(कलमशिल्पी पेशल आचार्य सामयिक चेतलाई विविध भाव र पृथकाभिमुख शैलीमा कविता, गीत, मुक्तक, निबन्ध, संस्मरण र कथाका माध्यमबाट प्रस्तुत गर्ने साहित्यकार हुन् । २०२३ सालमा बिराटनगरमा जन्मेका यिनी पेसाले प्राध्यापक हुन् । करिब साढे तीन दसकभन्दा बढी समय साहित्य साधनामा बिताएका आचार्य २०३६ सालको ‘सडक कविता क्रान्ति’बाट साहित्यमा प्रवेश गरेका हुन् । अहिलेसम्म बाल साहित्यमा विविध विधाका ५ र प्रौढ साहित्यका २ गरी ७ कृतिका सष्टा आचार्यका अप्रकाशित पाण्डुलिपिहरू करिब डेढ दर्जन रहेका छन् । वर्तमान समयमा लेखकीय क्रियाशिलता देखाई लेखन, सम्पादन र आफूभन्दा पछिल्ला छिमलका नवोदित लेखकलाई प्रकाशन आभा दिलाउने उत्प्रेरक भूमिकामा समेत रमाउने आचार्य चर्चा, विवाद र पुरस्कारका बहुरूपी पहेलीभन्दा टाढा रहन रूचाउँदछन् ।
यिनै बहुमुखी साहित्यकार पेशल आचार्यसँग ‘मझेरी डटकम’ले गरेको रसपरक अन्तर्वार्ता । –सम्पादक)
तपार्इँलाई मन पर्ने पुस्तकहरू कुनकुन हुन् ?
निकैलामो फेहरिस्त हुन्छ –यो प्रश्नको उत्तर । मुनामदन, रुपमति, श्वेतभैरवी, धुम्ने मेचमाथि अन्धो मान्छे, एब्स्ट्रयाक्ट एक चिन्तन प्याज र आमाको सपना । यी ६ वटा कृतिचाहिँ कालजयी लाग्छन् । प्रभाव छाडेका अन्य कृतिहरू त गनी साध्य र भनी साध्य छैनन् । ती सबैको नाम अहिले नतोकौं ।
लेख्नुपर्ने बाध्यता कतिबेला महसुस हुन्छ ?
सिकारू अवस्थामा निरन्तर लेख्थेँ । अहिले चाहिँ घटनाले छुन्छ । घोरिएर हेर्छु । समाजलाई केही नयाँ दिन सकिन्छ भने लेख्छु । नत्र छाडी दिन्छु । मैले छाडेको विषय अरू कसैले लेखेको छ कि भनेर निरीक्षणचाहिँ निकै लामो समयसम्म गरिरहन्छु । त्यसैले म लेख्नेभन्दा पढ्ने काम ज्यादा गर्छु ।
आफ्नो साहित्यिक यात्रालाई आफैंले कसरी हेर्नुभएको छ ?
पैसा नभइकन बजारमा गएर सामान किन्न खोज्ने ग्राहकजस्तो । जुनबेला प्रकाशन गर्ने आँट थियो, त्यो बेला लेखिएकै थिएन । अहिले लेखिएको छ प्रकाशनको सावगास छैन । विसङ्गत जीवन बाँचेको रहेछु, मैले ।
त्यसैले विना पूर्वतयारी म लेखनमा आएँछु । मैले जे लेखेँ त्यो अन्तर्मनका आदेशमा लेखेको छु । मभित्रको लेखकले यो लेख भन्छ, लेख्छु । त्यो नलेख भन्छ लेख्दिनँ । यसै गरी लेखनका करिब साढे तीन दशक बितेछन् । नढाँटी भन्ने हो भने अब लेखनका लागि शैली बनाइसकेँ । त्यसैले लेखेकाभन्दा नलेखेका विषयहरू धेरै छन् जस्तो लाग्न थालेको छ । उमेरका हिसाबले पनि अब हतार छ, लेख्न । महाकाव्य र पूर्णाङ्की नाटकमा कलम चलाएको छैन । नत्र सबैजसो विधाउपविधा लेखेको रहेछु । प्रकाशनमा जुन मेलो मिल्छ त्यो अघि आएको छ । लेखेको सबै छापिनै पर्छन् भन्ने पनि छैनन् । कति कृति छापिन्छन् त्यो भन्न सक्तिनँ । फुटकरचाहिँ धेरै छापिएका छन् । अब हरहिसाब राख्न छाडेँ ।
साहित्यमा विशेष केही गर्न बाँकी छ जस्तो लागेको छ ?
मैले सकेको लेखिरहेको छु । जसले यो प्रश्नको उत्तरमा ‘यो गर्छु त्यो गर्छु’ भन्छ त्यो वास्तवमा ‘इलुइजन’ मात्र हो । हामी लेखकहरू हामीलाई लेख्न मन लागेका कुरा सम्पूर्णमा लेख्न सकिरहेका हुँदैनौं । त्यसैले, मबाट यो हुन्छ, त्यो हुन्छ भन्ने पक्षमा यतिखेर म छैन । मैले धेरै मभन्दा पुराना र नयाँका कदकाँठी चिनिसकेको छु । धेरैजसो लेखकहरू डबल स्टेण्डर जीवन बाँच्छन् । त्यसैले म सामान्य लवजमा भन्छु –‘मबाट नेपाली साहित्यले उम्दो केही पाएको छजस्तो लाग्दैन र पछि पनि केही कालजयी पाउँछ जस्तो लाग्दैन ।’ हामीले आफूलाई ब्रह्ममा लागेको लेख्ने हो । किन हल्ला गर्नु ? किन दौडनु ? हल्ला गरेर र दौडेर पाइन्छ नै के ?
लेखनका कुन क्षेत्रमा चाहिँ कमजोर भए भन्ने लाग्छ ?
मलाई आफू अलि दह्रोसँग लेख्न सक्तिनँ भन्ने विधा महाकाव्य र पूर्णाङ्की नाटक हो । तर मैले ४ वटा एकाङ्की नाटक भने लेखेको रहेछु । पचासको दसकमा तीनवटा र भर्खरै एउटा । जो मिर्मिरेमा प्रकाशित पनि भयो । महाकाव्यको लेखन म कल्पना पनि गर्न सक्तिनँ । जसले लेखिरहेका छन् हो तिनीहरूलाई भने नमन गर्दछु । मानिसको जीवन यति भागदौडमा बाँडिएको छ कि तिनीहरू समय निकालेर महाकाव्य पढ्छन् जस्तो मलाई लाग्दैन । फेरि अहिलेको समय भनेको महाकाव्यको अनुकूल होइन ।
अब बाँकी रह्यो नाटकको कुरा । म केही दसकदेखि नाटक पढिरहेको छु तर लेख्न सकिरहेको छैन । भविष्यमा के हुन्छ त्यो अहिले नै बताउन चाँडो होला । साथै मैले औँलामा गन्न सकिने गरी लेखेको उपविधा गजल पनि हो । यी तीन विधा र उपविधा पढ्नचाहिँ पाएजति भलिभाँती पढ्छु ।
तपार्इँ धेरै लेख्नुहुन्छ, लेखन तपाईंको बाध्यता हो कि व्यवसाय ?
दुवै होइनन् । केवल रहर हो । म लेखेर आफूले सामान्य सामाजिक दायित्व पूरा गरेको ठान्छु । अहिले हामीले बाँचेको समयलाई कलात्मक रूपले लेखिदिएर जुनसुकै विधाको नाम दिए पनि त्यो भविष्यका पुस्ताले पढेर त्यसबाट केही शिक्षा लिएछन् भने हाम्रो लेखनी सफल भएको ठान्ने छु । अहिले नियमित रूपमा अनलाइनमा लेख लेख्नुचाहिँ अलिकति बाध्यता र अलिकति साथीभाइको आग्रह टार्न नसकेर हो । लेख्दालेख्दै हात बस्यो । समसामयिक घटना र परिघटनाले छुन्छन् । नलेखुन्जेल मन भारी हुन्छ । लेखेपछि हलौं । त्यसैले लेखिरहेको हुन्छु । म जति लेख्छु त्योभन्दा बढ्ता पढ्छु । मलाई लेख्दा एकसरो मज्जा आउँछ भने पढ्दा दोहोरो मज्जा लाग्छ ।
तपाईंको पहिलो कृति कसरी प्रकाशित भएको थियो ?
मेरो पहिलो कृति ‘कमिलाको ताँती’ (बालकविता सङ्ग्रह) हो । यो २०६० सालमा प्रकाशित भयो । अहिले २०७४ साउनसम्म मेरा बाल साहित्यका ५ र अन्य २ गरी जम्मा ७ वटा कृतिहरू प्रकाशित भएका छन् ।
आजकल केमा व्यस्त हुनुहुन्छ ?
पठन । लेखन । अध्यापन । अनुज लेखकलाई प्रकाशन सहयोग । केही सम्पादन । खासगरी भन्ने हो भने मैले कविताका विषयलाई निबन्धमा व्यक्त्याउन सक्ने आफूलाई पाएपछि तब आत्मपरक निबन्धतर्फ बढी लहसिएको छु । अहिले निबन्धहरू नै धेरै लेख्दै छु । ती कोसेली, नेपाल, मधुपर्क, अक्षर, मिर्मिरे, दोभान, तन्नेरी, समष्टि, शाल्मलि र केही अनलाइनहरूमा क्रमशः आइरहेकै छन् ।
जीवनको त्यस्तो कुनै पल छ जुन तपाईंलाई सम्झिरहन मन लागोस् ।
बाल्यकालका फाँकीहरू धेरै छन् । जो बताउँदा लामो फेहरिस्त हुन्छ । डायरी लेखिनँ नत्र उपन्यास बन्ने रैछन् । कथा र संस्मरणमा प्रयोग गर्दैछु । एकजना गाउँका हजुरबा हुनुहुन्थ्यो । वहाँ निरक्षर तर ४५ वर्षदेखि निरन्तर बीबीसी रेडियो सुन्नु हुँदो रहेछ । वहाँको प्रेरणाले मैले निरन्तर ३५ वर्ष बीबीसी हिन्दी र नेपाली सेवाका प्रशारण सुन्ने प्रयत्न गरेँ । राजनीतिक र अन्य घटनाहरू स्वस्थ विश्लेषण गर्ने सीप मलाई त्यही बीबीसी रेडियोले दिलायो । त्यसो हुँदा ती गाउँका निरक्षर हजुरबालाई अहिले सम्झिरहन्छु । पोहोर साल वहाँ बित्नु भो । नरमाइलो लाग्यो । कहिलेकाहीँ एक्लै बस्दा पनि वहाँले भनेका अर्तीहरू याद आइरहन्छन् ।
साहित्यकारहरू लेखेजस्तो कुरा व्यवहारमा उतार्छन् त ?
अरूको जिम्मा मैले लिने कुरा भएनँ । म लिन्नँ । मचाहिँ सरल लेख्नु पर्छ र त्यो फराकिलो वेभमा फैलन्छ जस्तो लाग्छ । मैले धेरै नलेखेकाले अहिल्यै भन्नु चाँडो हुन जान्छ । सकभर म व्यवहारलाई पनि हेर्छु र लेखनलाई जोड्छु । कतिको सफल भएँ वा चिप्लिएँ त्यो विज्ञ पाठकले पर्गेल्ने कुरा हो ।
लेखेर के पाए जस्तो लाग्छ, यहाँलाई ?
लेखेर पाउने आस राखेको नहुनाले हतास छैन –म । जति लेखेको छु त्यसबापत धेरै पाएको छु । एक प्रकारको सामाजिक चिनारी लेखनले दिलाएको छ । अहिले आफूद्वारा लेख्न सिकाएका र पढाएका शिष्यहरू हजारौंको संख्यामा देशदेशावर गएका हुनाले मैले लेखेको पढेर र विश्लेषण गरेर अनेक खाले सुझाव दिन्छन् । माया गर्छन् । त्यसैमा म खुसी हुन्छु । धेरै पाउँछु भनेर लेखनमा आएको भए निराश होइन्थ्यो होला तर त्यो नभएकाले जति मलाई लेखेर मिलेको छ त्यसैमा सन्तोस मानेको छु । लेख्दै जाऊँ । आगे भविष्यको गर्भमा परिणाम छाडेको छु ।
लेखन क्षेत्रमा कसरी लाग्नुभयो ?
२०३६ सालको ‘सडक कविता क्रान्ति’बाट प्रभावित भइयो । पढियो । लेखियो । त्यस बेलामा पढेका कृतिले असाध्यै मन हुँडले । शुरूशुरूमा रहरले लागियो । नाम आउने/छापिने लोभले । पछिपछि त नसा भयो । नलेखी नसकिने व्यशन । मैले लेखनमा जुठो नै बार्नु पर्ने गुरु कोही पनि छैनन् । लेखन चेतनालाई बल पुर्याएको चाहिँ ‘सडक कविता क्रान्ति’ र तिनताक पढिएका कृतिहरूले हो । त्यस बेलामा कसकसको पढियो त्यो अहिले सम्झी साध्य छैन । शुुरूमा मैले नेपाली र हिन्दी बराबरी पढेँ । पछिचाहिँ नेपाली साहित्यमा लीन भएर पढ्नलेख्न थालेपछि हिन्दी कम भयो । अहिले छानेर मात्र पढिन्छ । समय कम छ । लेखनको चाप बढी छ । धेरैतिरबाट धेरैथरीका रचना मागिन्छन् । त्यसैले समयलाई हेर्नु पर्ने हुन्छ । नेपाली र विश्व साहित्यमा चर्चित र विवादास्पद कृतिचाहिँ पढिरहेकै हुन्छु ।
लेख्ने समय कसरी मिलाउनुहुन्छ ?
म धेरैजसो रातमा लेख्छु । नियमित ३ घन्टाजस्तो लेख्छु । जीवनमा लेख्ने, पढ्ने र पढाउने यी तीनथरी कामभन्दा अर्को चौथोथरी काम जान्नै सकिएन् । त्यसैले पढ्ने कामचाहिँ दिउँसो र फुर्सद्मा या बिदाका दिन गर्छु । रातमा केही न केही लेखिरहेको हुन्छु । अहिले हप्तामा ३ वटा लेख लेख्नै पर्ने बाध्यता छ । त्यसैले नलेखिरहन सक्तिनँ । सम्पादकको डेटलाइन छुटाइदिनु पनि त भएन ।
कविता मात्र हातले लेख्छु । बाँकी विधाहरू म ल्यापटपमा टाइप गर्छु । आफूले सक्ने विषय छ भने आफैँ नत्र केही हितैसी साथीसँग सम्पादन समेत गराउँछु । पढिएका कृतिहरू टिपोट गर्छु । तिनले भविष्यमा केही काम दिन्छन् । बुक रिभ्यु गर्न समेत काम लाग्छन् । बिर्सने समस्यालाई औषधी हुने रहेछन् –टिपेका टिपोटहरू ।
साहित्यकारहरूको दायित्व कस्तो हुनुपर्दछ ?
लेखक सत्ताको स्थायी प्रतिपक्ष हो । ऊ सत्ता विरोधी हो । उसले समाजका विविध घटनालाई वाच् गर्ने हो । बोली नभएका, विविध हिसाबले ठगिएका, पछि पारिएका र निमुखाका पक्षमा कलम चलाउने हो –एउटा जिम्मेवार लेखकले । मलाई त्यो औधी मन पर्छ । मनमा खट्किएको लेख्न आजसम्म कसैले रोकेको छैन । सायद् भोलि पनि कसैले रोक्छन् जस्तो लाग्दैन । एकपटक २०५२ सालतिर ‘आजको समाचारपत्र’ दैनिकमा लेख लेख्दा अदालतको मानहानी हुने विषय परेछ तर चलाख सम्पादक भएकाले उचित सम्पादन गरी मलाई र पत्रिकालाई बचाउने काम भएछ । पछि पारिश्रमिक लिन जाँदा त्यो थाहा पाएपछि एकपटक त डर लाग्यो । अरूबेला केही त्यस्तो गाह्रोसाँघुरो लेखेकै भरमा भएको याद् छैन । पञ्चायतमा चाहिँ लेख्न डराउनु पर्दथ्यो । अब त्यस्तो युग छैन । गल्ती गर्नेलाई मज्जाले दनक दिन पाइन्छ । हाँस्यव्यङ्ग्यमा घुमाउरो पाराले र लेखमा सोझै पनि भन्ने गरिएको छ । एउटा साहित्यकारको सामाजिक दायित्व सकारात्मक लेख्ने खालकै हुनु पर्छ । समाजमा भड्काउ हुने र विग्रह गराउने खालको लेख्नु हुन्नँ । सचेत भएर लेखन स्वतन्त्रताको उपभोग गर्ने हो । जो हामी पञ्चायतदेखि नै गरिरहेका छौं ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले कस्तो भूमिका खेल्नु पर्दछ ?
जो पूर्णकालीन स्वतन्त्र लेखनमा छ र उसले जागिर खाएको छैन भने त्यस्ता स्रष्टालाई ‘लेखक पेन्सन’ दिनु पर्छ । राष्ट्रिय स्तरका पुरस्कार पाउने स्रष्टालाई मासिक जीवन वृत्तिका रूपमै केही रकम नियमित रूपमा दिन सकियो भने राज्य साहित्य र साहित्यकारप्रति उत्तरदायी भएको ठहर्दछ । विदेशमा यो कुराको अभ्यास भएको पनि छ । मेरा हकमा चाहिँ पेन्सन पाउने जागिर खाएकाले त्यो लागू हुँदैन । मैले अरूका लागि माथिको कुरा बोलेको हूँ । मलाई चाहिँ कृति र योगदानका आधारमा लेखक परिचयपत्र राज्यले लेखकहरूलाई दिए हुन्छ जस्तो लागेको छ । हेरौं, भविष्यमा एकेडेमी र साझाले त्यो कामको नेतृत्व लिन्छन् कि ? अरू यस्तो होस्, त्यस्तो होस् जस्तो लागेको छैन । देशव्यापी रूपमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाहरूमा विभिन्न स्तरका पुस्तकालयहरूको सुव्यवस्था गरेर स्तर, प्रभाव, पाठक र गुणवत्ताका आधारमा निश्चित प्रति पुस्तक किनेर राज्यले देशैभरिका त्यस्ता स्थानीय तहका पुस्तकालयमा वितरण गर्ने नौलो कार्यको थालनी गर्यो भने एउटा लेखेरै बाँच्ने उद्देश्य लिएको लेखकलाई अलिकति भए पनि आर्थिक त्राण हुने थियो । यो कुरा अहिलेका सत्तासीनहरूलाई कसले सुनाइदिने ? लौन, पत्रिकाहरूबाटै पहल गरौं ।
अन्तमा, ‘मझेरी डट्कम्’का पाठकहरूलाई के भन्नुहुन्छ ?
अनलाइन पत्रिका पढेर सहयोग गर्नुस् । अनलाइन पत्रिका भनेका स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका भाषिक र साँस्कृतिक गहना हुन् । हाम्रो भाषा, कला, साहित्य र संस्कृति भनेकै विश्वमा चिनाउने सफ्ट आर्टस्हरू हुन् । मेरो सामान्य भनाइ यही हो । जीवनमा मैले पनि केही समय पत्रकारिता गरेकाले त्यसको दुःख मलाई धेरथोर थाहा छ । पाठक भनेका सबैखाले पत्रिकाका भगवान् हुन् ।
पेशल आचार्यका रचनाहरू : यता
पेशल आचार्यका रचनाहरू (संक्षिप्त अंशसहित): यता
पेशल आचार्यको फेसबुक पेज : यता
पेशलजी सिरपुछार नछाेडीकन पढें
पेशलजी सिरपुछार नछाेडीकन पढें । राम्राे लाग्याे । लेखक हुनुकाे यथार्थता एकैनासकाे हुने रहेछ । तपाईंलाई हेरेर याे अनुभूति भययाे ।
अन्तर्बार्ता राम्रो लाग्यो।
अन्तर्बार्ता राम्रो लाग्यो। राम्रा रचना पढ्न पाइयोस । लेखक लाइ सुभ कामना छ ।
पेशलजीलाई लामो समयसम्म
पेशलजीलाई लामो समयसम्म मझेरीमा संलग्न हुनुभएकोमा, भलाकुसारीमा सामेल हुनुभएकोमा धन्यवाद ! लेखनमा अरू सफलता मिलोस्, हार्दिक शुभकामना ।