Skip to content

किन सम्झिदैनौ ?


वर्षा हुँदा म त यता कति सम्झिराख्छु
हो रातको नीरवतासँग सम्झिराख्छु
पर्दैन रात कि त्यता किन सम्झिदैनौ ?
बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ?
।।१।।

ताराहरू चहकिँदा म त सम्झिराख्छु
हो फूल फुल्दछ यता म त सम्झिराख्छु
फुल्दैन फूल कि त्यता किन सम्झिदैनौ ?
देखिन्न जून कि त्यता किन सम्झिदैनौ ?
।।२।।

चीसो छुँदा पवनले म त सम्झिराख्छु
पन्छी उडे गगनमा म त सम्झिराख्छु
हुन्नन् चरा कि त त्यता किन सम्झिदैनौ ?
हुन्नन् कि रूख लहरा किन सम्झिदैनौ ?
।।३।।

धड्किन्छ है मुटु यता म त सम्झिराख्छु
पग्लेर आँशुसँगमा म त सम्झिराख्छु
झर्दैन आँशु कि त्यता किन सम्झिदैनौ ?
धड्किन्न के मुटु त्यता किन सम्झिदैनौ ?
।।४।।

http://narendraparasar.blogspot.co.uk/2017/03/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *