• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

सुन्तलेको उकालो र दिङ्गलाको ओरालो

bheshraj71 — Wed, 08/16/2017 - 10:59

  • नियात्रा
  • भेषराज रिजाल
  • छरिएका पाइला कोरिएका डोब

सम्बत् २०६९ साल असार १६ गते । भोजपुर जान एयरपोर्टभित्र छिरेर धेरैबेर पर्खियो । सहकर्मी थिए श्याम डंगोल र हिरा महर्जन ।

धेरै जनाले भोजपुर नजानुस्, टिकटै पाउन कठिन छ भनिदिनाले भोजपुर यात्राको आसै मरिसकेको थियो । टिकट पाइहाले पनि उडान बढी क्यान्सिल भइरहन्छ भन्ने सुनेर त्रास बढेको थियो । बर्खाको समयले अनिश्चितताको बादलमाथि अर्को तह थपिदिएको थियो । अन्ततः एघार बजेतिर सबै अनिश्चितता हटाउँदै प्लेन उड्यो ।

बर्षात्‌ले असारलाई पूरै नरूझाए पनि गाढा हरिया भएका मकैबारी देखिए । एउटा विशाल खोला दाहिनेतिर हुन्हुनाउँदै तलतिर लाग्यो । रातो माटोका डोरेटाहरू भएका फाँटहरू देखिए । जस्ताले छाएका बस्ती कुहिरोभित्र टल्किरहे । हरिया पहाड चिरेर बनाएका कच्ची गोरेटाले रक्ताम्मे देखियो फेरि अर्को गाउँ । धमिलो पानी र बालुवासँग रमायो नदी । रातो माटोको बगरमा पन्पिन नसकेका खेतिपातीलाई फेरि कुहिरोले छोप्यो । धर्तीका फाँटलाई कुहिरोका फाँटले छोप्यो ।

कुहिरो हट्दा फेरि खोलोको एकटुक्रा धमिलो देखियो । अर्को पाखामुन्तिर सल्बलाएको त्यो अर्कै खोलो थियो । चोसो परेको डाँडाको नाक घुम्दा खोलाको एउटा गुडुल्की प¥यो । त्यसको किनारैकिनार एउटा धूलेबाटो कुद्यो । धूलेबाटो खोलाको किनार छाडेर उकालो लाग्यो । प्लेन उडानको देब्रेपट्टि लागेको त्यो पथ मबाट ओझेल भयो ।

सङ्लो पानीको स–सानो खोला, गाढा हरियो जङ्गल, फाटफुट गाउँ, मकैबारी, रसिलो लाग्ने थुम्क्याइलो पहाडी भित्तो आएपछि प्लेन होचियो । डाँडै छोला जसरी आङै सिरिङ्ग पार्दै प्लेन ओर्लिन थाल्यो । स–साना गह्रा भएको एउटा रोपाइँ भइसकेको खेत माथिबाट उड्यौँ हामी । बोलाए सुनिएलाजसरी गाउँका आँगनहरू देखिए । त्यही भित्ताको एउटा सिरू फुलेको अलि फराकिलो गह्रामा प्लेन ओर्लियो ।

भोजपुरको टक्सार विमानघाट साह्रै साँघुरो रहेछ । पृथ्वीनारायण शाहका पालामा मुद्रा बनाउने काम हुने भएकोले त्यो ठाउँलाई टक्सार भनिएको रहेछ ।

करिब छवर्ष कतार बसेर फर्केका भाइ बालकुमार आइपुगे हामीलाई सहयोग गर्न । हाम्रा झोला झ्याम्टाहरू एउटा गाडीमा छोडेर हामी उकालो लाग्यौँ । वर्षौंदेखि विछोडिएका काली निउराका मुन्टा, सिमलीका झाङ, सजिवनका बोट, केतुकी र सहश्रजरीका पातहरूसँग भेटघाट भयो बाटामा । तिनले मलाई बिर्से पनि मैले भने चिनिहालेँ ।

भोजपुरबजारको एउटा गेष्ट हाउसमा पुगेर हाम्रा सरसामान थन्क्यायौँ । गेष्ट हाउसभन्दा केही पल्तिरको घरमा पुगेर काठमाडौंदेखिको भोक शान्त गरियो । साग भात, तरकारी, दही । चिसो पानीको खानै मीठो । चाडबाडका बेलामा केटाकेटी जिब्राको स्वाद सम्झेँ –कनिका परेका घिउ, काँसका बटुकाभर जमेर ढिका परेको दही, बोडीको तरकारी, काँक्राको अचार र गुडुरा चामलको भात । लाग्यो, बाल्यकालको स्वाद सम्झन मन चङ्गिनन पर्दोरहेछ ।

हामी भोजपुरबजार र वरपरका दृष्यहरूसँग रमाउन थाल्यौँ । भोजपुरबजार दुईलाइनमा लमतन्न परेर हामीलाई डो¥याउँदै थियो । मैले सुन्तले हुँदै संखुवासभा जाने उकालोतिर नजर लगाएँ । दक्षिण पूर्वपट्टि लेगुवाघाटतिर जाने श्यामशिला, भैँसपङ्खातिरको बाटो अर्को क्षितिजमा उभिएको थियो । दक्षिणतिर डाँडाका नाकहरू होचिँदै र सुत्दै गइरहेका देखिन्थे । टक्सार विमानस्थल ओर्लिनुभन्दा पहिला देखिएको पिखुवाखोला नेपथ्यमा हराएको थियो । छ भन्ने आभासले मात्र पनि मनमा एउटा आनन्द मिल्छ कहिलेकाहीँ ।

उत्तरतर्फ भोजपुर र खोटाङको सिमानामा आसपासका अरू चुचुराहरूभन्दा अग्लो पहाडी चुचुरो ‘टेम्के’ कुहिरोको फेटा लगाएर मख्ख देखिन्थ्यो । २०६८ सालमा टेम्के महोत्सव मनाइएको थाहा पाएर त्यो चुचुराको उचाइ झन् बढेझैँ प्रतीत भयो । उचा हुँदा संसारले चिन्दछ भन्ने थुप्रै प्रमाण छन् हामीसँग । सगरमाथा, कञ्चनजङ्घा धवलागिरि, मकालु, मनास्लु, अन्नपूर्णा आदिले हाम्रो शिर पनि उचा बनाइदिएका छन् ।

भोजपुरका प्रख्यात वस्तुको कुरा चल्दा ‘भोजपुरे खुकुरी’ को नाम आयो । खुकुरी किन्ने साथीहरुलाई जहाजमा देखाउन हुन्छ भनेर बिल पनि लिन सुझाएँ मैले ।

साथीहरू साँझको रमाइलोमा हराउन खोजे । चिया भनौँ वा भट्टी पसलमा छि¥यौँ हामी । साथीहरूलाई चिम्सेको सितनसित सोमरस आयो । मैले रेडबुल र चिकेन मागेँ । पसले दाइ पनि रसिक रहेछ । हिरा र श्यामलाई उसले ‘झ्याइँकुटी’ मा देखिने ज्यापूजस्तै भनिदियो । उसले भन्यो –‘बोली पनि दुरूस्तै ज्यापूको’ । उसले आफ्नो व्यापार बढाइदिनेलाई मात्र फुक्र्याएर चुच्चो नाक, गढेका आँखा र बूढो अनुहारमा देखिने यो बाहुनको गणनै गरेन । उसले नगनेर के भो त । उसकी छोरीले जाँड छान्दा, रक्सी वा चिया दिँदा र पानी उबाउँदा घोप्टो परेर छड्के तीर मैतिर हानिरहेकी थिई । ताँदो चढाएर बेस्सरी ताकेर हानेका बाणजस्ता उसका नजरका बाणले मलाई नराम्ररी घाइते बनाउँछन् । हामी बेञ्चमा बसेपछि उसकी आमाले उसलाई बोलाउने बित्तिकैभित्र आएर मतिर फर्केर मुस्कानले मार्न खोजी । अहिले मौका खोजीखोजी तीर बर्साइरहेकी छ । मोरी गोरी छ । भर्खर जवानीले रङिएका आफ्ना गालालाई झन् रक्तिम बनाएर मेरो दिलका सुनसान ठाउँमा एउटा तरङ फैलाइदिन खोज्दैछ । काठमाडौंबाट आएका प्राणी कस्ता हुन्छन् भनेर मात्र हेरेकी त पक्कै होइन होला । म पनि उसको जस्तै दिल भएको मान्छे । तर फरक यत्ति ऊ एउटी सुन्दर नवयौवना ।

सुन्दर, चहकिला र आभापूर्ण आँखाहरू घरिघरि मतिर छर्दै त्यसले ढोकामा उभिएर मोबाइल खेलाई । मोबाइलको उज्यालो त्यसका अनुहारमा पोखियो । कपाल, आँखीभौं, थेप्चो नाक, हिस्सी परेको अनुहार, वक्ष थुम्काको उज्यालो मेरा आँखामा प्रतिविम्बित भयो । उसका अभिभावकले देख्लान् भनेर मैले हतारहतार मेरा आँखा त्यसको सुकोमल अनुहारबाट बलै हटाएँ । मनको मत पाएर मेरा लिप्त आँखा पटक्कै मतिर खुम्चिन चाहेनन् । उसको चहकपूर्ण अनुहारमै छरिन चाहन्छन् । मूर्खको उभिन्डो परेको भकारीजस्तो गालपारा मेरो मन पनि पटक्कै बुझ्दैन ।

जीवनभर परस्त्री र रूमानी माया प्रेमदेखि अलग रहेको आफ्नो जीवनको वास्तविकतालाई सम्झेर त्यस्ता रोमाञ्चक हेराइ उपहासजस्तो मात्र लाग्छ कहिलेकाहीँ ।

भोजपुरबजार नजिकैको सिद्धकाली मन्दिरमा पुग्यौँ । अलिमास्तिरको डाँडाबाट भोजपुरबजार मजाले देखिँदोरहेछ । कसैले भोजपुरपट्टि फर्केर खिया लागेको बजार भने । खिया लागेको जस्ताले छाएका घरका छाना टल्कन सकेका थिएनन् । यति विघ्न जस्ताका छानामा खिया लागेको बजार मैले कतै देखेको थिइनँ ।

सपनाहरू बसाइँ सरेर अन्तै गएपछि रूखो विपनासँग दिनदिनै टोलाउँदा लागेको होला त्यो मैलो खियाको पत्र भोजपुरमा । सोचेँ, स्थिर भएर अडिएको पानीमा लेउ लाग्छ भने पानी त के हावाले मात्र छोए पनि छानामा खिया लाग्दोरहेछ । मान्छेको तातो उच्छ्वास नपाए खिया दैनन्दिन बढ्दोरहेछ ।
खुकुरी किन्दा साहुजीले पनि राम्रो फलाममा खिया लाग्छ भनेको सम्झेँ । फेरि चित्त बुझाउन लागेँ । खिया लागेर के भयो त । खिया त फाल्न पनि सकिएला । मनोरम हावापानीको प्रदेश भोजपुरको खिया समयले फाल्नेछ कुनैदिन । पक्की सडकले भोजपुरका डाँडापाखा छोएपछि सुन्दर सहर बसाएर रम्न चाहनेहरूले पक्कै भोजपुरलाई माया मान्नेछन् । नत्र काठमाडौँ, विराटनगर वा अन्यत्र झरेर जन्मथलो बिर्सने धनाढ्यहरूले भोजपुरमाथि खियाको तह अझ बढाइदिनेछन् ।

रापिलो भुङ्ग्रो खन्याइएको मनबाट भाग्न क्षितिज ताकेँ । आगो त क्षितिजमा पनि दन्केकोरहेछ । ‘आगो आकासमा फैलियो भने । भयानक डरदेखि भाग्न फेरि आँखा चिम्लेँ । आँखा खोल्दा क्षितिजको आगो निभिसकेकोरहेछ । शायद त्यो क्षितिजमुन्तिरको अर्कै धर्तीलाई सल्काउन ओरालो लागे होला । तर मेरो मनभित्रको भुङ्ग्रो झन् फैलिँदै भित्रभित्र सल्किरहेकोथियो ।

भोजपुर टेकेको चौथोदिन हामी बिहान छ बज्नु पहिल्यै संखुवासभा जानका लागि कस्सिएर उकालो लाग्यौँ ।

काफ्लेमा कोदो रोपेको बारी हेर्दै हामी चोमोलुङ्गमा एफ.एम.नेर पुगेर रोकियौँ । गाडी देखोनदेखो गर्दै सुन्तले उक्लन कस्सिएका सुन्तली र सुन्तलेहरूलाई मूर्ख ठान्दै एउटा बोलेरो जिपको छेउमा उभिएर हामी पर्खिरह्यौँ । जिपले पनि मान्छे पर्खिरहेको थियो । जिप सुन्तलेको उकालो छिचलेर अलिपल्तिर पुग्छ भन्ने जानकारी पाएर त्यसको जीउडाल हेर्दै रमाएर कम हिँडे हुने भयो भनेर मख्ख पर्दै पर्खिरह्यौँ । चिया बिस्कुटका स्वादमा रमाउँदा मलाई बुबाले सुनाएको एउटा घटना सम्झेर एक्लै हाँसो लागिरहेको थियो ।

‘भोक लाग्यो के खाने’ एकजना नयाँ ग्राहक चिया पसल अगाडि आइपुगेछ ।

‘चिया बिस्कुट खानु न ।’ पसलेले आफूसँगको अचुक औषधि तेस्र्याएछ ।
चिया बिस्कुट खाएपछि पसलेका पिँढीमाथि हेर्दै सोधेछ रे उसले –‘कतिबेरसम्म पर्खनुपर्ने हो भोक मेट्न । गाउँघरमा त नुनखुर्सानीको चटनीमा चोपेर कोदाको रोटी खाएपछि तुरून्तै भोक मेटिन्थ्यो ।’

अर्को चिया बिस्कुट थपौँ मैले घटनाका पात्रलाई होइन, जिप अगाडि उभ्याएर व्यापार गरिरहेका साहुजीलाई भनेँ ।

यात्रु कम भएर जीप नगएपछि युद्ध हारेका सिपाही जसरी पोकापन्तुरा बोकेर सुन्तलेको उकालो लाग्यौँ हामी । पैदलै हिँड्न पाइने भयो भनेर एकमन खुसी पनि लागिरहेको थियो ।

ठाडो उकालो सुरू भयो । उकालाको शीर्षभाग कुहिरोले छोपिएको छ । शरीर निरन्तर उकालोमा जोतिएको छ । जति माथि पुग्यो कुहिरो उति माथि सर्दै छ । पछाडि फर्कँदा पनि कुहिरै छ । पहाड र दृश्य पूर्ण आकारमा हेर्न दिँदैन कुहिरोले । कुहिरोले हामीलाई नजरबन्दमा पारेको छ ।

आफूभित्र थुनिएको आफैलाई बिस्तारै उधिनेर गुच्चाजस्ता आँखाका भरमा मैले बाहिरी दुनियाँतिर नजर लगाएँ । रातो माटोले पोतेका घरहरू । मकैबारी । घना जङ्गलमा छिरेजस्तै झ्याउँकिरीका आवाजहरू । हात्तीगौँडा पिकनिक जाने एकहुल विद्यार्थी भाइबहिनी पनि छन् अगाडिपछाडि ।

निर्जन बुट्यान आयो । पानी जम्मा भएको पोखरी आयो । अनि आयो हात्तीगौँडा आयो ।

अलिमाथि चौरमा पुगेपछि डोलीमा बिरामी ल्याएको देखियो । हेलौँछाबाट ल्याएको रे । भोजपुरमा बिसेक नभए काठमाडौं लैजाने रे । मोटर बाटोले भत्काएका रातो माटोका डोब हेर्दै सुस्केरा हाल्न मन लाग्यो, बाटो मात्र भएर पनि नहुनेरहेछ ।

साथीहरूबाट म छोडिएँ । पिठ्युँ र हातभरि झोलाहरू छन् । हिँड्न कठिन भइरहेछ । फराकिलो मोटर बाटो भए पनि निस्पट्ट कुहिरो छ । चराहरूसमेत कराएको सुनिँदैन । कतैकतै बाटै छेके जसरी ऐँसेलुका झाङ तेर्सिएका छन् । निर्जन कुहिरीमण्डलभित्र नभए त एक्लै रमाउने मान्छे हूँ म पनि । पसिनाले सिञ्चित छ शरीर । शुष्क जिब्रो बोल्न सक्दैन । मन मात्र बोल्छ एकोहोरो । सबैभन्दा बढी उत्साहित भए पनि हिँड्न नसक्ने मै ठहरिएँ ।

कुहिरो अलिकति फाट्न खोज्यो । एकाध चरीका स्वर सुनिए । ती झाडीभित्र आफ्ना प्रेमालापमा च्यार्रचुर्र गर्दै थिए । चरी नदेखे पनि चरीले लेखेका पालुवाका पातहरूका अनौठा डोबहरू नियाल्दै थिएँ । कुहिरोको स्पर्शबाट चिस्यान पाएर टल्केका पातहरूलाई हावाले सुस्तरी हल्लायो । तिनको फर्फराहट गजब सुन्दर लाग्यो । म त्यही सुन्दरतासँग मोहित भएँछु । चरीका चिर्चिराहटले मुग्ध भएँछु । त्यसैले बाटो किनारसँग रमाएँछु । त्यो बाटो किनार जीवनपथजस्तै लाग्यो मलाई । ऐँसेलुको झाङनेर एउटा ठूलो ढुङ्गामा टेकिएर पसिना र कलमको रङ कापीमा उतारेँ मैले । साथीहरूको कुनै आवाज छैन । कतै पदचिन्ह वा पदचापको निशानी छैन । उनीहरूले आफ्नो बाटो तय गरिरहेका होलान् । मैले पनि आफ्नो बाटो तय गर्नुछ । फरक यत्ति छ, सक्नेले छिटो नसक्नेले ढिलो ।

धापखर्क आयो । हामी निरन्तर अगाडि बढ्यौँ । केही अगाडि एउटा विद्यालय र केही पसलहरू । पसलहरू सबै बन्द । मनका क्षुधा मेट्ने पसल सहजै भेट्टाउनै कठिन छ यो दुनियाँमा । चियाको तलतल लागेको थियो । खाने तिर्सनाभन्दा थकाइ बिसाउन खोजिएको उपाय । छेउमै सानी फुच्चीले आफूभन्दा ठूल्ठूला भाँडा माझिरहेकी थिई ।

जीवन गीत विरह गीत बनेकोमा म पछुताइरहेँ । कुहिरोको अर्धपारदर्शी पर्दा च्यातेर पछाडि फर्कँदै फुच्ची सुन्दरी छोरीलाई हेरिरहेँ । ऊ मेरी छोरी भएकी भए, म झन् विस्मित भएँ ।

अलिपल्तिर कुहिरोको पर्दाले छेकिएको हरियो चौरमा घण्टी बजाउँदै गाईवस्तु चरिरहेका थिए । कुहिरोले ढाकिएको उकालो र चिसो लेकाली स्पर्शले मन झन् ढक्क फुलिरहेको थियो । लडीबुडी खेलौँजस्तो चौर तर अथाह उकालो । उकालो कति छ कुहिरोले देख्न दिएको थिएन । उक्लिरह्यौँ । कच्ची मोटर बाटो र चौरको लुकामारी भइरह्यो । सुन्दर चौर काट्न आइरह्यो कच्ची बाटो । मोटर निरन्तर नगुड्ने कच्ची बाटाले बिगारेको चौर देख्न पटक्कै मन भएन ।

मेरा आँखाका सुन्दर दृश्यहरू अब कल्पनामा छङछङिन्छन् । इन्द्रीय चेतले छोएका भए ती आफ्ना हुन्थे । कल्पनामा तैरिँदा पनि ती सुन्दर त लाग्छन् तर स्थिर आकृतिमा नआउँदै पूरै विलुप्त हुन्छन् । थकथकी मान्दै म फेरि खोज्छु त्यस्तै दृश्यहरू । अज्ञात र अस्थिर जीवनजस्तै ती अनुमानमै नाच्न थाल्छन् र फेरि हराउँछन् ।

सुन्तले आइपुग्यो । सुन्तलेको नाम जप्दै धेरै पाइला उक्लेपछि चिसो सिरेटोको स्याँठ भएर दुईचार झुप्रामा भेटियो सुन्तले । केही पसलहरू । एउटा बौद्ध गुम्बा । आलुका मरिसकेका बोटहरू । हिँउदमा कराउँदै डुलेको चिसो बतासले हल्लाएको मुटु रोक्न बलै दाँत टोक्नुपर्ने लेक । चरम गर्मीले मच्चाएको उखरमाउलो भोगेर आएको बेलामा पनि चिसो भन्नुपर्ने । आफ्नै शरीरको पसिना चिसो भएर असजिलो हुँदै थियो ।

केही नखाई हिँड्न सकिँदैन भनेर म त एउटा होटल अगाडिको बेञ्चमा थ्याच्चै बसेँछु। बज्यैले चिया खन्याइन् । बाजेले आलु काट्न थाले । करिब तीनघण्टाको ठाडो उकालो र भोक शान्त गर्न र थकाइ मार्न हामी पसलभित्रै छिर्यौँ‍ ।

मोबाइल हेरेँ, नेटवर्क थिएन । नत्र उकालो विजय गरेर उचाइमा पुग्दाको आनन्द बाँड्न चाहन्थेँ साथीभाइ र आफन्तहरूसँग । मेरा लागि सगरमाथा विजयजस्तै भएको थियो सुन्तलेको उकालो चढाइ ।

कुहिरोले केही हेर्न नदिएकोमा भने म विरक्त थिएँ । एकजना स्थानीयले मेरो छटपटी देखेर भने ‘झ्याउँपोखरी, बोया, खाँदबारी, चैनपुरसम्म देख्न सकिन्थ्यो तर भुइँकुहिरोले छोपिदियो ।’

खानपिनपछि यात्राले निरन्तरता पायो । फेरि तेर्पाएँ बाटो । बालकुमार भन्दै थिए –अब उकालो अरूण पारि मात्रै ।

मेरो हेराइ अपूर्ण र एकलकाँटे छ किनभने मेरा सबै दृष्टि कुहिरोले छेकिदिएको छ । मेरो पदस्पर्शको अनुभूति अस्पष्ट र अधुरो छ किनभने भतभत पोलेका पैतालाले खोइ कसरी गर्छन् रोमाञ्चकारी अनुभूति र गर्छन् त्यो बाटो र माटाको सुन्दरताको वर्णन । कुहिरोको पर्दा अलि उज्यालो भएर घाम लाग्छ कि भन्ने झिनो आशा लिएर लुखुरलुखुर हिँड्दै छौँ अनवरत एकोहोरो जीवनको बाटोजस्तै ।

यो चौरमा बुकी फुल्दा कति रमाइलो हुँदो हो, बुकीका साना मुन्टा हेर्दै मैले माधव घिमिरेको कविता स्मरण गरेँ– ‘आउँछ बुकी फूलको मगमग वासना ...’

धापखर्कमा भेटिएका दुईजना ठिटीहरू सुन्तलेको समथर फाँट नसकिँदै छोडिए । विशेषतः बालकुमारका चिनजानका तिनीहरू पछिपछि आइरहेका ठेकेदारहरूसँग भुले होलान् । बालकुमारले बल्ल कुरा खोल्यो । आफ्नो पुरानो सामान्य चिनजान मित्रतामा बदलिएला भन्ने आशा भरङ्ग भएछ । उसको कालो अनुहार अमिलो देखियो । उसले मोबाइलमा गीत बजाउँदै एक्लैएक्लै हिँड्न थाल्यो ।

मलाई मनमनै हाँसो लागिरहेको थियो । मित्रता युगीन हुनसक्दैन भने चिनजान नै नहोस् । माया क्षणभरमा विछोडिन्छ भने त्यस्तो विछोडमा किन दुखी हुने । दुखी हुन त आत्मीयताको समभाव हुनुपर्छ । आत्मीयताका मसिना सम्बन्धहरू छोइएको हुनुपर्छ । पराइ मन विछोडिँदा किन धर्कने ।
हेर्दा मात्रै पनि प्यास मेटिएलाजस्तो कञ्चन पानी कलकल बगिरहेछ । रसिलो जङ्गलको कन्दराभित्र त्यसको मूल छ । भर्खर ट्र्याक खोलेको जङ्गली बाटो खुब सुन्दर छ । जङ्गलको सुन्दरताको अर्को विशेषता एकलासपन । बाटामा ढुङ्गा ठड्याएर गाडी गुडाउन सजिलो बनाइएको छ ।
‘यही जङ्गलमा हो एकजना काफ्लेतिरको मान्छेलाई मारेको’ भन्ने बालकुमारका भनाइले भने विषफल खाएजस्तो भयानक भयले मुटुलाई अठ्यायो ।

कुहिरोले थुम्का र रूखहरू चुम्दै र पातलिँदै उड्न थाल्यो । उड्न लागेपछि हट्नुपर्ने कुहिरो । भविष्य अनिश्चितताको गर्भमा भए पनि एउटा आशलाग्दो तर्कले प्रसन्न बनायो । लाग्यो, कतैबाट छिरेर मनमा आइपुगेको अपेक्षाको मसिनो किरणले नै उज्यालो बनाउँदो रहेछ कर्मीहरूको गोरेटो । लाग्यो, ठूल्ठूला अपेक्षा नगरेर स–साना प्राप्तिमा रमाउनेहरू नै संसारका सुखी प्राणी हुन् ।

केही अगाडि घन र छिना लिएर एउटा पहराको भित्तासँग जुधिरहेका करिब आधादर्जन मान्छेहरू भेटिए । अनकण्टार जङ्गलका बीचबाट बाटो बनाउन सक्ने ती बहादुरहरूको कामलाई मनमनै पूजा गरेँ । भित्तातिरबाट झारेर वा डिलमुन्तिरबाट उकालेर बाटो बनाउन जुटिरहेछन् तिनीहरू । अरूका लागि सहज बाटो बनाउन ढुङ्गासँग लडिरहेछन् आफ्नै जीवन खियाउँदै ।
एक ठाउँमा भने दशबाह्र वर्षे तीनजना फुच्चेहरूले ढुङ्गा जम्मा गरिरहेका थिए ।

‘कति पाउँछौ ।’ करूणा भाव रोक्न सकिन मैले ।

‘एक ट्याक्टरको छ सय’ बाहुलाले पसिना पुछ्दै एकजना फुच्चे बोल्यो ।

उभिएर हेरेको देखेर डिलमुन्तिरको ठूलो ढुङ्गामाथि बजार्न लागेको घनको चोट पहिल्यै रोकिसकेको थियो उसले । भीरमा लडिएला जसरी घोप्टो पर्दै ऊ ढुङ्गा फुटाएर ट्याक्टर भर्ने उपक्रममा जुटिरहेको थियो ।

‘पढ्न जान्छौ त ।’ स्कुले ड्रेसमा रहेको अर्को फुच्चेलाई मैले सोधेँ ।

‘पढ्छु तर आज विदा छ ।’ ऊ सहजरूपमै नजिकैबाट बोलिरहेको थियो तर मलाई उसको बोली कतै दूरदराजको नेपथ्यबाट आएझैँ लागिरहेको थियो । अनपेक्षित अवस्थाले मलाई ज∙ली युगको दुर्गमतिर धकेलेझैँ लागिरहेको थियो ।

हुरी त चलिरहेको थियो । उसलाई सुनेर म झन् भुमरीमा फसेँ । स्कुले विद्यार्थी मरीमरी ढुङ्गा बटुलिरहेछन् । कापी, कलम जतन गर्ने कलिला हातहरू ढुङ्गासँग ठोक्किइरहेछन् । म भावविह्वल भएँ । लाग्यो, विचराहरू भोक खाएर प्यास पिउँदै दुःख बाँचिरहेका छन् । यो तिनका पिता पुर्खादेखिको अवस्था पनि हो ।

‘एक विद्यार्थी एक ल्यापटप’ कतै सुनेको नारा वाण बनेर छिर्यो‍ मेरो छातीभित्र । त्यसले छातीभित्रका पनि बढी कमजोर र मर्मशील ढोकाहरू फोर्दै मुटुमै प्रहार गर्न थाल्यो । म अबोध बालकजस्तै बनेर निरीह बालकहरूका वाध्यता टुलुटुल हेरिरहेँ । चिचिले बालकहरूको बालश्रम र उनीहरूको गरिबी देखेर छातीभित्र केही चिजले नराम्ररी थिचेझैँ भइरह्यो ।

दुःखका पहाडहरूको चढाइमा पूर्णविराम चाहेझैँ मैले अन्तरहृदयमा बज्रिएको चोट बिर्सन पारिपट्टि हेरेँ । रोमाञ्चकारी नृत्यमा छङछङ गर्दै एकैछिन अघि झङ्कृत झरना तलाउ भएर जम्न थालेझैँ लाग्यो । अब त्यो तलाउ पनि सुकेर हिलो मात्र रहन के बेर । कक्रक्क जमेको हिलो त ढुङ्गाभन्दा पनि कडा हुन्छ । काँचो माटो सुन्दर आकृतिमा फेरिनै नपाई ढुङ्गा बन्ने त होइन । एउटा भयानक त्रासदीपूर्ण हुँन्डरी मच्चिएर आफैलाई उडाउलाजस्तो ग¥यो । सहाराको खोजीमा अगाडि हेरेँ, साथीहरू पर पुगिसकेका थिए ।

अलिपल्तिर खोल्सामा तार ग्याबिन भर्दै केही मान्छेहरू देखिए । लाग्यो, मुलुकको विकास निर्माण भइरहेछ । जब असार लाग्छ, तब सुरू हुन्छ विकासको खेला । खेतिपातीको समय हो यो । खेतिपाती छोडेर भए पनि सयपचास बढी पाइन्छ कि भनेर विचरा स्थानीयहरू यस्तै विकासमा लाग्नुपर्ने । करोडौँ रूपैयाँ भने काम नगर्नेका गोजीमा जान्छ । यस विषयमा ती कामदार र गरिब जनताहरू के सोच्दा हुन् । एकमनले गरेको प्रश्नप्रति अर्कोमनले तुरून्त प्रतिक्रिया जनायो । उनीहरूले केही पनि सोच्दैनन् । त्यत्रो पैसा कामै नगरी कसैले हजम गर्ला भन्ने तिनीहरूले कल्पनासम्म गर्दैनन् । टिमलटामल गरेर फाइदा उठाउन पल्केकाहरूले भने यस्तै हतारो पर्खिरहेका हुन्छन् ।

एकछिन अघि युवाहरूले गरेको ढुङ्गामुढाको काम एकैछिनपछि पाका मान्छेहरूले गरेका थिए त्यही बाटामा । विचराहरूको जीवनचक्र यही ढुङ्गामुढाकै वरिपरि घुमेर सकिएको देखेर कहिल्यै नबुझ्ने गरी विरक्तियो मन ।

‘तिम्रो नाम के हो ।’ –‘नीरकुमार ।’ ‘कति कक्षामा पढ्छौ ।’ –‘पाँच कक्षामा ।’
‘यो गाउँको नाम के हो ।’ –‘तेर्से ।’ कुनै कुराको सोझो जवाफ चाहिए बच्चालाई सोधे हुन्छ । चबाएर, बटारेर, बिगारेर, घुमाएर, ढाँटेर र लुकाएर बोल्दैनन् बच्चाहरू ।

बाटामा थुपारेका गुराँसका दाउरा देखिए । गुराँस चिरेर दाउरा बनाउन सजिलो हुने भएकाले मासिँदै छन् गुराँसका बोटहरू । गुराँसका राताम्मे फूल फुलेका वनजङ्गल सम्झेर कल्पिन्छु म । अनि तड्पिन्छु, भविष्यमा गुराँस सखापै हुने त होइन ।

हात्तीखर्क र बाघखोर कटिसक्यो । झ्याउ पलाएको जङ्गलमाथि कुहिरोको हल्का स्पर्श छ । कुहिरोबाहेक अरू सबै स्तब्ध छ । घना जङ्गल भए पनि पात हल्लिएको छैन । आफ्नै पदचाप मात्र सुनिएको छ । ती आफ्नै पदचापहरू पनि चुपचाप चुपचाप सुनिरहेथेँ । नबोलिकन हिँडिरहूँ भन्दा पनि बोलिएछ । नलेखूँ भन्दा पनि केही कोरिएछ । त्यो स्तब्धताले मसँग झन् धेरै बोलिरहेजस्तो लाग्यो । झन् धेरै हेरिरहेजस्तो लाग्यो । मैले लेख्न बिर्सेका अनगिन्ती रङ्गीन पदचिन्हहरू त्यतै कतै छरिएझैँ लाग्यो । थाहा पाएँ भित्रैदेखि आएको कुरा रोक्न सक्दो रहेनछु मैले ।

जम्काभेट भए, पानी बगेका अँध्यारा खोल्साहरू । केही समय पहिले मोटरका पाङ्ग्राले धमिल्याएका बाटाका हिलाम्मे आहालहरू । सित्तैमा छरिएका बाख्राका बड्कौँलाहरू । निर्जन जङ्गल जगाउने एकाध चराका चिर्बिराहट । दुर्गम पहाडका हुलिया थिए ती ।

अब तीनतले आउँछ भन्ने जानकारीले पैतालामा उर्जा थपेजस्तो लाग्यो । पारि खाँदबारी जाने बाटो । त्यो अरूण नदी । त्यता साम्पाङ देउराली । कुहिरो बीचबाट अलिकति खुलेको आँखीझ्यालबाट देखिएका दृश्यसँगै मन चङ्गियो ।

तीनतलेको पसलका अधबैँसे पसलेदाइ निकै फरासिला थिए । उनकी सानी छोरी पनि चतुर थिई । चिया खाएपछि साउनेमा पालिएका चौँरीगाईको छुर्पी टोक्दै ओरालो लाग्यौँ हामी । हामीभन्दा तीब्र गतिमा दिन ढल्किरहेको थियो । सूर्यले सधैँ जसरी मभन्दा अघिल्तिर गएर मलाई जिस्क्याइरहेको थियो । मैले हारेमाने जसरी ओरालोतिर नजर दौडाएको देखेर त्यो झन् ममाथि उदेकलाग्दो पहेँलो छायाँ घोप्ट्याएर विजयभावमा मुस्कुराउन चाहन्थ्यो ।
एउटी बूढीआमैले विद्युतीय मतदान उपकरणलाई देखाउँदै ‘यो के हो ।’ भनेर सोधिन् । मैले उपकरण र त्यसबाट गरिने मतदान प्रक्रियाका बारेमा बताइदिएँ । उनी झर्किइन् ‘अब त काठमाडौंमा मात्र बस्नेलाई भोट नदिने ।’ वर्तमान राजनीतिज्ञप्रतिको कटु वितृष्णा थियो यो ।

मुजैमुजा परेका लुगा ठाडो भित्तामा सुकाएजस्तो उनको अनुहार हेरिरहेँ एकछिन । समयले त्यसै खुम्च्याएको रहेनछ उनको अनुहार । हरेक मुजाभित्र अनुभवका असङ्ख्य धर्साहरू कोरिएजस्तो लाग्यो ।

अनुहार उजिल्याउने योजना र कार्यक्रमबिना भोट मात्रै माग्न नेताहरू गाउँबस्तीतिर छिर्दा गाउँबस्तीले उल्टो पाइला खेदाउन के बेर ¤ के साँच्चै यी गाउँबस्तीहरूले पहिचान्न सक्लान् त मुलुक सपार्ने र बिगार्नेहरूलाई । बिगार्नेहरूको भीडमा सपार्नेहरू नभेटिए कसरी छान्लान् त आफ्ना अगुवा । मेरा हातहरू, चलिरहेका पाइलाहरू र सोचमग्न मथि∙ल एकै ठाउँमा टक्क रोकिएझैँ लाग्यो । ती बूढीआमैको आक्रोश, हाउभाउ र लवज हेरिरहन, सुनिरहन मन लाग्यो । नेपालको अभिशप्त इतिहासलाई सराप्दै मनले युगपुरुषको खोजी गरिरह्यो ।

बाटो ओरालो त छँदै थियो, साँघुरो, चिप्लो र जङ्गली विकटतामा बदलियो । केहीबेरमा भुइँचालोले भत्काएको देउरालीको ढुङ्गे संरचना आइपुग्यो । घरि फाट्दै घरि हामीमाथि घोप्टिँदै थियो कुहिरो । कुहिरो नलागेको भए के के देखिँदो हो । हिमाल, उपत्यका, नदी, बेँसी, पहाडी बस्ती, डाँडाका लम्बेतान श्रृङ्खलाहरू । मन कोक्याइरह्यो ।

‘यो के हो ।’ मैले साथीहरूलाई ढ्याब्रे पात र नरम डाँठ भएको बिरूवा लौराले देखाउँदै सोधेँ ।

‘पर्वत जिल्लाका उत्तरी लेकाली गाउँका मान्छेहरू यसलाई बाँको भन्थे ।’ कसैबाट जवाफ नआएपछि म आफै बोलेँ ।

बाँकाको झाडी छिचोल्दै लेकाली पाखाहरूमा हिँड्दाको सम्झना आइरहेकोथियो मलाई । अनि बाँकाको गुन्द्रुक खाएको कुरा सुनाएँ साथीहरूलाई । साथीहरूबाट कुनै जिज्ञासा वा प्रतिक्रिया भएन । लाग्यो, स्वादै थाहा नभएको परिकारको कुरा गर्नु व्यर्थ छ । त्यसैले भनिएको होला ‘च्याउ खाएको न स्वाद पाएको’ ।

फाली दोबाटोबाट एउटा खोचमा अरूण देखियो । हामी आएको बाटो अनुमान गर्न मिल्ने गरी कुहिरो फाट्यो । छेवैमा ठूलो ढुङ्गामाथि मन्दिर भेटियो । चिप्लोमा मुस्किलले धानिँदै हामी ओरालिइरहेका छौँ । विश्वको सबैभन्दा होचो अरूण उपत्यकातर्फ अभिमुख छौँ हामी ।

केहीबेरमा बहिदार भञ्ज्याङ आइपुग्यो । गुप्तरूपमा भित्र रहेका चित्रहरू भएको पाटी रहेकाले चित्रगुप्त पनि भनिने रहेछ त्यो ठाउँलाई । पाटीभित्र बुद्धका विभिन्न मुद्राका चित्रहरू देखिए । एउटा प्राथमिक विद्यालय र केही पसलहरू हाम्रा सामुन्ने उभिए । हामी एउटा पसलभित्र छि¥यौँ । नून खुर्सानीको छोपसँग आलु निकै स्वादिष्ठ थियो । त्यसमाथि रमरम पार्ने तुम्बाको रस ।

निग्रेबाट तुम्लिङटार देखियो । अरूणले सर्प शरीर मर्काएर तुम्लिङटारलाई सुरक्षित बेर्यो‍ । पारिपट्टि डाँडामा खाँदबारी देखियो । वारिपट्टि दिङ्ला र झ्याउँपोखरी । व्यतीत भएको समयको हेक्कै भएन । कहाँ छु, के गर्दैछु ख्यालै भएन । मूर्तिवत् हेरिरहेँ ती दृश्यहरूलाई । टक्क रोकिएर तिनीहरूले पनि मलाई हेरिरहेझैँ लाग्यो । निमेषभर समयले पनि हृदयमा सुखको सञ्चार गर्यो‍ । त्यो सुखका केही झिल्काहरू जिन्दगीभर अनुभूत हुने भए । म झन् रोमाञ्चित भएँ ।

कामी चौतारानेर झ्याउँकिरी कराएको सुनियो । झ्याउँझ्याउँ, किरिरी, ट्यार्र आदि आवाजको उदेक लाग्दो सामूहिक स्वर निकालिरहेको थियो झ्याउँकिरीले । झ्याउँकिरीको आवाजलाई जङ्गलको एकलास र निर्जनताको प्रतीक मान्दछु मैले । विरहिलो र उदेक लाग्दो लाग्छ त्यस्तो स्वर मलाई । बिचरा रातदिन कराएर कसरी जिन्दगी बिताउँदो हो ।

कोदोको बीउ बोकेका ठिटाठिटीहरू देखिए । छेवैमा मकैभित्र कोदो रोपेको बारी मुस्कुरायो । कसैले भनेको सम्झेँ ‘कोदोलाई कसैले पनि माया गर्दैनन् । धनीले शोखले यदाकदा खान्छु भन्छन् भने गरिबहरू लुकाएर खान्छन् । धेरैले त कुहाएर झोल बनाउँछन् ।’ घिउमा पकाउँदा गाउँभर फैलिएको कोदाको रोटीको वास्ना सम्झिरहेको थिएँ मैले ।

बाटो पहिल्याउन आँखा च्यातेर हेरेँ । केही देखिएन । निस्पट्ट अँध्यारो छ । उज्यालोमा त केही नभए आफ्नो छायाँ देखिन्थ्यो । लप्सेमा मैले आँखा चिम्लेँ र बाटो किनारमै थ्याच्च बसेँ । म बसेको देखेर अरू साथीहरू पनि बसे । मैले आँखा चिम्लेर हेर्न खोजेँ । उज्यालोमा भन्दा झन् बढी देखियो । म हिँडेर आएको बाटो । मेरा सहयात्रीहरू । मेरा शुभचिन्तकहरू सबै छर्लङ्ग देखिए । लाग्यो, अँध्यारामा हेर्न अँध्यारोकै सहारा चाहिँदोरहेछ ।

हिँडिरहेछौँ लगातार । हिँड्नुभन्दा पनि घस्रिरहेछौँ धेरै त । साथीहरूले के सोचिरहेका छन् थाहा छैन, म भने थकाइ र भोकको अत्यास, असहज बाटाको असुरक्षा र अथाह अनिश्चितता तथा अध्याँरोको भयले चिन्तित छु । कतिबेला भेटिएला दिङ्ला भन्ने तीब्र छटपटी मात्रै छ ।

सुतिसकेको दिङ्लाबजारको एउटा होटलमा छिर्यौँ‍ । बालकुमारले दिउँसै फोन गरेर खानपिनको प्रबन्धसहित कोठा बुक गराएका थिए । बिहानदेखि अनवरत चौधघण्टाको यात्रापछि भेटिएको थियो दिङ्ला ।

अर्कोदिन बिहानै दिङ्लाबाट खाँदबारीतर्फ प्रस्थान गरियो । दिङ्ला पुख्र्यौली घर भई हाल मधेशतिर बसाइँ सरेका बालकुमारलाई यो बाटोको पथप्रदर्शक ल्याउनु हाम्रो बुद्धिमानी नै ठहरियो । उनले कुनै कुरा छुट्ला कि भनेजसरी जानकारी दिँदै थिए । दर्के पानीको पर्वाह नगरी पिठ्युँमा झोला, एकहातमा पोको र अर्को हातमा छाता बोकेर उनको पछिपछि लाग्दै म दिङ्ला बहुमुखी क्याम्पसको प्रा∙णमा छिरेँ । त्यसकै हातामा बालागुरू षडानन्दले स्थापना गरेको एउटा मन्दिर र संस्कृत पाठशाला रहेछ । राणाकालीन अन्धकारमा पनि शिक्षाको उज्यालो फैलाउन स्थापित पाठशाला । त्यही पाठशालाको प्राङ्गणमा तपस्या गरिरहेको भेटियो षडानन्दको सालिक । बालकुमारले देखाए कैलाश थुम्को, अलिमाथि टुँडिखेल, षडानन्दको नाबी गाडेको डाँडो र उनले स्नान गर्ने पोखरी । रूद्राक्षका अग्ला बोटहरू र लटरम्म फलेका नास्पातिका हरियालीमा मुस्कुराइरहेका थिए दिङ्लेली घरआँगन ।
केही अगाडि भने डोजरले बाटो भत्काएछ । जुतैसँग खुट्टा भासिए । ढुङ्गेनी चिप्ला बाटाहरूमा लर्किँदै हामी ओर्लन थाल्यौँ ।

तारे खोरिया कटेर गहतेनेर पुग्दा देब्रे हातको भर परेर उत्ताना टाँग पल्टँदै म नराम्ररी छाँट्टिएँ । दुबै हातमा समातेका झोला र छाता उछिट्टिएर पर पुगे । त्यो देखेर हलो जोतिरहेका एकजना सज्जनले जोत्न छाडेर दौडँदै घर गएर एकेकवटा राम्रा लौरा ल्याइदिए । उनी रहेछन् रूद्र न्यौपाने । लाग्यो, संसार पूरै दयाविहीन भइसकेको छैन । दयाविहीनरूपी कुरूपताले सहरमा भने अलेली ग्रहण लाग्न थालेको छ । गाउँको निरन्तर सत्प्रयासले मुलुकभर खग्रास हुन सकेको छैन त्यो ग्रहण ।

सिमसिमे पानी पर्यो‍ । ओरालो छ बाटो । ओर्लनु छ धेरै । फेरि उक्लनु पनि छ । खाँदबारीमा अन्तक्र्रिया कार्यक्रम त्यहीदिन दिउँसो एकबजेका लागि तय भइसकेको छ । शायद यसैलाई भन्छन् अग्नि परीक्षा । दर्के पानीमा भिज्दै अग्नि परीक्षामा उत्तीर्ण हुन कुद्दै थियौँ ज्यान फालेर हामी ।

धारापानीमा चिया खाइयो । बालकुमारले चिनेका एकजना भलाद्मीले लौरो तिखारिदिए । लड्न लागे लौरो गाड्न मिल्ने भयो । फेरि ओरालो लाग्यौँ ।
‘गाडी त राम्ररी चढ्नु भएछ ।’ धन्सारको उपल्लो तलामा उभिएर दर्के पानी हेरिरहेको एकजना मान्छेले मलाई नियालेर हाँस्दै भन्यो । कतिचोटी लडियो मैले गन्न छोडिसकेको थिएँ । लड्दा साथीहरू हाँस्थे । हाँसिरहेको उनीहरूको हाउभाउ देखेर आफूलाई लागेका चोट बिर्सँदै म पनि हाँस्थेँ । अब त शरीरमा लागेको माटोका दाग देख्नेहरू पनि हाँस्न थाले ।

टेक्न उचालेका पाइलाहरू राख्न नपाउँदै लर्किएर घुसमुन्टिनुपर्ने । लड्न पुग्दा शरीरको कुन अ∙ पहिले बज्रिन्छ अनुमानै गर्न कठिन भइरहेको थियो । धन्न कतै जोर्नी फुस्किएनन् । तन्तु मर्किएनन् । खुसी त्यसैमा थियो ।
‘हो, आफ्नो दुईखुट्टे गाडी त दुईचारचोटी लडे पनि मरिँदैन नि ¤’ म पनि उसको हँस्सिमजाकमा सहभागी भइदिएँ ।

आकासको बादल पग्लेर धर्तीतिर ओर्लिरहेछ । जति ओर्ले पनि अरूण नभेटिने दि∙लाको ओरालोजस्तै भएर । त्यसलाई घरि हार्दिकताले त घरि विवशताले स्वीकार्दै हामी पनि ओर्लिरहेका छौँ ।

धमिलो थोरै पानीमा बगिरहेको रेवाखोला पार गरेर सालको जङ्गल हिँड्यौँ । सुकुवाको बगरपछि अरूणको किनार आइपुग्यो ।

अरूणमा पानीको तीब्र बहाव त थियो नै । पानीको सतहमा धुवाँ उडेझैँ भइरहेको थियो । पानीका मसिना छिटा उछिट्टिएर पुलसम्म नै उफ्रँदै छोइन आइपुगेका थिए । पानीको बहाव आपसमा ठोक्किँदा भएको होला त्यस्तो । मैले अनुमान लगाएँ । अरूणमा दाउराका टुक्राहरू पनि उत्रँदै बगिरहेका थिए । धेरै पानी बग्दा देखिएको अरूणको प्रबल प्रवाह भयावह लागिरहेको थियो । मच्चिँदै किनारभन्दा अग्रगामी लहरतिर हुन्हुनाएको थियो त्यो ।

जति कुदे पनि त्यसले मेराजस्ता अत्यास र थकाइका सुसेलीहरू सुसेलेको थिएन । संघर्ष र दुःखका पहाडहरू त त्यसले पनि छिचोलेर यहाँसम्म आएको होला । मैले उसँग सिकेझैँ लाग्यो, दुःखका पहाडहरू हाँसेर छिचोल्नुपर्छ ।
विश्वको होचो उपत्यका बनाउने नदी किनारमा उभिँन आइपुग्दा म भित्रभित्रै हर्षले गद्गद् भइरहेको थिएँ । नेपाली माटाको वासनाले संतृप्त भएर बगिरहेको अरूणलाई देखेर म पनि तृप्ततृप्त भइरहेको थिएँ । मनभित्रको एउटा प्यास मेटिएझैँ भइरहेको थियो ।

नेपालको सबैभन्दा ठूलो सहायक नदीको पुलमा उभिन पाउँदा गद्गद् भइरहेको थिएँ म । क्यामराको पर्दाभित्रबाट देखिए अलिपल्तिर मनकामना मन्दिर र पारिपट्टि सतिघाट । सतिघाटबाट माथि कता हो कता चन्द्रमाझैँ उचालिनु थियो हामीलाई । त्यसैले ढिला नगरी फटाफट अरूणको पुल त¥यौँ ।

सतिघाटमा पछि आयो सालको जङ्गल भएको ठाडो उकालो ।

‘हामी समथर र उकालोको सङ्क्रमणमा छौँ ।’ कसैले उकालोतिर देखाए ।

ती शब्दावली आमनरसंहारकारी गोलाबारुदजस्तै लागे मलाई । किनकिन अचेल सङ्क्रमण कर्तब्यच्यूतहरूका लागि सजिलो शब्द भएझैँ लाग्छ । ‘यस्तै हुन्छ सङ्क्रमणकालमा’ भन्दै उनीहरूले समाजका जोर्नीजोर्नीमा प्रहार गरी खल्बल्याएका छन् सम्बन्ध र संस्कारका पेचकिल्लाहरू । रोगलाई महामारीतर्फ लैजान खोजेजस्तो लाग्ने यो शब्दले समाजलाई नै आतङ्कित बनाएझैँ लाग्दछ अचेल ।

मैले भनेँ ‘सङ्क्रमणमा होइन, निरन्तर यात्रामा डट्दै उकालोनेर छौँ हामी अहिले । उकालो कर्तब्यको अनुशासन हो । कर्मशील गोडाहरूका लागि स्वागत गर्दै मेहनतको उचाइमा पुर्या‍उँछ उकालोले । शक्ति क्षय हुन्छ भनेर यात्रादेखि तर्सनेहरूलाई मात्र उकालो समस्याको पहाड बनेर ठडिएको हुन्छ जिन्दगीको गोरेटोमा । बुझ्नलाई जिन्दगीको वास्तविक अर्थ चढ्नैपर्छ जिन्दगीजस्तै उकालो गोरेटो ।’

आधा घण्टा नहुँदै म फेरि गलेँ । छेउको ढुङ्गामा बसेर मैले आफू आएको बाटाको रेखा बनाउन खोजेँ । पसिना र चिप्लँेटी खेलाउने रातो माटोका रङले सुन्दर बाटो बन्यो । तल पृष्ठभूमिमा घन्किरहेको अरूणको सुसाइ र त्यसमा बगेको धमिलो पानीले मेरो पदयात्राका रेखामा एउटा अर्को रङ थपिदिए ।
अरूणसँग ताल मिलाएर वन कुखुरो बासिरहेको थियो । शायद घाम नझुल्कँदै बासेको भए मान्छेहरूले त्यसलाई जागरणकर्मीको उपमा भिराइदिने थिए होला । मलाई भने लागिरहेको थियो, त्यसले आफ्नी हराएकी प्रेमिका भेट्टाउन ठूलै विज्ञापन गरिरहेछ । वा रिसाएकी नखरमाउलीलाई फकाउन अनेक गीत गाएर मख्ख पार्न खोज्दैछ । मलाई पनि अरूणलाई विम्ब बनाएर त्यसरी नै गाउन मन लागेको थियो । मैले यौवनावस्थामा हिँडेका खोला किनारमा गुञ्जने पानीका प्रवाहमय सुसेली सम्झन्छु । खोलाको कञ्चन पानी मेरा औँलाका कापकापबाट छिर्दाको रोमाञ्चक सरसता सम्झन्छु ।

गर्मी र पसिनादेखि बचाउन प्रकृतिले माया माने जसरी हल्का वर्षात् भइरहेथ्यो । एउटा सालको रूखको टोड्कामा जम्मा भएको पानी देखियो । वनजङ्गल डुल्दा त्यस्तै पानी पिएको संस्मरण मैले साथीहरूलाई सुनाएँ । एकजना साथीले भने ठाडै अस्वीकार गरे । प्यासले रन्थनिएर अझ पिसाब पिएँ भन्नेहरूलाई के भन्दा हुन उनले । सामना गर्न नसकेर म पनि हाँसेर टारिदिएँ । म हाँसेको अरूले सामान्यरूपमा लिऊन् भन्ने इरादाका साथ हाँसेँ । हाँसोलाई उपहास नसम्झून् भनेर होशियार भएर हाँसे । हाँस्दा निधारका भृकुटी तन्के होलान् भनेर हाँसेँ । तिनका वंशमा पछिसम्म एउटा इतिहास हुने गरी दुईदिन पैदल यात्रा हिँडिरहेका उनलाई विश्वास नहुनु पनि स्वाभाविकै हो भनेर हाँसेँ । यदाकदा हाँसे पनि कसैले रूञ्चे हाँसो सम्झेर आँसु झर्ने गरी व्यङ्ग्य गरेको सम्झेर हाँसेँ । साँचा कुरा सबैलाई सुनाउन हुँदैन भन्ने ज्ञात भएको भए । म फेरि आफैसँग हाँसे ।

जङ्गल सकियो । ढुङ्गे बिसौनीनेर कडा घाम भए पनि एकछिन सुस्तायौँ । उकालो त निरन्तर थियो । निर्जन उकालो मात्र सकिएको थियो । अब उकालो घरबस्तीलाई साथमा लिएर उक्लिरहेको देखेँ । ती घरबस्तीहरू आत्मीय लागे । आफ्नै गाउँघर जस्ता लागे ।

कच्ची मोटर बाटो काट्दा मेरा चप्पल हिलामै अड्किए । चप्पल झिक्दा खुट्टा र हातसमेत हिलाम्मे भए । हिलो पखाल्ने पानी सजिलै पाउन सकिएन । सोचेँ, ठीकै भयो । दिङ्गलाको ओरालोले लगाइदिएको रङमाथि झन् गाढापन थपियो । खाँदबारीको उकालोको रङ पनि स्मृतिमा साँचिने भयो । आखिर रङीन जिन्दगी बाँच्न चाहनेहरूले इन्द्रेणीको स्वागत नगर्ने कुरै भएन ।
माटोमा पनि इन्द्रेणीका सात रङ समेटिएका हुँदा रहेछन् भन्ने नवीन सिद्धान्त प्रतिपादन गरेर मन खुसीले गद्गद् भइरहेको थियो ।

समयबद्ध तालमा उकालीओरालीहरू कुद्दाको अनुभूतिले मनमस्तिष्क, हृदय र शारीरिक अङ्गप्रत्यङ्ग सबै गौरवान्वित छन् । तिनले भनिरहेका छन्, यसैगरी चल्नुपर्छ निरन्तर नत्र नश्वर जीवनको के अर्थ । समयका डोबमा परेका मेरा पाइलाहरूले दिएका ती रोमाञ्चक अनुभूतिले म पनि अनुगृहित भएको छु । मलाई ज्ञात भएको छ– आफ्नै पाइलाका स्पर्शले छाम्नुपर्छ आफ्नो गोरेटो ।’

  • 781 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    5 sec ago
  • Reply to comment | मझेरी डट कम
    9 sec ago
  • Reply to comment | मझेरी डट कम
    15 sec ago
  • Reply to comment | मझेरी डट कम
    19 sec ago
  • Reply to comment | मझेरी डट कम
    24 sec ago
  • Reply to comment | मझेरी डट कम
    28 sec ago
  • खहरेको भेल-रहेछ | मझेरी डट कम
    33 sec ago
  • Reply to comment | मझेरी डट कम
    34 sec ago
  • Reply to comment | मझेरी डट कम
    34 sec ago
  • Reply to comment | मझेरी डट कम
    40 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • सहयोगी मैना
  • खहरेको भेल-रहेछ
  • प्राथना गर्छौ दुई हात जोडी (सरस्वती वन्दना)
  • सम्हालेर राख, सँगालेर राख
  • बद्री
  • मझेरी भलाकुसारी, अंक ०६ (प्रकाश पौडेल माइला)
  • कारण
  • किचकन्या
  • कहाँ गए होलन् ती कवि?
  • तीन मुक्तक (मायाको एउटा गीत)
  • वी.पी. कोइराला र १०३औं जयन्ती समारोह
  • पुस्तक समीक्षाका सन्दर्भमा
  • ए जुन !
  • समस्या विहिन मान्छे
  • न्याय (लघुकथा)
  • विचरा सेते
  • आमाको शुभ्र आँचल
  • तरबार बलियो हुदैन नि
  • तिमी यसै लजायौ म उसै धकाएँ
  • फोहोर
  • अँधेरीमा थिएँ
  • मोफसलको रचनाले ततायो राजधानीलाई
  • जिन्दगी
  • नया बर्षको शुभकामना
  • "एक इन्डीयनसंगको भेट"
  • ॐ नम: शिवाय
  • सम्झना
  • परिवर्तन
  • म मास्टर
  • गजल
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित