Skip to content

त्यो अव्यक्त पीडा पोखिदैन


जीवित र भौतिक दुई कुरामा, मानवको सोचाइ फरक हुन्छ । मानव सव्यतामा विवाहपछिको घरबारको सुरुवात हुन्छ, जीवित अर्थात सन्तति छोरा, छोरी वा तेस्रो लिङ्गि जे भए नि गर्भमा रहेदेखि नै आमाको सकस र पीडा शुरु हुन्छ । सुत्केरी पीडाको त बखान गर्नु नै बेकार छ, त्यसैले माताको स्थान कुनैले पनि लिन सक्दैनन । बच्चाको कारण ज्यान गुमाएरको थुप्रै घट्ना छन् विश्वमा, अस्पतालको सुविधा भए देखि पीडा घटेको छ र मृत्यु दरमा कमी आएको छ तर शून्य भएको छैन । यसरी जन्माएर कयौं रात अनिदो र कष्टमै बालक हुर्काउनु पर्छ, आमाको काखमा कतिमायां हुन्छ भन्ने कुरा हामी सबै मानवलाई थाहा छ तर त्यो काँख र ओतप्रति हामीले गर्ने कर्तव्य भने फरक छ, विभेद छ । तलमाथि मात्र हैन विर्सिएको र भुलिएको छ, अधिकतमको व्यवहार सन्तोषजनक छैन । खाइ नखाइ ज्याला मजदुरी गरी हुर्काएर आत्मानिर्भर हुन थालेपछि भने बाटो फरक बन्न थाल्छ । बुढेसकालमा केही भरथेक होला भन्ने अवस्थामा या चलन अनुसार विवाह गरेर पराई घर पठाइसकेपछि या पराईको छोरी भित्र्याइए पछि प्राय अलग बस्ने परम्परा रही आएको छ । ‘बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि ’ भन्ने उखान झैं, उनको दुःख जान गाह्रो छ । यसमा आफूले बनाएको व्यवहार, उसले लिएको शिक्षा, समाजको संस्कारले मुख्य भूमिका खेलेको हुन्छ । त्योभन्दा पनि महत्वपूर्ण कुरा आझूले आफ्नो माता पितालाई कस्तो व्यवहार गरियो सो ज्यौंका त्यौं नक्कल भएर आएको हुन्छ । आफ्नो पालामा माता पितालाई राम्रो नगर्ने अनि आफूले चाहिं सन्ततिबाट राम्रो गरोस् भन्ने आशा राख्नु चाहिं मुर्खता हो भन्नु ठिक होला। पुस्ता हस्तान्तरण सहज र सरल भयो कि पीडादायी भयो; दुई कुराले महत्व राख्दछ । पहिलो होः कहिलेकाहीं आफूले राम्रो गरियो तर आफ्ना सन्ततिले राम्रो व्यवहार गरेन भन्ने केही प्रश्न उठ्छ । यदि त्यस्तो भएमा, त्यो पछिका पुस्ता पनि दुःखमा जाने निश्चित देखिन्छ। यस्तो पुस्ताले शोच्नु पर्दछ, कि के कारणले यस प्रकारको पीडा अथवा द्वन्दको अवस्था आयो निर्क्यौल गरी समाधान गर्नु पर्दछ । दोस्रो होः कहिले आफूले कारणबस् भनौ, वा जानेरै मातापितालाई राम्रो सेवा र सहयोग गर्न सकिएन भरथेग गर्न सकिएन भने आफ्ना सन्ततिले त्यो कुरा नक्कल गरिरहेका हुन्छन् अनि आफ्नो बृद्धावस्थामा पनि त्यही पुनराबृद्धि हुने सम्भावना रहन्छ ।

मानवको अर्को सोचाइ हो भौतिक अर्थात, घर, जमिन, चल अचल ( पशु धन बाहेक ) सम्पत्ति आर्जन गर्न, अर्थात निर्माण गर्न पनि प्रशस्त मेहनत र दुःख कष्ट झेल्नु पर्दछ । आर्थिक सवलिकरण मार्फत भौतिक सुखकालागि देशविदेश भौँतारिदा अंग भँङ्गदेखि लिएर ज्यान समेत गुमाएको थुप्रै उधाहरणहरू छन् । यो भूमिकामा पिता रहन्छन् अधिकत म । सामान्यतया माताको भूमिका आन्तरिक रहन्छ पिताको बाह्य तर कतिपय अवस्थामा उल्टो पनि भूमिका रहेको छ । अर्थात बालक हुर्किसकेपछि वा पिताको अवस्थामा प्रतिकूल भएपछि माताहरू बाह्य र भित्री दुवै काममा समर्पित गरेका मात्र हैन केही त बिदेशमा गएर घरलाई सघाएको उदारहरण पनि छन् । पिताको कर्तव्य हो आफ्नो दक्षता अनुसार देश वा विदेशमा गएर आर्थिक सवलिकरण गर्नु । सामान्य घर खर्च देखि लिएर गृह निर्माण एवं बालबच्चाको उचित पठनपाठन र अशक्ताबस्थामा सहयोग पुग्ने हिसावले केही संचिति र केही सरकारलाई कर तिर्न सक्ने बातावरण बनाउनु । जीवनभरी यसरी गृह निर्माण वा अर्थ आर्जन गर्न दुःख नहुने कुरै भएन र परिवारको रेखदेख समेतको बोझले छोरा मान्छेमा तनावको दर बढेको देखाएको छ अध्ययनहरुले । यस्ता दम्पतिका उत्तरावस्था, सन्ततिहरू विदेश पलायन वा विवाहपश्चात अलग बस्नाले उनीहरुको रेखदेखमा समस्या देखिएको छ । फलस्वरुप बृद्धाश्राम भरिएको छ वा आफन्तकोमा शरण हुन पुगेका छन् । यो अवस्थाको न्यूनिकरणकालागि हाल नेपाल सरकारले आफ्ना सन्तानको कमाइको दश प्रतिशत मातापितालाई दिनु पर्ने प्रावधान राख्नुले उनीहरुको भरणपोषणमा केही राहत मिल्ने भएकोले सकारात्मक देखिएको छ । जसरी माताले आफ्ना कलिला बालकलाई काखमा राखेर न्यानो र आनन्द दिएको हुन्छ, पिताले लाउने-खाने र ओतलाग्ने छाप्रोको प्रबन्ध मिलाएको हुन्छ । त्यसकारण यी दुवै मातापिता मान्यवर, पूजनीय, स्मरणीय, सम्माननीय (जसरी सम्झे पनि हुन्छ) को ऋण तिर्नु पर्ने हाम्रो कर्तव्य रहन्छ । थला परेका बखत हरकाम छोडी सेवा गरी खुशी पार्न सकियो भने त्योभन्दा ठूलो धर्म के होला र ? शेखापछि आफूले पनि त्यो सेवा प्राप्त गर्ने अधिकार रहन्छ ।

बस्ने बास सानो होस् वा ठूलो, आर्थिक हैसियत अनुसार अधिकत म मानिसहरुसँग रहने भौतिक बस्तु, यसलाई छोरीलाई विवाहमा सिंगारिए झैं सिंगारिएर राखेको हुन्छ, यतिमात्र हैन यसले आफूहरुलाई सबै प्रकारको सुख दिएको छ र यो मेरो घर हो भन्ने गर्व रहन्छ । तर कारण बस आफूले जिन्दगी भरको परिश्रम संचित गरेर निर्माण गिरएको बास ऋण वा अन्य विविध कारणबस बिक्रि गर्नु पर्दा कस्तो अनुभूत हुन्छ होला ? भूकम्पले भत्काइदिदा वा अन्य प्रकृति प्रकोपले नष्ट गरी दिदाँ कस्तो पीडा भएको होला ? यो पीडामा पर्नु हुने हरुले मात्र व्यक्त गर्न सक्नु हुनेछ अरुको त अनुभव मात्र न हो । घर सुरक्षित भए मात्र आफू सुरक्षित जस्तो लाग्दो रहेछ । घर छैन केही छैन। घर नभएकाहरूसँग को विवाह गरेर आउन तयार हुन्छ ? एउटा घर त छैन मेरो छोरी कसरी पाल्न सक्छ भन्ने हाम्रो समाजको भनाइरहन्छ नै । छोरीले त राम्रो नराम्रो अवस्थाको बारेमा आफू पराई घरगइ फर्केपछि सबै कुरा आफ्नो आमालाई व्यक्त गरेको हुन्छ तर बेचिएको घर वा भत्किएको घरले पीडा कसलाई पोख्ने ? कसरी व्यक्त गर्ने कि मलाई नबेच वा मलाई छिटो बनाउ भनेर। एउटा अनुभव गर्ने मात्र कुरा न हो । बिक्रि गरिसकेपछि वा भत्किसकेपछिको त्यो घरप्रतिको मालिकले वा निर्माण कर्ताले गर्ने अनुमान, अनूभव, श्रद्धाको कारण दुःखानुभूत एक्लौटी हुन्छ कारण भौतिक र जीवित वीच संवाद हुन सक्दैन । उसले भन्दैन मलाई बेचिदिएछौ भनेर, उसले भन्दैन मलाई पराईसँग पठाइ दियौ भनेर । तर आफूलाई प्रत्यक्ष अनुभव हुन्छ कि यो घर बनाउन हरेक इटमा, दिवालमा, कुनामा, छत, भर्याङ्ग, इन्च/इन्चमा मेरो पसिना परेको छ भनेर। यो अव्यक्त पीडा लुकेको हुन्छ तर त्यो पोखिइदैन । त्यो यथार्थ बाहिर आउदैन त्यो अव्यक्त पीडा थाहापाउन कठीन प्राय हुन्छ, तर हुन्छ । बाहिर आउदैन मात्र अनुभूत हुन्छ, मात्र अनुभूत !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *