Skip to content

एकदिन पक्कै सुदिन फर्किन्छ


टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडकदेखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरू खारे-नान् (नान् र करी) खान लाइन लगाइरहेका छन् । जापानीहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि भेदभाव नगरी समानताका आधारमा सेवा उपलब्ध गराउने चलन छ । नातावाद र कृपावाद यहाँ चल्दैन । सबै बरावर भन्ने यहाँको मूख्य सोचाइ देखिन्छ । चन्द्रे र दले कुक किचनमा व्यस्त छन् भने साहु वेटर गर्दछन हलमा । चन्द्रेले करी बनाउँछ भने दलेले तन्दुरी हेर्छ । उनीहरुलाई भ्याइनभ्याइछ, रस्साकस्सी छ त्यहाँ ।

यस्तो पनि नान् हुन्छ ? साहुले त्यही नानले कुकलाई हिर्काए । तर दले तर्कियो र बच्यो । उनी रिसको झोकमा आफै तन्दुरमा गएर नान् हाने । तन्दुरको बिटले हात पोलेछ साहुले पोलेको ठाउँमा चाटे । एकछिनपछि पहिला फ्याकेको नानभन्दा पनि नराम्रो नान् तन्दुरबाट निकाले अनि ग्राहकलाई लगेर दिए । पहिलाको नानको बिटमा थोरै काँचो जस्तो देखिन्थ्यो । तर साहुले हानेको नानको टुप्पो डढेको बाङगो पछिल्लो भाग काँचै थियो ।

कुक अमिलो हुँदै देब्रे हातले पसिना पुछ्यो र तन्दुरी सेट गर्नमै व्यस्त रहयो । उस्ले कतिवेला ग्याँसको राँको मिलाउँछ त कतिवेला नूनपानीको घोल बनाएर तन्दुरमा पोछा लगाउँछ । मैले के गर्ने माटाको तन्दुर भए जानेको थिएँ । यस्तो सिमेन्टको तन्दुर, उसमाथि लन्चमा ५०-६० जना एकैसाथ छिर्छन । दुई राउण्ड नान् हान्यो कि तन्दुर सेलाउँछ, काम गर्न छाड्छ ।
दलबहादुरलाई सबैले दले दले भन्छन दले एक्लै पुट्पुटायो । ५०–६० जना एकैपटक छिरे भने कसैले चिज्-नान् खान्छन । चिज्-नान् बाक्लो हुन्छ । दुई-तीनवटा चिज्-नान् हान्नेहो भने तन्दुर सेलाउन थाल्छ । पचास साठीवटा नान् हान्दा ग्याँसको तन्दुर मिलाउन नसकेर दले हैरान हुन्छ । त्यसैमा चिसो सिखकबाव, तन्दुरी चिकन, टिक्का पोल्नुपर्ने ग्राहकको अडर अनुसारको सेट मिलाउनु पर्ने भर्खर नेपालबाट आएको दलेलाई पर्नु पिर परेको छैन । कतिवेला साहुसँग रिस उठ्छ त कतिवेला तन्दुर देखेर फन्का छुट्छ उसलाई ।

“मैले त्यो डिग्री सजिलै कटा’को हुँ, तर नान् हान्न निकै गाह्रो भो दाइ,” करी सेफलाई हेरेर दलेले मुख खोल्छ ।

“त्यो पढाई हो, यो ट्रराई हो नि भाइ । त्यसै कहाँ मिल्छ लाख ?”

चन्द्रे खिसिक्क सेता दाँत देखाएर हाँस्यो ।

“मलाई खुसी लाग्छ भाइ तिमीसँग काम गर्न पाउँदा । किनभने तिमी डिग्री होल्डर पर्यौ, म भने कोदालो र डाडु होल्डर हुँ । मैले खेतबारीको कामदेखि करी-नान् सबै गर्छु । तिमीलाई भने तन्दुरी सम्हाल्न पनि हम्मेहम्मे परिरहेको छ ।” चन्द्रेले कुरा सक्यो ।

दलेले जवाफ फर्कायो,”म बाटो बिराएको कुक हुँ दाइ । मैले यो कामको लागि भनेर पढेको हैन । जीवनभरि यही काम गरेको भए म पनि कम हुने थिइन तिमीभन्दा ।”

“काम नलाग्ने के पढिस् त ?” फेरि चन्द्रेले झट्का हान्यो ।

“भो दाइ यी पढाईका कुरा नगरौं । काम धेरै छ, नानको पिठो सकियो, पिठो मुछ्नु छ । लसी सकियो, दुई प्रशन जति होला । सलाद छैन, ड्रेसिङ छैन खाटीकुरा भन्नु पर्दा मलाई बोल्ने फुर्सद पनि छैन । सक्छौ भने हेल्प गर दाइ, साहु कस्ता छन् थाहै छ तिमीलाई ।”

दलेले २५ केजीको मैदाको बोरा बोकेर ल्यायो, अण्डा, दुध, पानी, नून, चिनी र वेकिङ पाउडरको घोल बनाएर मुछ्न शुरु गर्यो ।

“मेरो पनि मटन चिकन, किमा, ग्रेभी केके छ छैन, हेरेको छैन भाइ । ल म ड्रेसिङ बनाइदिन्छु,” चन्द्रेले दलेमाथि दयाको भाव देखायो ।

कालो भादगाउँले टोपी सेतो सर्ट कालो पाइन्ट लगाएको दले एप्रोन बाँधेर ठूलो हण्डीमा पिठो पुछ्दै छ । टोकियोका रेष्टुरेन्ट, साँगुरा किचन तपतपी पसिना पिठोमै चुहाउँछ दलेले । पसिना पुछोस पनि कसरी, दुवै हात पिठोमा रोमलिएको अवस्था छ ।

“खै कति दिन बाँचिन्छ र दाइ यही गतिले जापानमा ।” दलेले नैरस्यताको भाव पोख्यो चन्द्रेसामु ।

“सानो मन बनाउन हुन्न, दले । आटा र पिठोसँग लड्नु नै हाम्रो कर्म हो । हरेस नखा’ पछि-पछि सजिलो हुन्छ ।”

“काम सधैं यही हो, साहुले मान्छे राख्दैनन् । ज्यानले हरेस खाइसक्यो दाइ मेरो त । साहु अर्डर आउन नपाउदै नान् भन्दै आउँछन्, नराम्रा गाली गर्दछन । तन्दुरीको चाल त्यस्तो छ । कसरी हुन्छ र दाइ ?” अहिले दले झन विह्वल हुँदै भन्छ ।

“हेर भाइ, कहाँ सुख होला भन्दै म तीन-तीन ठाउँमा काम छोडेर हिडें । आखिरमा जहाँ गए पनि आफ्नो कर्म गर्ने हो, झन् यहाँभन्दा पनि दुख पाइन्छ अन्यत्र । काम छोड्ने कुरा नगर, खुत्रुखुत्र दुई भाइले यहीं दुई‍-चार साल गरेर घर फर्कौंला नि,” चन्द्रेले आशाको फूल रोप्यो ।

चन्द्रेले किचनको एक्जिष्ट्-फ्यान चलायो अलि शीतल आनन्दको महसुस भयो ।

“साहुले मार्लान् नि दाइ फ्यान चलाउँदा,” दले डरायो ।

“तेरो त्यो हाल देखेर चलाको हुँ भाइ, पिर नगर्,” चन्द्रेले ढाडस दियो ।

दलेले पिठो मुछ्यो र ढाकेर राख्यो ।

“दाइ साहु कता गए ?” दलेले चन्द्रेलाई सोध्यो ।

“तेरा साहु त निस्के नि विचरा । कहाँ ह्याकुयेन (सय येन्)को तरकारी र जुस पाइएला भनेर चहार्दै होलान् । कन्जुस साहु, न स्टाफलाई राम्रो खाना दिन्छन न ग्राहकलाई । आफूमात्र मोटाउँदै छन् । यस्तो तालले यो रेष्टुरेन्ट कतिदिन चल्ला र ? हामीलाई मारीमारी ठूलो घर बनाउने दाउमा छन् केटा तेरा साहु ।” चन्द्रेले कटाक्ष हान्यो ।

“कुरा गरी साध्य छैन दाइ हाम्रा साहुका । पछि कुरा गरौंला भ्याट्ट आएर सुन्लान् सचेत हुनुपर्छ ।”

“मेरो त गर्नुपर्ने धेरै छ दले,” गुनगुनाउदै सलाद काट्न लाग्यो ।

“ल हेर्नुस दाइ यो डाम्म्रिएको गाँजर र भित्रभित्रै कुहेको लेटस्, मैलो भैसकेको बन्दाको कस्तो सलाद बनाउने हो मैले ? फ्याकौं भने साहुले जागीरै खाईदेलान भन्ने पिर, नफ्याकौं भने मनै मान्दैन ।”

चन्द्रेले बीचमा कुरा टिप्यो,”त्यतिमात्र हो र तैले फ्याकेको साहुले देखे भने । नफाल्, राख् त्यहीं । भरे स्टाफको तरकारीमा हाल्न हुन्छ भन्छन ।”

चन्द्रेले मुस्काउदै दलेतिर हेर्यो । दले हैरान परेको स्वरमा चन्द्रेतिर प्रश्न गर्यो ।

“यो होटललाइन त साह्रै खराब पो रहेछ है दाइ ?”

“हैन, तैंले नेपाली गीत सुनिनस् र ? भैंसी पालेर भन्ने, दुधमा पानी मिसाएर बेच्ने, बासीभातलाई साजी भनेर खुवाउने पैसा धुत्ने । यही हाम्रो होटलमा हेर् न, किन टाढा जाने यस्तै हो भाइ । मटन, किमा, चिकन पकाएर राखेको एक हप्ता भैसक्यो । मम बनाएर राखेको ६ महिना भैसक्यो के गर्ने मान्छे नआएपनि मेन्युमा भएको बनाएर राख्नुपर्छ तत्काल बनाउन सकिदैन ।” चन्द्रेले वास्तविकता खोल्यो ।

“हो दाइ,” दलेले सही थाप्यो ।

दले कोमल मन भएको व्यक्ति छ । समाज, व्यक्ति र व्यवहारलाई बुझेको छ । आवश्यक कुरा बोल्छ, अनावश्यक कुरा बोल्दैन । आज दलेले चन्द्रेसामु व्यवहारिक कुरा खोल्छ ।

“जापान आउँदा लागेको १५ लाखको साउँ-व्याज ऋणले बस्न खान छैन दाइ, के गर्ने होला ? साहुले तलब नदिएको दुई महिना भैसक्यो । साथमा दैनिक खर्च गर्ने थोरै पैसा पनि छैन । कसरी हो चल्ने ? नानी बाबुसँग बोल्न मन थियो पैसा छैन । बुढीले कसरी चलाउदै होलिन् घरव्यवहार सम्झेर ल्याउँदा रातमा निद लाग्दैन । मरी मरी काम गरिन्छ समयमा तलब पाइँदैन । न त राम्रो खाना न त राम्रो बोली व्यवहार, असिना र पसिना दिनरातको कडा काम ।”

दले पिर नगर चन्द्रेले सम्झाउन थाल्छ,”जापानलाई बुझ्, यो पूँजीवादी देश हो । यो देशको समय र स्थिरतालाई कावुमा पारेर नेपालीले नेपालीलाई नै ठग्ने धन्दानै चलेको छ यहाँ । धनदौलतका मामलामा पूँजीपतीहरुको बीचमा बेमेल छ । आफन्तहरुको बीचमा पनि बोलचाल छैन, रिसरिस र पाप-पाप छ । कुनै दिन निश्चितरुपमा धैर्यताको बाँध फुट्ने छ र श्रमजीवी कुक-मजदूरहरुको दिन खुल्ने छ । तर हामी एक हुनुको विकल्प छैन । संगठन विनाको सपना कल्पना गर्न पनि सकिन्न । हाम्रो एकताले सबै कसिंगर बगाएर लैजाने छ र मज्दुरहरुको सुखका दिन फिर्नेछन । हाम्रो सपना पुरा हुनेछ ।” दलेले कलासै दियो ।

“हुन त हो दाइ । तर कहिले आउला हाम्रो दिन ?”

“चिन्ता किन गर्छस भाइ । यहाँ पनि विभिन्न समाज, सघं संगठन बन्दैछन् । एकताका अवाज बुलन्द गर्दै छन् । अहिले त जापान नेपाली एकता समाज खुलेको छ रे । त्यसले नै सबै कुकहरुका समस्यालाई जापान सरकार समक्ष राख्ने र यहाँका सामन्ती फटाहाहरुको घाँटीमा नाम्लो लगाउने हो रे । भाइ बरु हामी त्यो एकता समजमा सामेल हुनुपर्छ र आफ्ना पिरमर्का पोख्नुपर्छ ।?

दलेले नैरास्यताका साथ बोल्यो,”हुन त हो दाइ । तर कसरी ? न हप्तामा छुट्टी छ, न काम गर्ने समयको हदवन्दी छ । १२–१४ घण्टा काम गर्नु पर्छ । यो जोत्दा जोत्दै हलाक भएको गोरुको जस्तो जीवनले के गर्न सक्छ र ? पहिला हाम्रो मुक्तिको कुरा गरौं, कमसेकम हप्तामा एक छुट्टी, राम्रो खाना, बस्न, तालिम, राम्रो बेतन यी यावत कुराहरुको कुरा गरौं दाइ ।”

“हो त्यसैका लागि पहिला हामी एकजुट हुनुपर्छ । विना एकजुट हामी केही गर्न सक्दैनौ । एकता नै बल हो भन्ने कुरा नभुलेर हामी अगाडि बढेको खण्डमा एकदीन सफल हुने छौं र सामन्तवाद माथि मज्दुरहरुको विजय हुनेछ भाइ ।”

– देवेन्द्र बस्याल (चील) -जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *