Skip to content

जन्मभूमिमै मर्न पाऊँ


पहराको छोरो म
पहरामै रम्न पाऊँ
छहराको सन्तान म
छहरामै खेल्न पाऊँ

वन पाखामा खेलेर
कन्दमुल खाएर
छहरा र पहरासँग
गाढा साइनो गाँसेर
ठाडो पाखामा हुर्केको
पहराको छोरो म पहरामै रम्न पाऊँ

गाइबाख्रा चराउदै
मुरली बजाउदै
पोथ्रासँग बयली खेल्दै
उन्यु र पातीसँग
लडिबुडी खेलेको
पहराको छोरो म पह्रामै रम्न पाऊँ

कहिले जुरेढुंगासँग
कहिले ठूल्ढुंगासँग
कहिले हाँडीकोट त
कहिले खानीका ढुंगासँग
मितेरी गाँसेको
पहराको छोरो म
पहरामै रम्न पाऊँ

गुराँसको फुलटीपी
रसस्वादन गर्दै
मलायको चुकसँग
गाला पट्काउदै
पातलको झाडीमा
दुईहातले जुका टिपिरहेको
पहराको छोरो म
पहरामै रम्न पाऊँ

चुत्रो र औसलु खाएर
मुला जस्तो भएको
खन्यु र गेडुलाले
स्याउ जस्तो भएको
मूलको पानी पिएर
दिनहुँ हिमाल हेरेको
पहराको छोरो म
पहरामै रम्न पाऊँ

जुरेढुँगामा चडेर
काली गण्डकी हेरेको
बुढी ओडारको टाकुराबाट
पारीको दुनिया देखेको
ओराली र उकालीले
शालको काठ बनेको
छहराको सन्तान म
छहरामै खेल्न पाऊँ
पुराना पँधेराको पानी खाएर
सदाको लागि मर्न पाऊँ ।

–देवेन्द्र बस्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *