Skip to content

चिहानपारिको पत्र

20170820_DeepaDhital-Letter


नौ महिनासम्म मलाई गर्भमा राखेर आफूले आधा मलाई आधा खुवाएर जन्म दिने मेरी ममताकी आमा । मेरो जीवनको डायरी कोर्दै हिडेका मेरा बाबा, म यहाँ कुशल छु कुशलताको कामना गर्दछु । आज केही समयको अन्तरालपछि समयको झोलीबाट सुटुक्क चोरेर तपाईहरुकै सम्झनाका कोशेलीहरू यो चिहानपारिको बस्तीबाट हजुरहरुलाई नै पठाउँदैछु सायद अचम्म मान्दै हुनुहुन्छ होला । यो पत्र कुनै वियोगान्तको हुने छैन, मात्र हजुरहरुको सम्झनाको ।

तस्बीरःनरेन्द्र श्रेष्ठ

म गर्भमा छँदा कसरी उक्लियौ होली आमा जीवनको त्यो उकाली । एक गाँस र एक बासको लागि कति ठाउँ ठोक्कियौ हौली । तिमीले पेटभरि खाएको एक छाक भात मैले आधा खाइदिंदा तिमी कसरी हिड्यौ होली भारी बोकर ? अनि आफू मृत्युसैयामा छटपटींदै म यो धर्तीमा जन्मिएको बेला कसरी छरिए होलान् है खुसीका रङ्गहरू । मेरो जीवन फूल झै फुलाउनको लागि पसिनासँगै मुस्कुराउदै गरेका मेरा बाबा यति बेला कुनै सम्झनाका शब्दहरू छैनन् मसँग ।

मलाई पनि त मन थियो । रहर थियो तपाईहरूसँगै उफ्री उफ्री नाच्न । म ठुलो भएपछि सजाउन मन थियो हजुरहरुकै सुन्दर जीवन । यो देशको लागि आफ्नै हड्डी खियाउन मन थियो । तर भगवानले मलाइरहन दिएनन् यो धर्तीमा । जताततै बाँझै बाँझा रहेका खाली जमिनहरुमा पनि मेरो लागि दुई खुट्टा टेक्ने जमिन पनि भएन । महलै महल ठडिएका चौरासी ब्यञ्जनको भोजन गरिरहेका यी मान्छेहरुको भीडमा मेरो लागि एउटा सिटामोल पनि भएन । राक्षस, दानव, हत्याराहरुलाई संरक्षण गरेर राखिन्छन् ती सरकारी महलहरुमा । तर मेरो शरिरलाई त्यो भेलले घेरिरहदा पनि म बस्ने एक इन्च खुला आकाश पनि भएन । मैले पनि अरुले जस्तै त्यो खुला आकाशमा खेल्न पाएको भए संसारका केही गेमहरू जित्ने थिए होला । तर अहिले मेरा अनुहारका रङ्गहरू वायुमण्डलमा लुकिसकेका छन् ।

हो आमा अबदेखि तिमीले माया, ममता, स्नेहको माला उनेर नपठाउनु । तिमीले टाँसेर पठाएको ममता त्यही उर्लेर आएको पानीको छालमा त्यही बगरमा सजाएर राखेको छु । आमा तिमीसँगको बिछोडमा छुटेदेखि अहिले जताततै यही भेलसँगको परिचयमा छु । खै कसरी पठाऊँ र माया यो भेलबाट ? बाबा, बुढेसकालमा तिम्रो सहाराको लौरो बन्ने आशामा जन्मिएको म नियतिको बिडम्बना भोको पेटमा विवशताको थाली बजाउदै मेरो लास गाड्ने एक इन्चसम्म जमिन नभेटाएर, समाएर प्रेम पूर्वक, मेरो लासमा खसाएर विवशताका दुई थोपा आँशु कपाएर हात बगाइदियौ त्यही भेलमै । अनि हिड्यौ बिदाइको हात हल्लाउदै । लागेको थियो त्यो क्षण तिम्रो हातबाट नछुटेर तिम्रै अंगालोमा बेरिरहुँ । तर मेरा सजीव नसाहरू तिमीबाट छुटिसकेका थिए । मेरो एक मुठी प्राण कतै उडिसकेको थियो । तिमीले मलाई अंगालोमा बेर्नुभन्दा पहिल्यै त्यही बगरमा मृत्युको हस्ताक्षर गरिसकेको थिएँ मैले ।

मेरो जीवनका सुन्दर फूल फुलाउन चाहने, आफ्नो पसिना बेचेर मलाई हुर्काउन चाहने – मेरा बाबा-आमा, तपाईहरूसँग यतिवेला मेरो कुनै गुनासो छैन । निर्दोष प्रकृतिसँग पनि कुनै आक्रोस छैन । बेहोसी र बेमतलवी सजीव प्राणीहरुलाई त झन के नै भनौ र ? उनीहरू सजीव भए पनि निर्जीव जस्तै भएका हुन्छन् सधैं । ठिकै छ तिनीहरू पनि सधैं सजीव भएर नै बाँच्न कहाँ सक्छन् र ? जनताको जीवनसँग खेलबाड गरेर महलमा रमाउन चाहने ती निर्जीव प्राणी पनि एक दिन त निर्जीव हुन्छन् नै ढलेको मुढो जस्तै । लगेर के नै जान्छन् र उही हो जनताको गाली, अपमान कुम्लो पारेर लाने त हुन । तिनीहरुले पनि सजाए त पाउछन् नै ।

दोष कसैलाई दिन्न मेरा बाबा, आमा मेरो नियतिको खेल नै यस्तै रहेछ । विधिको विधान र कर्मको लेखान मेटेर मेटिदैन भन्थे । न तिमीहरुले मेटाउन सक्यौ न मैले । र अन्त्यमा यो चिहानपारिको बस्तीबाटै के भन्न चाहन्छु भने मेरो देशमा मेरो जस्तै मृत्यु अब आउने दिनहरुमा कसैको नहोस । यदि मृत्यु भए पनि जताततै बाँझा नै बाँझा भएका खाली खाली जमिनहरुमा एउटा लास गाड्ने जमिन गरिब र दुखिका लागि होस । राक्षस दानव हत्याराहरुलाई संरक्ष गरेर राख्ने सरकारी महलहरुमा गरिबी र विपतमा परेकाहरुको लागि एउटा खरले छाएको सानो झुपडी बनोस्, यही चाहन्छु । अबका आउने दिनहरुमा जस्तै विपतमा पनि आफ्नो रक्षा आफैले गर्नु, अरुको भर नपर्नु ।

फेरि पनि सम्झनाका लहरहरू यही दुषित हावासँग पठाउदै बिदा हुन्छु ।

उही चिहानपारिको बस्तीबाट………।

लेखन – दीपा धिताल
रेडियो हाम्रो पहुँच
तुल्सीपुर दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *