Skip to content


मन तिम्रो पनि छ मेरो पनि छ । पीडा तिम्रो पनि छ मेरो पनि छ । दुःख तिम्रो पनि छ मेरो पनि छ । जीवन तिम्रो पनि छ मेरो पनि छ । हाँसो तिम्रो पनि छ मेरो पनि छ । आँशु तिम्रो पनि छ मेरो पनि छ । सबै उस्तै उस्तै भोग्नुपर्छ । भाग, गुणान, घटाउ अनि जोड्नु पनि पर्छ । तर समयको तराजुमा मन, पीडा, जीवन, हाँसो, आँशु बढी मेरै हुन्छ ।

तिमी स्वीकार गर या अस्वीकार, अधिकार तिम्रै हो । फरक छ तिम्रो अनि मेरो जीवन धेरै फरक छ । म जन्मिंदा नाक खुम्च्यायो यो समाजले, तिमी जन्मिदा नाक खुल्ला बनायो । मेरी बहिनीलाई गर्भमै मारियो, तिम्रो भाइलाई संसार देखाईयो । मलाई संसार देखाउनुको कुनै गुनासो छैन । न त समाजले नाक खुम्च्याएको अपसोच, न त म छोरी भई जन्मनुको दुखेसो । म यति भन्न त सक्छु नि – मेरा बा आमाले किन मारे मेरी बहिनीलाई गर्भमै र किन मारिदैछ अँझै ?

अँझै थाहा छ तिमीलाई । तिमी विहान गृहकार्य गरेर मात्र स्कुल जान्छौ । मैले त आमालाई भान्सामा सघाएर सबै काम सिध्याएर जानुपर्छ किनकि मैले भान्साको सबै काम सिक्नुपर्छ । मलाई तिमीले कामै नगरेर स्कुल जानुको कुनै दुखेसो छैन । दुखेसो त तिम्रो भाइलाई स्कुल पठाउँदा मेरो बहिनीलाई घाँस काट्न किन पठाइयो ? तिमी खाली समयमा साथीहरूसँग खेल्न गयौ, मलाई रजस्वला हुँदा पनि बनमा गएर घाँसको भारी ल्याउनुपर्यो ।

तिमी खेल्न जाँदा र मैले घाँसको भारी ल्याउदा मलाई कुनै आक्रोश छैन । आक्रोश त तिम्रो भाइलाई गद्दीमा सुताउँदा मेरी बहिनीलाई रजस्स्वला हुदा भगवान रिसाउछन् भनेर छाउगोठमा सुताएर मृत्युको मुखसम्म किन पुर्याइयो ? यसको छ । म यसको आक्रोशमा चिच्याए कराए कसैले सुनेनन् । मेरो कुरा सुन्दै सुनेनन् । उल्टै मेरै बा-आमाले मलाई नै अलच्छीनी भने । आखिर मैले के गरे र अलच्छीनी भए ?

हो मैले यी सब कुरा खोतल्दा अलच्छिनी भएँ । बहुला भन्यो यो समाजले । त्यो पनि स्वीकारें, घृणा गर्यो । वहिस्कार गर्यो, त्यो पनि स्वीकारें । मेरा बा आमाले नै मलाई अटेरी भने, छुच्ची भने । त्यो पनि स्वीकारें, सबै सबै स्वीकारें । जिन्दगीको यात्रामा घाम, पानी आँधीबेहरीसँग सामना गरेर हिड्नु पर्यो । समाजले कोरेको कुसंस्कारको लक्ष्मण घेरा नाघेर म हिड्न बाध्य भएँ । म जस्तै कुसंस्कारको जालोमा पिल्सिरहेको दिदीहिनीहरुलाई बाहिर आउन उस्काए के म बहुला भएँ ?

हिजो तिमीसँग बाटोमा कुरा गर्दै हिडें, समाजले मलाई निर्लजको संज्ञा दियो भने तिमीलाई सज्जनको । तिमी पनि मसँग कुरा गर्दै त हिडेका थियौ नि, तर किन भनेन तिमीलाई यो समाजले निर्लज ? सुन्तलीले बिर्खेलाई चोखो प्रेम गरेको बदलामा सुन्तलीको नै सर्वस्व लुटेर भाग्यो । सुन्तली यो समाजको बेश्याको नाममा कहलिई बिर्खे साधुको नाममा । सुन्तलीको जिन्दगी बर्वाद भयो, बिर्खेको जिन्दगी फूल जस्तै फक्रियो ।

आखिर के भइरहेछ यो समाजमा सब ? सबै महिला निर्दोष हुन्छन् र सबै पुरुष दोषी हुन्छन् । योभन्दा पनि भन्दैन म । यहाँ मैले पुरुषहरुलाई घृणा गरेको हैन । मेरो पनि अरुको जस्तै मन छ अरुको जस्तै प्रेम गर्ने मुटु पनि छ । म सबैलाई असाध्यै प्रेम गर्छु आ-आफ्नो ठाउँमा सम्मान गर्छु ।

तर पनि यति बेला मेरो शरिरको नसा नसामा रगत होइन बिष उम्लिरहेको छ । यो समाजले महिलाहरू माथि गर्ने गरेको दुर्व्यवहार देख्दा । छोरी जन्माएको निहुमा घर निकाला किन गरिएको छ ? दाइजोको नाममा जिउदै किन जलाइएको छ ? हत्या हिंसा बलात्कारका घट्नाहरू किन झन, झन बढ्दै गएको छ ? पुरुषहरुलाई मात्र दोष दिएर हिड्ने महिला अधिकारकर्मीहरू कहाँ के गरिरहेका छन् ? जहाँ सरकारले नै हत्यारा र बलात्कारीहरुलाई संरक्षण दिइरहेको बेला दुई चार पैसाको लोभमा राजनैतिक दबाबमा छोडिंदैछ, किन ?

कहिलेकाहीं त लाग्छ यी राक्षस, दानवहरुलाई गोमन सर्पेनी जस्तै बनेर डसुँ । यी दुई खुट्टे मानव भएर पनि चार खुट्टे जनावरको जस्तो पनि चेतना छैन । यिनको चेतना विषमा घोलेर फर्काऊँ । तिमीलाई पनि के नै भनौ र, तिमी तिम्रो शैक्षिक प्रमाणपत्रको स्तरमा माथि त पुगेका छौ । क्षमता विकाश, जीवनको उपलव्धि, शसक्तीकरण चेतनाका बारेमा कुरा गर्ने स्तरसम्म कहाँ पुगेका छौ र लाग्छ कहिलेकाहीं तिमीले पनि अपमानका शब्दहरू ओकलिरहेका त छैनौ कतै ?

तर त्यसो नहोस्, तिमी पनि यही समाजको सेवक हौ, एउटी जननीबाट जन्मेको सन्तान हौ । बहिनीलाई आदार गर, प्रेमिकालाई मान गर, जीवनसंगिनीलाई विश्वास गर, आमालाई प्रेम गर, यो गाउँघर, समाज र देशका दिदी-बहिनीहरुप्रति सम्मान गर । त्यसपछि भगवान् पुज्न मन्दिर जानु पदैन, सुःखको लागि महल खोज्नु पर्दैन, आत्मसम्मानको लागि कुनै पदक जित्नु पर्दैन ।

दीपा धिताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *