Skip to content


हेर धोति हिसिशून्य मुहार
चाउरीहरू बनी भरमार
छन् अनेक खहरेकन खोंच
क्या मुजासित चुनाउँछ शोच ।

रङ्ग छैन मुखमा न छ पट्टी
हातमा छ निहुरी लिन लट्ठी
आधि हेर जिउ भै उसपट्टि
रूप क्या छ यसको सब छुट्टी ।

भाँच्छ ढाड पनि काल बसेर
केश पाक्दछ तुषार झरेर
छैन ज्योति धमिलो अब आँखा
छैन यो जगत हेर्न चनाखा ।

मार्दछे अब बसीकन माखा
झल्लरी सब धुजाहरू लाखाँ
आँगनै छ, निहुरी तर हैंसा
माग्दछे अझ यातातिर पैसा ।

यो न बाँदर न भूत न बोक्सी
क्या बुढी जिउ सबै अब टाक्सी
खस्रिईकन बनीकन खाक्सो
माग्दछे मसँग “देऊ न चाक्सो ।”

देख्छु यो जब बूढी अबलाई
लाग्छ हाँस्न मन हेर मलाई
दाँत खै त कुन ठाउँ अफाल्यौ
केशमा हिउँ अहो ! किन हाल्यौ ?

चाउरीहरू गला पनि तानी
कल्ल कल्लसित प्यूँदछ पानी
कान हेर बहिरी किन ज्यूँछे
आधि च्यानतिर भै जल प्यूँछे ।

गुन्गुनाउँदछ हेर न ओठ
क्या बुढी छ बिनु पातकि बोट
तन्त्रमन्त्रहरू धेर निकाली
पाल्दछे कि छउँडा र बिराली ।

ह्वैन ह्वैन अति जिस्किन हुन्न
हुन्छ है डर बुढी यदि रुन्न
छोप्दछे पछि त ऐठनद्वारा
यो भयंकर छ हेर बिचारा ।

यो थिई अघि मनोहर पट्ठी
भैसकी अब त हेर न छुट्टी
जिन्दगी पछि अहो कति शून्य
भो खिसी बहुत गर्नु त हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *