Skip to content

‘भाइ सा’ब, भाइ सा’ब’ कसैले उतर्सिएर कराएजस्तै लाग्यो ।

मैले दुईसट मारिसकेको क्यामेरा हातमा झुण्ड्याएर यताउता हेरेँ । एउटा भारतीय सैनिक मेरो नजिक आइरहेको थियो ।

‘आप फोटो नही खिच सकते ।’ गाईवस्तुलाई तह लगाउँदा जसरी उसले हातको लौरो मतिर तेर्सायो ।

‘मैले त यो जङ्गेपिलरको फोटो खिचेको ।’ मैँले आफ्नो सफाइ पेश गरेँ ।
‘नही खिच सकते ।’ उसले मेरो हातको क्यामेरा खोस्ला जसरी अगाडि बढ्दै थियो ।

‘यो सीमास्तम्भ नेपाल र भारतको सीमानामा रहेको छ होइन र’ उसलाई सम्झाउन खोज्दै थिए मनोज ठाकुर ।

‘वो तो है । मगर आर्मी क्याम्पका फोटो लेना मना है । आप जा सकते है । मगर फोटो मत खिचिए ।’ ऊ आफू माथि पर्न खोज्दै सम्झाउन थाल्यो । भारतसामु नेपालले नमान्ने कुरै थिएन । मानियो । हातको क्यामेरा गोजीमा हालेँ मैले ।

मैले आर्मी क्याम्पको फोटो खिचेको थिइनँ । मुलुक रक्षाका लागि दृढतापूर्वक उभिएको ऐतिहासिक सीमा स्तम्भ जङ्गेपिलर मात्र खिचेको थिएँ । केबल जङ्गेपिलर मात्र मेरो क्यामरामा अटाएको थियो । त्यो सैनिकले तर्साएपछि बल्ल आर्मी क्याम्प र सैनिकहरू दृष्टिगोचर भएका थिए ।

गलगलियाबजार जाने बाटातिर भइरहेको आवतजावत हेर्दै केही अगाडि पुगेर नेपालतिरै फर्कियौँ । पहिलोपटक झापा टेक्दाका दिन नेपाली सिमाना हेर्ने रहरले साथीहरूसँग निस्केको थिएँ म ।

बाँसका कप्टेराले बनाएको अस्थायी पुल तरेर अलिवल्तिर आइसकेपछि मैले पुनः फर्केर हेरेँ । पहिलोपटक झापाली भूमिमा पुगेर देखेका दृश्यहरूले कताकता मनमा घोचिरहे । दृश्यहरू आँखामा फेरि बिझाए– आफ्नो मात्र भएजसरी पिलरलाई तारको बारले घेरेर भारतीय सैनिक क्याम्प भित्रै पारिएको । मैले साथीहरूका अनुहार नियालेँ । उनीहरूका अनुहार पनि उज्याला थिएनन् ।

‘दशगजा भनेको त दुबै देशको सिमाना होइन र ।’ आक्रोश मिश्रित स्वरमा युवराज गुरागाईं कड्किए ।

‘सीमानाका स्तम्भहरु रातारात सार्छन् भन्ने सुनिन्छ’ मनोज बोले । सप्तरी घर भएका मनोज ठाकुर झापामा जिल्ला निर्वाचन अधिकारीका रूपमा एकवर्षदेखि कार्यरत थिए । उनको सुनाइ गलत होलाजस्तो लागेन मलाई पनि ।

‘त्यसैले त आफ्नो आँगनको तुलसीको मैरो जसरी घेरेर बेरेर राखेका होलान् ।’ मैले आफ्नो विश्लेषण राखेँ ।

‘सर्पका घर पाहुना लागेर जिब्रो काढाकाढ’ भनेजस्तै मुलुकका मिचिएका सीमाका लागि केही गर्न नसक्ने हामी निरीह नागरिक । वस्तुस्थिति सुखद वा दुखद जे भए पनि स्वीकार्नैपर्ने । ‘हिमालसम्म भारत विस्तार गर्ने —नेहरू नीति’ भन्ने कतै सुनेका कुराले जहाँ साह्रो त्यहीँ गाह्रो भनेजसरी घोच्यो ।
सीमारेखा वर्षौ पहिलेदेखि कोरिएको युद्धरेखाजस्तै लागिरहेको थियो त्यतिबेला मलाई । अझ त्यो पिलरको बार मेरो आफ्नै मुटुमा गडेको खिलजस्तै भएर कटकटी दुखिरहेको थियो ।

चन्द्रगढीतर्फ फर्कँदा सिमानामा खटिएका नेपाली सुरक्षाकर्मीहरू हेर्दै म टोलाइरहेको थिएँ । उता शानदार चौकी यता थोत्रा पालमुनि अस्थायी चौकी । उता कोही खेलमा रमाएका त कोही ड्युटीमा खटिएका । यता उदास मनस्थितिमा लठ्ठी समाएर एकैछिन जागिर खान बसेजस्ता देखिने सुरक्षाकर्मी । केही अगाडि देखिए भत्केको सालिकका बारमा अडेश लागेका एकदुईजना प्रहरी ।

‘नरिवल बहुउपयोगी बिरुवा हो । पातको डाँठको कुचेटो, फलभित्रको जटाको डोरी, काण्डको दाउरा । फल, तेल र पानी त छँदै छ ।’ स्थानीय साथी नरिवलका बारेमा भन्दै थिए । नजिकैबाट पार भएका सुरिला सुपारीका बोटहरूतिर पनि ध्यान थियो साथीहरूको । साथी जानकारी दिँदै थिए– ‘सुपारीका बोट नहुने घरै हुँदैनन् झापामा ।’

नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला झापा हो भन्ने त मलाई पनि थाहा थियो । पातभन्दा तलै झुप्प फलेका सुपारीका हरिया दाना भएका वृक्षहरूको सुन्दर दृश्यले मनका दुखित कुनाकाप्चाहरूलाई थुम्थुम्याउँदै थिएँ । सूर्य मेरो मनको उदासी बुझेझैँ गरी धमिलो र रातो हुँदै अस्ताचलतिर जाँदै थियो ।

नेपाली पूर्वी सिमाना हेर्ने रहर उहिल्यैदेखि पलाए पनि सम्बत् दुईहजार अठसठ्ठी साल फागुनको दोस्रो साता मात्रै मैले झापाली भूमि टेक्ने अवसर पाएँ ।

विराटनगरदेखि इनरूवा हुँदै सय किलोमिटरभन्दा बढी गुडेर हामी झापा आइपुगेका थियौँ । आएको बाटो फर्केर हेर्न खोजेँ मैले ।

हामी बरगाछी चोकबाट गुड्न थालेका थियौँ । निबुवा गाउँ । टंकीसिनीवारी । बूढीखोलाले छुट्ट्यायो मोरङ र सुनसरी जिल्ला । बिस्कुट कम्पनीहरूका लहर पार भए । अरू कारखानाहरू देखिए । औद्योगिक क्षेत्रभित्रका बडेमानका भवन र तिनले फालिरहेका धुवाँ हेरेर मन त्यसैत्यसै अघाइरहेको थियो ।
दुहवीबाट धरान जाने बाटो छोडेर इनरूवातिर लागियो । देखिए– दायाँबायाँ भर्खर फक्रेका तोरीमिश्रित गहुँबारी । लेखिए– विस्तृत फाँट, शीतल हावा र फराकिलो बाटो । फराकिलो यस अर्थमा कि सडक अझै व्यस्त भइसकेको छैन । भर्खरै पिच भएको छ बाटो । त्यसैले भइरहेछ सरर कुदाइ । बाटाको दायाँबायाँ छ कुलो । देखिन्थे कतैकतै चरिरहेका गाईवस्तुहरू पनि ।
गुण्डुपोखरी आयो त्यसपछि भमरी गाउँ । देखिए थारू ड्रेसका महिलाहरू । ठडिए बाँसका झाङहरु । क्षितिज भने तुवाँलोले ढाकेको थियो । बाँझो खेत देख्दा राँटो छोडिएको डल्लेबारीमा हिँड्दाजस्तै मनभित्र पनि असजिलो भएर आउँछ ।

सुनसरीमा यात्रा बिसौनीमा अड्याएर कर्तव्यका उत्साहित क्षणसँग रमाइयो एकैछिन ।

पूर्व पश्चिम लोकमार्गमा निस्कँदा मध्यान्ह भइसकेको थियो । वरपिपलका रूखहरूको छहारीयुक्त बाटो । दायाँबायाँ फाँटहरू । सङ्लो पानीको कुलो पार ग¥यो बाटोले । रातै फुलेका थिए सिमलका रूखहरू । साथमा थिए देखेको सोध्न पाइने जानफकार मिल्ने साथी । यी रमाइलो यात्रामा बत्तीस लक्षण हुन भन्ने मेरो ठम्याइ छ ।

झुम्काबजारपछि चतरा नहर पार भयो । बिस्तारै कुदेको विवाहको गाडी र सडकसँग नाच्दै घन्किरहेको ब्याण्ड बाजा हेरेर रमाइयो ।

कोइलीको कुहूकुहू सुनियो । वसन्तमा चराहरूको कलरवले हो वा गर्मीले भित्र कतै पगालेर हो मनमा एउटा अर्कै उदासीनता बढेझैँ लाग्छ । त्यहाँ पनि कोइलीको विरह प्रतिध्वनित हुन खोज्दै थियो, मनभित्रको उदासी सल्बलाहटका साथ ।

विराटनगरदेखि धरान धनकुटातिर जाने बाटोलाई इनरूवादेखि झापातिर जाने बाटोले जोड चिन्ह बनाएर काट्यो बीचबाट ।

सुकुवा आइपुग्यो । इटहरीदेखि पूर्वतिर झन् राम्रा बस्ती र फाँटहरू देखिँदै थिए । खोर्साने चोक पार गरेको केही समयमा आइपुग्यो– लोहन्द्रा पुल ।
बेलबारीमा सुन्तला देख्ने बित्तिकै गाडी रोकेर हुर्रिन्छन् गुरागाईंजी । सुन्तलाको रसले रसिलो बनाउँछ मुख र मन । झ्यालबाट फालेका बोक्रा र बियाहरू भने हावामा बतासिन्छन् ।

सालको जङ्गलभित्र गाडी गुड्न थाल्दछ । जङ्गलमा चिहानघरहरू देखिन्छन् । जङ्गलका बीचमा ताल र डुङ्गामा सयर गरिरहेका केही मानिसहरू देखिन्छन् । मेची पचहत्तर किलोमिटर टाढा छ भन्ने सङ्केत गर्छ सडक किनाराले ।

लोकमार्गमा कुदिरहँदा एकाध मान्छेका शैली र नाम सम्झँदै थिए साथीहरूले । नामले सुन्दर लाग्ने उनीहरूभित्र मरिहत्ते गरेर खोज्दा पनि मधुर आहटपूर्ण पदचाप र सुन्दर आकृतिका पदचिन्ह भेटिएनन् । गोडाहरू केराका थामजस्तै मोटा र सोझा छन् पाइला बक्र । मुस्कान स्पष्ट र सुगम छ, भाव अस्पष्ट र दुर्गम । नजर सिधा सरिफ छ, दृष्टिकोण कुटिल । सहकार्यको उच्छवास निकट र रोमाञ्चकारी छ, स्पर्श विकट र प्रलयकारी । तालमेल हुनुपर्ने तिनका नाम र काम विपरीतार्थक शब्दजस्तै भएर मेरो मनमा बिझाउन आइपुगे । तिनीहरू हिँड्ने बाटाहरू मलाई अरूका पाइला नपर्ने भड्खालै भड्खालाले भासिएका गोरेटाजस्तै लागे । स्वयम् गन्तब्य भएर इच्छित गन्तब्यतर्फ कुदिरहेको त्यो लोकमार्गलाई स्वनामधन्य उनीहरूका नामले उपहास गरिरहेको थियो । सम्झौतैसम्झौतामा खिइएर झन् निरीह बनेको मभित्रको लेखकले पनि निष्कर्ष निकाल्दै थियो ‘दुनियाँमा कामजस्तो भए पनि सबैलाई सुन्दर नामले पुकारिनुपर्ने रहेछ’ ।

‘सद्धेहरूलाई सरापेर सामान्यीकरणको एउटै खाल्डोमा हालियो होला धेरैचोटी । एउटा खराबलाई लक्षित गर्न धेरै असलहरूप्रति प्रहार गर्दा भएको पापप्रति प्रायश्चित चाहन्छु ।’ त्यही भीरु लेखक बोलिरहेको थियो । मैले चुपचाप सुनिरहेको थिएँ ।

लास जलाउँदै गरेको अर्को खोला पार भयो । लास देखे साइत पर्छ भन्छन् मान्छेहरू । किन भनेका होलान् त्यसो । जल्दै गरेको लासको चिताबाट पुत्पुताइरहेको धुवाँ हेर्छु । घाउजस्तै कतै ह्रदयभित्र दुखेझैँ हुन्छ । अनेक गरे पनि चित्त बुझ्दैन । हावाले गाडीसँग गरेको जोडदार कुराकानी मनमा प्रतिध्वनित हुन्छ । फेरि तर्कको धुवाँले दिमाग पीरो हुन्छ । मुर्दा देखेर मृत्युबोध हुनाले त्यसो भनिएको त होइन । प्रश्न आफैसँग अनि उत्तर आफैबाट ।
मनमा शान्ति मिलेझैँ हुन्छ, ‘मृत्युबोध मान्छेको उत्कृष्ट आत्मबोध पनि त हो ।’

सोझो लोकमार्गको बीचमा बहुत आनन्दले बसिरहेका थिए दुईवटा पाठाहरू । मलाई लाग्यो, –‘अज्ञानता पनि आनन्दको एउटा रूप रहेछ ।’

चारकोशे झाडीमा गाईवस्तुहरू र साइकलमा घाँसपात ओसारिरहेका मान्छेहरू देखिए । आइपुग्यो पथरी । पथरीमा भुटानी शरणार्थी शिविर छ भन्ने साथीहरूको जानकारी पाइयो । सञ्जोराखोला किनार आसपास ठूलो चिहानघारी छोडियो । केहीबेरमा मङ्लगबारे आइपुग्यो ।

बक्रा पुलबाट तल खोलामा पानी बगिरहेको देखियो । लुगा धोइरहेका थिए मानिसहरू । आँखामा सर्किए– उर्लाबारीबजार, भावा पुल, पुलमुन्तिर सुख्खा खोला । अलिपल्तिर आयो सुकम्बासीजस्तो बस्ती । सिँचाइ भइरहेका फुच्चे चियाका बोटहरू छोडिए ।

दमकबजार अलि अस्तव्यस्तजस्तो भएर उभियो । बसपार्क छोडेर एउटा पुल तरियो । पुल मुन्तिर बगर बनेको फाँट वा फाँट निलेको खोलो छोडियो । बिझायो धारिला बगरमा खालि खुट्टा हिँड्दाजस्तै शुष्क फाँटले अन्तरहृदयमा । मन तङ्ग्रिन पनि हरियाली चाहिँदोरहेछ । आँखामा हरियाली राखेर गेग्रेटामा पैताला टेक्दा झन् भत्भती पोल्न थाल्छ ।

केहीबेरमा आइपुग्यो पाथीभरा चोक । चोक अगाडि खुलाचौर । खुलाचौरमा चिहानघारी । शायद जङ्गल मासिएर बनेको हुनुपर्छ खुलाचौर । फेरि चिहान र बस्ती आमनेसामने । जीवनको चलमलाहट । जीवनपछि समाधि । ‘जीवन –मृत्यु’ एकअर्काका परिपूरकजस्तै ।

जनमुक्ति सेना, प्रथम डिभिजनद्धारा निर्मित गेटमुन्तिरबाट पार भयौँ । चुलाचुली शिविर रहेछ त्यो । मैले बाटो हिँड्दा देखेका केही शिविर र सहायक शिविरका नाम सम्झन्छु –दहवन, शक्तिखोर, झ्यालटुङ डाँडा, तिला र सक्राम । क्रान्तिकारी विचार बोकेका युवाहरू कैद भएको ठाउँ हो शिविर । आफ्ना स्वार्थ र सपनालाई कुल्चँदै मर्ने वा मार्ने दाउपेचको खेल खेलेका लडाकुहरू मुलुकको भद्रगोल राजनीतिक खेल हेर्दै पाँच वर्षदेखि प्रतीक्षारत छन् खिइएर साना भएका आफ्ना सपनाको बिजारोपण गर्न । सपनाहरू ओसिलो जमीनमा पर्न पाए अङ्कुरण हुनेछन् । सपनाहरू हावामै उडन्ते भइरहे परे सुकेर लोप भएर जानेछन् ।

‘सपनालाई विपना बनाउन सक्ने युगचेतक युवाहरूलाई थुनेर राख्न हुन्छ कि हुँदैन ।’ यो समयसँग गरेको प्रश्न हो ।

धर्मपुर चोकपछि सुपारीका बोटहरू भएको गाउँ आयो । देखिए सिमलका रूखहरू, वरपिपलका रूखहरू र नजिकै जङ्लग भएको पहाड । साल र टिकको ज∙ल आउँदै थियो । आइपुग्यो सतासीधाम । केही अगाडि धेरै पानी भएको माइखोला रहेछ । इलामको माइपोखरीबाट निस्केर बग्दै आएको माइखोला । फाँटका बीचबाट माइखोला सल्बलाउँदै थियो । मेरो मनमा एउटा सुनिरहने गीत गुञ्जिन थाल्यो । त्यसको भावले कताकता छुँदै भित्रभित्र सल्बलायो –

बादलुको घुम्टोले इलामबजार छोपिँदा
मैले सबलाई बिर्सेँछु तिमीलाई सम्झिँदा … ।

सुरूङ्गाबजार काटेर लक्ष्मीपुर पुगिएछ । गाडीभित्र सबै चुपचाप थिए धेरै राम्रा दृश्य हेरेर बोल्नै नसकेजस्तै । मान्छे विविधता प्रिय प्राणी हो । त्यसैले राम्रो–नराम्रो, सुख–दुःख, हाँसो–आँसु आदिले बनेको होला जीवनपथ । यी सबै जीवनका अत्यावश्यक र अवश्यम्भावी पाटाहरू रहेछन् । नबोल्दा बोलीको महत्व । बोलिरहँदा मौनताको महत्व । शायद सन्तुलन चाहिएको होला ‘कम बोल्ने बढी सुन्ने ।’

विर्तामोड– निकै ठूलो र व्यस्त बजार । मुक्ति चोकमा युगल सालिक । क–कसको सालिक हो थाहा भएन । तर सालिक देख्दा मैले जापानी संस्कार सम्झन्छु । जापानमा खुलास्थानमा राखिएका धेरै सालिक बिनाअनुहारका देखेको थिएँ मैले । बिनाअनुहारका सालिकमा सबै मान्छेले आफ्नो अनुहार देख्छन् होला । अनि संरक्षण हुन्छ सालिकको । नेपालमा बाटो साँघुरो बनाएर भए पनि ठड्याइन्छ सालिक । सालिकलाई पनि आफ्नो र अरूको ठान्ने प्रचलन । अरूको भनेपछि नस्वीकारिने नेपाली संस्कार । अनि आन्दोलनको मेसो पारेर ढालिन्छ, फोरिन्छ । त्यहाँ जनताकै मनका मान्छेहरूको सालिक होला शायद । सालिक बनाउने र राख्ने नेपाली शैलीप्रति मात्रै मनको खुल्दुली मेरो । मेरो ‘सालिक’ कविताका अंश सम्झन पुग्दछु –

कसैको मनमा रत्तिभर ठाउँ नपाएकाहरू
माया प्रेम सद्भाव दिन नसक्नेहरू
देशकै दुर्नाम गर्नेहरू
किन राखिन्छन् सालिक बनाएर
किन ठड्याइन्छन् मालिक बनाएर
यस्तै अनगिन्ति प्रश्नहरूकै
तीर बनेको छु अचेल म ।

फेरि चियाबगान गयो । आउनभन्दा जान छिटो । गतिशील समय र त्यसकै वरपर घुमिरहने घटाक्रमको तिव्रता नै संसार हो ।

फेरि सालको जङ्गल आयो । ठूला सालका रूखभित्र चारआली मुस्कुरायो । सैनिक क्याम्प झुल्क्यो । भद्रपुर जाने सिधा बाटो छाडेर साँघुरो बाटोमा छिर्दा देखिन्थ्यो सर्पदंश केन्द्र । सर्पले टोकेका धेरैलाई यो केन्द्रले बचाएको छ रे भन्दै थिए श्यामजी ।

बाटो साह्रै बिग्रिएछ । बाटोका बीचबीचमा परेका खाल्टाखोपिल्टाहरू छातीमा लागेका गहिरा चोटहरूजस्तै देखिन्थे । गाडीमा गुड्दा थचारिएका सबै यात्रुको पीडा जोड्ने हो भने एकदुईजना त ठहरै पर्थे होला । त्यसैले पीडा बाँड्नुपर्ने चिज रहेछ ।

दुवागढीपछि चन्द्रगढी आयो । लेखनाथ, देवकोटा र वीपीका धूलाले ढाकिएका सालिकहरू छेउबाट पार भएथे । भद्रपुर पुगेपछि मेची किनारको जङ्गेपिलरसम्म पुगेर फर्किएका थियौँ त्यो दिन ।

पूर्वपश्चिम लोकमार्गमा कुद्दै झापा सदरमुकाम आइपुगेका थियौँ हामी । नेपालका इलाम, मोरङ जिल्ला तथा भारतका भू-भागले समेत छोएको जिल्ला रहेछ झापा । किचक बध, केचनाकलन, अर्जुनपोखरी आदि झापाका प्रसिद्धि हुन भन्ने पूर्व ज्ञानमाथि उभिएर कुन कुन भू–भाग हेर्न संयोग जुर्ने हो मैले कल्पना गर्न खोज्दै थिएँ । हात्ती आतङ्क भैरहने बाहुन डाँगी, पूर्वी सिमाना काँकडभित्ता आदि स्थानले पनि मलाई एउटा कौतूहल जगाएका थिए मनभित्र ।

मेरो मानसपटलको एउटा कुनामा जङ्गे पिलरले अमिट स्थान बनाइसकेको रहेछ ।

प्रकाशित : छरिएका पाइला कोरिएका डोब, नियात्रा सङ्ग्रह, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *