Skip to content

शंकालु आँखाहरू


जिन्दगीका घुम्तीहरूमा
समयले साथ दिएन भने दुर्घटना हुन सक्छ
आँखाहरू शंकालु हुन सक्छन्
केही सपनाहरू
केही बिपनाहरू बाहेक
मान्छेहरूसँग हुन्छ नै के ?
सपनालाई देख्ने
बिपनालाई भोग्ने
अधिकार सुरक्षित छ सबैमा
ती सपनाहरू बाँडचुँड गर्छ मान्छे
ती बिपनाहरू पनि भागबन्डा गर्छ मान्छे
काँचो सूर्यसँगै उदाएर
पाकेको सूर्यसँगै अस्ताउँछ मान्छे
टुकीजस्तै जलेर
आफू अँध्यारो हुन्छ मान्छे
अरूकै लागि बाँचेका मान्छेहरू
आफ्नै घुम्तीको दुर्घटनाभित्र मर्नुपर्छ
आफ्नै परिवेशले थिचिएर छोपिनुपर्छ
यसरी मान्छे सहाय पनि छ
मान्छे सरी असहाय पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *