Skip to content


“नारायण! नारायण!!” काँधमा धारण गरेको जन्यौ कानमा सिउरेर शौचको लागि अघि बढ्दै गरिरहनुभएको परमपिता ब्रह्माजी देवर्षि नारदको आवाज सुनेर टक्क अडिनुभयो।

“के समाचार ल्यायौ पुत्र नारद? छिटो भन।” ब्रह्माजीले प्रश्न गर्नुभयो।

“मर्त्यलोकबाट समाचार हो परमपिता हजुरको नाति ऋषि विश्वश्रवा र ऋषिपत्नी कैकसीलाई पुत्र रत्न प्राप्त भएको छ। उसको जन्म कुण्डली अनुसार ऊ अति ज्ञानी, पराक्रमी र भक्तिमार्गमा पनि उसलाई टक्कर दिने अर्को कोही हुँदैन।” नारद मुनिले उत्साहका साथ ब्रह्माजीलाई सुनाउनु भयो।

“समाचार त शुभ ल्यायौ नारद परन्तु…”

“परन्तु के परम पिता।” नारद मुनिको उत्सुकता बढ्यो।

“साह्रै छोटो आयु लिएर आएको छ।” यसो भन्दै परमपिता ब्रह्मा शौचको लागि अगाडि बढ्नुभयो। नारद मुनि पनि ब्रह्माजीलाई अभिवादन गर्दै फर्किनुभयो।

शौचबाट फर्कँदै गर्दा नारद मुनिलाई मलिन अनुहार सहित प्रतिक्षारत देखेर ब्रह्माजीले सोध्नुभयो “अब के समाचार ल्यायौ पुत्र नारद?”

”दुखद समाचार छ प्रभु। हजुरको कथन सत्य भयो। विश्वश्रवा पुत्र रावणको श्रीहरि विष्णुको रामावतारद्वारा भएको बधको समाचार छ।” एक श्वासमा नारद मुनिले रावणको बधको कथा ब्रह्माजीलाई सुनाउनु भयो।

टेलिभिजनमा प्रसारित ब्रह्मा नारदको माथि भएको संवादायुक्त कथा हेरिसकेपछि टेलिभिजन बन्द गरेर बाहिर निक्लेँ बिन्दु भाउजू घर भित्र पस्दै भन्नुभयो “सुन्नुभो बाबु, मेरो माइतमा हाम्रो काकाको छोरा दाजु आज बिस्तारित मन्त्रीमण्डलमा मन्त्रीको रूपमा सपथ ग्रहण लिँदै हुनुहुन्छ नि।”

“एकदम सुखद समाचार भाउजू।” भन्दै गर्दा अघिको टेलि-सिरियलको संवाद मनभरि तरङ्गित भइरह्यो।

२०७४ श्रावण १४ (२९ जुलाई २०१७)
सौराहाद्वार, रत्ननगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *