Skip to content

मन्दिर धाउन थाल्या छौ रे


आजकल सुन्छु बिहान तिमी मन्दिर धाउन थाल्या छौ रे
मैले हिँड्ने बाटो कुरी थोरै च्याउन थाल्या छौ रे

गर्छ्यौ अरे मात्र कुरा पिरतीका साथीसँग
मन भुलाउने गीत खोजी गुनगुनाउन थाल्या छौ रे

भन्थे तिम्रा सङ्गीहरू व्रत बस्छ्यौ अरे तीजमा
लुकाएरै अलि अलि माया लाउन थाल्या छौ रे

बिहानीपख नुहाएर पूजा थाली सजाउँदै
एकोहोरो चिसो कपाल सुम्सुम्याउन थाल्या छौ रे

सोमबार पनि शिवजीको बस्छ्यौ अरे व्रत आजकल
दबिएका भाव पोखी भजन गाउन थाल्या छौ रे

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *