेर पाल्पा दरवारमा लाने इच्छ्या हुँदा लान नसकेको र राजाले यहीं तटमा रहने विष्णुले राजालाई सपनामा भनेपछि मुकुन्दले देवालय बनाएर पूजाको व्यवस्था मिलाएको, धर्मशालाहरू बनेका, आदि बर्णन गरिएको छ ।रिडीको सेरोफेरोमा महादेवले सतिको देह बोकी हिड्दा जहाँ जहाँ देहका टुक्रा खसे त्यहाँ त्यहाँ शक्ति पीठ बनेका र यहाँ पनि सतिका उपल्ला दन्तपङ्क्ति खसेको शक्तिपीठ बनेको आदिको वर्णन सहित एउटा बालक आमाको वियोगमा हामफाल्दा स्वजनले बचाएको कथालाई कारुणिक रूपमा वर्णन पनि गरिएको छ ।

एघारौं सर्ग –यस सर्गमा हालको नेपालका युवा विदेशीने र विदेशबाट लास आउने घटनाक्रमलाई समावेश गरेको देखिन्छ । ३० वर्षे युवाको विवाह एउटी २४ वर्षे युवतीसँग भएको, पति विदेश जानु, विदेशमै मर्नु, लास आउनु साथै उक्त युवती विरह वेदनाले सुटुक्क कालीमा हामफालेको वर्णन गिएको छ । और्वको अर्गली गाई घाट,जहाँ और्वले तपस्या गरेको, यहाँको कृषि प्राकृतिक सौन्दर्यता, स्थानीय जनजीवनआदिलाई समेट्ने प्रयास गरिएको छ ।

बाह्रौं सर्ग– यस सर्गमा युवा युवतीको प्रेम प्रसङ्गको साथै सौन्दर्य वर्णन,, युवकले अध्ययन गरेको,, अध्ययन पछि विवाहका कुरा, युवतीको सौन्दर्य वर्णनमा कालिंदासकी सकुन्तला र महाकवि लक्ष्मीप्रसाद देवकोटाकी मोनालिसासँग दाँजिएको विवरण यहाँ प्रस्तुत गरिएको छ ।सिङ्गारिक र सौन्दर्य वर्णन मुक्त कण्ठले गरिएको देखिन्छ ।

तेह्रौं सर्ग–यस सर्गमा १४ उपशीर्षक समावेश गरिएको छ । प्रथम उपशीर्षकमा रानीघाटमा रुद्रशम्सेरले प्रियाको वियोगको पीडाको कारणले गङ्गातटमा रानी महल बनाएकोले यस स्थानले रानी घाटले प्रसिद्धि कमायो । राम्दीमा कालीले पहाड पर्वतलाई चिर्दै विधिरचित गुप्फा छिर्दै राम्दी पुगेको र अघि बढ्दा छर्ती खोलाले स्वागत गरेको वर्णन पाइन्छ ।

हुँगीघाट –हुँगीको जल हुँगी घाटमा मिले को तीर्थ स्थल बनेको धारणा आएको छ । खोरीया घाट निर्माण भएको, यहाँ खोरलाई स्वयं आत्म मानेर मानव जिन्दगी बितेको धारणा आएको छ ।
केलादी घाट – गङ्गाको तिरमा रम्य केलादी घाटको निर्माण भएको, यहाँ निम्बार्कसञ्चालित वैष्णवी तत्त्व यहाँ खुलेको, कौमुदी पढ्ने पाठशालाहरू खुलेका वेदका कण्डिका(वेदका ऋचा)हरू गुञ्जिएका आदिको साथै गोपी दामोदरको प्रसँग पनि उठाइएको छ ।

देवघाट –काली गण्डकी देवघाटमा ओर्लिएको र त्रिशुलीसँग तादी मादी सेती, मस्र्याङ्दी, बुढी गण्डकी त्रिशुलीसँग मिसिएर आएको र सप्त गङ्गाको नामकरण भएको । यहाँ त्रिशुलीसँग काली गङ्गाको मिलन भए पछि नारायणी नामाकरण भएको । यही नै ब्रह्मवेत्ता बशिष्ठ तपरत भएको, यही पाखाको शिखर नजिकै व्यासले जन्म लिएर, निगमसरको (वेदको) दिव्यगङ्गा बगाएको, अमरपुरको एउटा चोइटा देवघाट भएको आदि वर्णनबाट सुसज्जित छ देवघाट ।

त्रिशुली को मूल गोसार्इँकुण्ड हो । अत्रिको तपस्थल गौरीको वाम पाऊका पसिना तलतिर वर्षिएको,समुद्र मन्थनको वेला निस्केको कालकुट विष पिएर शम्भु नीलकण्ठ भएको र प्रचण्ड विषको डाह मेटनको लागि महेश्वरले त्रिशूल धस्दा कुण्ड भुल्का निरन्तर बहेको र शिवलाई शीतलो जलधाराले डाह शान्त भएको, पर्वतको नाम नीलकण्ठ रहेको त्रिशुलीले गौरीका पसिनासँग विशाल महिमा वोकेको धारणा आएको छ ।

ताँदी –लार्के हिमालकी तादी, गौरीका चिउँडाबाट पसिना निस्केर ताता कुण्ड बनेकोले सूर्यमती पनि भनिने, कतै नेत्रावती पनि भनिने र नुवाकोटको देवीघाट,जहाँ जालपा महेश्वरी भएको ठाउँमा त्रिशूलीमा मिल्ने धारणा राखिएको छ ।

मादी – गौरीका थरि थरिका पसिना चुल्ठाबाट निस्के र रत्नकुटादि ्र माहेन्द्री नाम हुँदै दमौली घाटमा आएर सेतीमा मिलेको र बीचको स्थल द्वीप बनेको । पारसर ऋषि नदी तर्न माझीलाईभन्दा माझिले छोरी मत्स्यगन्धालाई ऋषिलाई ताारी दिने भनेपछि छोरीले तार्दा ऋषिले वादल उठाएर मत्स्यगन्धालाई सम्भोग गरी बालक जन्मेको,बालकले दुःखमा सम्झनु भन्दै गुफातिर लागेको, मत्स्यकन्या बसुकी पुत्री जो बसुको वीर्य पतन भएको र माछाले खाएर गर्भ रहेको, माझीले जाल हानी निकाल्दा ती कन्या माछाको पेटबाट निस्केकी माझीले पालेकी, यिनै सन्तनु राजाकी रानी भई ऐस्वर्य भोगी स्वर्ग गएको र व्यासले दमौलीमा तप गरी पूराणादि लेखेको, बदरी वनमा बस्दा यिनको नाम बादरायण थियो तर वेद विस्तार गर्नाले व्यास नाम प्रसिद्धि भएको धारणा आएको छ ।

सेती – गौरकिा पसिना सेता गण्डस्थली चुहेर निस्केको माछापुछ्रेको मणिकूट हिमालबाट निस्केकी यी नदीको सेती, शुक्ला, सितप्रभा नाम भएकी, जहाँ पुलह ऋषिले तप गरेका, पोखरा हुँदै सेती र मादी मिलेको गाइघाटतिर त्रिशुलीसँग मिलेको र वशिष्ठको भनाइ अनुसार दिलिप राजाले पुत्रको कामना गरेरगाइघाटमा गोसेवा गरेको धारणा आएको छ ।

मस्र्याङ्दी– गौरीका निधारका पीतवर्णनका पसिनाका थोपा हिमाद्रिमा आएर खेसको, हिमालको नाम एक सिङ्गे भएको र भृगुको तपस्थल रहेको र यी नदी त्रिशुलीमा आएर मुग्लिङ्घाटमा मिलेको वर्णन गरिएको छ ।

बुढीगण्डकी –मनास्लु वसुधारा वा विश्वधारा हिमनदी गौरीको बायाँ ओठबाट पसिना झरेको, पुलस्त्यले तपगरेको र गण्डले वृद्ध अवस्थामा स्नान गरेको हुँदा वृद्धगण्डकी नामाकरण भएको, गुप्तेश्वर महादेवलाई साक्षी राख्दै बेनीघाटमा आएर त्रिशुलीसँग मिलेको वर्णन गरिएको छ ।

सप्तगण्डकी– तादी, मादी, बुढी, सेती, मस्र्याङ्दी, त्रिशुलीमा मिल्दै पुन काली गण्डकी मिलेर सप्त गण्डकी नामाकरण भएको विवरण ।

नौनारायणी – तादी, मादी, बुढी, सेती, मस्र्याङ्दी, दरौंदी बुढी त्रिशुलीसँग मिलेर त्रिशुलीलाई सप्तगण्डकी भनिएको र त्रिशुली र काली गण्डकी (काली र गण्डकी) मिलेपछि नौनारायणी नामाकरण भएको । त्रिशुली र गण्डकीको बीचमा स्वर्ग समानको घाट बनेको र देवघाट नामाकरण भएको । यहाँ रातीमा देवताले आएर नुहाएर जाने कुरा हाम्र चर्मचच्छुले नदेखिने वेदव्यासले यहाँको महिमा पूराणमा लेखेका, यही स्थलमा ब्रह्मका पुत्र वशिष्ठ आएर तपस्या गरी ब्रह्मनिष्ठ भएका, रामको स्वप्नको मध्यबाट जानकी देवघाट पुगेको र रामले स्वप्न टुटेपछि रामले विलाप गरको, यहाँरामले गर्भिणी सीतालाई वनवास पठाएको, सीताले बाल्मीकि आश्रममा आश्रय लिएर जुम्ल्यहाँ पुत्र जन्माएर बसेकी र एक दिन छोराहरूसाथीसँग खेल्दा साथीले विनाबाबुका छोरा भन्ने शब्दले पुत्रहरूलाई आघात परी आमासँग पिता को भन्ने पुत्रको सोधाई र रामायणी वृत्त सुनाएको, सीताले धर्तीमातालाई पुकारी धर्ती फाटेर धर्तीमै विलाएकी रामका सेना तथा रामले खोजी गरेको धारणा आएको छ ।

चौधौं सर्ग –कलिको पहिलो पाऊ प्रवेश भए पछि सोह्रौ शताब्दीतिर सेनवंशीय राजा मणिमुकुन्दले शालग्रामशिलालाई मुकुन्देश्वर नाम दिएर पूजा गरेको मठमन्दिर बनाएर राजा चक्रबर्ती भएर आफ्नो राज्य पूर्व कोशी नदीसम्म पश्चिममा रुरुक्षेत्र, उत्तर मुक्ति नाथ, र दक्षिणमा हरि क्षेत्रसम्म फैलाई छोरालाई राज्य हस्तान्तरण गरेर तपस्यमा बसेका, राज्य्को सौन्दर्य वर्णन, मौला कालीको वर्णन, जनक राजर्षि, गलेश्वर बाबा ईश्वरानन्द देवघाट आएर योगदान पुर्याउनु, स्वमी परमानन्द देवघाट आगमन र उनले पुर्याएको शैक्षिक, सामाजिक र सांस्कृतिक जागरण, गलेश्वर आश्रमको पीठाधीस भई पछि आत्मानन्दलाई कार्यभार सुम्पेको प्रसँग को साथै गलेश्वर आश्रम, हरिहर आश्रम, महेशाश्रम आदिका वारेमा प्रसँग जोडिएको र देवघाटको प्राकृतिक सौन्दर्यता, वेदाध्यायन,मठ मन्दिर निर्माण अति सुन्दर रूपमा प्रस्तुत गरिुएको छ ।

पन्ध्रौं सर्ग –यो सर्ग यस महाकाव्यकको अन्तिम सर्ग हो यस सर्गमा महाकविले गण्डकीको महिमालाई प्रष्ट्याउँदै, पापलाई पखाल्दै पवित्रतालाई छर्दै, जवानीमै तीर्थको भ्रमण गर्नु पर्ने धारणा राख्दै, देवघाटको प्राकृतिक, धार्मिक महत्वको विवरणलाई प्रष्ट्याउँदै नारायणी त्रिवेणी धामतिर बढ्दै जाँदा पूर्णभद्रा र स्वर्णभद्रा नदीले स्वागत गरेको र त्रिवेणी धामको निर्माण भएको यहा पनि पाटी पौवा मठ मन्दिर बनेका, यहीं वाल्मीकिले कठीन तपस्यागरेका र रामायण लेखेका, सीताको लव र कुशसँग बसेको र पृथ्वी फाटेर सीता भूमिभित्रप्रवेश गरेको, गजग्राहको युद्ध, गजेन्द्र मोक्षधाम आदिको वर्णन सहित काली विविध नामले विभूषित हुँदै भारतमा गएर भागीरथी गङ्गासँग मिलेर सागरमा पुगेको विवरण यस महाकाव्यले प्रस्तुत गरेको छ ।

अत यस महाकाव्यमा शुभकामना प्रदान गर्ने व्यक्तिको धारणालाई पनि केलाउन मन लाग्यो । महाकाव्यको सिर्जना गर्नु त्यति सहज हुँदैन । नवराजजीले काली गण्डकीलाई नायक बनाएर एउटा महत्वपूर्ण दर्शनलाई सहजरूपमा पस्कनु भएको छ । यो एउटा प्रशंसनीय काममात्र नभै अनुकराणीय पनि छ । यस काव्यको प्रकाशकीयमा प्रा. डा. नारायणप्रसाद खनालले लेख्नुहुन्छ –‘अनेकौं शास्त्रीय छन्दमा आवद्ध सुमनोहर पद्यधारामा बनेको कालीगण्डकी ‘चेतक’(पृष्ठ घ)’का वदनार विन्दबाट निस्केको सुगन्धित पराग नै हो’ । राष्ट्र कवि माधव घिमिरेले यस काव्यप्रति ‘काली गण्डकीको उद्गमदेखि समुद्रमा प्रवेशसम्मको वर्णनले यो काव्य अत्यान्त महनीय बनेको ’ ठान्नुहुन्छ( पृष्ठ ङ) । डा. स्वामी रामानन्द गिरिले गण्डकीलाई भगवान विष्णुकै शरीरको एक अंश ठान्नुहुन्छ । स्वामी ज्ञानानन्द सरस्वतीले भगवान विष्णुले शालाग्राम शिला बनी गण्डकीको पुत्रको रूपमा प्रकट भएको धारणा राख्नुहुन्छ आचार्य खेमराज केशवशरणले भन्नुहुन्छ –पौराणिक आधारलाई स्रोतबिन्दु बनाएर रचिएको यस माकाव्यमा प्राकृतिक, भौगोलिक, र ऐतिहासिक वर्णन चाखलाग्दा रहेछन् ’प्रा. डा. वेणीमाधव ढकालजीले यस काव्यमा प्रयोग गरिएका रसमा यसरी टिप्पणी गर्नुभएको छ –‘ यस महाकाव्यमा भावतत्त्वको केन्द्रियतामा शृङ्गार,करुण एव म शान्तरसको परिपाक छ र ध्वनिको चमत्कार । भूमिकाकारवरिष्ठ कवि गोविन्दराज विनोदीले यस महाकाव्यको मूल्याङ्कन यसरी गरेका छन् –‘ समग्रमा भन्नुपर्दा नेपाली महाकाव्यपरम्परामा कालीगण्डकी एक महत्वपूर्ण प्राप्तिको रूपमा रहेको छ’ ।

परिवेश– कालीगण्डकी महाकाव्यको परिवेश अत्यान्त लामो छ । यो महाकाव्यले पौराणिक युगदेखि हालसम्मको परिवेशलाई समाउन सकेको छ । दामोदरकुण्डबाट आएकी काली(कृष्णा) र मुक्तिनाथबाट उत्पन्न भएकी गण्डकी कागवेनीमा आएर मिसिएपछिको नाम हो काली गण्डकी । यो काव्यले यसमा आएर समायोजन हुने मुख्य मुख्य नदीहरू (सप्तगण्डकी, नारायणी, त्रिवेणी) कालीगण्डकी) प्रसिद्ध घाटहरू तथा तीर्थहरूलाई समेट्दै, गङ्गामा मिसिदै समुद्रसम्मको परिवेशलाई केलाउने प्रयास गरेको छ ।

भाषाशैली –काव्यकारले यस महाकाव्यमा, सुललित, रसिलो परिस्कृत शिष्टको साथसाथै कतै कतै क्लिष्ट भाषको प्रयोग गरेका छन् । त्यसो हुँदा र्वौद्धिक वर्गको ला।िग यो स्वादिलो खुराक हुन सक्छ । छन्दमा रचिएको यो महाकाव्य लयदार छ । यसमा उखान टुक्का, विम्ब र अलङ्कार, शृङ्गार,करुणाशान्त आदि रसको सुन्दर प्रयोग भएको र यी रसले पाठकलाई कतै आनन्दाभूति, कतै वेदनानुभूति, त कतै भक्तिभावको धारणाले ईश्वरीय तत्त्वमा कसरी लीन हुने भन्ने भावनालाई जागृत गराउँछ ।

पात्रविधान– यस महाकाव्यको मुख्य पात्र भनेकी कालीगण्डकी हुन् । काली गण्डकी नदी विष्णुकी आम भएको र विष्णु भगवान शालग्राम शिलाको रुपमा कालीगण्डकीको गर्भमा रहेका धारणले विष्णुलाई पनि पात्रको रुपमा लिन सकिन्छ सप्त गण्डकी, नारायणी, त्रिशुली, त्रिधवेणी, र यी नदीहरूका उद्गमस्थल विभिन्न घाटमा तपस्यारत ऋषि मुनिहरूको नाम लिँदा गौरीको साथै शिवजी, दामोदर कुण्ड, हिमाल, पुलहमुनि, अमर युवतीहरू, इन्द्र, सुरेन्द्र, राजा भरत, मृगशावक, जडभरत, ईश्वरानन्द, सन्त सिद्धिनाथ,योगी परमानन्द, देवदत्त, प्रम्लोचा, रुरुकन्या, ऋषिकेश चतुर्भुमणि मुकुन्दसेन, दक्षपुत्री सति, पराशर मस्यागन्धा वेदव्यास, आत्मनन्द, रुद्र शमसेर और्व,वाल्मीकि राम, लव, कुश, स्वर्ण भद्रा, पूर्ण भद्रा, भागीरथी जस्ता सहयोगी पात्रहरू महाकाव्यमा यथा स्थानमा यिनीहरूका महत्त्व र काम–प्रसँग उठाइएका छन् ।

शीर्षकीकरण – पावन कालीगण्डकीलाई मूलपात्रको रूपमा लिएर रचित यो महाकाव्यको नाम कालीगण्डकी राखिएको छ । कालीगण्डकीकै महिमा गान र घटनाक्रमलाई समायोजन गरी कालीगण्डकी महाकाव्य भनी नामाकरण गरिएको शीर्षक अति सान्दर्भिक छ ।

महाकाव्य शिर्जनाको उद्देश्य –यस महाकाव्यले काली गण्डकीको धार्मिक, भौतिक, महत्त्वको बोधको साथै शालग्रामको महत्त्व, साथसाथै पौराणिक ऐतिहासिक यर्थाता कालीतटका प्राकृतिक सौन्दर्यता, पौराणिक कालदेखि हालसम्मको जनजीवनको आर्थिक, धार्मिक सामाजिक विविधतालाई दर्शाउने मूल उदेश्य बोकेको देखिन्छ । यस महाकाव्यले बोकेको उदेश्य महत्त्वपूर्ण देखिन्छ ।

अन्त्यमा यस महाकाव्यले पौराणिक आधारलाई स्रोत विन्दु बनाएर सिर्जित महाकाव्यले कालीगण्डकीको उद्गमदेखि त्रिवेणीसम्म महत्वपूर्ण घाट, ती घाटका तीर्थको महत्व, ऋषि मुनिहरूको तपस्या, यिनीहरूको शैक्षिक, सामाजिक, धार्मिक क्षेत्रमा पुर्याएको योगदान,ऋषिकेश दर्शन, सप्तगण्डकी सङ्गम, भागिरथी गङ्गामा मिलन, मणि मुकुन्दशेनको धार्मिक लगाव, माल्मीकिको विवरण, सीताको पवित्रता, गलेश्वरघाट र देवघाटको वर्णन, प्कृतिक सौन्दर्यता, आजको समाजमा युवा विदेश जानुपर्ने वाध्यतालाई समेत अङ्गाल्दै, अति मीठो रूपमा भावनालाई केलाउँदै पूर्वीय दर्शनलाई समाउँदै भावनाका भेललाई स्वच्छन्दरूपमा बगाउँदै एउटा गहन महाकाव्य प्रदान गर्नुभएको छ महाकविले । यस महाकाव्यले समेटेका विविध पक्षलाई जति व्याख्या गरे पनि अधुरो नै हुन्छ । महाकाव्यकार स्वच्छन्द रूपमा बगेका छन् । प्राकृतिक सौन्दर्यमा अति नै रमाएका छन् । शृङ्गार सरमा चुलुम्म डुवाएका छन् र कारुणतामा सबैलाई रुवाएका छन् । यसरी कालीगण्डकी महाकाव्य हामीलाई अतुलनीय रूपमा हामीलाई प्रदान गर्दै नेपाली साहित्यमा एउटा कोशेढुङ्गा थपेका छन् भन्दै सुस्वास्थ दीर्घायुको कमना साथ बिदा चाहन्छु ।

धन्यवाद,
२०७४ साल असार १० गते शनिवार,
कावासोती नगरपालीका –७, शान्तिचोक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *