Skip to content

हामी बीचमा नदी थिएन

हामीबीचमा नदी थिएन
पुल पनि त आवश्यक थिएन ।
बरु नदीको एउटै धार थियौँ
पार लाग्नु जरुरत थिएन ।
दुबै गतिशील, तरल र प्रबल
हामीलाई छेक्ने बाँध पर्खाल थिएन ।
एउटै लक्ष्य एउटै प्रवाह
सागर नभेटी अडिनु थिएन ।
तर किन फाट्यौ भङ्गालो भएर
तिमीसित छुट्टिने रहर थिएन ।

पुनर्मिलनको इच्छाले हानिँदा
हरियो फाँट बगर भएछ ।
परचक्रीले छेक्दा थुन्दा
गाउँबस्ती डुबान परेछ ।
तिम्रो मायाले तड्पिँदा तड्पिँदा
आँसुको भेलले किनारा छोएछ ।
एउटै शरीरको मुटु टुक्राउँदा
अस्तित्व हाम्रो कहाँ रहन्छ ?
कालीमा मोदी मिसिएजस्तै
तिमिसँग फेरि जोडिने चाह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *